शीर्ष नेताका पालिका: कसको स्थानीय तहमा कति प्रगति ?

काठमाडौं । अहिले नेपाली राजनीतिका दलका शिर्ष तीन राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रको नेतृत्व क्रमशः केपी शर्मा ओली, शेर बहादुर देउवा र पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले गरिरहेका छन् । शिर्ष राजनीतिक दलको नेतृत्व भएकोले पनि उनीहरुले समग्र देशसँगै उनीहरुको जिल्ला र निर्वाचन क्षेत्रमा के कति काम गरे भन्ने विषयले पनि महत्व राख्छ । स्थानीय तहको निर्वाचन भएको ५ वर्ष पुरा हुनै लागेको छ । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको कार्यअवधि सकिन अब ३ महिना बाँकी छ । यो अवधिसम्म आइपुग्दा जनप्रतिनिधिले स्थानीय तहमा विकास निर्माणको काम र सर्वसाधारणको जीवनस्तर सुधार गर्न कति सफल भए ? जनप्रतिनिधिलाई काम गर्न शिर्ष नेताहरुले आफ्नो पालिकाका जनप्रतिनिलाई के कस्तो सहयोग तथा समन्वय गरे भन्ने विषय पनि धैरैको चासोको विषय हो । निर्वाचित भएर आएको ५ वर्ष बित्नै लाग्दा अधिकांश जनप्रतिनिधिहरु निर्वाचनताका गरेका प्रतिवद्धताहरु पूरा गर्ने कसरत गरिरहेका छन् कतिपय अनेकन प्राविधिक कारणहरु देखाएर पन्छिन खोजिरहेका छन् । आज हामीले तिनै शिर्ष नेता निर्वाचत पालिकाहरुमा के कस्ता काम भए भन्ने विषयमा जानकारी दिन खोजेका छौं । गन्यापधुरा गाउँपालिका प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति समेत रहेका शेर बहादुर देउवाको गृह जिल्ला डढेल्धुरामा पालिका हो गन्यापधुरा गाउँपालिका । गन्यापधुराले यो ५ वर्षको अवधिमा भौतिक पूर्वाधार निर्माणमा फड्को मारेको गाउँपालिकाका अध्यक्ष नबल बहादुर मल्ल बताउँछन् । अध्यक्ष मल्लका अनुसार जनप्रतिनिधि गाउँपालिकामा निर्वाचित भएर आएपछि विभिन्न ठाउँहरुमा सडक सञ्जाल विस्तार, नागरिकको आर्थिक उन्नति तथा शिक्षा,स्वास्थ्य तथा खानेपानीको पुहँच गाउँगाउँमा पुर्याउनका लागि पालिका सफल भएको छ । ‘हामीले निर्वाचित भएर आएपछि एक सय ६२ किलोमिटर सडकको निर्माण गरी पालिकाको प्रत्येक वडा तथा टोलमा सडक सञ्जाल पुर्याउन सफल भएका छौं, सडकको पहुँच बाहिर रहेका नागरिकले घर नजिकैबाट मोटर चढ्न पाएका छन्,’ उनले भने । उनका अनुसार हरेक गाउँगाउँमा सडक विस्तार भएपनि सडक पिच भने हुन सकेको छैन । पालिकामा बजेटको अभावको कारणले सडक पिच गर्ने नसकेको उनी बताउँछन् । यस्तै, उनले पालिकाले सम्पूर्ण घरधुरीमा स्वच्छ खानेपानी पुर्याउन सफल भएको पनि बताए । ‘यो अवधिमा हामीले सबै घरधुरीमा बिजुली पुर्याउन सफल भएको छौं, पालिका कृषिमा आत्मनिर्भर रहेको छ, वडा अनुसार कृषिको पकेट क्षेत्र छुट्याई काम गरेका छौं, अब पालिकामा कोल्ड स्टोर निर्माण गर्ने तयारीमा छौं,’ उनले भने । मल्लका अनुसार पालिकाको प्रत्येक वडामा स्वास्थ्य संस्थाको निर्माण गरी उक्त संस्थामा प्रजनन् केन्द्रको समेत स्थापना पालिकाले गरेको छ । कोभिड–१९ को कारणले भने विकास निर्माणको काममा केही बाधा पुगेको उनको भनाई छ । यस्तै, उनले आफ्नो कार्यकालमा १२ सय युवाले रोजगारी पाएको पनि उनको दावी छ । उनले न्यून आयस्रोतका कारण अझै सोचे अनुसारको काम हुन नसकेको बताए । ‘निर्वाचित भएको समयमा शेरबहादुर देउवा प्रधानमन्त्री हुनुहुन्थ्यो, त्यो बेला बजेट पनि पर्याप्त आयो विकास निर्माणका धेरै काम गर्न पनि सफल भयौं, त्यसपछि नेकपा एमालेको सरकार भयो र बजेट पनि कम आयो, बजेटमा केही कमि आयो, त्यो समयमा बजेट थोरै भएपनि उल्लेख्य काम गर्यौं,’ उनले भने । पालिकाको विकासका लागि वर्तमान प्रधानमन्त्री देउवाले धेरै सहयोग गरेकको उनको भनाई छ । यस्तै, अहिले पालिकाको कार्यालयबाट सदरमुकाम वा अन्य गाउँमा सडक पुर्याउना लागि प्रधानमन्त्री देउवा समक्ष आग्र गरिएको उनले बताए । कृषि, पर्यटन, स्वास्थ्य, सञ्चार, यातायात लगायत जनताको दैनिक आवश्यकतासँग जोडिएका विकास निर्माणलाई स्थानीय तहले विभिन्न सूचकको आधारमा विकास गरिरहेको उनले जानकारी दिए । अर्जुनधारा नगरपालिका नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्थानीय तह हो अर्जुनधारा नगरपालिका । झापाको अर्जुनधारा नगरपालिकाका मेयर हरि कुमार रानाले करिब ५ वर्षको अवधिमा पालिकाको नीति निर्माण, योजना, कार्यक्रम तथा आयोजनाको सफल कार्यान्वयनका साथै विकास प्रक्रियालाई नतिजामूलक र पारदर्शी बनाउन अनुगमन तथा मूल्याङ्कनको काममा नगरले महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनका अनुसार प्रति वर्ष कुल बजेटको ८० प्रतिशत बजेट पूर्वाधार विकासमा नगरले छुट्याएर विकास निर्माणमा काम भएको छ । ‘हालसम्म लगभग २ सय ५० भन्दा बढी बाटोलाई ग्राभेल गरेका छौं, नगरको आन्तरिक स्रोतबाट नै यस वर्षसम्म ३० किलोमिटर सडक कालोपत्रेको गर्ने योजना छ, स्वास्थ्य तथा शिक्षमा पनि उल्लेख्य काम गरेका छौं,’ उनले भने । यस्तै, उनले यो अवधिमा अर्जुनधारा नगरपालिकालाई रमणिय र धार्मिक सहरको रूपमा नगरलाई विकास गर्नको लागि योजना बनाएको बताउँदै विभिन्न ठाउँमा धामिर्क स्थललाई पुनर्निमार्णमा पनि ध्यान दिने बताए । उनका अनुसार यो वर्ष भित्र ८ वटै वडाको वडा भवन निर्माण सम्पन्न गर्ने तयारी योजना रहेको पनि उनको भनाई छ । ‘निर्वाचित भएर आएपछि ७ वटा स्वास्थ्यचौकीका भवनहरू निर्माण गरेका छौं, नागरिकहरूलाईस्वास्थ्यबाट वञ्चित नहुने अवस्था सिर्जना गरेका छौं, हाम्रो नगरपालिकामा मात्र नभएर छिमेकी पालिकाले पनि हाम्रै स्वास्थ्य सेवाको सुविधा लिइरहेका छन्,’ उनले भने । उनका अनुसार पालिकामा बजेटको अभाव छैन । केपी शर्मा ओलीको निर्वाचित क्षेत्र भएकोले पनि धेरै विकास निर्माणको काम गर्न सफल भयौं, पालिकाका निमित्त ओेलिको ठूलो योगदान छ’, उनले भने । नगरको पूर्वाधार विकासमा ओलीको निकै महत्वपूर्ण भूमिका रहेको र ओलीले पालिकालाई अग्रस्थानमा राखेको पनि उनी बताउँछन् । उनले नगरले कृषि क्षेत्रमा जति काम गर्ने योजना बनाएको थियो सोही अनुरुप भने काम नभएको बताए । ‘हाम्रो नगर खेतीमा आधारित नगर हो, यहाँका धेरै युवाले कृषिमा आधारित नै रोजगार पाएका छन्, प्रधानमन्त्री रोजगार कार्यक्रम पनि अगाडि बढायौ,ं तर, खासै प्रभावकारी परिणाम देखिएन,’ उनले भने । प्रदेश र संघीय सरकारबीच कानुनी अड्चन पनि समास्या देखिएको बताए । भरतपुर महानगरपालिका भरतपुर महानगरपालिका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचित क्षेत्र हो । देशका महानगरपालिकाहरु मध्ये ‘नेपालको सुन्दर सहर, समृद्ध र संस्कृत भरतपुर महानगर’ भन्ने अवधारणा एवं दीर्घकालीन सोचका साथ महानगरको विकास र जनताको सेवामा निरन्तरता दिएर अघि बढिरहेको छ । महानगरको समृद्धिको यात्रामा देशकै रूपान्तरणकारी आयोजनाको रूपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय ’क्रकेट रंगशाला, अन्तर्राष्ट्रिय स्तरको सिटी हल, सडक सञ्जाल विस्तार गर्ने, सार्वजनिक निजी साझेदारीमा निर्माण हुने मेट्रो प्लाजाको शुरुवातसम्म आइपुग्दा पूर्वाधार विकास, शिक्षा, कृषि, स्वास्थ्य, सुशासन, आन्तरिक आय लगायत हरेक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल भएका महानगरका प्रवक्ता तथा वडा अध्यक्ष अरुण भण्डारी बताउँछन् । उनका अनुसार यस अवधिमा उपलब्ध स्रोत साधनको सीमाभित्र रहेर केही महत्वाकांक्षी तथा रूपान्तरणकारी योजनाहरू सम्पन्न भइसकेका छन् भने कतिपय योजनाहरू सम्पन्न हुने चरणमा रहेका छन् । महानगरले सडक निर्माणको काममा देशकै उत्कृष्ट काम गरेको छ, हालसम्म ६ सय १० किलोमिटर सडक कालोपत्रे भएको छ,’ प्रवत्ता भण्डारीले भने । ‘महानगरले कृषकलाई कृषिको औजार धान रोप्ने मेशिन वितरण गरेको छ, अहिले महानगरपालिकामा आधुनिक तरिकाबाट कृषि खेती सुरु हुन थालेको छ, महानगर दूध र मासु उत्पादनमा आत्मनिर्भर भएको छ,’ उनले भने । विगत ४ वर्षको अवधिमा ३ सय ५० वटा साना सिंचाइ र २१ वटा मझौला सिंचाई आयोजना सम्पन्न गरी ४ सय ५५ विघा क्षेत्रफलमा बाह्रै महिना सिँचाइको सुनिश्चितता गरिएको उनले बताए । भरतपुर महानगरपालिकाले शिक्षा, स्वास्थ्य, तथा पर्यटन लगायतका क्षेत्रमा उदाहरणीय काम गर्न सफल भएको पनि उनको दावी छ । संघीय र प्रदेश सरकारसँग समन्वय गरी विकास निर्माणको काममा फड्को मार्न महानगर सफल भएको भण्डारीले बताए । गर्भवतीका लागि निःशुल्क झुल तथा क्याल्सियम सप्लिमेन्टेसन, पूर्ण खोप सुनिश्चित महानगर घोषणा, ज्येष्ठ नागरिक लक्षित स्वास्थ्य संस्था सञ्चालनलगायतका कार्यक्रमहरूमार्फत स्वास्थ्य सेवालाई जनताको घरदैलोमा पुर्यानउने कार्यमा जोड पनि उनले बताए । ‘धेरै रोजगारी सिर्जना गर्ने भनेको उद्योग धन्दा तथा व्यापार व्यवसायले वा राज्यले गर्ने हो, स्थानीय सरकारले रोजगारी सिर्जना गर्न सक्दैन, निर्वाचित जनप्रतिनिधिले रोजगारी सिर्जना गर्ने वातावरणमा ठुलो भूमिका खेलेका छन्,’ उनले भने । उनले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र सहकारीमा लगायतका विषयमा महानगरले महत्वपूर्ण काम गरेको पनि बताए ।

कोरोनाबाट मृत्यु भएका परिवारलाई २० हजार सहयोग

बागलुङ । बागलुङ जिल्लाको काठेखोला गाउँपालिकामा कोरोना सङ्क्रमितका कारण ज्यान गुमाएकाको परिवारले २० हजार रुपैयाँका दरले राहत प्राप्त गरेका छन् । आर्थिक वर्ष २०७८/८९ मा विनियोजित गरेको तीन लाख ६० बजार बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ । गाउँपालिकामा सङ्क्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाइसकेका छन् । काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले भने, “ कोरोनाबाट ज्यान गुमाउनेको परिवारका लागि सानो भए पनि राहत होस् भन्ने हेतुले रकम प्रदान गरेका छौँ ,स्थानीय सरकारले घाउँमा मल्हममात्रै लगाउन खोजेको हो, कोरोनाका कारण बेरोजगार भएर नेपाल आएकालाई सीमानाकाबाट घर ल्याउने, क्वारेन्टिनमा राख्ने, परीक्षण, औषधोपचार तथा निःशुल्क एम्बुलेन्स सेवासमेत दिएको थियो ।” गाउँपालिकाले कोरोनाका कारण बेरोजगार भएर घर फर्केकालाई प्राथमिकतामा राखेर प्रभानमन्त्री रोजगारी कार्यक्रमलाई आवद्ध बनाइराखेको छ । गाउँपालिकाले कोरोना महामारीमा काठमाडौँ, काँकडभिट्टा, सुनौलीलगायत नाकाबाट नागरिकको निःशुल्क उद्धारसमेत गरेको थियो । गण्डकी प्रदेश सरकारले समेत कोरोनाबाट मृत्यु भएकाको परिवारलाई जनही ५० हजार रुपैयाँ दिने निर्णय गरेको छ । यसअन्तर्गत बागलुङका १० मृतकका परिवारले ५० हजार राहत रकम पाइसकेका छन् भने अन्यको कागजात सङ्कलनको काम भइरहेको स्वास्थ्य कार्यालय का प्रमुख सुरज गुरौले जानकारी दिए । जिल्लामा कोरोनाबाट मृत्यु भएको सङ्ख्या ७२ छ । तर बागलुङ ठेगाना भई अन्यत्र उपचारका क्रममा मृत्यु भएकाको सङ्ख्या जोड्दा १०० भन्दा बढी पुग्नेछ । उनले भने, “गाउँपालिकाको स्वास्थ्य शाखाबाट हामीले तथ्याङ्क लिइरहेका छौँ, सङ्कलित तथ्याङ्कबाट मासिकरूपमा हामीले भुक्तानी गर्ने गरेका छौँ ।”

बैंकहरुलाई राष्ट्र बैंकको ‘मेसेज’: ह्याकिङको सानोतिनो धम्कीले डराउनु पर्दैन, सतर्क भने रहनु

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सतर्क रहन निर्देशन दिएको छ । बिहीबार कुमारी बैंकको सिस्टम नै ह्याक गर्ने ह्याकरको धम्किपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सतर्क रहन निर्देशन दिएको हो । नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलले ह्याकरहरुको सानोतिनो धम्कीले डराउनु नपर्ने अवस्था भएपनि सतर्क भने रहनु पर्ने बताए । ‘अहिले सानोतिनो धम्किबाट हामी डराउनु पर्ने अवस्था छैन, ह्याकरले थर्काकाउने मात्रै हो, केही गर्न सक्दैन, ढुक्क भए हुन्छ, हाम्रो प्रविधि बलियो छ ,थकाउनेले थर्काउँदै गर्छन्, हिजोको दिनमा राष्ट्र बैंकलाई पनि धम्की आएकै हो,’ सह–प्रवक्ता पोखरेलले भने । उनका अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सतर्क रहन निर्देशन दिँदै आएको छ । ‘हामीले यसअघि पनि दिँदै आएका थियौं, यो घटना पछि सतर्क रहन भनेका छौं,’ उनले भने । बिहीबार कुमारी बैंकलाई ह्याकरले धम्की दिएपछि नेपाली बैंक तथा वित्तीय संस्थामा तरंग मच्चिएको थियो । गत साउनमा नेपाली १५ बैंकहरुलाई ह्याकरको धम्की आएको थियो । त्यतिखेर नेपालका बैंकहरु ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनी दिइएको थियो । सो घटनापछि कुमारी बैंकलाई धम्कि आएको हो । कुमारी बैंकले ह्याकरको धम्कि आएपछि बिहीबार दिनभर आफ्नो सिस्टम नै बन्द गरेको थियो । दिनभर सिस्टमलाई चेक गरेपछि साँझ मात्रै बैंकले सिस्टम खुला गरेको थियो । कुमारी बैंकलाई धम्की कसले र किन दियो भन्ने विषयमा पनि बुझ्ने काम भइरहेको बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए ।