सुनिता डंगाेलविरुद्ध अख्तियारमा उजुरी, ५ वर्षको तलबभत्तामा भ्रष्टाचार
काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपप्रमुख उम्मेदवार बनेकी सुनिता डंगोलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । शैक्षिक योग्यता ढाँटेर महानगरको योजना आयोगको विज्ञ सल्लाहकार पदमा नियुक्ति लिएर ५ वर्षको तलबभत्ता खाएर भ्रष्टाचार गरेको अभियोग लगाउँदै उनीविरुद्ध अख्तियारमा उजुरी दर्ता परेको हो । काठमाडौं महानगर पालिकामा रहेको शहरी विकास परियोजना जस्तो प्राविधिक विषयको ज्ञाता हुनुपर्ने ठाउँमा समाजशास्त्र विषयमा स्नातक तह उतिर्ण गरेको व्यक्ति कुनै पनि प्राविधिक तर्फको सल्लाहकार हुन नसक्ने उजरीमा बताइएको छ । उनले उक्त पदबाट मासिक ८० हजार रुपैयाँ लिएको आरोप लगाइएको छ ।
वैशाख २५ गतेदेखि आगामी जेठ ७ गतेसम्म मदिरा सेवन तथा बिक्री वितरणमा रोक
गाेरखा । गोरखा जिल्लामा आसन्न स्थानीय तहको निर्वाचनलाई लक्ष गरी मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवनमा पूर्णरुपमा रोक लगाइने भएको छ । जिल्ला प्रसासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकमा निर्वाचनका बेला शान्ति सुरक्षामा हुनसक्ने घटनालाई दृष्टिगत गर्दै यही वैशाख २५ गतेदेखि आगामी जेठ ७ गतेसम्म जिल्लाभर मदिराको प्रयोगमा रोक लगाउने निर्णय गरिएको हो । जिल्लाभर नै होटल, रेष्टुरेण्टलगायत अन्य पेशा व्यवसाय बिहान ७ बजेदेखि साँझ ९ः३० बजेसम्म मात्र सञ्चालन गर्न पाउने सोमबार बसेको बैठकले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिए । निर्वाचनका लागि प्रचारका क्रममा दलहरुबीच शान्ति सुरक्षामा खलल हुने खालका गतिविधि हुन नदिन एकै स्थान, समय र बाटो पर्ने गरी कार्यक्रम आयोजना नगर्ने, चुनाव प्रचारप्रसारका लागि कार्यक्रम गर्दा स्थानीय प्रशासनलाई जानकारी गराएर मात्र सञ्चालन गर्ने सहमति पनि सर्वपक्षीय बैठकमा भएको उनको भनाइ थियो। बैठकमा निर्वाचन आचारसंहिता पूर्णरुपमा पालना गर्ने, दलहरुबीच प्रचारप्रसारका कार्यक्रम गर्दा सामाजिक सद्भाव कायम राख्ने गरी सञ्चालन गर्ने र निर्वाचन अवधिभरसम्म आवश्यक पर्ने अत्यावश्यक बस्तु तथा सेवाको अभाव हुन नदिन उद्योग वाणिज्य सङ्घ, चेम्बरअर्फ कर्मसलगायत सङ्घसंस्थाले आवश्यक व्यवस्था मिलाउने सहमति पनि भएको थियो । रासस
निर्वाचनमा बाँके र बर्दियाको सीमा नाका ७२ घण्टा बन्द हुने
नेपालगञ्ज । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन अघि बाँके र बर्दियाको नेपाल–भारत सीमानाका ७२ घण्टा बन्द भएका छन् । खुला सीमाका कारण निर्वाचनका बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले निर्वाचनअघि ७२ घण्टा सम्म सीमा नाका बन्द गर्ने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उनले सीमाको दशगजा क्षेत्रमा कडाइ गर्नुका साथै दुई देशका सुरक्षाकर्मीले संयुक्तरुपमा गस्ती गर्ने र ४८ घण्टा अघि दुई देशका सीमा क्षेत्रमा मदिराको बेचबिखन र सेवनमा समेत रोक लगाउने निर्णय गरेको बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री र बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोला, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र भारततर्फ बहराइच र सेराबस्तीका सीमासुरक्षा बलसहित सुरक्षा अधिकारीलगायत दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले जङ्गली जनावरको अवैध पैठारी, काठ तस्करी, लागुऔषध कारोवार, मानव बेचबिखनलगायत विषयमा छलफल गरेको थियो । ‘हाम्रो अनुरोधमा भारतीय सुरक्षा अधिकारीले सीमा क्षेत्रमा हुने आपराधिक गतिविधिलाई रोक्न सहमत हुनुभएको छ’, बर्दियाका प्रमुख जिल्ला अधिकारी बाँस्तोलाले भने । अहिले जमुनाहा र रुपैडिया नाकामा दुुवै देशका सुरक्षाकर्मीले आवागमनमा सुरक्षा जाँचलाई कडाइ गरेको र संयुक्त सुरक्षा गस्तीसमेत गरेका छन् । बाँके जिल्लासँग भारतको सीमा जोडिएको क्षेत्र ६५ किलोमिटर पर्छ भने बर्दियाको ८२ किलोमिटर पर्छ । बर्दियाको भारतसँग जोडिएको नाका धेरै रहेको बताइएको छ । रासस