जग्गा ठगी प्रकरणमा वडाध्यक्षसहित सात जना पक्राउ

खाँदबारी । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा जग्गा ठगी प्रकरणमा वडाध्यक्ष र मालपोतका नायब सुब्बासहित सात जनालाई प्रहरीले पक्राउ गरेको छ । भोटखोला गाउँपालिका–४ का वडाध्यक्ष किन्साङ भोटेसहितको टोलीले स्थानीयवासी दलबहादुर तामाङको २७ रोपनी जग्गा जालसाजी गरी आफन्तका नाममा पास गरेको अभियोग लगाइएको छ । वडाध्यक्ष भोटे, मालपोत कार्यालयका कर्मचारीसहित सात जनाको टोलीले मृतक तामाङको नाममा रहेको जग्गा अर्काको नाममा पास गरेको अभियोगमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो । जग्गा जालसाजी गरेको आरोपमा पक्राउ परेका सात जनालाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा वडाध्यक्ष भोटे, सोही वडाका सुरेन्द्र तामाङ, कल्पना भोटे, ङिमा लाजुङ भोटे, खाँदबारी–१ का हाल मालपोल कार्यालय खाँदबारीमा कार्यरत महेन्द्रकुमार पराजुली, मकालु गाउँपालिका–४ घर भाई खाँदबारीमा लेखापढी व्यवसाय गर्ने अनिष गुरुङ र चैनपुर नगरपलिकाका पासाङ शेर्पा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए । पक्राउ परेका वडाध्यक्ष भोटे एमालेबाट निर्वाचित भएका थिए । दलबहादुरको मृत्युपछि उनको जग्गाको हकवाला एकमात्र सन्तान बिममाया तामाङ हुन् । उक्त जग्गा ७५ वर्षीया छोरी बिममाया नाममा यही फागुन २ मा नामसारी भएको खुलेको छ । तर बिममायालाई आफ्नो नाममा जग्गा नामसारी भएको कुनै जानकारी थिएन । प्रहरीका अनुसार मृतकको नाममा रहेको जग्गा नामसारी गर्न आवश्यक पर्ने कागजात नागरिकताको प्रतिलिपि, घरबाटो सिफारिस तथा जग्गा नामसारी गर्ने सिफारिससमेत वडाध्यक्षले भोटेले खाँदबारीमै बसेर तयार पारेका जनाइएको छ । प्रहरीका अनुसार उनीहरुले अपर अरुण जलविद्युत् आयोजनास्थलको मुआब्जा क्षेत्रमा पर्ने जग्गा स्थानीय ७५ वर्षीया वृद्धालाई ललाइफकाइ गरेर रजिस्ट्रेशन पास गरेको खुलेको छ । मुआब्जाभित्र पर्ने २७ रोपनी जग्गा एक लाख दिएर पास गरेको अनुसन्धानले देखाएको छ । २७५ कित्ताको जग्गा पासाङ शेर्पाको एकल नाममा र २८० कित्ताको जग्गा कल्पना भोटे र डिमालाजुङ भोटेको नाममा संयुक्त रजिस्ट्रेशन पास गरिएको छ । बिक्री भएको दुई कित्तामध्ये २७५ नंको जग्गा फागुन १६ गते पासाङ शेर्पाको नामबाट कविता पराजुलीको नाममा रजिस्ट्रेशन पास गरिएको छ । उक्त जग्गा नामसारी गर्न वडाध्यक्षले मालपोत कार्यालय खाँदबारीका कर्मचारी महेन्द्रकुमार पराजुलीको सहयोग लिएको जनाइएको छ । योजनाअनुसार बिममायाको नाममा पास गरिएको जग्गामध्ये कित्ता नं २८० (११७३५ वर्गमिटर)को जग्गा वडाध्यक्ष किन्साङको तर्फबाट कल्पना भोटे र सुरेन्द्रको तर्फबाट उनकै श्रीमती ङिमालाजुङ भोटेको नाममा संयुक्त रजिष्ट्रशन पास गरेको खुलेको छ । बिममायाको नाममा रहेको २७५ (१८३० वर्गमिटर)को जग्गा पासाङ शेर्पाको नाममा पास गरेका छन् । पासाङको नाममा रहेको सोही जग्गा पुनः कर्मचारी पराजुलीको श्रीमतीको नाममा फागुन १६ मा नामसारी भएको प्रहरीले जनाएको छ । वडाध्यक्षले जग्गा पास गरिदिएवापत उक्त जग्गा आफूलाई दिएको पराजुलीले बयानमा बताएको प्रहरीले जनाएको छ । कागजत लेखापढी गरेवापत अनिषलाई वडाध्यक्षले नौ हजार दिएका थिए । कल्पनाको हकमा रजिष्ट्रशन पास लेखापढी व्यवसायी अनिषको नाममा वारेस पास भएको खुलेको छ । भोटखोला–२, ४ र ५ का विभिन्न स्थानमा अपर अरुण जलविद्युत् आयोजना (१०६८ मेगावाट) निर्माणका लागि अध्ययन भई जग्गा सर्भे तथा जग्गा प्राप्तिको कार्य भइरहेकाले उक्त जग्गा महङ्गोमा बिक्री हुने लोभले उनीहरुले उक्त जग्गा जालसाजी गरी पास गरेका हुन् । पक्राउ परेकाहरूलाई ठगी र कीर्ते मुद्दा चलाउने प्रहरीले जनाएको छ । रासस

बैतडीमा आप्रवासी कामदारको निःशुल्क दुर्घटना बीमा

बैतडी । रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका यहाँका कामदारको निःशुल्क बीमा गरिने भएको छ । सदरमुकामस्थित दशरथचन्द नगरपालिका घर भइ भारतमा काम गर्ने आप्रवासी कामदारको दुर्घटना बीमा गरिने भएको हो । र रुडेस बैतडीको संयुक्त सहकार्यमा आप्रवासी कामदारको दुर्घटना बीमा गरिन लागिएको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए । उनले भने, ‘भारतमा काम गर्ने नेपाली जोखिममा छन् । जोखिम न्यूनीकरणका लागि आप्रवासी कामदारको बीमा गर्ने कार्यक्रम सञ्चालनको तयारी गरेका हौँ ।’ नगरपालिकाले कार्यविधि बनाएर आप्रवासी कामदारको बीमा गर्ने निर्णय गरेको नगरउपप्रमुख मीना चन्दले जानकारी दिए । वार्षिक एक हजार रुपैयाँमा पाँच लाखसम्मको दुर्घटना बीमा गर्न सकिनेछ । उनले भने, ‘अहिले नमूनाका रुपमा केही वडामा आप्रवासी कामदारको दुर्घटना बीमा गर्छाैं, यसले त्यहाँ काम गर्ने कामदार दुर्घटना परे पनि सहयोग मिल्नेछ ।’ रोजगारीका लागि भारत गएका नागरिक विभिन्न समस्यामा पर्न सक्ने भएकाले जोखिम न्यूनीकरणका लागि बीमा अनिवार्य रहेको रुडेस कार्यकारी निर्देशक गोविन्दराज जोशीले जानकारी दिए । उनले भने, ‘दशरथचन्द घर भएर भारतमा काम गर्ने आप्रवासी कामदारको तथ्याङ्क सङ्कलन गर्ने र त्यसपछि उनीहरुको बीमा गरिनेछ ।’ यसअघि जिल्लाको पाटन नगरपालिकाले पनि आप्रवासी कामदारको दुर्घटना बीमा गर्दै आएको छ । रासस

अब पाटन, जावलाखेल र पुल्चोकमा धुम्रपान गर्न नपाइने

काठमाडौं । ललितपुर महानगरपालिकाले पाटन दरबार क्षेत्र, जावलाखेल र पुलचोक परिसरलाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ । शुक्रबार महानगरपालिकाले पाटन दरबार स्क्वाएरमा एक कार्यक्रम आयोजना गरी यी तीन क्षेत्रलाई धुमपान निषेधित क्षेत्र घोषणा गरेको हो । कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले यो कार्यक्रम दुई वर्षअघि नै शुभारम्भ गर्ने योजना रहेपनि कोरोनाको कारण सफल हुन नसकेको बताए । उनले आजबाट लागू हुनेगरी सुरु भएको धुम्रपान निषेधित क्षेत्रमा शुरुवाती सात दिन धुम्रपान नगर्न आग्रह गर्ने र त्यसपछि जरिवाना तिराउने बताए । उनको अनुसार जरिवानाबाट उठेको रकम क्यान्सर पीडितलाई सहयोग गरिनेछ । ‘यो आउटस्ट्याण्डिङ कार्यक्रम हो । नेपाल सरकारले घोषणा गर्छ तर कार्यान्वयन गर्दैन । तसर्थ आज हामीले यो कार्यक्रम शुभारम्भ गरेका छाैँ । दुई वर्ष अघि नै लञ्च गर्ने कार्यक्रम थियो तर कोरोना भाइरसका कारण सफल हुन सकेनौँ । स्मोकिङ किल्स भन्ने जुन भनाइ छ यो शतप्रतिशत करेक्ट छ । अहिले हामीले जावलाखेल, पुलचोक र पाटन दरबार स्क्वाएर क्षेत्रमा यो कार्यक्रम लागू गर्न गइरहेका छौँ । हामी यसलाई सफल पारेरै छोड्छौँ । शुरुवाती ७ दिन हामी चुरोट नखानुस् भन्छौँ त्यसपछि जरिवाना तिराउँछौँ । त्यो जरिवाना क्यान्सर रोगीलाई नै सहयोग गर्नेछौँ,’ मेयर महर्जनले भने । मेयर महर्जनले सरकारले विभिन्न कानून तर्जुमा गरेपनि कार्यान्वयन नगरेको बताउँदै महानगरपालिकाले भने लापरवाही नगरी कार्यक्रम सफल बनाउने बताए ।