तनहुँका मतदाता भन्छन्- मत हाल्ने तरिका सिकाउन कोही आएन
दमौली । तनहुँको व्यास नगरपालिका–२ का १८ वर्षीया एलिना कुमालले पहिलो पटक मतदान गर्दैछिन् । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुमालले मताधिकारको प्रयोग गर्दैछिन् । मतदान गर्ने दिन नजिकिँदै गर्दा कुमालमा छुट्टै उत्साह छ । ‘पहिलोपटक भएकाले कसरी मत हाल्ने भन्नेबारेमा केही जानकारी छैन, तर सिकेपछि मत हाल्ने तरिकाबारे जान्नेछु’, उनले भनिन् । कुमालले स्थानीय तहमा हाम्राभन्दा पनि राम्रा उम्मेदवारले जित्नुपर्ने बताइन् । ‘अहिले घरदैलो अभियान चलिरहेको छ, दलका भन्दा पनि राम्रा उम्मेदवारले जित्नुपर्छ’, उनले भनिन् । यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले मतदातालाई मत हाल्न अलमल हुने बन्दीपुर गाउँपालिका–४ का दुर्गाविलास भट्टराईले बताए । निर्वाचनमा राजनीतिक दलबीच गठबन्धन भएकाले मतदाता मत हाल्ने बेलामा झुक्किने भएकाले धेरै मत बदर हुनसक्ने उनले बताए । ‘मत कसरी हाल्ने भनेर गाउँ–गाउँमा मतदातालाई सिकाइएको छैन, गठबन्धनका कारण मत बदर हुनसक्ने सम्भावना उत्तिकै छ’, उनले भने । गठबन्धन गरेका दलहरूले पनि मतदान गर्ने तरिकाबारे सिकाउन आवश्यक रहेको उनको भनाइ छ । व्यास नगरपालिका–३ का मधुमाया पौडेलले उम्मेदवार भोट माग्न घरदैलोमा आए पनि मतदान गर्नेबारेमा भने कसैले सिकाउने नगरेको बताइन् । ‘भोट दिनुस् भन्दै आउँछन्, मतदान गर्ने तरिकाबारे पनि सिकाए मत बदर हुँदैनथ्यो होला !’, उनले भनिन् । मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालय तनहुँ र नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाले नमूना मतदान कार्यक्रम गर्याे । नमूना मतदानले मतदान प्रक्रियाबारे जानकारी गराएको र बदर मत कम गराउन सहयोग पुग्ने स्थानीयवासी कृष्णराज वाग्लेले बताए । जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बदर मत कम गराउन सचेतना आवश्यकता रहेको औँल्याए । निर्वाचन आयोगले विगतका निर्वाचनमा जस्तो यसपटक मतदाता शिक्षा सञ्चालन गर्न नसकेकाले राजनीतिक दल र उम्मेदवारहरूले घरदैलोको क्रममा मतदातालाई यसबारेमा सचेत गराउनुपर्ने ढकालले बताए । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि तयारी तीव्र पारिएको छ । कार्यालयले मतदान केन्द्रमा पठाउने सामग्री व्यवस्थापनको काम गरिरहेको छ । मतदान केन्द्रमा नियुक्त हुने कर्मचारीसँगै मतपत्र र अन्य सामग्री पठाउने तयारी गरिएको छ । रासस
यस्ता छन् दलका घोषणापत्रमा पर्यटन विकासका खाका
काठमाडाैं । कोरोनाको महामारीले सबैभन्दा बढी असर पारेको मुलुकको पर्यटन क्षेत्र विस्तारै तङ्गिँदै छ । अहिले विदेशी पर्यटकको आगमन पनि क्रमशः बढिरहेको छ । राजधानी काठमाडौंसहित प्रमुख पर्यटकीय गन्तव्यमा पर्यटकको चहलपहल बढ्नाका साथै भरिभराउ पनि भएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै ५८ हजार ३४८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही महिनाको तुलनामा १६० प्रतिशतले वृद्धि हो । सन् २०२१ को अप्रिल महिनामा २२ हजार ४५० विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । यस वर्षको अप्रिल महिनाको पर्यटक आगमन कोरोना महामारीपछि सबैभन्दा बढी हो । यस वर्षको सुरुआती महिनादेखि निरन्तररूपमा विदेशी पर्यटकको आगमन बढिरहेको छ । सन् २०२२ को जनवरीमा १६ हजार ९७५, फेब्रुअरीमा १९ हजार ७६६ र मार्च महिनामा ४२ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपालमा हिमाल आरोहणको याम भएकाले पनि विदेशी पर्यटक बढेका हुन् । यतिखेर पर्वतारोहण र पदयात्राको उपयुक्त बेला भएकाले पनि विदेशी उल्लेख्य सङ्ख्यामा आइरहेका छन् । पर्यटन विभागका अनुसार सगरमाथासहित हिमाल आरोहणका लागि ११ आरोही समूहका ८९९ आरोहीले आरोहण अनुमति लिएका छन् । सन् २०२१ मा डेढ लाख विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०२० मा दुई लाख ३० हजार र सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक भित्रिएका थिए । यो वृद्धि १२दशमलव पाँच प्रतिशतले भएको थियो । पन्ध्रौँ पञ्चवर्षीय योजनामा पर्यटनलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारका रूपमा लिइएको छ । नेपालले विश्वकै आकर्षक गन्तव्य विकास र गुणस्तरीय पर्यटन सेवा दिने नीति लिएको छ । स्थानीय तहको निर्वाचन देशभर यही वैशाख ३० गते हुँदैछ । स्थायी सरकारको महत्वपूर्ण संरचना जनतासँग प्रत्यक्ष जोडिने भएकाले पनि स्थानीय तहको चासो स्वभाविक हुन्छ । सोही निर्वाचनलाई लक्ष्य गरेर राजनीतिक दलले आ–आफ्ना निर्वाचनको घोषणापत्र सार्वजनिक गरेका छन् । देशको अर्थतन्त्रको दरिलो आधारका रूपमा रहेको पर्यटनलाई प्रमुख राजनीतिक दलले पनि उच्च प्राथमिकता दिएर आगामी रणनीतिहरू बनाएका छन् । उनीहरुले पर्यटन क्षेत्रलाई राष्ट्रिय आयआर्जनको एक महत्वपूर्ण स्रोतका रूपमा अघि बढाउन उच्च प्राथमिकता दिएका हुन् । नेपाललाई विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरी जनताको जीवनस्तर उकास्ने र राष्ट्रिय आयआर्जनको एक महत्वपूर्ण स्रोतका रूपमा यसलाई अघि बढाउन उच्च प्राथमिकता दिइने दलको प्रतिबद्धता छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादीलगायत पार्टीले आ–आफ्नो चुनावी घोषणपत्रमार्फत पर्यटन प्रवद्र्धनका महत्वकाङ्क्षी योजना अघि सारेका हुन् । नेपाली कांग्रेस नेपाली कांग्रेसले पर्यटनबाट समुन्नत राष्ट्र बनाउन प्रशस्त आधार भए पनि अपेक्षित लाभ लिन नसकिएको अवस्थामा एकीकृत र व्यवस्थित विकाससँगै आगामी दशकमा यस क्षेत्रबाटै देशको अर्थतन्त्रमा अगुवाइ गराउने लक्ष्य लिएको छ । नेपाललाई विशिष्ट पर्यटकीय गन्तव्यका रूपमा स्थापित गरी जनताको जीवनस्तर उकास्ने र राष्ट्रिय आयआर्जनको एक महत्वपूर्ण स्रोतका रूपमा अघि बढाउन उच्च प्राथमिकता दिइने कांग्रेसको घोषणापत्रमा उल्लेख छ । कांग्रेसले पर्यटकलाई बचाउन, फर्काउन र फैलाउनका लागि गन्तव्य प्रवद्र्धन, गुणस्तरीय पूर्वाधार विकास, विस्तार र स्तरोन्नति गर्ने, नयाँ पूर्वाधारको निर्माण गर्दा स्थानीय पहिचान झल्किने बनाउने लक्ष्य लिएको छ । विशिष्ट सांस्कृतिक सम्पदाहरू र परम्परागत तथा पुरातात्विक महत्वका सामग्री सङ्कलन गरी हरेक स्थानीय तहमा कम्तीमा एउटा सङ्ग्राहलय निर्माण र वातावरणमैत्री व्यवसायका रूपमा पर्यटन प्रवद्र्धन गरिने कुरा पनि उल्लेख छ ।आकर्षक गन्तव्य र गतिवधिहरूको विकासका लागि निजी क्षेत्रलाई प्रोत्साहन गर्नाका साथै उनीहरुसँग सहकार्य गर्ने, स्थानीय तथा बाह्य लगानीकर्तालाई पर्यटकीय गन्तव्य निर्माण र गतिविधि सिर्जना गर्नका लागि लगानीमा प्रेरित गर्ने बताइएको छ । पर्वतारोहण, पदयात्रा, जलयात्रा, जङ्गल सफारीजस्ता जोखिमयुक्त गतिविधिमा काम गर्ने जनशक्तिको जीवनलाई सहज र सुरक्षित बनाउने, परम्परागत शैलीमा निर्माण गरिएका घर संरक्षण तथा त्यस्तै शैलीमा नयाँ घर निर्माण गर्न खोज्ने स्थानीयवासीलाई सहुलियतको व्यवस्था गर्ने भनिएको छ । नेकपा एमाले मौलिक कला, संस्कृति र पर्यटनबाट समृद्धिको अवधारणा ल्याएको नेकपा (एमाले)ले तिनको जगेर्ना गर्दै स्थानीय पहिचानका क्षेत्रलाई अभिवृद्धि गर्ने र पर्यटनको विकासमार्फत रोजगारी र समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । प्रत्येक पालिकाको गौरवका प्राकृतिक र सांस्कृतिक विषय छनोट र विकास गर्ने भनिएको छ । पर्यटकीय प्राकृतिक सम्पदा संरक्षण, ऐतिहासिक र सांस्कृतिक सम्पदाको प्रवद्र्धन, मानव निर्मित पर्यटकीय वस्तुको विकास, मूर्त र अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण गरिने जनाइएको छ । सम्बन्धित पालिकाका र मुलुककै सांस्कृतिक पहिचान र गौरवको रक्षा गर्ने, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक सम्पदा एवं स्थानीय मेला, पर्व एवं जात्राको संरक्षण र व्यवस्थापन गर्ने एमालेको घोषणापत्रमा लेखिएको छ । प्राकृतिक पर्यावरणीय, साहसिक आरोग्य सेवा, धार्मिक, सांस्कृतिक, कृषि तथा मनोरञ्जन पर्यटन क्षेत्रको पहिचान, प्रवद्र्धन, विकास र संरक्षण गर्ने, जैविक र पर्यावरणीय विविधतासहितको ‘इको टुरिजम’को संरक्षण र विकास गर्ने एमालेको नीति छ । प्रत्येक वडामा बगैँचा तथा उद्यानको विकास तथा व्यवस्थापन गर्ने, पालिकाहरुमा पर्यटन प्रवद्र्धनका लागि होटल, रेष्टुरेन्ट, घरबास खोल्न प्रोत्साहन गरिने उल्लेख छ । पदमार्ग, पर्यटन सूचना केन्द्र पर्यटन प्रहरीको विकास, केबुलकार, प्याराग्लाइडिङ, बञ्जीजम्प, ¥याफ्टिङ, हटएयर बेलुन, हेलिप्याडलगायत पूर्वाधार तथा सेवा सुविधाको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्ने योजना पनि एमालेकोे छ । नेकपा (एकीकृत समाजवादी) नेकपा (एकीकृत समाजवादी)को घोषणापत्रमा स्थानीय सरकारले आफ्नो भूगोलभित्रका पर्यटकीय स्थानको विकास र संरक्षण गर्नाका साथै पर्यटक आकर्षित गर्न सकिने नयाँ–नयाँ योजना अगाडि सार्ने उल्लेख छ । यसका लागि स्थानीय साधन तथा स्रोतलाई अधिकतम प्रयोग गरी पालिकास्तरमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गरेर आर्थिक गतिविधि बढाउने र रोजगारीका अवसर सिर्जना गरिनेछ । त्यसका लागि पर्यटन ग्राम, घरबास, पर्यटन सडक, पदमार्गलगायत पर्यटन पूर्वाधार निर्माण तथा ऐतिहासिक एवं धार्मिक पर्यटन प्रवद्र्धन गरिने एकीकृत समाजवादीको योजना छ । जनता समाजवादी पार्टी जनता समाजवादी पार्टीले हरेक गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाले सम्भाव्यताका आधारमा प्राकृतिक–पर्यावरण तथा धार्मिक क्षेत्रको संरक्षण ताल तथा नदीजन्य पदार्थको सही उपयोग, होमस्टे र पदयात्रा पर्यटनको विस्तार गर्दै पाँचवर्षे कार्ययोजनाका आधारमा निश्चित सङ्ख्याका स्वदेशी र विदेशी पर्यटक भित्र्याउने कार्यक्रम बनाउने नीति लिएको छ । पर्यटक आकर्षित गर्ने होटल तथा रिसोर्ट तथा अन्य सेवा प्रदान गर्ने उद्यमीलाई पहिलो पाँच वर्षसम्म आयकरमा ७५ प्रतिशत छुट दिइने बताइएको छ । होमस्टे सञ्चालन गर्न चाहने महिलाको समूहका लागि रु ५० लाखसम्म लिएको ऋणको पाँच प्रतिशतभन्दा बढी ब्याजमा अनुदान दिइने भनिएको छ । नेकपा (माओवादी केन्द्र) माओवादी केन्द्रले पनि आफ्नो घोषणापत्रमा पर्यटन प्रवद्र्धनको नीति अघि सारेको छ । पर्यटनको प्रतिफल गाउँ–गाउँमा पु¥याउन, नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न र पर्यटकीय पदमार्गको विस्तार तथा पर्यापर्यटनको विकासमा जोड दिइने घोषणापत्रमा उल्लेख छ । घरबासलगायत पर्यटनमैत्री वस्तु उत्पादन गरी आयआर्जनमा टेवा पु¥याइने तथा पर्यटनबाट हुने आयको न्यूनतम ५० प्रतिशत सम्बन्धित स्थानीय तहमै खर्च गर्ने नीति लिइएको छ । लोकतान्त्रिक समाजवादी पार्टी लोकतान्त्रिक समाजवादी पार्टीले थप पर्यटकीयस्थलको पहिचान, पूर्वाधार निर्माण एवं प्रचार–प्रसार गर्ने योजना बनाएको छ । प्राकृतिक सुन्दरता र सांस्कृतिक सम्पन्नताको कारणले नेपालको हरेक पालिकाको कुनै न कुनै विशेषता रहेकाले उक्त दलले पर्यटकीयस्थलको पहिचान गर्ने र पर्यटनलाई पालिकास्तरसम्म नै लैजान विशेष व्यवस्था गर्ने योजना बनाएको छ । ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वका थप स्थलको प्रवद्र्धन गरिनेछ । नयाँ पहिचान भएका पर्यटकीय महत्वका स्थलको विकासका लागि आवश्यक सडक र अन्य पूर्वाधारको निर्माण गर्ने उद्देश्य लिइएको छ । पर्यटकीय स्थलको प्रचार–प्रसारका लागि वेबसाइट र अन्य सामाजिक सञ्जालको प्रयोग गरिनेछ । पर्यटकीय स्थलको निर्माण, संरक्षण, पर्यटक ओसारपसार र प्रचारका लागि प्रादेशिक तथा सङ्घीय सरकारसँग सहकार्य गरिने लोसपाले जनाएको छ । रासस
राष्ट्रिय मानव अधिकार आयोगले सबै मतदान केन्द्रको अनुगमन गर्ने
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुको स्थलगत अनुगमन गर्ने भएको छ । बुधवार आयोगले पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्दै आसन्न बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा ७७ वटै जिल्लाका मतदान केन्द्रहरुमा स्थलगत अनुगमन गर्ने बताएको हो । आयोगका अध्यक्ष तपबहादुर मगरले स्थानीय तहको निर्वाचन अवधिमा आयोगले ४७ वटा अनुगमन टोली परिचालन गरी स्थलगत अनुगमन गर्ने बताए । उनले आयोगका अध्यक्ष तथा सदस्यहरुको नेतृत्वमा सातवटै प्रदेशहरुमा निर्वाचनपूर्व पनि अनुगमन हुने उल्लेख गरे । आयोगका सदस्य डा। सूर्य ढुंगेलको नेतृत्वमा मधेश प्रदेश, मिहिर ठाकुरको नेतृत्वमा गण्डकी प्रदेश, मनोज दुवाडीको नेतृत्वमा सुदूरपश्चिम प्रदेश र लिली थापाको नेतृत्वमा प्रदेश नम्बर १ मा अनुगमन हुने जानकारी दिए । निर्वाचन अवधिमा आयोगमा अनुगमन कन्ट्रोल रुम स्थापना गर्ने र द्रुततर सूचना संकलन केन्द्र तथा द्रुत अनुगमन टोलीको समेत व्यवस्था गरिने उनले बताए । आयोगले जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय, किरियापुत्री, गर्भवती आदिको सहज पहुँच भए नभएको, मतदान केन्द्रको सुरक्षा प्रवन्ध, सुरक्षाकर्मी परिचालन तथा व्यवस्थापन, मतदाता शिक्षा, निर्वाचन प्रचारमा बालबालिकाको प्रयोग, आचारसंहिताको पालना लगायतको विषयमा अनुगमन गर्नेछ । त्यसैगरी, निर्वाचन प्रचार प्रसारको क्रममा हुनसक्ने हिंसात्मक गतिविधि, पर्यवेक्षण गर्ने संघसंस्थाहरुको कार्य, निर्वाचनको निष्पक्षता, मतदानको गोपनीयता लगायतका विविधि विषयको अनुगमन हुने आयोगका अध्यक्ष मगरले बताए । आयोगले उम्मेदवारी मनोनयन दर्ताको दिन बैशाख ११ र १२ गते ३० वटा जिल्लामा अनुगमन गरिसकेको उनले जानकारी दिए । अनुगमनका क्रममा आयोगले विगतको तुलनामा महिलाहरुको उम्मेदवारीमा कमी देखिएको, समावेशी समूहबाट कम उम्मेदवारले मनोनयन दर्ता गरेको, बालबालिकालाई जुलुसमा लगिएको, मतदाता शिक्षाको प्रचार प्रसार नगरिएको तथा दलका नेताहरुले एक अर्काप्रति घृणायुक्त अभिव्यक्ति दिनु लगायतका कमी कमजोरी देखिएको बताएको छ । आयोगले निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राजनीतिक दलहरुलाई आग्रह गरेको छ । अध्यक्ष मगरले निर्वाचनमा हुनसक्ने राज्यशक्तिको दुरुपयोग, पैसाको अत्याधिक प्रयोग तथा बाहुबलको प्रयोगबाट निर्वाचन प्रभावित हुनसक्ने भन्दै त्यसतर्फ सरोकारवाला सबै सतर्क रहनुपर्ने बताए ।