चुनावको अघिल्लो दिन सार्वजनिक गाडी चल्छ कि चल्दैन ?

काठमाडौं । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको अघिल्लो दिन सार्वजनिक यातायात सञ्चालन हुन्छ कि हुँदैन भन्ने धेरैको प्रश्न धेरैकाे मनमा छ । हाल निर्वाचनको अघिल्लो दिन अर्थात बैशाख २९ गते अपरान्ह १२ बजेदेखि सार्वजनिक यातायात सञ्चालन नहुने भन्ने हल्ला फैलिएको छ । उक्त हल्लाले निर्वाचनमा आफ्नो मताधिकार प्रयोग गर्न गाउँघर जाने तयारी गरेका अधिकांश मतदाताहरु दोधारमा परेका छन् । बजारमा चलेको हल्ला हामीले निर्वाचन आयोगका सचिव गोकर्णमणी दुवाडीलाई सोधेका छौं । बैशाख २९ गते सार्वजनिक यातायात सञ्चालन हुन्छ कि हुँदैनन् भन्ने हाम्रो प्रश्नमा उनले २९ गते निर्धक्कसँग सार्वजनिक यातायात सञ्चालन हुने बताए । ‘२९ गते सार्वजनिकसँगै सम्पूर्ण सवारीसाधन सञ्चालन हुन्छ, निर्वाचनको दिन अर्थात बैशाख ३० गते निर्वाचन आयोगबाट अनुमति लिएका सवारी बाहेक अन्य सवारीसाधन सञ्चालनमा रोक लगाईएको छ’, उनले भने । सिमानाकादेखि आन्तरिक उडानमा रोक बैशाख ३० गते हुने निर्वाचनका दिन आन्तरिक उडानहरु रोकिने भएका छन् । वायुसेवा सञ्चालक संघले आईतबार एक विज्ञप्ती जारी गर्दै निर्वाचनका दिन सम्पूर्ण उडान तथा अवतरणहरु बन्द हुने जनाएको हो । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) ले हालसम्म विमानस्थल बन्दको घोषणा भने गरेको छैन । निजी वायुसेवा कम्पनीले आन्तरिक उडान बन्दको घोषणा गरे पनि अन्तर्राष्ट्रिय उडान तथा अवतरण भने सुचारु नै रहने जनाईएको छ । यस्तैगरी, सरकारले मंगलबार रातिदेखि ७२ घण्टासम्मका लागि अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने भएको छ । स्थानीय तह निर्वाचन सुरक्षाका लागि मंगलबार मध्यरातिदेखि मतदान हुने दिनसम्मका लागि सीमाबाट हुने आवागमन बन्द गर्न लागेको हो । मतदानको दिनभन्दा अगाडिको ७२ घण्टालाई मौन अवधि मानिन्छ । मौन अवधिमा अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने र चुनाव प्रचार गर्न बन्देज लगाउने गरिन्छ । यस्तै, मतदानको दिन सवारी अनुमति पत्र बोकेका गाडीहरु मात्र गुड्न पाउने भएका छन् ।

मतदातालाई आकर्षित गर्न सेवा सुविधा नलिने प्रतिस्पर्धामा उम्मेदवारहरु

कञ्चनपुर । मतदातालाई आकर्षित गर्न सेवा सुविधा नलिने घोषणा गरी जिल्लामा स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । चुनाव प्रचारको मिति सकिनै लाग्दा उम्मेदवार मतदाता आकर्षित गर्न सेवा सुविधासम्म नलिने घोषणा गर्न थालेका हुन । स्थानीय तहका जनप्रतिनिधिले सुदूरपश्चिम प्रदेश सरकारले बनाएको कानुनका आधारमा सेवा सुविधा पाउने गरेका छन् । यस आधारमा दिइने सेवा सुविधा नखाने घोषणा गरी केही दलका उम्मेदवारले चुनावमा उम्मेदवार दिएका छन् । सेवा सुविधा नलिने घोषणा गर्नेमा सबैभन्दा बढी कांग्रेसका उम्मेदवार छन् । भीमदत्त नगरपालिकामा कांग्रेसका तीन वडाध्यक्षका उम्मेदवारले सेवा सुविधा नलिने घोषणा गरेका छन् । जिल्ला सदरमुकाम बाहिर बेलडाँडी गाउँपालिकामा नेकपा (एमाले) का वडाध्यक्षका उम्मेदवार दीपेन्द्र धामीले पनि सेवा सुविधा नलिने घोषणा गरेका छन् । उनले सेवा सुविधाबापत पाउने रकम विपन्न परिवारका लागि खर्च गर्ने घोषणा गरेका छन् । कांग्रेसका वडाध्यक्षका उम्मेदवार आशेफ कुँवर, भूपेन्द्र रावल र प्रकाश थापाले सेवा सुविधा नलिने घोषणा गरेका छन् । उनीहरुमध्ये भीनपा–१ मा अघिल्लो निर्वाचतमा निर्वाचित कुँवर फेरि दोहोरिएका छन् । रावल र थापा पहिलोपटक चुनावी मैदानमा छन् । अघिल्लो कार्यकालमा निर्वाचित कुँवरले आफूले पाउने सेवा सुविधा ज्येष्ठ नागरिकलाई वितरण गर्नुभएको थियो । भीनपा–१२ मा रावलले सेवा सुविधाबाट कोष खडा गरी विपन्न, दलित, विद्यार्थीको स्कुल ड्रेस, सुत्केरी महिला तथा एकल वृद्धवृद्धामा खर्च गर्ने घोषणा गरेका छन् सेवा सुविधा नलिनेमा नेकपा (माओवादी केन्द्र)बाट भीनपा–३ का अध्यक्षका उम्मेदवार उपेन्द्रबहादुर कुँवर पनि छन् । माओवादीको प्रदेश सल्लाहकार कमिटी सदस्य उनले सेवा सुविधाबापत पाउने रकमबाट कोष बनाएर वडाका गरिब विपन्न दलित समुदायको उत्थानमा खर्च गर्ने घोषण गरेका छन् । शुक्लाफाँटा नगरपालिका–३ बाट एमालेबाट उम्मेदवार बनेका कपेन्द्र बमले समेत थारु मतदाता आकर्षित गर्नका लागि नगरपालिकाबाट पाइने सेवा सुविधा नलिने घोषणा गरेका छन् । रासस

पर्वतमा चारदिनका लागि जिल्ला प्रशासन कार्यालयको सेवा स्थगित

पर्वत । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा आजदेखि चारदिनका लागि बन्द गरिएको छ । निर्वाचनका लागि कर्मचारी मतदान केन्द्रमा खटिने तथा अनुगमनलगायत विभिन्न कारणले सेवा प्रवाहलाई निरन्तरता दिन नसक्ने अवस्था भएपछि सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाद्वारा जारी सूचनामा जनाइएको छ । नागरिकता, नाबालक, राष्ट्रिय परिचयपत्र, राहदानी, पेन्सनलगायतका सेवा आगामी जेठ ३ गतेदेखि नियमित हुने जनाइएको छ । त्यस्तै जिल्ला मालपोत कार्यालयका सेवा पनि यही वैशाख २७ गतेदेखि बन्द हुने भएका छन् । निर्वाचनमा एक हजार १७६ कर्मचारी परिचालन हुने भएका छन् । यसैगरी जिल्लामा मादक पदार्थ बिक्री वितरण र सेवनमा निषेध गरिएको छ । निर्वाचनलाई लक्षित गरी प्रशासनले वैशाख २७ गते मङ्गलबार राति १२ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्मका लागि मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन नगर्न नगराउन आदेश जारी गरेको छ । मदिरा सेवनका कारण समाजमा होहल्ला, झैझगडा तथा गैरकानुनी र अपराधिक क्रियाकलाप हुनसक्ने भन्दै मदिरा बिक्री वितरण तथा सेवनमा रोक लगाइएको प्रजिअ सापकोटाले बताए । त्यसैगरी मतदानको दिन अत्यावश्यक सेवामा सञ्चालित र अनुमति लिएका सवारी साधनबाहेकका सवारी साधन बिहान ६ बजेदेखि मतदान कार्य सम्पन्न नभएसम्म सञ्चालन नगर्न/नगराउन पनि प्रशासन अनुरोध गरेको छ । प्रशासनले जारी सूचना विपरितका कार्य तोकिएको अवधिमा गरे/गराईएको पाइएमा कानुन अनुसार कारबाही गरिनेसमेत प्रजिअ सापकोटाले बताए । रासस