सबै पालिकाको प्रगति प्रतिवेदन वैशाखभित्र सार्वजनिक हुने

काठमाडौं । आगामी वैशाखभित्र गाउँपालिकाका जनप्रतिनिधिले गरेका कामको विवरण सार्वजानिक गर्ने गाउँपालिका राष्ट्रिय महासंघ नेपालका अध्यक्ष होमनारायण श्रेष्ठले बताएका छन् । अध्यक्ष श्रेष्ठले संघीय संरचनामा तहगत योजना तर्जुमा, कार्यान्वयन र प्रतिवेदनका विषयमा आज भएको पत्रकार सम्मेलनमा सबै गाउँपालिकाको समग्र प्रगति प्रतिवेदन सार्वजनिक गर्ने दाबी गरेका हुन् । गाउँपालिका महासंघले गाउँपालिकाभित्र भए/गरेको कामको तथ्यांक संकलन गरिरहेको अध्यक्ष श्रेष्ठले बताए । ‘गाउँपालिकाहरूले यो समय अवधिभित्र कति वटा वडा भवनको निर्माण गरे, कति किलोमिटर सडक विस्तार र स्तरोन्नति गरे, पालिकाले के-के काम गर्न सफल भएका छन् भन्ने विषयको तथ्याङ्क संकलन गर्दैछौं,’ उनले भने । दीर्घकालिन विकास रणनीतिअन्तर्गत राष्ट्रिय योजना आयोगले महत्त्वकाङक्षि लक्ष्य राख्ने गर्छ, तर उक्त लक्ष्यअन्तर्गत कुन तहले के काम गर्ने भन्ने बारेमा समन्वय पर्याप्त हुन नसकेको श्रेष्ठले बताएका छन् । समन्वय हुन नसकेको कारणले स्थानीय तहले आफ्नो योजनामा नै केन्द्रित हुने गरेका छन् ।

स्थानीय तहका जनप्रतिनिधिले मनोनयनअघि राजीनामा दिनु नपर्ने

काठमाडौं । स्थानीय तहका निर्वाचित पदाधिकारीलाई  उम्मेदवारको मनोनयन दर्ताअघि नै पदबाट राजीनामा गर्नुपर्ने भनी निर्वाचन आयोगले जारी गरेको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले आयोगलाई त्यस्तो आचारसंहिता जारी गर्नुको कारण देखाउन पनि आदेश दिएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचन २०७९ को लागि चैत ३ गते आचारसंहिता सार्वजनिक गरेको थियो । उक्त आचारसंहितामा स्थानीय तहको निर्वाचनमा उम्मेदवारमा दोहोरिनेले उम्मेदवारको मनोनयनअघि नै राजीनामा दिनुपर्ने उल्लेख थियो उक्त आचारसंहिताविरुद्ध सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । न्यायाधीश श्रेष्ठको इजलासले चैत १३ गते दुवै पक्षलाई छलफल पनि बोलाएको छ । उक्त छलफलपछि यो आदेशलाई निरन्तरता दिने वा नदिनेबारे अर्को आदेश हुनेछ ।

जनप्रतिनिधिमा दोहोरिन इच्छुकको अग्नि परीक्षा आफ्नै काम

काठमाडौं । स्थानीय निर्वाचन नजिकिँदै गर्दा जनप्रतिनिधिहरू कार्यलयको काम छोडेर पार्टीको चुनावी प्रचारमा व्यस्त हुन थालेका छन् । निर्वाचित जनप्रतिनिधिहरूको कार्यअवधि सकिन केही महिना मात्र बाँकी रहँदा चुनावमा केन्द्रित भएका हुन् । यसले स्थानीय तहको प्रशासनिक काममा अवश्य प्रभाव पारेको छ । स्थानीय तहको निर्वाचन आउन ५२ दिन बाँकी छ । स्थानीय तहको चुनावमा धेरैजसो जनप्रतिनिधिहरू फेरि दोहोरिने योजनासहित चुनावी तयारीमा जुटेका हुन् । निर्वाचित जनप्रतिनिधिले पाँचवर्षे अवधिमा के कति काम गरे त्यसअनुसार स्थानीय मतदाताले अवश्य मूल्याङ्कन गर्नेछन् । राम्रा काम गर्नेलाई जनताले फेरि निर्वाचित गर्नेछन् । चित्तबुझ्दो काम नगरेकालाई मतदाताले विचार गर्नेछन्, यो त निर्वाचनको प्रक्रिया नै हो । जति राम्रा काम गरेको छु भन्नेले पनि चुनावी घोषणा-पत्र अनुसार काम गर्न सकेका छैनन्, यसमा दुई मत छैन । धेरैजसो जनप्रतिनिधि दोहोरिने सोचमा हरेका पाइएकोले उनीहरूको अग्नि परीक्षा पनि यही निर्वाचन भन्दा फरक नपर्ला । जनप्रतिनिधिविहीन् रहेका स्थानीय तहमा प्रतिनिधि निर्वाचित भएर आएपछि परिवर्तन भएकै छ । बजेटअनुसार कतिले राम्रा काम गरे भने कतिले ठिकै काम गरे, यो समीक्षाको विषय हो । आज चर्चा गर्न खोजिएको विषय देशभर जम्मा ११ वटा उपमहानगरपालिकामध्ये केही उपमहानगरपालिकाका कामबारे हो । यस विषयमा केन्द्रित भएर हामीले यो सामग्री तयार पारेका छौं । प्रदेश–१ को इटहरी उपमहानगरपालिकाकामा पछिल्लो समय विकास निर्माण काम तीव्रता भएको जनप्रतिनिधिले दाबी गरेका छन् । निर्वाचित भएर आएपछि विकास, पूर्वाधार र शिक्षामा धेरै सुधार भएको उपमहानगरपालाकी उपप्रमुख लक्ष्मी गौतमको दाबी छ । उपप्रमुख गौतमका अनुसार यो अवधिसम्ममा उपमहानगरपालिकाभित्र ४ कोठे ९ वटा शैक्षिक भवनहरूको निर्माण भएका छन् । ‘हामीले गुणस्तरीय शिक्षा कार्य योजनाको निर्माण गरेका छौं, शिक्षा ऐन बनायौं, नगर भित्रका विद्यालयमा छात्र र छात्राका एउटै शौचालय थियो, त्यस्ता विद्यालयमा भिन्नाभिन्नै शौचालयको निर्माण गरेका छौं,’ उनले भनिन् । साथै उपमहानगरले विद्यार्थीको संख्या अनुसार दरबन्दी लिलाम गरेको पनि गौतमले बताइन् । निजी विद्यालयको वर्गीकरण गरी विद्यालय शुल्कसमेत उपमहानगरपालिकाले निर्धारण गरेका गौतमले जनाकारी दिइन् । यस्तै उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा आइसिटी ल्याब, स्मार्ट बोर्ड, ई–हाजिरी प्रणालीको पनि व्यवस्था गरिएको छ । ‘निर्वाचित भएर आएपछि ५ वटा नयाँ ट्याक खोलेका छौं, असार मसान्तसम्ममा १३० किलोमिटर सडकको कालोपत्रे, २५ किलोमिटर सडक ग्राभेल, ७० किलोमिटर सडकको स्तरोन्नति, ४५ किलोमिटर सडकमा वाल लगाएका छौं ’,उनले भनिन् । साथै, ६ वटा ठूला पुल, ४ वटा मझौला पुल र ७० वटा कल्बर्टको निर्माण गरेको पनि गौतमले बताइन् । उपमहानगरपालिकाले कुल बजेटको ७५ प्रतिशत रकम भौतिक पूर्वाधारको विकासमा खर्च गर्दै आएको छ । ९ वटा वडा कार्यालयका भवनहरू निर्माण भइसकेका छन् भने केही भवनहरू निर्माणाधीन अवस्थामा रहेको गौतमले जनाइन् । गौतमको अनुसार उपमहानगरभित्र हालसम्म १४ वटा आधारभूत स्वास्थ्यचौकीका भवनहरु निर्माण भएका छन् । उपमहानगरपालिकाले १५ शय्याको उपमहानगर अस्पताल निर्माण गरेका छ । अस्पतालबाट २४सै घण्टा बिरामीले सेवा पाउँछन् । पाँच वर्ष इटहरी उपमहानगरको उपमेयर पदमा बसेकी गौतमले पार्टीले विश्वास गरे आफू मेयरको दाबेदारी रहेको भएको उनले बताइन् । यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आफ्नो निर्वाचित कार्यकालमा अपेक्ष भन्दा बढी काम गर्न सफल भएको उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले जनाएका छन् । सडक विस्तार र स्तोरन्नतिको क्षेत्रमा उल्लेखनीय काम गरेको उनको दाबी छ । नगरप्रमुख सुवेदीका अनुसार विगतभन्दा सडक निर्माणको काम तेब्बर भएको सुवेदी दाबी गर्छन् । उपमहानगरपालिकाले कुल बजेटको ८० प्रतिशत रकम भौतिक पूर्वाधार र विकास निर्माणको काममा खर्च गर्दे आएको छ । यस्तै, शैक्षिक गुणस्तर र सुधारको लागि उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रमको विकास गरेको सुवेदी बताउँछन् । ‘शैक्षिक सुधारको पाँच वर्षको योजना बनाएका छौं, उक्त योजनाभित्र पूर्वाधारको विकास, शैक्षिक पूर्वाधार र शैक्षिक जनशक्तिलाई तालिमको व्यवस्थाको कार्यान्वयन गर्दा ४ वर्ष भित्रमा नै नतिजाहरू प्राप्त भएको छ,’ उनले भने । यस उपमहानगरपालिका ७५३ थानीय तहमध्ये शिक्षा मन्त्रालयले गरेका सूचाङ्कमा आधारित कार्यसम्पादनमा पहिलो भएको उनले बताए । निर्वाचित भएर आएपछि उपमहानगरपालिका भित्र १८ वटा शैक्षिक संस्थाको भौतिक निर्माण भएको सुवेदी जानकारी दिए । यस्तै, उपमहानगरपालिकाको सबैजसो स्वास्थ्यचौकीमा ल्याब, डिजिटल अक्सरे सहितको सेवा सुविधाको व्यवस्थापन गरेको पनि सुवेदीले जनाए । ‘निर्वाचित हुनुभन्दा अगाडि स्वास्थ्य क्षेत्रको अवस्था निकै कमजोर थियो, हामी निर्वाचित भएरआएपछि स्वास्थ्य क्षेत्रमा पनि निकै परिवर्तन आएको छ,’उनले भने । त्यस्तै प्रदेश १ को धरान उपमहानगरपालिका एक सुन्दर तथा विविध सांस्कृतिक विविधता भएको नगर हो । उपमहानगरपालिकाको विकाससँगै स्थानीयको आवश्यकता र मागलाई केन्द्रमा राखेर काम गरिएको उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी बत्ताउँछिन् । उपप्रमुख भण्डारीका अनुसार उपमहानगरपालिकाले ५ वटा वडालाई कृषि पकेट क्षेत्रको रूपमा घोषण गरी कृषिका विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । कृषियोग्य जमिनलाई पकेट क्षेत्रमा छुट्याई उक्त ब्लकमा उपमहानगरपालिकाले बाख्रा, गाई, कुखुरा, कृषि औजारको सामानहरु वितरण गर्दै आएको पनि भण्डारीले बताइन् । निर्वाचित भएर आएपछि १०० किलोमिटर पक्की सडक बनाएका भण्डारी दाबी गर्छिन् । ‘हामीले धरानभित्र खेलमैदान ३८ वटा, आधारभूत स्वास्थ्य चौकी १० वटा निर्माण गरेका छौं,’ उनले भनिन् । निर्वाचित जनप्रतिनिधिले यो अवधिसम्ममा उपमहानगरपालिकाभित्र १५ वटाभन्दा बढी विद्यालयको भवनहरू निर्माण गरेको उनको भनाइ छ । यस्तै हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिनाकुमारी लामाका अनुसार शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको बताउछिन् । उनी भन्छिन्,‘सीमित बजेटका कारण लक्ष्य अनुसार काम गर्न सकेनौं । तर, भएको बजेटको भरपुर सदुपयोग गरी विकासले गति लएिको छ ।‘ लामाका अनुसार उपमहानगरपालिकाले विकास सँगसँगै उत्पादनलाई जोड दिँदै आएको छ । कृषिको विकासको लागि उपमहानगरपालिकाले भूगोल अनुसारको माटोको परीक्षण गर्नेजस्ता काम गरी उक्त माटोमा उपयुत्त हुने कृषिमा बाली लगाउँदै आएको छ । औद्योगिक क्षेत्रको विकासबारे लामाले भनिन्, ‘हामीले औद्योगिक क्षेत्रको विस्तार गर्नको लागि औद्योगिकीकरण नभइकन त्यसको अर्थ कृत्रिम नहुने भएका कारणले गर्दा स्थानीय तहको तर्फबाट हामीले पटक–पटक अन्तरक्रिया गरेका छौं, औद्योगीकरणलाई बढाउने, रोजगारी सिर्जना गर्ने र थप नगरपालिले सहयोग गर्नु परेमा त्यो पनि गर्न तयार भनेर धेरै पटक जानकारी गराएका छौं,’ उनले भनिन् । स्थानीय तहमा निर्वाचित भएपछि १९ वटै वडामा शहरी स्वास्थ्य केन्द्र भनेर २० वटा स्वास्थ्य संस्थाको स्थापना गरेको लामा बताउँछिन् । जहाँ सुत्केरीलगायत साना रोगको उपचारको लागि हेटौडा नै आउनु नपरोस् भनेर उक्त स्वास्थ्य केन्द्रको निर्माण गरिएको उनको भनाइ छ । चुनावमा गरेको प्रतिबद्धताभन्दा धेरै काम गर्न सफल भएका उनी दाबी गर्छिन् । यस्तै, कलैया उपमहानगरपालिका मेयर राजेशराय यादव आफू निर्वाचित भएर आएपछि उपमहानगरपालिकाको मुहार नै फेरिने गरी काम गरिएको बताउछन् । धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशिला मिश्र भट्टले उपप्रमुखको जिम्मा पाएपछि जनताको आवश्यकता र इच्छा अनुसार नै काम गर्दै आएका बताइन् । उपमहानगरपालिकाले भौतिक पूर्वाधार, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा उलेखनीय काम गरेको भट्ट दाबी गर्छन् । उपमहानगरपालिकाको मुख्य समस्या डुबान भएकोले समस्यालाई समाधान गर्नको लागि धेरै ठूलो बजेट लगानी गरे पनि समस्या उस्तै छ भने निर्वाचनको बेलाको आफ्नो संकल्प र प्रतिबद्धताअनुसार नै काम गरेको उनी बताउँछिन् ।