नेपाली सेनाको स्कटीङमा मतपत्र ढुवानी हुँदै
काठमाडौं । निर्वाचन आयोगले स्थानीत तह निर्वाचनका लागि मंगलबारदेखि ६३ जिल्लामा मतपत्र ढुवानी सुरु गर्ने भएको छ । आयोगले सोमबारसम्म ६३ जिल्लाका लागि आवश्यक पर्ने १ करोड ५४ लाख ८३ हजार (करिब ८० प्रतिशत) मतपत्रको छपाइ सकिएपछि ढुवानी सुरु गर्न लागेको हो । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले छपाई भएका मतपत्र आजदेखि सम्बन्धित जिल्लामा ढुवानी गर्न लागिएको जानकारी दिए । आयोगले मतपत्र छपाईको जिम्मा जनक शिक्षा सामग्री केन्द्रलाई दिएको छ । ‘जनक शिक्षा सामग्री केन्द्रमा नेपाली सेनाको कडा सुरक्षा निगरानीमा मतपत्र छपाईको काम हुँदै आएको छ, आजदेखि सेनाको स्कटिङमा ६३ जिल्लामा मतपत्र ढुवानी सुरु हुन्छ’, उनले भने, ‘मतपत्र छपाईदेखि जिल्लामा स्थापना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सेनाकै कडा सुरक्षा निगरानीमा मतपत्र राखिन्छ । मतपत्र ढुवानीदेखि रेखदेखको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिईएको छ ।’ निर्वाचन आयोगले एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरेको छ । पहिलो चरणको ढुवानी कर्णाली प्रदेशमा आयोगले पहिलो चरणमा मतपत्र ढुवानी कर्णाली प्रदेशका लागि गर्न लागेको छ । नेपाली सेनाको सुरक्षा घेरामा जिल्लास्थित निर्वाचन केन्द्रमा पुग्ने गरी मतपत्र ढुवानी गर्न लागेको हो । आयोगले कर्णाली प्रदेशमा हेलिकोप्टरबाट ढुवानी गर्नेछ । उपत्यकासहित १० जिल्लाको मतपत्र छपाइ गर्न बाँकी रहेको अवस्थामा आयोगले छपाइ सकिएका जिल्लामा मत्रपत्र ढुवानी शुरू गरेको हो । आयोगले हेलिकोप्टर, कन्टेनर, ट्रकलगायत सवारी साधनबाट मतपत्र ढुवानी गर्ने जनाएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गत चैत १६ गतेबाट मतपत्र छपाइको काम शुरू भएको थियो ।
भरतपुर महानगरको प्रमुखमा ३० जनाको मनोनयन
चितवन । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जनाको उम्मेदवारी परेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ राजनीतिक दल र १४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् । उपप्रमुखमा १३ जनाको उम्मेदवारी परेको छ । कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार प्रमुखमा नेकपा (एमाले)का विजय सुवेदी, नेकपा (माओवादी केन्द्र)का रेनु दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट गणेश गिरी, विवेकशील साझा पार्टीबाट प्रवीण काफ्ले, राष्ट्रिय जनमोर्चाबाट भक्तिराम गौतम शर्मा, नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुलाल, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेलिनवादी)बाट सूर्यप्रसाद रेग्मी, मङ्गोल नेशनल अर्गनाइजेशनबाट टेकबहादुर पुनमगर, राष्ट्रिय नागरिक पार्टीबाट पूर्णबहादुर गुरुङ, जनमत पार्टीबाट सञ्जयकुमार ठाकुर, मौलिक जरोकिलो पार्टीबाट विनोदकुमार गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट लक्ष्मण अधिकारी, उन्नत लोकतन्त्र पार्टीबाट दीपेन्द्र बाँस्तोला, सामाजिक एकता पार्टीबाट खेम प्रसाईँले महानगर प्रमुखमा उम्मेदवारी दर्ता गराएका छन् । यस्तै स्वतन्त्रतर्फ जगन्नाथ पौडेल, रामकृष्ण ओझा, हरिशचन्द्र घिमिरे, मोहित पाण्डे, यामकान्त शर्मा कँडेल, रुद्रप्रसाद सापकोटा, सुमन अधिकारी, योगलाल श्रेष्ठ, उद्धव अर्याल, कुलराज कँडेल, हरिशरण श्रेष्ठ, रमेश भण्डारी, मिलन अधिकारी र दुर्गाप्रसाद शर्माले उम्मेदवारी दर्ता गराएका हुन् । यस्तै उपप्रमुखमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट हिमाल गुरुङ, विवेकशील साझाबाट पुष्पा सापकोटा, राष्ट्रिय जनमोर्चाबाट देवी शर्मा, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी)बाट इन्दिरा शर्मा गौली, राष्ट्रिय जनमुक्ति पार्टीबाट मीना मगर, मङ्गोल नेशनल अर्गनाइजेशनबाट सुष्मा तामाङ, राप्रपा नेपालबाट कल्पना थापा, नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबाट कौशिला खत्री रहेका छन् । यस्तै स्वतन्त्रबाट उपप्रमुखमा रविचन्द्र अधिकारी, पवित्रा जोशी, चन्द्रबहादुर तामाङ र भोजराज कौडाल रहेका छन् । रासस
कामपा प्रमुख पदका लागि ५६ र उपप्रमुखका लागि ३१ को उम्मेदवारी
काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखका लागि ५६ र उपप्रमुख पदका लागि ३१ जनाको उम्मेदवारी परेको छ । प्रमुख पदका लागि उम्मेदवारी दिने ५६ मध्ये २१ ले दलका तर्फबाट उम्मेदवारी दिएका हुन् भने बाँकी ३५ ले स्वतन्त्र उम्मेदवाररूपमा मनोनयन दर्ता गराएका हुन् । प्रमुख पदका लागि उम्मेदवारी दिनेमध्ये आठ महिला छन् । उपप्रमुखमा उम्मेदारी दिने ३१ मध्ये १२ जनाले दलका तर्फबाट र १९ ले स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गरेका छन् । उम्मेदवारमध्ये १२ महिला छन् । आसन्न निर्वाचनका लागि १२ गते साँझसम्ममा दलका प्रतिनिधि र स्वतन्त्रतर्फका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । मनोनयनको पहिलो दिन ११ गते प्रमुखका लागि १६ ले र उपप्रमुखका लागि १७ जनाले उम्मेदवारी दिएका थिए । काठमाडौं जिल्लाका मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाका अनुसार काठमाडौं जिल्लाका सबै पालिकामा जम्मा एक हजार २६२ जनाले मनोनयन पत्र दर्ता गराएका छन् । जसमा प्रमुखका लागि १२५ र उपप्रमुख पदका लागि ५७ जनाले, वडाध्यक्षका लागि ३३४, महिला सदस्यका लागि १९१, दलित महिला सदस्यका लागि १२९ जनाले र सदस्यका लागि ४२६ जनाले मनोनयनपत्र दर्ता गराएका हुन् ।