बहालवाला जनप्रतिनिधिले राजीनामा नदिई उम्मेवार बन्न नपाउने
काठमाडौं । सर्वोच्च अदालतले सिन्धुपाल्तोकको हेलम्बु गाउँपालिका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिट खारेज गरिदिएको छ । निर्वाचन आचारसंहिताले बहालवाला जनप्रतिनिधिले पुनः उमेदवारी दिन राजीनामा दिनुपर्ने प्रवधानविरुद्ध शेर्पाले रिट दायर गरेका थिए । मंगलबार न्यायाधीशहरू तेजबहादुर केसी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले आयोगको स्थानीय तहको चुनावमा उम्मेदवार बन्न जनप्रतिनिधिले राजीनामा दिनुपर्ने आयोगकै निर्णयलाई सदर गरेको हो । रिट खारेज भएसँगै अब उमेदवारी दिन चाहने स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल वैशाख ११ गते नै समाप्त हुने भएको छ ।
फोहोर व्यवस्थापनमा ५ वर्षमा १५ पटक फेल भयो विद्यासुन्दरको महानगर
काठमाडौं । फोहोर व्यवस्थापनमा काठमाडौं महानगरपालिका ५ वर्षमा १५ पटकभन्दा बढी समय फेल भएको छ । कार्यकाल सकिन लागेको काठमाडौं महानगरपालिकाको ५ वर्षे अवधि फोहोर व्यवस्थापनको दृष्टिकोटबाट असफल बनेको तथ्यले देखाएको हो । काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्यको ५ वर्षे कार्यकालमा १५ पटकभन्दा बढी समय नियमित फोहोर संकलन अवरुद्ध भयो । कहिले कोभिडको त्रास, कहिले फोहोर संकलन केन्द्र सिसडोलबासीको अवरोध तथा कहिले ल्याण्डफिल्ड साइड नै भरिएको भन्दै फोहोर संकलनमा समस्या आएको थियो । फोहोर व्यवस्थापन काठमाडौं महानगरको सबैभन्दा ठूलो चुनौति जस्तै बनेको छ । फोहोरको उचित व्यवस्थापन गर्न नसक्दा सडकको पेटीमा फोहोरको थुप्रो हप्तौं पहाड जत्रो भए बस्ने गरेको छ । यो समस्यालाई काठमाडौं महानगरपालिकाले दीर्घकालीन रूपमा समाधान गर्न सकेन । महानगरले फोहोरको व्यवस्थापन गर्न भनेर बर्सेनि करोडौं रुपैयाँ खर्च गर्दै आएको छ । काठमाडौं महानगरपालिकालाई फोहोर व्यवस्थापनका लागि नयाँ ठाउँ उपलब्ध गराउन नसक्दा यो समस्या आएको हो । अहिले पनि लामो समयदेखि फोहोरको उठ्न नसकेको कारण शहरै दुर्गन्धित भएको छ । जसका कारण सहर मात्रै कुरूप बनेको छैन त्यसले मानव स्वास्थ्यलाई पनि गम्भीर असर पारिरहेको छ । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको सिसडोलमा व्यवस्थापन गरिँदै आएको छ । काठमाडौं महानगरभित्रको फोहोर व्यवस्थापन गर्ने जिम्मा महानगरकै भए पनि उचित र प्रभावकारी व्यवस्थापन हुन सकेको छैन । काठमाडौंका सडकबाट फोहोर नउठ्नु कुनै नौलो समस्या होइन । कुनै समय महिनामा दुई–तीन पटकसम्म फोहोर उठ्दैन । जसका कारण दुई सातासम्म सडकमा फोहोरको चुली बन्छ । हरके वर्ष, हरेक साल फोहोरको व्यवस्थापन हुन एउटा ठुलो चुनौतीको विषय जस्तै भएको छ । यसै सन्दर्भमा हामीले काठमाडौं महानगरपालिकामा निर्वाचित भएर जनप्रतिनिधि आएपछि कुन वर्षको कुन कुन समयमा कति कति दिन फोहोर व्यवस्थापनमा समस्या भयो भनेर यो सामग्री तयार पारेका छौं । महानगरमा निर्वाचित जनप्रतिनिधि आएपछि एकै महिनामा महिनामा २ पटकसम्म फोहोरको समस्या आएको देखिन्छ । २०७४ को कात्तिक महिनामा काठमाडौं उपत्यकामा थुप्रिएर रहेको फोहोर महिनौं पछि उठेको थियो । ओखरपौवाका बासिन्दाले अवरोध गरेका कारण उपत्यकाको फोहोर उठ्न सकेको थिएन । पछि काठमाडौं महानगरपालिका र स्थानीय बासिन्दाबीच नयाँ समझदारी भएपछि फोहोर उठेको थियो । ओखरपौवाका बासिन्दाले प्रभावित क्षेत्रका आवासलाई दिँदै आएको मुआब्जाको दूरी सीमा घटाएको विरोधमा उनीहरूले फोहोर फाल्न अवरोध गरेका थिए । महानगरले आवास प्रभावितलाई प्रतिस्क्वायर मिटर वार्षिक ५० रुपैयाँ दिँदै आएकोमा उक्त रकम घटाएको कारण स्थानीयले विरोधस्वरुप फोहोर फाल्न अवरोध गरेको थिए । २०७५ मा पनि ४ पटक फोहोर व्यवस्थापनमा समस्या आएको देखिन्छ । असार, साउन र भदौमा संकलन गरेर फोहोर फाल्ने ठाउँको अभाव भएको थियो । यस्तै कात्तिक महिनामा फोहोर व्यवस्थापन सम्झौता अलपत्र परेको थियो । त्यस कारण साउन महिना भर काठमाडौंको फोहोरको व्यवस्थापन हुन सकेन । करिब एक महिनादेखि फोहोर थुप्रिएको थियो । २०७६ सालमा पनि महानगरपालिकालाई फोहोरको व्यवस्थापन गर्न सकस परेको थियो । असारमा ५ दिन र चैत्रमा १० दिन फोहोर उठेको थिएन भने मंसिर र वैशाखमा उपत्यकाको फोहोर कहाँ फाल्ने भन्ने समस्या भएको थियो । सो समयमा सिसडोल ल्याण्डफिल साइट बन्द गरेकोले समस्या परेको थियो । कोभिड संक्रमण सन्त्रासका कारण सरकारले लकडाउन घोषणा गरेको २ दिनपछि नै उपत्यकामा फोहोर व्यवस्थापनमा समस्या देखापरेको थियो । २०७७ सालमा पनि महानगरपालिकालाई फोहोरको कुराले छोडेन । साउन महिनामा कोरोना महामारीले सरसफाइमा बाधा पुर्याएको भन्दै काठमाडौं महानगरपालिकाले सकेसम्म घरैमा फोहोर व्यवस्थापन गर्न अपिल गरेको थियो । महानगरपालिका वातावरण विभागले आवतजावत बन्द गरिएका क्षेत्रभित्र फोहोर मैला व्यवस्थापनमा सहयोग गर्न अनुरोध गरेको हो । सो सालकै चैत महिनामा एक हप्ता काठमाडौं उपत्यकाको फोहोर उठेको थिएन । फोहर फाल्ने स्थान नुवाकोटको सिसडोलका बासिन्दाहरूले आफ्ना माग सम्बोधन गरेपछि मात्र फोहर फाल्न दिने अडान लिएका फोहोर नउठेको हो । पटक पटक महानगरले सम्झौता लागु नगरेको भन्दै सिसडोलबासीले फोहर फाल्न अवरोध गरेका थिए । २०७८ सालमा पनि महानगरपालिकालाई फोहोरले नै पिरोल्यो । यस सालमा फागुनमा ९ दिन, असारमा २ हप्ता, भदौमा एक हप्ता, चैत्रमा १० दिन र साउनमा एक साता फोहोर उठ्न सकेन । फागुनयता ५७ दिनमा मात्रै काठमाडौंको फोहोर २२ दिन उठेको थिएन । अघिल्लो महिना १ फागुनदेखि उठ्न छाडेको फोहोर १२ फागुनदेखि संकलन सुरु भएको थियो । तर, चैत १८ देखि फेरि उठ्न छाडेको थियो । २८ मंसिरदेखि ८ पुससम्म १० दिन पनि फोहोर उठेको थिएन । महानगरको वातावरण विभागले एक सूचना जारी गर्दै उपत्यकावासीले आआफ्नो घर, पसल, उद्योग, व्यवसाय तथा कार्यालयबाट उत्सर्जन हुने फोहोरलाई कुहिने र नकुहिने गरी छुट्टयाई सकेसम्म कुहिने फोहोरलाई आफैँ व्यवस्थापन गर्नुहुन भनेको थियो । महानगरले फोहोरको व्यवस्थापन गर्न नसक्दा आलोचना पनि खेपिरहेको छ । उपत्यका भित्रको फोहोर व्यवस्थापन गर्न नुवाकोट र धादिङ जिल्लामा पर्ने बन्चरे डाँडामा बनिरहेको ल्यान्डफिल साइट निर्माण भइरहेको छ ।
पेस्की बेरुजू भएका व्यक्ति निर्वाचित भए पद जान सक्ने
काठमाडौं । पेस्की र असुल उपर गर्नुपर्ने बेरुजु भएको व्यक्ति निर्वाचनमा उम्मेदवार भई विजयी भएमा निजको पद जान सक्ने व्यवस्था निर्वाचन आचारसंहिताले गरेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रमुख प्रेमराज भट्टले आफ्नो नाममा पेस्की र असुल उपर गर्नुपर्ने बेरुजु रहेकालाई उम्मेदवार हुन निर्वाचन आचारसंहिताले नदिने बताए । ‘यसअघिका निर्वाचन आचारसंहिताको तुलनामा यसपालिको आचारसंहिता बढी व्यवस्थित गरिएकाले यसपालि आयोगले पेस्की र असुल उपर गर्नुपर्ने बेरुजुलाई विशेष रुपले हेर्न लागेको छु, उनले भने, ‘सम्बन्धित स्थानीय तहको हकमा पेस्की र असुल उपर गर्नुपर्ने बेरुजु भएका व्यक्ति निर्वाचित भएमा उजुरीका आधारमा निजको पद जान सक्छ ।’ हालै धनगढीमा भएको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कानूनी व्यवस्थानुसार यस पटकको आचार संहिता कडाइका साथ लागू गरिने प्रतिवद्धता व्यक्त गरेका थिए । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारी तीव्र पारिएसँगै निर्वाचन कार्यालयका कर्मचारीलाई यतिबेला बढेको कामको चटारोले भ्याइनभ्याई छ । संविधानले निर्वाचन आयोगलाई निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने अधिकार प्रदान गरेको छ । निर्वाचन आयोग ऐन, २०७३ दफा २२ मा निर्वाचनलाई स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आचारसंहिता बनाउन सक्ने र त्यसको पालना गर्न सबैको कर्र्तव्य हुने उल्लेख गरिएको छ । कुनै पनि उम्मेदवारले आफू निर्वाचित मनोनीत वा नियुक्त भएको निकायबाट लिएको कुनै पनि प्रकारको पेस्की फर्छ्यौट गरेको हुनुपर्ने, लेखापरीक्षणबाट कुनै पनि उम्मेदवारको नाममा किटानीका साथ असुल उपर गर्ने भनी कायम भएको बेरुजु फर्छौट गरेको हुनुपर्नेजस्ता आचरणको पालना गर्नुपर्ने आचारसंहितामा उल्लेख छ । आचारसंहिताविपरीत काम रोक्न वा बदर गर्न आदेश दिने, आदेशबमोजिमको काम कारबाही नरोकेमा आयोगले एक लाखसम्मको जरिवाना गर्न सक्ने र आचारसंहिता उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वच्छ, स्वतन्त्र र धाँधलीरहित हुन नसकेकामा आयोग विश्वस्त भएमा आयोगले उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्ने व्यवस्था आचारसंहिताले गरेको छ । निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ बमोजिम अनुगमनकर्ताले गर्ने सजायको पनि व्यवस्था गरिएको छ । यो व्यवस्थाअनुसार निर्वाचनसम्बन्धी कुनै विवरण, सूचना, सूची वा अन्य कुनै कागजात नोक्सान गर्ने कार्य गरेमा, मतदातालाई मतदानस्थलमा प्रवेश गर्न नदिई बाधा अवरोध पुर्याएमा, अनधिकृत व्यक्ति मतगणना स्थलमा प्रवेश गरे वा गराएमा १५ हजारसम्म जरिवाना गर्ने व्यवस्थासमेत छ । यस्तै शान्ति भङ्ग गर्ने भयत्रास सिर्जना गर्ने वा निर्वाचनको वातावरण बिथोल्ने प्रयास गरेमा, आचारसंहिताविपरीत निर्वाचनको प्रचारप्रसार गरेमा, आयोगले तोकेको सङ्ख्याभन्दा बढी र अनुमति दिएको बाहेक अन्य सवारी साधन प्रयोग गरेमा वा गराएकामा सवारी साधनको प्रयोग गरी र्याली गरे वा गराएमा अनुगमनकर्ताले २५ हजारसम्म जरिवाना गर्न सक्ने व्यवस्था पनि आचारसंहितामा गरिएको छ । नेपाल सरकार, प्रदेश सरकार र मन्त्री तथा स्थानीय तहका कार्यपालिका पदाधिकारी, संवैधानिक पदाधिकारी, सरकारी कर्मचारी तथा निकाय, अर्धसरकारी संस्था र कर्मचारी, पर्यवेक्षण संस्था, सञ्चार प्रतिष्ठान, कर्मचारी तथा पत्रकार, राजनीतिक दल र तिनका भ्रातृ सङ्गठन लगायतका लागि छुट्टाछुट्टै रुपमा बनाइएको निर्वाचन आचारसंहितमा पालन गर्नुपर्ने आचरण पनि तोकिएको छ । सञ्चार प्रतिष्ठान, कर्मचारी तथा पत्रकारका लागि बनेको आचारसंहितामा कुनै दल वा उम्मेदवार वा निजको प्रतिनिधिबाट दान, उपहार वा आर्थिक सहयोग लिन नहुने, कसैको पक्ष वा विपक्षमा समाचार प्रकाशन प्रसारण गर्न नहुने, जातजाति, भाषा, धर्म, सम्प्रदाय, लिङ्ग र क्षेत्रबीचको सम्बन्ध तथा सद्भावमा खलल पार्ने, राजनीतिक आस्था र विचार राष्ट्रियता तथा समाजिक अवस्था जस्ता कुनै पनि आधारमा भेदभाव हुने गरी समाचार प्रकाशन वा प्रसारण गर्न नहुने उल्लेख गरिएको छ । यसैगरी दल वा उम्मेदवारको निर्वाचन प्रचार सामग्री निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन प्रसारण वा सम्प्रेषण गर्न नहुने, कसैको पक्ष वा विपक्षमा एसएमएस, फेसबुक, मेसेन्जर, ट्विटर, भाइबर, युट्युवजस्ता विद्युतीय माध्यम प्रयोग गरी कुनै सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न तथा त्यस्ता सामग्री समाजिक सञ्जालमा शेयर, लाइक, कमेन्ट वा प्रतिकमेन्ट गर्न नहुने जस्ता व्यवस्थासमेत गरिएको छ ।