उद्यमी उत्पादन गर्ने स्थानीय सरकारका प्रयास : मोटो रकम खर्च, उपलब्धी न्यून
काठमाडौं । उद्यमशीलता विकासको लागि स्थानीय तहहरूले बर्सेनि लाखौं रुपैयाँ खर्च गर्दै आएका छन् । खर्च गरे अनुसारको उपलब्धि भने शून्य जस्तै छ । सिप सिकाएर रोजगारी सिर्जना गर्नको स्थानीय तहले गाउँगाउँमा युवा उद्यमशीलता सुरुवात गरेका थिए । सो कार्यक्रम धेरै स्थानीय तहमा सञ्चालन भएपनि प्रभावकारी नभएको पाइएको छ । स्थानीय तहमा यो काम प्रभावकारी रुपमा गर्न नसकेको धेरै जनप्रतिनिधिहरू नै स्वीकार गर्छन् । सीप सिकेर पनि धेरैले काम गर्न नसकेको स्थानीय तहका जनप्रतिनिधिहरूले बताएका छन् । सीप सिकेर नै उद्यमी बनी रोजगारी गरेर राम्रो आम्दानी गर्न सफल भएको पनि समाजमा धेरै उदाहरणहरू छन् । उद्यमी बन्नको लागि पनि आर्थिक अवस्था नै राम्रो हुनुपर्छ । आर्थिक अवस्था राम्रो बनाउनको लागि विभिन्न स्थानीय तहहरुले रोजगार बन्नका लागि सस्तो व्याजमा ऋण दिँदै आएका पनि छन् । काठमाडौं उपत्यका भित्रका स्थानीय तहले ५ वर्षको अवधिमा उद्यमशीलता विकासमा गरेका काम बारेमा हामीले यो समग्र तयार पारेका छौं । बूढानीलकण्ठ नगरपालिकाले गत आर्थिक वर्ष २०७७/७८ मा उद्यमशीलता विकासको लागि १९ लाख ६० हजार रुपैयाँ बजेट गरेको थियो । सो रकमबाट नगरपालिकाले ८० जनालाई सीप सिकाई उद्यमी बनाउने लक्ष्य राखेको थियो । जसमध्ये ७७ जनालाई तालिम दिन सकेको नगरपालिकाका उद्यम विकासका सहजकर्ता जनार्दन मिश्रले बताए । सो आर्थिक वर्षमा विभिन्न वडाका ती ७७ जनालाई नगरपालिकाकाले डल तथा कुसन, अचार बनाउने, एडभान्स सिलाई कटाई र तरकारी तथा पशुपालनको तालिम दिएको थियो । उक्त तालिममा ७० प्रतिशत महिलाको सहभागिता थियो । सहजकर्ता मिश्रका अनुसार सो तालिमम दिनको लागि नगरपालिकाले ९ लाख ३२ हजार रुपैयाँ खर्च गरेको छ । तालिम दिएको ७७ जना मध्ये १९ जनामा उद्यमी बनेका छन् भने १० जनाले संस्था दर्ता गरे पनि काम नगरेको नगरपालिकाले जनाएको छ । चालु आर्थिक वर्ष २०७८/७९ मा उद्यमशीलता विकासको लागि नगरपालिकाले २२ लाख ६० हजार रुपैयाँ बजेट विनियोजन गरेको छ । यस आर्थिक वर्षभित्रमा नै ९० जनालाई सीप सिकाइ रोजगार बनाउने लक्ष्य छ । नगरपालिकाले यस आर्थिक वर्ष भित्रमा कफी, ढाका, सिलाई बुनाई, ब्युटी पार्लर, रेशमको धागोबाट गहना, तरकारी र बेकरीको तालिम दिने योजना बनाएको मिश्रले जानकारी दिए । नगरपालिकाले ४.५ प्रतिशत व्याजदरमा उद्यमी बन्न चाहनेहरुलाई एकदेखि ५ लाख रुपैयाँसम्म ऋण पनि उपलब्ध गराउँदै आएको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले उद्यमशीलता विकास कोषमा ७५ लाख रुपैयाँ बजेट बिनियोजना गरेको छ । व्यावसायिक बन्न चाहानेहरुले सो कोषले ५० हजार रुपैयाँ दिँदै आएको छ । उक्त ऋणको लागि आवश्यक पर्ने २३ जनाले आवेदन दिएको नगरपालिकाले जानकारी दिएको छ । उद्यमशीलता विकासका लागि बर्सेनि तालिम दिँदै आए पनि पूर्णरूपमा उद्यमी बनाउन नसकेको काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी बताउँछिन् । उनका अनुसार महानगरपालिकाले युवाहरूलाई अचार, जुत्ता, माला, हस्तकला, मकैको खोस्टाको फूल बनाउने जस्ता तालिम दिँदै आएको छ । ‘उद्यमशीलता विकासकाको लागि मैले आवाज उठाइरहेको छु, वडागत रूपमा नै तालिम सञ्चालन गर्यौं, बजेट पनि निकै खर्च भयो तर, उपलब्धि भने शून्य भयो,’ उनले भनिन् । केही दिन अगाडिमात्र महानगरपालिकाले हस्तकलाको तालिम सम्पन्न गरेको छ । महानगरपालिकाले उद्यमशीलताको तालिम दिएपछि धेरै बेरोजगार युवा रोजगार बनेको उनले दाबी गरिन् । बजार व्यवस्थापन हुन नसकेकोले पनि तालिम प्रभावकारी हुन नसकेको पनि उपप्रमुख खड्गीले बताइन् । महानगरपालिकाले केही महिनापछि महिला उद्यमीको कार्यक्रम सञ्चालन गर्न तयारी गरिरहेको छ । ‘सीप सिकेर उत्पादन गरेकोकाहरुले राम्रो आम्दानी गर्न पनि सफल भएका छन्, हामीले वडागत रूपमा यसका तालिम पनि सञ्चालन गर्यौं, तालिममा सहभागी भई धेरै जना रोजगार पनि बनेका छन्,’ उनले भनिन् । उद्यमशीलता विकासको लागि नगरपालिकाको सीपमूलक सामूहिक तालिमहरू दिँदै आएको गोकर्णेश्वर नगरपालिकाकी उपप्रमुख शान्ती नेपालले बताइन् । उपप्रमुख नेपालका अनुसार तालिम दिएर धेरै दिदिबहिनिहरु आफ्नै उद्योगहरू सञ्चालन गरी बसेका छन् । नगरपालिको ग्रामीण उद्योग भनेर सिलाई कटाइ, जुक्त बनाउने, अचार, कफी र साबुन बनाउने लगायतका तालिमहरू दिएको छ । ‘मलाई महिला दिदीबैनीले उद्योग सञ्चालन गरेर बसेकोमा खुसी लागेको छ, उनीहरूले रोजगार भएर बसेका छन्,’ उनले भनिन् । नगरपालिकामा ६ सय महिला समूह छन् । यीमध्ये तालिम लिएको समूह ५ सय भन्दा बढी छन्, जसमध्ये तालिम लिएर उद्योग सञ्चालन गरे बस्ने समूह २५ वटामात्र रहेको पनि नेपालले जनाइन् । ‘कस्तो खालको तालिम लिने हो, त्यो अनुसारको हामी बजेट विनियोजन गछौं, ५० हजारदेखि ६ लाख रुपैयाँसम्म नगरपालिकाले तालिम दिनको लागि एउटा समूहलाई खर्च गर्दै आएको छ,’ उनले भनिन् । समूहगत व्यापार व्यवसाय सञ्चालन गर्न चाहने र ऋणको आवश्यकता छ भने बैंक तथा बित्तिय संस्थासँग सहजीकरण गरिदिने र १० लाख रुपैयाँसम्मको व्याज पनि नगरपालिकाले तिरिदिन्छ, तर हालसम्म कुनै पनि समूह ऋण लिन नआएको नगरपालिकाले जनाएको छ । उद्यमशीलताको विकासमा यो ५ वर्षको अवधिभरमा धेरै राम्रो काम गर्न सफल भएको भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले जानकारी दिइन् । उपप्रमुख जोशीका अनुसार युवाको सीप विकासको लागि नगरपालिकाकाले पर्यटनसँग जोडेर विभिन्न भाषा, होटेलको लागि कुक तथा हस्तकलाकाका सामानहरू बनाउने तालिम दिएको छ । ‘उद्यमशीलताले जनतासँग रहेका निष्क्रिय बचत परिचालन गरेर पुँजी निर्माणमा वृद्धि गर्दछ , उद्यमशीलताले नयाँ–नयाँ व्यवसाय वा उद्यममा लगानी गरी राष्ट्रिय पुँजी निर्माणमा नै योगदान पुर्याएको भएकाले उद्यमी बन्नेहरुको लागि नगरपालिकाले सहजीकरण गर्दै छ,’ उनले भनिन् । नगरपालिकाले युवाको क्षमता विकासमा गरेको लागानिरको प्रतिफल प्रभाकारी बन्न पुगेको पनि उनी दाबी गछिन् । सीपको विकास, प्रविधिको उपयोग र स्रोतको परिचालन गरी उद्यमशीलताको विकास गर्ने योजना नगरपालिकासँग रहेको छ ।
महिला जनप्रतिनिधि भन्छन्ः प्रमुख पदमा नेतृत्व गर्न सक्षम छौँ
काठमाडाैं । तनहुँका महिला जनप्रतिनिधिले प्रमुख पदमा नेतृत्व ग्रहण गर्न आफूहरु सक्षम रहेको बताएका छन् । विसं २०७४ को स्थानीय तहको निर्वाचनदेखि उपप्रमुख, उपाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यमा निर्वाचित भएका यहाँका जनप्रतिनिधिले अब हुने निर्वाचनमा प्रमुख पदमा नेतृत्व लिन आफूहरु सक्षम रहेको बताएका हुन् । व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशीले महिलाहरु पनि प्रमुख पदको नेतृत्व गर्न सक्षम भएको बताइन् । पाँच वर्षको अनुभवले धेरै कुरा सिकाएको जानकारी दिँदै उनले भनिन्, “यो बीचमा अनुभव बटुल्यौँ, प्रमुख भएर नगरपालिका चलाउने दृढ इच्छाशक्ति र सङ्कल्प छ । हामी केही कुरामा पनि कम छैनाैं ।” “नगरप्रमुखको आकाङ्क्षी धेरै हुने गरेकाले महिलाहरु पनि अब नेतृत्वमा आउनुपर्छ” उपप्रमुख जोशीको भनाइ थियो, “सँगसँगै राजनीति गरेकाहरु प्रदेश सांसद भइसके, निर्वाचनमा अब मेरो दाबेदारी नगर प्रमुखमा रहन्छ ।” जिल्लाको सबैभन्दा ठूलो नगरपालिकाको उपप्रमुख भएर काम गरिरहँदा सोचे अनुरुपको केही कामहरु भने गर्न नसकिएको उनको भनाइ थियो । घिरिङ गाउँपालिकाका उपाध्यक्ष सरस्वती सिग्देलले अबको निर्वाचनमा आफ्नो दाबेदारी अध्यक्ष पदका लागि हुने बताइन् । टिकट दिने विषय पार्टीको भएकाले महिलालाई अगाडि बढाउन पार्टीले पनि सोच्नुपर्नेमा उनले जोड दिइन् । “पहिला पार्टीबाट अनुमोदन भएर टिकट पाएको खण्डमा जनताबाट पनि अनुमोदन हुन सक्छु भन्ने आत्मविश्वास छ,” उपाध्यक्ष सिग्देलले भन्नुभयो, “अध्यक्ष भएर जनताको सेवा गर्ने सङ्कल्प गरेको छु ।” उनले पाँच वर्षको अवधिमा उज्यालो घिरिङ, घरघरमा धारा, सडक स्तरोन्नतिलगायत कामहरु गरिएको जानकारी दिइन् । “हामी निर्वाचित भएर आउँदा गाउँपालिकाको कार्यालय थिएन, सडक आयोजनाको घरमा बस्यौँ, सङ्घीयतापछिको पहिलो जनप्रतिनिधि भएकाले धेरै कुरा सिक्न समय पनि लाग्यो,” उनले भनिन्, “काम गर्दै जाँदा अनुभव हासिल भयो, अब त अध्यक्ष भएर गाउँपालिका चलाउन सक्छु ।” आँबुखैरेनी गाउँपालिकाका उपाध्यक्ष पुष्पादेवी श्रेष्ठले कोरोना महामारीका कारण सोचे जति काम गर्न नसकिएको बताइन् । “धेरै कुरा गर्छौँ भन्ने जोसका साथ आएका थियौँ, पहिलो वर्ष सिक्नमै समय गयो, दोस्रो वर्ष पहिलो वर्षको कार्यक्रम लागू गर्न अगाडि बढ्यौँ, तेस्रो वर्षदेखि कोरोना आयो,” उनले भनिन्, “यति हुँदाहुँदै पनि भौतिक पूर्वाधार, हरेक वडासम्म पुग्ने सडक निर्माण, वडा कार्यालय भवन, स्वास्थ्य केन्द्रका भवन बनाएका छाैं ।” उपाध्यक्ष भएर काम गरेको अनुभवका आधारमा अब गाउँपालिका अध्यक्ष भएर काम गर्ने इच्छाशक्ति उत्पन्न भएको श्रेष्ठले बताइन्। घिरिङ गाउँपालिका–२ का वडासदस्य सनम थापाले सदस्यमा काम गरेको अनुभवका आधारमा अब वडाध्यक्षका लागि आफ्नो जिकिर रहेको बताइन्। “वडा सदस्य भएर सिकेको अनुभवका आधारमा वडाध्यक्ष चलाउन सक्छु,” उनले भनिन्। व्यास नगरपालिका–४ का वडा सदस्य वसुन्धरा घर्तीले महिलाहरु अब नेतृत्वमा आउनै पर्नेमा जोड दिइन् । “महिलाहरु पनि पुरुष सरह हरेक काममा सक्षम छन्, अब नेतृत्वमा महिला पुग्नुपर्छ, त्यसका लागि सबै महिलाले आवाज उठाउनुपर्छ,” उनले भनिन् । रासस
दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने
भोजपुर । भोजपुरलाई तराईसँग जोड्ने दिंला–भोजपुर–घोडेटार–चुहार सडक कालोपत्रे गरिने भएको छ । करिब १२५ किलोमिटरमध्ये पहिलो चरणमा हतुवागढी गाउँपालिकाको हसनपुरको चुहारबाट घोडेटार बजारसम्म २२ किलोमिटर सडक कालोपत्रे गरिने छ । कालोपत्रे गर्न ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी) आयोजनाले वातावरणीय परीक्षणको सार्वजनिक सुनुवाइ गरेको हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले बताए । गाउँपालिकाले अन्य प्रक्रिया पूरा गरिसकेको उनको भनाइ छ । अध्यक्ष राईले भने, ‘भोजपुरवासीको चासोको रुपमा रहेको उत्तर दक्षिण जोड्ने यो सकडको काम चाँडै सुरु हुँदैछ । २२ किलोमिटर सडक कालोपत्रेपछि अन्य क्षेत्रको पनि काम अघि बढ्छ ।’ ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले सडक निर्माणको काम थालेको हो । एक सय २५ किलोमिटर लामो दिंला भोजपुर घोडेटार चुहार हुँदै सुनसरीको चतरा सडकको स्तरोन्नति र कालोपत्रेको काम सुरु भएको छ । एशियाली विकास बैंक (एडिबी)को लगानीमा ग्रामीण सडक सञ्जाल सुधार आयोजना (आरसिआइपी)ले निर्माण थाल्ने छ । भोजपुर र उदयपुरलाई जोड्न दूधकोसी नदीमा पुल बनिरहेको छ । चुहारको पुल निर्माण सम्पन्न भएसँगै भोजपुर सदरमुकामबाट ९० किलोमिटरको दूरी पार गरेपछि सुनसरीको चतरा पुगिनेछ । भोजपुर सदरमुकामबाट पूर्व हुँदै जाने हो भने ९२ किलोमिटरको दुरी पार गरेपछि धनकुटाको हिले पुगिन्छ । दिंलाबाट चतरा पुग्न १२५ किलोमिटरको यात्रा तय गर्नुपर्ने छ ।