जनप्रतिनिधिमा दोहोरिन इच्छुकको अग्नि परीक्षा आफ्नै काम
काठमाडौं । स्थानीय निर्वाचन नजिकिँदै गर्दा जनप्रतिनिधिहरू कार्यलयको काम छोडेर पार्टीको चुनावी प्रचारमा व्यस्त हुन थालेका छन् । निर्वाचित जनप्रतिनिधिहरूको कार्यअवधि सकिन केही महिना मात्र बाँकी रहँदा चुनावमा केन्द्रित भएका हुन् । यसले स्थानीय तहको प्रशासनिक काममा अवश्य प्रभाव पारेको छ । स्थानीय तहको निर्वाचन आउन ५२ दिन बाँकी छ । स्थानीय तहको चुनावमा धेरैजसो जनप्रतिनिधिहरू फेरि दोहोरिने योजनासहित चुनावी तयारीमा जुटेका हुन् । निर्वाचित जनप्रतिनिधिले पाँचवर्षे अवधिमा के कति काम गरे त्यसअनुसार स्थानीय मतदाताले अवश्य मूल्याङ्कन गर्नेछन् । राम्रा काम गर्नेलाई जनताले फेरि निर्वाचित गर्नेछन् । चित्तबुझ्दो काम नगरेकालाई मतदाताले विचार गर्नेछन्, यो त निर्वाचनको प्रक्रिया नै हो । जति राम्रा काम गरेको छु भन्नेले पनि चुनावी घोषणा-पत्र अनुसार काम गर्न सकेका छैनन्, यसमा दुई मत छैन । धेरैजसो जनप्रतिनिधि दोहोरिने सोचमा हरेका पाइएकोले उनीहरूको अग्नि परीक्षा पनि यही निर्वाचन भन्दा फरक नपर्ला । जनप्रतिनिधिविहीन् रहेका स्थानीय तहमा प्रतिनिधि निर्वाचित भएर आएपछि परिवर्तन भएकै छ । बजेटअनुसार कतिले राम्रा काम गरे भने कतिले ठिकै काम गरे, यो समीक्षाको विषय हो । आज चर्चा गर्न खोजिएको विषय देशभर जम्मा ११ वटा उपमहानगरपालिकामध्ये केही उपमहानगरपालिकाका कामबारे हो । यस विषयमा केन्द्रित भएर हामीले यो सामग्री तयार पारेका छौं । प्रदेश–१ को इटहरी उपमहानगरपालिकाकामा पछिल्लो समय विकास निर्माण काम तीव्रता भएको जनप्रतिनिधिले दाबी गरेका छन् । निर्वाचित भएर आएपछि विकास, पूर्वाधार र शिक्षामा धेरै सुधार भएको उपमहानगरपालाकी उपप्रमुख लक्ष्मी गौतमको दाबी छ । उपप्रमुख गौतमका अनुसार यो अवधिसम्ममा उपमहानगरपालिकाभित्र ४ कोठे ९ वटा शैक्षिक भवनहरूको निर्माण भएका छन् । ‘हामीले गुणस्तरीय शिक्षा कार्य योजनाको निर्माण गरेका छौं, शिक्षा ऐन बनायौं, नगर भित्रका विद्यालयमा छात्र र छात्राका एउटै शौचालय थियो, त्यस्ता विद्यालयमा भिन्नाभिन्नै शौचालयको निर्माण गरेका छौं,’ उनले भनिन् । साथै उपमहानगरले विद्यार्थीको संख्या अनुसार दरबन्दी लिलाम गरेको पनि गौतमले बताइन् । निजी विद्यालयको वर्गीकरण गरी विद्यालय शुल्कसमेत उपमहानगरपालिकाले निर्धारण गरेका गौतमले जनाकारी दिइन् । यस्तै उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा आइसिटी ल्याब, स्मार्ट बोर्ड, ई–हाजिरी प्रणालीको पनि व्यवस्था गरिएको छ । ‘निर्वाचित भएर आएपछि ५ वटा नयाँ ट्याक खोलेका छौं, असार मसान्तसम्ममा १३० किलोमिटर सडकको कालोपत्रे, २५ किलोमिटर सडक ग्राभेल, ७० किलोमिटर सडकको स्तरोन्नति, ४५ किलोमिटर सडकमा वाल लगाएका छौं ’,उनले भनिन् । साथै, ६ वटा ठूला पुल, ४ वटा मझौला पुल र ७० वटा कल्बर्टको निर्माण गरेको पनि गौतमले बताइन् । उपमहानगरपालिकाले कुल बजेटको ७५ प्रतिशत रकम भौतिक पूर्वाधारको विकासमा खर्च गर्दै आएको छ । ९ वटा वडा कार्यालयका भवनहरू निर्माण भइसकेका छन् भने केही भवनहरू निर्माणाधीन अवस्थामा रहेको गौतमले जनाइन् । गौतमको अनुसार उपमहानगरभित्र हालसम्म १४ वटा आधारभूत स्वास्थ्यचौकीका भवनहरु निर्माण भएका छन् । उपमहानगरपालिकाले १५ शय्याको उपमहानगर अस्पताल निर्माण गरेका छ । अस्पतालबाट २४सै घण्टा बिरामीले सेवा पाउँछन् । पाँच वर्ष इटहरी उपमहानगरको उपमेयर पदमा बसेकी गौतमले पार्टीले विश्वास गरे आफू मेयरको दाबेदारी रहेको भएको उनले बताइन् । यस्तै, रुपन्देहीको बुटवल उपमहानगरपालिकाले आफ्नो निर्वाचित कार्यकालमा अपेक्ष भन्दा बढी काम गर्न सफल भएको उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले जनाएका छन् । सडक विस्तार र स्तोरन्नतिको क्षेत्रमा उल्लेखनीय काम गरेको उनको दाबी छ । नगरप्रमुख सुवेदीका अनुसार विगतभन्दा सडक निर्माणको काम तेब्बर भएको सुवेदी दाबी गर्छन् । उपमहानगरपालिकाले कुल बजेटको ८० प्रतिशत रकम भौतिक पूर्वाधार र विकास निर्माणको काममा खर्च गर्दे आएको छ । यस्तै, शैक्षिक गुणस्तर र सुधारको लागि उपमहानगरपालिकाले स्थानीय पाठ्यक्रमको विकास गरेको सुवेदी बताउँछन् । ‘शैक्षिक सुधारको पाँच वर्षको योजना बनाएका छौं, उक्त योजनाभित्र पूर्वाधारको विकास, शैक्षिक पूर्वाधार र शैक्षिक जनशक्तिलाई तालिमको व्यवस्थाको कार्यान्वयन गर्दा ४ वर्ष भित्रमा नै नतिजाहरू प्राप्त भएको छ,’ उनले भने । यस उपमहानगरपालिका ७५३ थानीय तहमध्ये शिक्षा मन्त्रालयले गरेका सूचाङ्कमा आधारित कार्यसम्पादनमा पहिलो भएको उनले बताए । निर्वाचित भएर आएपछि उपमहानगरपालिका भित्र १८ वटा शैक्षिक संस्थाको भौतिक निर्माण भएको सुवेदी जानकारी दिए । यस्तै, उपमहानगरपालिकाको सबैजसो स्वास्थ्यचौकीमा ल्याब, डिजिटल अक्सरे सहितको सेवा सुविधाको व्यवस्थापन गरेको पनि सुवेदीले जनाए । ‘निर्वाचित हुनुभन्दा अगाडि स्वास्थ्य क्षेत्रको अवस्था निकै कमजोर थियो, हामी निर्वाचित भएरआएपछि स्वास्थ्य क्षेत्रमा पनि निकै परिवर्तन आएको छ,’उनले भने । त्यस्तै प्रदेश १ को धरान उपमहानगरपालिका एक सुन्दर तथा विविध सांस्कृतिक विविधता भएको नगर हो । उपमहानगरपालिकाको विकाससँगै स्थानीयको आवश्यकता र मागलाई केन्द्रमा राखेर काम गरिएको उपमहानगरपालिकाकी उपप्रमुख मञ्जु भण्डारी बत्ताउँछिन् । उपप्रमुख भण्डारीका अनुसार उपमहानगरपालिकाले ५ वटा वडालाई कृषि पकेट क्षेत्रको रूपमा घोषण गरी कृषिका विभिन्न कार्यक्रमहरू गर्दै आएको छ । कृषियोग्य जमिनलाई पकेट क्षेत्रमा छुट्याई उक्त ब्लकमा उपमहानगरपालिकाले बाख्रा, गाई, कुखुरा, कृषि औजारको सामानहरु वितरण गर्दै आएको पनि भण्डारीले बताइन् । निर्वाचित भएर आएपछि १०० किलोमिटर पक्की सडक बनाएका भण्डारी दाबी गर्छिन् । ‘हामीले धरानभित्र खेलमैदान ३८ वटा, आधारभूत स्वास्थ्य चौकी १० वटा निर्माण गरेका छौं,’ उनले भनिन् । निर्वाचित जनप्रतिनिधिले यो अवधिसम्ममा उपमहानगरपालिकाभित्र १५ वटाभन्दा बढी विद्यालयको भवनहरू निर्माण गरेको उनको भनाइ छ । यस्तै हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिनाकुमारी लामाका अनुसार शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको बताउछिन् । उनी भन्छिन्,‘सीमित बजेटका कारण लक्ष्य अनुसार काम गर्न सकेनौं । तर, भएको बजेटको भरपुर सदुपयोग गरी विकासले गति लएिको छ ।‘ लामाका अनुसार उपमहानगरपालिकाले विकास सँगसँगै उत्पादनलाई जोड दिँदै आएको छ । कृषिको विकासको लागि उपमहानगरपालिकाले भूगोल अनुसारको माटोको परीक्षण गर्नेजस्ता काम गरी उक्त माटोमा उपयुत्त हुने कृषिमा बाली लगाउँदै आएको छ । औद्योगिक क्षेत्रको विकासबारे लामाले भनिन्, ‘हामीले औद्योगिक क्षेत्रको विस्तार गर्नको लागि औद्योगिकीकरण नभइकन त्यसको अर्थ कृत्रिम नहुने भएका कारणले गर्दा स्थानीय तहको तर्फबाट हामीले पटक–पटक अन्तरक्रिया गरेका छौं, औद्योगीकरणलाई बढाउने, रोजगारी सिर्जना गर्ने र थप नगरपालिले सहयोग गर्नु परेमा त्यो पनि गर्न तयार भनेर धेरै पटक जानकारी गराएका छौं,’ उनले भनिन् । स्थानीय तहमा निर्वाचित भएपछि १९ वटै वडामा शहरी स्वास्थ्य केन्द्र भनेर २० वटा स्वास्थ्य संस्थाको स्थापना गरेको लामा बताउँछिन् । जहाँ सुत्केरीलगायत साना रोगको उपचारको लागि हेटौडा नै आउनु नपरोस् भनेर उक्त स्वास्थ्य केन्द्रको निर्माण गरिएको उनको भनाइ छ । चुनावमा गरेको प्रतिबद्धताभन्दा धेरै काम गर्न सफल भएका उनी दाबी गर्छिन् । यस्तै, कलैया उपमहानगरपालिका मेयर राजेशराय यादव आफू निर्वाचित भएर आएपछि उपमहानगरपालिकाको मुहार नै फेरिने गरी काम गरिएको बताउछन् । धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशिला मिश्र भट्टले उपप्रमुखको जिम्मा पाएपछि जनताको आवश्यकता र इच्छा अनुसार नै काम गर्दै आएका बताइन् । उपमहानगरपालिकाले भौतिक पूर्वाधार, कृषि, स्वास्थ्यलगायतका क्षेत्रमा उलेखनीय काम गरेको भट्ट दाबी गर्छन् । उपमहानगरपालिकाको मुख्य समस्या डुबान भएकोले समस्यालाई समाधान गर्नको लागि धेरै ठूलो बजेट लगानी गरे पनि समस्या उस्तै छ भने निर्वाचनको बेलाको आफ्नो संकल्प र प्रतिबद्धताअनुसार नै काम गरेको उनी बताउँछिन् ।
सबै वडामा प्रशस्त बजेट दिएँ, धेरै जिम्मेवारी पूरा गरेँ
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले महानगरबासीले दिएको धेरै जिम्मेवारी आफूले पूरा गरेको दावी गरेका छन् । मेयर शाक्यले सबै वडालाई प्रशस्त बजेट दिएर आफूले काम गर्ने उचित वातावरण बनाइदिएको बताए । शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर १४ को वडा कार्यालय भवन उद्घाटन गर्दै उनले महानगरबासीको सबै चाहना पूरा गर्न नसकेपनि उनीहरुले सुम्पेको धेरैजसो जिम्मेवारी आफूले पूरा गरेको बताएका हुन् । मेयर शाक्यले सबै वडा कार्यालयहरुलाई काम गर्न उचित वातावरण बनाएर आफूले अभिभावकीय भूमिका निर्वाह गरेको जिकिर गरे । सबै वडाहरुलाई प्रशस्त बजेट दिने, काम गर्ने वातावरण बनाउने र त्यसका लागि आवश्यक टिम परिचालन गर्ने काममा आफूले कमी हुन नदिएको उल्लेख गर्दै मेयर शाक्यले सबै काम सम्पन्न नै भइसक्यो भनेर दावी गर्न भने नसक्ने बताए । ‘सबै पूरा गर्न नसके पनि धेरै जिम्मेवारी पूरा गरेको छु । मैले टिमलाई व्यवस्थित ढंगले परिचालित गरेको छु । सबैलाई उचित जिम्मेवारी दिएर काम गर्ने वातावरण बनाइ दिएका छौं । सबै वडा कार्यालयहरुलाई प्रशस्त बजेट पनि दिने, जिम्मेवारी पनि दिएर काम गराएका छौं’ उनले भने । उपमेयर हरिप्रभा खड्गीले सहरलाई व्यवस्थित बनाउन ढल व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर सबै वडा कार्यालयहरुको काम गरेको बताइन् ।
वालुवामा पानी हाले जस्तै उपमहानगरको सौर्यबत्ती लगानी, एक वर्ष नबित्दै बिग्रीयो
फाइल फोटो काठमाडौं । बाँकेको नेपालगञ्ज र आसपासमा जडान गरिएका अधिकांश सौर्यबत्ती बल्न छोडेका छन् । सौर्यबत्ती जडान गरिएको केही महिनामात्र बलेर विस्तारै अधिकांश सौर्यबत्तीहरू बल्न छोडेका हुन् । एक बर्ष नबित्दै रातको समयमा बत्ति बल्न छोडेपछि त्यसले सडक दुर्घटनाको झनै जोखिम निम्त्याएको स्थानीयले गुनासो गरेका छन् । ६ महिनादेखि राम्ररी बलेको छैन । तर, बत्तिको मर्मतसंभार गर्न सरोकारवालाले चासो नदेखाएको स्थानीय बताउँछन । सौर्यबत्ती मर्मतको लागि नेपालगञ्ज उपमहानगरपालिकाले हरेक बर्ष बजेट विनियोजन गर्ने गरेको छ तर बत्ती मर्मत भएर बलेको देखिदैन । उपमहानगरपालिका भित्र दुई सय ५० ओटा सौर्यबत्ती जडान भएका छन् । तर, जडान भएका मध्ये अधिकांशबत्ती बल्दैनन् । बत्ती नहुँदा रातको समयमा नियमित आवातजावत गर्न समस्या हुनका साथै पटक–पटक सडक दुर्घटना भएको समेत हुने गरेको छ । तर उपमहानगरपालिकाका जनप्रतिनिधिले भने खासै चोसो नदेखाएको स्थानीय ललितकुमार रौनियारले बताए । उनले सडकमा जडान गरिएका बत्ती बल्न छाडेकाले सडकमा हिड्ने मानिसहरु हिंडडुल गर्दा दुर्घटनाको जोखिम बढेको गुनासो गरे । ‘सोलार बत्ति जडान गरिएको दुई, तीन महिना मज्जाले बल्यो, तर त्यसपछि बिग्रिएर उज्यालो दिन सकेको छैन, त्यसैले चाँडो भन्दा चाँडो सौर्यबत्तिको मर्मत गर्न सम्बन्धित निकायको ध्यान जानु आवश्यक छ,’ उनले भने । तर यता उप–महानगरपालिकाकी उपमेयर उमा थापामगरले भने उपमहानगरपालिकाले सडक बत्ती मर्मत कार्य गरिरहेको बताईन । उनका अनुसार उप–महानगरपालिका भित्र विग्रिएको सडक बत्ती मर्मतका लागि यो वर्ष २० लाख बजेट विनियोजन गरिएको थियो । सौर्यबत्तीको एक बर्ष मात्र वारेन्टी हुने भएकाले सडक बत्ती विग्रिने गरेको बताईएको छ । उपमहानगरपालिकाको समन्वय र संसद कोषबाट नेपालगञ्जमा सौर्यबत्ती जडान गरिएको थियो ।