शङ्खरापुरमा कांग्रेस र माओवादीका वडाध्यक्ष निर्वाचित

काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगस्थित सिन्धुपाल्चोकसँग सीमा जोडिएको शङ्खरापुर नगरपालिकाको दुई वडाको मतपरिणाम सार्वजनिक भएको छ । मत परिणामअनुसार शङ्खरापुर नगरपालिका–१ मा नेकपा माओवादी केन्द्रबाट वेदनारायण (बाबुराम) दङ्गाल र वडा नं ९ मा नेपाली कांग्रेसबाट सहदेव श्रेष्ठ निर्वाचित भएका छन् । दङ्गाले ६७४ र श्रेष्ठले ७०५ मत प्राप्त गरेकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । दङ्गालको निकटतम् प्रतिद्वन्द्वी नेकपा एकीकृत समाजवादीका दलबहादुर तामाङले ६०६ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत सीता निरौलाले जानकारी दिइन् । वडा सदस्यमा भने समाजवादीको समूह नै निर्वाचित भएको छ । कांग्रेसको प्यानल विजयी यसैगरी नगरपालिका–९ मा भने वडा अध्यक्षसहित सबै सदस्य पदमा कांग्रेसको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसका सहदेव श्रेष्ठले ७०५ मत प्राप्त गर्दा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका भाइकाजी श्रेष्ठले ४३३ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । नगर प्रमुखमा भने एक हजार २४८ मतका साथ एमालेका कृष्णलाल बजगाइँले अग्रता कायम गरेका छन् । उनलाई पच्छ्याउँदै नेकपा (एकीकृत समाजवादी)का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले एक हजार १९१ मत पाएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश नापितले एक हजार ८९ मत पाएका छन् । नगरपालिकामा कांग्रेस र नेकपा (एकीकृत समाजवादी) ले गठबन्धन गरेका छन् । उपप्रमुखमा नेपाली कांग्रेसकी समिता श्रेष्ठले एक हजार ५९४ मत पाएकी छिने । उनकी प्रतिष्पर्धी एमालेकी लक्ष्मी केसीले ९५७ मत पाएकाे निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हाल वडा नं. २ र ८ को मतगणना भइरहेको जनाइएको छ । रासस

वडा अध्यक्षमा २८ वर्षीय युवा निर्वाचित

काठमाडौं । खोटाङमा २८ वर्षीय युवा वडाध्यक्षमा निर्वाचित भएका छन् । साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाध्यक्षमा विजयी भएका हुन् । न्यौपानेले १९७ मत प्राप्त गरेकोमा उनका निकटतम प्रतिस्प्रर्धी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाएका छन् । न्यौपाने नेबिसंघको जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुँदै केही समयअघि भएको कांग्रेसको १४ राष्ट्रिय महाधिबेसनमा प्रदेश प्रतिनिधि बनेका थिए ।

जाजरकोटकाे नलगाड नगरपालिका–२ मा कांग्रेसका खत्री विजयी

जाजरकोट । नलगाड नगरपालिका–२ को वडाध्यक्षमा नेपाली कांग्रेसका पूर्णबहादुर खत्रीले ३८७ मत ल्याएर निर्वाचित भएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का खिमलाल जैशीले ३३४ मत प्राप्त गरेका हुन् । यस्तै नेकपा एमालेका उम्मेदवार बालजित पुनले ७२ मत प्राप्त गरेका छन् ।