मेयर बनेपछि काठमाडौंमा १० तले स्मार्ट भर्टिकल पार्किङ बनाउँछु : सुनिता डंगोल
काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन नजिकिएसँगै काठमाडौं महानगरपालिकाको मेयरको पदमा दाबी गर्नेको संख्या पनि बढ्दो छ । संघीय राजधानी पनि भएकोले काठमाडौंको मेयर पदमा धेरैको आकर्षण बढेको पनि हुनसक्छ । स्थानीय तहको आगामी निर्वाचनमा मेयर पदको दाबी गर्नेमध्येमा एक हुन् सुनिता डंगोल । स्वतन्त्र उम्मेदवार दिने वा कुनै दलबाट उठ्नेबारे उनले निर्णय लिइसकेकी छैनन् । ‘मिस नेवा २०११’ की विजेता, सामाजिक कार्यक्रम र क्यालिग्राफी प्रवर्द्धन गर्ने र सुनिता सञ्चारकर्मी भएर विगत लामो समयदेखि काम गरिरहेकी छन् । काठमाडौंको मेयरमा उठ्न दौडधुप गरिरहेकी डंगोल अहिले आगामी निर्वाचनको तयारीमा व्यस्त छिन् । अब हुने निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफू सक्षम रहेको उनी बताउँछिन् । सुनिता डंगोलसँग मेयर पदमा उनको उम्मेदवारी लगायत विषयमा विकासन्युजले कुराकानी गरेको छ । तपाईं विभिन्न संस्थामा सक्रिय भएर काम गरी राख्नु भएको छ, अचानक कसरी मेयरमा उठ्ने सोच्नुभयो ? विभिन्न संस्थामा सहभागी भएर सक्रिय भइरहँदा मैले के अनुभव गरे भने नीति निर्माण गर्ने र कार्यकारी पदहरूमा युवाको सहभागिता तथा नेतृत्व अहिलेको आवश्यकता हो । यसै सन्दर्भमा, सानै उमेरदेखि मलाई सक्रिय राजनीतिमा लाग्ने इच्छा थियो । काठमाडौं म जन्मिएको सहर हो । मेरो ज्ञान, सीप र क्षमताको उच्चतम् उपयोग गर्दै म जन्मेको सहरलाई सुन्दर र समृद्ध बनाउने सपनालाई मूर्तरूप दिन मैले काठमाडौंको मेयर बन्ने सोच राखेकी हुँ । मुलुक समृद्ध बनाउन नयाँ सोच र जोस भएका युवा चाहिन्छ । त्यसका लागि युवाहरू नै राजनैतिक नेतृत्वमा आउन आवश्यक छ । त्यसैले अहिले स्थानीय सरकारको निर्वाचनको अवसर पारेर मैले मेयरमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ । तपाईं सानैदेखि राजनीतिमा रुचि राख्ने मान्छे भन्नु भयो, चुनाव पनि नजिकिँदै छ, तर अहिले पनि कुन पार्टीबाट उम्मेदवारी बन्ने भनेर चुन्न सक्नु भएन नि किन ? अहिले म ठूला-साना धेरैजसो पार्टीको सम्पर्कमा छु । ती पार्टीहरूको प्रस्तावहरूका विषयमा छलफल गर्दैछु । त्यसैले म केही समयभित्रै स्वतन्त्र वा पार्टीगत उम्मेदवारी कसरी अघि बढ्ने हो निर्णय लिन्छु । तपाईं राजनीति गर्नको लागि मेयरमा चुनाव लड्न खोजिरहनु भएको छ कि चर्चामा आउनको लागि ? राजनीति राज्यको शासन–व्यवस्थासम्बन्धी नीति, राज्य–सञ्चालन र प्रणाली हो । राजनीति भनेको राज्य र प्रशासनसँग सम्बन्धित एक सामाजिक सिद्धान्त पनि हो । त्यसैले राजनीतिलाई फोहोरी खेलको रूपमा विकास गर्नुहुन्न भन्नेमा म सचेत छु । राजनीति व्यापार होइन यो समाजसेवा र विकास निर्माणसँग जोडिनुपर्छ । समाजसेवा मेरो जीवनको मूल उद्देश्य हो । मेरो त्यो मूल उद्देश्यलाई मूर्तरूप दिन मैले राजनीतिमा आउन चाहेको हो । आर्थिक समृद्धि, उन्नत समाजको विकास र सुशासनलाई प्राथमिकतामा राख्ने हो भने राजनीति पनि उन्नत बन्छ । म उन्नत किसिमका राजनीतिमा विश्वास गर्छु । म एक दशक अघि नै मिस नेवा भएर चर्चामा आइसकेकी व्यक्ति हुँ । यस अलावा मैले निरन्तर रूपमा विभिन्न संघ संस्थामा आबद्ध भएर एकजना सामाजिक तथा सांस्कृतिक अभियनता भएर लागि परेकी व्यक्ति हुँ । मैले नेपालमात्र होइन विदेशमा बस्ने नेपाली र विदेशीहरूलाई समेत रञ्जना लिपी सिकाउने र हाम्रो संस्कृतिलाई विश्वव्यापी रूपमा प्रचार गर्ने एउटा अभियनता को रूपमा चर्चा कमाएको व्यक्ति हुँ । म सस्तो लोकप्रियता मा विश्वास गर्दिन । म पानीको फोकाजस्तो बन्न पनि चाहँदिन । मेरो यो पाइला सक्रिय राजनीतिमा एक प्रस्थान विन्दु हो भने मेरो पाइलाहरू निरन्तर रूपमा यस क्षेत्रमा अघि बढिरहने छ । दीर्घकालीन सोच लिएर नै देश र जनताको लागि समर्पित हुन म राजनीतिमा लागेकी हुँ । महानगरको मेयरमा उठ्ने तपाईंका भिजन र चुनावी एजेण्डा के–के हुन् ? मैले आफ्नो भिजन र योजनाहरू सहित एक प्रकारको घोषण पत्र तयार गरिसकेकी छु र आम जनसमुदायका भावनाहरू बुझ्न मैले योजनाहरूका लागि अपिल पनि गरिसकेकी छु । जनताले अथाह माया र विश्वास गरेर मलाई हजारौं इमेलमार्फत सुझावहरू दिनु भएको छ । त्यसको लागि सबैमा मुरी मुरी धन्यवाद पनि दिन चाहन्छु । अब उहाँले पठाएका राम्रा सुझावहरू र मैले तयार पारेको भिजन सहितका योजनाहरूलाई मिलाएर केही दिन मै प्रतिबद्धता पत्र सार्वजनिक गर्दैछु । मैले आठ खम्बा विकास रणनीतिक मोडेल अघि सारेको छु । जसमा फोहरमैला व्यवस्थापन, यातायात व्यवस्थापन, पूर्वाधार विकास, सूचना प्रविधिको अधिकतम प्रयोग, डिजिटल काठमाडौं, कला संस्कृति सम्पदाको संरक्षण तथा प्रवर्द्धन, पर्यटन प्रवर्द्धन, सोसियल इन्जिनियरिङको व्यवस्थापन, युवा तथा रोजगारी लक्षित अल्पकालीन र दीर्घकालीन योजनाहरू लगाएका अन्य क्षेत्रसमेत समावेश गरेरहेकी छु । यी रणतितिक मोडेलहरूमा मेरो आफ्नो दृष्टिकोण स्पष्ट ढङ्गले समावेश गरेकी छु । निर्वाचित भएपछि पर्याप्त पार्किङ स्थलको व्यवस्थापन गर्छु भन्नुभयो, महानगरभित्र खाली जग्गा पाउनसमेत मुस्किल छ, कस्तो र कहाँकहाँ पार्किङ बनाउने योजना बनाउनु भएको छ ? पार्किङको सम्बन्धमा मैले विदेशमा देखेको १० तल्लाको स्मार्ट भर्टिकल पार्किङहरू, अन्डरग्राउन्ड पार्किङहरु र सामान्य सडकमा गर्ने पार्किङ सिस्टमहरुलाई काठमाडौंमा व्यवस्थापन गर्नेछु । काठमाडौं महानगरपालिकाको मेयरमा धेरै दाबेदारी गरिरहेका छन्, यसमा आफ्नो जितको सुनिश्चितता कतिको देख्नुहुन्छ ? काठमाडौंका जनताले सधैं न्यायको पक्षमा मतदान गरेको इतिहास छ । म यहीँको माटोमा जन्मिएकी, हुर्केकी, ज्यापू जातिको नेवार समुदायको छोरी हुँ । मैले सांस्कृतिक अभियनताका रूपमा योगदान गरेकी छु । मैले धेरै मुलुकको भ्रमण गरेर त्यहाँको विकासको मोडेललाई नजिकबाट नियाल्ने अवसर प्राप्त गरेकी छु । मैले त्यहाँको विकासको अनुभवलाई यहाँको माटो सुहाउँदो विकास गर्ने योजना बनाएकी छु । सांस्कृतिक सहर काठमाडौं कस्तो हुनुपर्छ र यहाँको विकास कसरी गर्नुपर्छ भन्ने बारेमा जानकार भएको व्यक्ति हुँ । यहाँका युवाको सोच, यहाँका युवाको भावना र यहाँका युवाको भिजनको प्रतिनिधित्व गर्ने युवा हुँ म । त्यति मात्रै होइन आफूभन्दा अग्रजहरूको विज्ञता, अनुभवीहरूको ज्ञान, सल्लाह र सबै जनताको सद्भावलाई आत्मसाथ गरेर अघि बढ्नेछु । मलाई यो आशिर्वाद अवश्य प्राप्त हुनेछ भन्ने मैले ठानेकी छु । यी मेरो प्रारम्भिक योजनाहरू हुन् । मेयरको तयारीसँगै बृहत् योजनासहित अघि बढ्ने छु । मलाई विश्वास छ, मेरो योग्यता, क्षमता र जनताप्रति समर्पित हुँदै आइरहेको समाज सेवाले गर्दा पनि यसपाली काठमाडौंवासीले मलाई मेयरको रूपमा विजयी बनाउने छन् भन्ने कुरामा म विश्वस्त छु । यदि तपाईं निर्वाचित हुन भयो भने तपाईंको पहिलो काम के हो ? यदि म निर्वाचित भएभने मैले जनतासँग गरेका प्रतिबद्धता पूरा गर्न आवश्यक प्रक्रियाहरू अघि बढाउने र जनतालाई विश्वास दिलाउने तथा सकेसम्म चाँडो ती प्रक्रियाहरू पूरा गर्न म लागी पर्नेछु । यसअघि निर्वाचित जनप्रतिनिधिहरूको गरेको काम तपाईंलाई कस्तो लाग्छ ? धेरै जसो जनप्रतिनिधिहरूले राम्रै काम गरेका छन् । उहाँहरूले गरेको कामको मुल्यांकन अवको निर्वाचनबाट जनताले मत दिएर अवश्य पनि गर्ने नै छ । उपप्रमुखमा पनि उम्मेदवारी दिन सक्नुहुन्थ्यो, किन मेयरको पद नै रोज्नुभयो ? गत निर्वाचनमा मेयर पदमा करिब ९७ प्रतिशत पुरुषहरू निर्वाचित भएका छन् । के मेयर पदका लागि महिलाहरू अयोग्य नै हो त ? राजनैतिक पार्टीहरूले आधा धर्ती धाकेको महिलाहरूलाई संविधानको भावनाविपरीत मेयर पदमा पुरुषहरूलाई मात्रै स्थान दिने हो त ? के यो महिलाहरू माथि अन्याय होइन र ? त्यसैले पनि मैले सम्पूर्ण महिला तथा युवाहरूको आवाजको प्रतिनिधित्व गर्दै मेयर पदमा उम्मेदवारी दिने निर्णय गरेकी हुँ । संस्था चलाएजस्तो स्थानीय तह हाँक्नु सजिलो छ होला र ? संस्था भनेको एउटा सानो यूनिट हो भने स्थानीय तह भनेको एउटा स्थानीय सरकार नै हो । त्यसैले पनि स्थानीय तह हाँक्नु सजिलो अवश्य पनि हुँदैन । यसै सन्दर्भमा मसँग काठमाडौ महानगरपालिकाको सहरी योजना आयोगमा बसेर काम गरिसकेको अनुभव पनि छ र मैले त्यहाँको कर्मचारीतन्त्र लगायत सिस्टमलाई राम्ररी बुझेकी छु र नजिकबाट अनुभव गर्न पाएकी छु । त्यसैले पनि मसँग आत्मविश्वास छ, म राम्रो व्यवस्थापनका साथ स्थानीय सरकारको नेतृत्व गर्न सक्छु ।
भूमिहीनलाई निस्सा वितरण गर्दै तनहुँका पालिका
दमौली । वर्षौँदेखि लालपुर्जाविहीन अवस्थामा रहेका भूमिहीनलाई तनहुँका पालिकाले निस्सा वितरण गर्न थालेका छन् । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा यहाँका दुई पालिकाले भूमिहीन सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेका हुन् । शुक्लागण्डकी नगरपालिका र बन्दीपुर गाउँपालिकाले सबै वडाका भूमिहीनलाई निस्सा वितरण सुरु गरेका छन् । शुक्लागण्डकी नगरपालिकाले राष्ट्रिय भूमि आयोगसँगको सहकार्यमा शुक्लागण्डकी–७ शान्तिनगरबाट निस्सा वितरण सुरुआत गरेको हो । शुक्लागण्डकी–७ का ९३० भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोवासीले लालपुर्जा प्राप्त गर्नका लागि निवेदन दिएका थिए । तीमध्ये ८६६ भूमिहीनको विवरण प्रविष्ट गरिएकामा पहिलो चरणमा २४७ लाई निस्सा वितरण सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत लीलाबल्लभ न्यौपानेले जानकारी दिए । निस्सा वितरणसँगै लालपुर्जाको प्रक्रिया सुरु भएको उनले बताए । नगरपालिकाका १२ वटै वडाबाट चार हजार ४०३ भूमिहीनको निवेदन सङ्कलन भएको छ । यहाँका भूमिहीन विगत लामो समयदेखि लालपुर्जा पाउने आशामा बसिरहेका छन् । पटक–पटक बनेको भूमि आयोगले लालपुर्जाका लागि निवेदन सङ्कलन गरे पनि सरकार परिवर्तनसँगै आयोगका पदाधिकारी फेरबदल हुँदा उनीहरुले लालपुर्जा पाउन सकेका छैनन् । बन्दीपुरले पनि भूमिही सुकुम्बासीलाई निस्सा वितरण सुरु गरेको छ । वर्षौँदेखि स्थानीयवासीले प्रयोग गरिआएको जग्गाको लालपुर्जा वितरण गर्ने प्रक्रियाअन्तर्गत गाउँपालिकाले निस्सा वितरण सुरु गरेको हो । राष्ट्रिय भूमि आयोगसँग भएको सम्झौताबमोजिम भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई जग्गाको निस्सा वितरण गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए । उनका अनुसार बन्दीपुर–१ बाट निस्सा वितरण थालिएको छ । उक्त वडाका ७४ जनालाई निस्सा वितरण गरिएको र सबै वडामा निस्सा वितरण गरिने उनले बताए । यसैगरी बन्दीपुर–४ र ५ का १३० भूमिहीनलाई निस्सा वितरण गरिएको छ । अध्यक्ष थापाका अनुसार गाउँपालिकाका छवटै वडामा करिब ३२५ भूमिहीनलाई निस्सा वितरण गरिनेछ । ‘भूमिहीन सुकुम्बासीलाई लालपुर्जा वितरण गर्नका लागि निस्सा वितरण गरेका हाैँ, निस्सा दिएपछि अब लालपुर्जा पनि पाइन्छ भन्ने स्थानीयवासीलाई हौसला दिएका छौँ’, उनले भने । निस्सा वितरणकै आधारमा अब जग्गाको नापजाँच प्रक्रिया अगाडि बढ्ने भएकाले उनीहरुले लालपुर्जा पाउने पक्का भएको अध्यक्ष थापाले बताए । रासस
उद्यमी उत्पादन गर्ने स्थानीय सरकारका प्रयास : मोटो रकम खर्च, उपलब्धी न्यून
काठमाडौं । उद्यमशीलता विकासको लागि स्थानीय तहहरूले बर्सेनि लाखौं रुपैयाँ खर्च गर्दै आएका छन् । खर्च गरे अनुसारको उपलब्धि भने शून्य जस्तै छ । सिप सिकाएर रोजगारी सिर्जना गर्नको स्थानीय तहले गाउँगाउँमा युवा उद्यमशीलता सुरुवात गरेका थिए । सो कार्यक्रम धेरै स्थानीय तहमा सञ्चालन भएपनि प्रभावकारी नभएको पाइएको छ । स्थानीय तहमा यो काम प्रभावकारी रुपमा गर्न नसकेको धेरै जनप्रतिनिधिहरू नै स्वीकार गर्छन् । सीप सिकेर पनि धेरैले काम गर्न नसकेको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन् । सीप सिकेर नै उद्यमी बनी रोजगारी गरेर राम्रो आम्दानी गर्न सफल भएको पनि समाजमा धेरै उदाहरणहरू छन् । उद्यमी बन्नको लागि पनि आर्थिक अवस्था नै राम्रो हुनुपर्छ । आर्थिक अवस्था राम्रो बनाउनको लागि विभिन्न स्थानीय तहहरुले रोजगार बन्नका लागि सस्तो व्याजमा ऋण दिँदै आएका पनि छन् । काठमाडौं उपत्यका भित्रका स्थानीय तहले ५ वर्षको अवधिमा उद्यमशीलता विकासमा गरेका काम बारेमा हामीले यो समग्र तयार पारेका छौं । बूढानीलकण्ठ नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा उद्यमशीलता विकासको लागि १९ लाख ६० हजार रुपैयाँ बजेट गरेको थियो । सो रकमबाट नगरपालिकाले ८० जनालाई सीप सिकाई उद्यमी बनाउने लक्ष्य राखेको थियो । जसमध्ये ७७ जनालाई तालिम दिन सकेको नगरपालिकाका उद्यम विकासका सहजकर्ता जनार्दन मिश्रले बताए । सो आर्थिक वर्षमा विभिन्न वडाका ती ७७ जनालाई नगरपालिकाकाले डल तथा कुसन, अचार बनाउने, एडभान्स सिलाई कटाई र तरकारी तथा पशुपालनको तालिम दिएको थियो । उक्त तालिममा ७० प्रतिशत महिलाको सहभागिता थियो । सहजकर्ता मिश्रका अनुसार सो तालिमम दिनको लागि नगरपालिकाले ९ लाख ३२ हजार रुपैयाँ खर्च गरेको छ । तालिम दिएको ७७ जना मध्ये १९ जनामा उद्यमी बनेका छन् भने १० जनाले संस्था दर्ता गरे पनि काम नगरेको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा उद्यमशीलता विकासको लागि नगरपालिकाले २२ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यस आर्थिक वर्षभित्रमा नै ९० जनालाई सीप सिकाइ रोजगार बनाउने लक्ष्य छ । नगरपालिकाले यस आर्थिक वर्ष भित्रमा कफी, ढाका, सिलाई बुनाई, ब्युटी पार्लर, रेशमको धागोबाट गहना, तरकारी र बेकरीको तालिम दिने योजना बनाएको मिश्रले जानकारी दिए । नगरपालिकाले ४.५ प्रतिशत व्याजदरमा उद्यमी बन्न चाहनेहरुलाई एकदेखि ५ लाख रुपैयाँसम्म ऋण पनि उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले उद्यमशीलता विकास कोषमा ७५ लाख रुपैयाँ बजेट बिनियोजना गरेको छ । व्यावसायिक बन्न चाहानेहरुले सो कोषले ५० हजार रुपैयाँ दिँदै आएको छ । उक्त ऋणको लागि आवश्यक पर्ने २३ जनाले आवेदन दिएको नगरपालिकाले जानकारी दिएको छ । उद्यमशीलता विकासका लागि बर्सेनि तालिम दिँदै आए पनि पूर्णरूपमा उद्यमी बनाउन नसकेको काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी बताउँछिन् । उनका अनुसार महानगरपालिकाले युवाहरूलाई अचार, जुत्ता, माला, हस्तकला, मकैको खोस्टाको फूल बनाउने जस्ता तालिम दिँदै आएको छ । ‘उद्यमशीलता विकासकाको लागि मैले आवाज उठाइरहेको छु, वडागत रूपमा नै तालिम सञ्चालन गर्यौं, बजेट पनि निकै खर्च भयो तर, उपलब्धि भने शून्य भयो,’ उनले भनिन् । केही दिन अगाडिमात्र महानगरपालिकाले हस्तकलाको तालिम सम्पन्न गरेको छ । महानगरपालिकाले उद्यमशीलताको तालिम दिएपछि धेरै बेरोजगार युवा रोजगार बनेको उनले दाबी गरिन् । बजार व्यवस्थापन हुन नसकेकोले पनि तालिम प्रभावकारी हुन नसकेको पनि उपप्रमुख खड्गीले बताइन् । महानगरपालिकाले केही महिनापछि महिला उद्यमीको कार्यक्रम सञ्चालन गर्न तयारी गरिरहेको छ । ‘सीप सिकेर उत्पादन गरेकोकाहरुले राम्रो आम्दानी गर्न पनि सफल भएका छन्, हामीले वडागत रूपमा यसका तालिम पनि सञ्चालन गर्यौं, तालिममा सहभागी भई धेरै जना रोजगार पनि बनेका छन्,’ उनले भनिन् । उद्यमशीलता विकासको लागि नगरपालिकाको सीपमूलक सामूहिक तालिमहरू दिँदै आएको गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ती नेपालले बताइन् । उपप्रमुख नेपालका अनुसार तालिम दिएर धेरै दिदिबहिनिहरु आफ्नै उद्योगहरू सञ्चालन गरी बसेका छन् । नगरपालिको ग्रामीण उद्योग भनेर सिलाई कटाइ, जुक्त बनाउने, अचार, कफी र साबुन बनाउने लगायतका तालिमहरू दिएको छ । ‘मलाई महिला दिदीबैनीले उद्योग सञ्चालन गरेर बसेकोमा खुसी लागेको छ, उनीहरूले रोजगार भएर बसेका छन्,’ उनले भनिन् । नगरपालिकामा ६ सय महिला समूह छन् । यीमध्ये तालिम लिएको समूह ५ सय भन्दा बढी छन्, जसमध्ये तालिम लिएर उद्योग सञ्चालन गरे बस्ने समूह २५ वटामात्र रहेको पनि नेपालले जनाइन् । ‘कस्तो खालको तालिम लिने हो, त्यो अनुसारको हामी बजेट विनियोजन गछौं, ५० हजारदेखि ६ लाख रुपैयाँसम्म नगरपालिकाले तालिम दिनको लागि एउटा समूहलाई खर्च गर्दै आएको छ,’ उनले भनिन् । समूहगत व्यापार व्यवसाय सञ्चालन गर्न चाहने र ऋणको आवश्यकता छ भने बैंक तथा बित्तिय संस्थासँग सहजीकरण गरिदिने र १० लाख रुपैयाँसम्मको व्याज पनि नगरपालिकाले तिरिदिन्छ, तर हालसम्म कुनै पनि समूह ऋण लिन नआएको नगरपालिकाले जनाएको छ । उद्यमशीलताको विकासमा यो ५ वर्षको अवधिभरमा धेरै राम्रो काम गर्न सफल भएको भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले जानकारी दिइन् । उपप्रमुख जोशीका अनुसार युवाको सीप विकासको लागि नगरपालिकाकाले पर्यटनसँग जोडेर विभिन्न भाषा, होटेलको लागि कुक तथा हस्तकलाकाका सामानहरू बनाउने तालिम दिएको छ । ‘उद्यमशीलताले जनतासँग रहेका निष्क्रिय बचत परिचालन गरेर पुँजी निर्माणमा वृद्धि गर्दछ , उद्यमशीलताले नयाँ–नयाँ व्यवसाय वा उद्यममा लगानी गरी राष्ट्रिय पुँजी निर्माणमा नै योगदान पुर्याएको भएकाले उद्यमी बन्नेहरुको लागि नगरपालिकाले सहजीकरण गर्दै छ,’ उनले भनिन् । नगरपालिकाले युवाको क्षमता विकासमा गरेको लागानिरको प्रतिफल प्रभाकारी बन्न पुगेको पनि उनी दाबी गछिन् । सीपको विकास, प्रविधिको उपयोग र स्रोतको परिचालन गरी उद्यमशीलताको विकास गर्ने योजना नगरपालिकासँग रहेको छ ।