गाउँपालिका अध्यक्षलाई प्रश्न- जनताले अनुभूति गर्न लायक के-के काम गर्नुभयो ?

स्थानीय तहको निर्वाचन भएको ५ वर्ष पुरा हुनैलागेको छ । स्थानीय तहका निर्वाचित जनप्रतिनिधिहरूको कार्यअवधि सकिन अब ३ महिना मात्र बाँकी छ । यो अवधिसम्ममा कालिमाटी गाउँपालिकाले विकास निर्माणको कामदेखि लिएर हरेक क्षेत्रमा सुधार र परिवर्तन गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष दान बहादुर के.सी. बताउँछन् । निर्वाचित भएर आएपछि विभिन्न ठाउँहरूमा सडक सञ्जाल विस्तार गरेको तथा शिक्षा, स्वास्थ्य र खानेपानीको पहुँच गाउँगाउँमा पुर्याउन पालिकाले महत्वपुर्ण भूमिका खेलेको उनी दाबी गर्छन् । उनै गाउँपालिकाका अध्यक्ष के.सी.सँग कार्यकालको समीक्षा, यो अवधिसम्म आइपुग्दा पूर्वाधार विकासतर्फ भएको काम, सर्वसाधारणको जीवनस्तर सुधार गर्नमा पालिकाको गरेको पहल, निर्वाचनको समयमा बोलेका कुराहरूको कार्यान्वयन लगायतका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिव न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : तपाईं स्थानीय तहमा निर्वाचित भएर आएयता जनताले अनुभूति गर्न लायक के–के काम गर्नुभयो ? हामी निर्वाचित भएर आइसके पश्चात् पालिकामा भौतिक संरचना, खानेपानी, स्वास्थ्य, शिक्षा, कृषि, र पशुपालन क्षेत्रमा पालिकाले उदारहणीय काम गरिसकेको छ । त्यस कारणले गर्दा हामीले आर्थिक, सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण संरक्षण आदि सबै क्षेत्रको विकास गरी नागरिकलाई कसरी सुखमय बनाउने भन्ने कुरामा जोड दिँदै आएका छौं । पालिकाको प्रत्येक वडामा सडक सञ्जाल पुर्याउन सफल भएका छौं । पालिकाको ७ वटै वडामा ट्याक्सी चढेर घुम्न सक्ने अवस्था बनाएका छौं । निर्वाचित भएर आएपछि यो साढे ४ वर्षको अवधिमा भित्रमा करिव २ सय किलोमिटर सडकको नयाँ ट्र्र्याक खोलेका छौं । पालिकामा सडकको नयाँ ट्र्र्याक खोल्ने काम करिव सम्पन्न भइसकेको छ । हाल नागरिकको घरमा विद्युत पुर्याउने काम गरिरहेका छौं । यसका साथै शैक्षिक सुधार पनि पालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । शिक्षा क्षेत्रमा पनि व्यापक परिवर्तन गर्नका लागि प्राविधिक शिक्षालाई बढी महत्त्व पालिकाले दिएको छ । विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरी शैक्षिक गुणस्तरमा विशेष जोड दिएका छौं । यसै गरी हामीले स्वास्थ्य क्षेत्रमा पनि धेरै राम्रो कामहरू गरेका छौं । हाम्रो कार्यकालमा नै ६ वटा आधारभूत स्वाथ्यचौकीको निर्माण गरिसकेका छौं । निर्वाचित भएर आएदेखि अब हाम्रो कार्यअवधि सकिन लाग्दासम्म पालिका आमूल परिवर्तन भएका छ । नागरिकको आवश्यकता र अपेक्षालाई नै मध्यनजर गरेर पालिकाले विकास निर्माणको काम अगाडि बढाएका छौं । कार्यकालको बाँकी अवधिमा सम्पन्न हुने अर्थात् यो चाहिँ मेरै कार्यकालमा पूरा भयो भनेर देखाउने कुनै काम छ ? हामीले पालिकामा सञ्चालन गरेका तर काम पुरा नभएका योजनाहरू धेरै छन् भने केही योजनाहरू निर्माणाधीन अवस्थामा पनि छन् । यी योजनाहरू पुरा गर्नतर्फ पनि लागेका छौं । पालिकामा गर्नुपर्ने काम अझै धेरै छ । गाउँपालिकाको प्रशासनिक भवन निर्माणको क्रममा छ । उक्त भवनको काम हाम्रो कार्यकाल भित्र नै सक्ने योजनामा छौं । नागरिकको प्रत्येक घरमा बिजुली पुर्याउने योजनामा छौं । बिस्तारै एकपछि अर्को काममा सफलता पालिकाले पाउँदै छ । स्थानीय तहमा प्रभावकारी रूपमा काम गर्नको लागि प्रदेश र संघ सरकारसँगको समन्वय कस्तो रह्यो ? नेपालमा संघीय गणतन्त्रको स्थापना भइसकेपछि संविधान अनुरूप जसरी स्थानीय तहको परिकल्पना गरियो र अधिकारको बाढफाड गर्दै स्थानीय तहलाई सरकारको रूपमा अगाडि बढाएको थियो । त्यो समयमा सिंहदरबारको अधिकार गाउँ–गाउँमा भन्ने एक खालको नारा लगाइएको थियो । त्यो अनुरूप हेर्दा स्थानीय तहमा केन्द्र र प्रदेश सरकारले अधिकार दिन सवालमा अहिले पनि आङ्कुस लगाइरहेको छ । विभिन्न बाहानमा केन्द्र र प्रदेश सरकारले स्थानीय तहलाई कमजोर बनाउने र आफ्नो मातहतको एउटा निकाय हो भन्ने बुझाइ अहिले पनि माथिल्लो तहमा देखिन्छ । यस कारण बिकेन्द्रिकरणको अवधारण अनुसार स्थानीय तहहरू अधिकार सम्पन्न हुदैन्न । जबसम्म स्थानीय तहमा साधन स्रोतले सम्पन्न गर्न सकिँदैन तबसम्म पुन रूपमा नेपालको विकासको प्रक्रिया अगाडि बढाउन कढिनाई देखिन्छ । प्रदेश र संघ सरकारको स्थानीय तहलाई हेर्ने दृष्टिकोण त्यति राम्रो छैन । अनि चुनावी बाचा कति पुरा गर्नुभयो नि ? पहिला हाम्रो पालिकाका विकास निर्माण हिसाबले अत्यन्तै पछि परेका क्षेत्र थियो । पूर्वाधारको कुरा गर्दा पहिला पालिकमा सडक, बिजुलीको पहुँच कुनै पनि वडामा पुगेको थिएन । शिक्षा क्षेत्र अस्तव्यस्त थियो । निर्वाचित हुनभन्दा अगाडि यहाँका मानिसहरू खोला नदी, कुवाको पानी खान बाध्य थिए । निर्वाचित भएर आएपछि हाल यी क्षेत्रमा हामीले उल्लेखनीय काम गरिसकेका छौं । सम्भव भएसम्म हामीले घरघरमा मूलको पानी वितरण गरेका छौं । संम्भवन नभएको ठाउँमा हामीले ठुला ठुला लिफ्टीङ खानेपानी आयोजना सञ्चालन गरी नागरिकको घरमा खानेपानी पुर्याएका छौं । तत्कालीन अवस्थामा हामीले जनता सामु जेजति प्रतिबद्धता गरेको थियौं । त्यी प्रतिबद्धता पुरा गरिसकेका छौं । निर्वाचित भएर आएका ५ वर्ष पुरा हुँदासम्म चुनावी बाचा पनि हामीले धेरै हदसम्म पुरा गर्न सफल भयौं । केही प्रतिबद्धता पुरा गर्न बाँकी पनि छन् । बाँकी रहेका प्रतिवद्र्धताहरु कार्यकाल भित्र नै सक्ने योजना पनि बनाएका छौं । यो चार वर्ष अवधिमा गाउँपालिकाको प्रमुखका रूपमा काम गर्दाको अनुभव कस्तो रह्यो ? चार वर्षको कार्यकाल निकै सकारात्मक रह्यो भन्ने मैले महसुस गरेको छु । अहिलेको स्थानीय तहका जनप्रतिनिधिहरू राज्यको पुनर संरचना पछि भएका तिन तहको सरकार सञ्चालन गर्ने क्रममा हामी इतिहासमा नै पहिलो जनप्रतिनिधि हौं । हामी स्थानीय तहमा निर्वाचित भएर आएपछि सुरुवाती दिनमा कानुन, कार्यविधि केही नियम तथा निर्देशिकाको अभावका कारण केही समस्याहरू झेल्नु पर्यो । कर्मचारी अभावको कारण पनि केही समस्या आए । हामी माथि जनताका आशा र अपेक्षा धेरै थिए । हामीले अब अधिकांश कामहरू गरिसकेका छौं । यस अवधिसम्म आइपुग्दा हामीले धेरै रचनात्मक कामहरू गर्न सफल भयौं । स्थानीय सरकारले जनशक्ति व्यवस्थापन कानुन कार्य नियमावलीको निर्माण, कार्यान्वयन, अर्ध न्यायिक संरचनाको व्यवस्थापनजस्ता महत्त्वपूर्ण विषयहरूमा धेरै नै अगाडि बढेर आगामी दिनको लागि मार्ग खुला भएको छ । सुरुवाती दिनमा अप्ठ्यारो महसुस भयो, धेरै संर्घषका बाबजुद अब हामी सजिलो अवस्थामा आइपुगेका छौं । देशमा विकासको गति र जनतालाई आशाको एउटा आँकुरा पलाएको महशुष गरेका छौं । तपाईं पालिकाको प्रमुख भएर आएपछि कति जना बेरोजगार युवाहरुले रोजगारी पाए ? पालिकाले हरेक वर्ष रोजगारीको अवसरहरू सृजना गरिरहेको हुन्छ । यो ४ वर्षको अवधिमा करिब ५ सय बेरोजगार युवालाई रोजगारी दिन सफल भएका छौं । युवाहरूलाई लगानी गरी आत्मनिर्भर बनाउन खोजेका छौं । व्यवसायिक बन्न चाहने युवाहरूको लागि पालिकाले सहजीकरण गर्दै आएको छ । नियमित रूपमा ८० जना युवाहरूलाई सडकको काममा लगाएका छौं । अन्त्यमा, पालिकावासीलाई के भन्न चाहनुहुन्छ ? सम्पूर्ण पालिकावासीलाई के भन्न चाहन्छु भने विकास भनेको नियमित हुने प्रक्रिया हो । सोही अनुरूप यो क्षेत्रको विकास गर्ने अवसरको प्रधान गर्नु भयो र हामीले यो अवधिका भित्रमा जेजति भौतिक तथा विकास निर्माण लगायत अन्य क्षेत्रका राम्रो काम गर्ने अवश्रको प्रप्त भयो । यो विकास पर्याप्त होइन ,पालिकामा अझै विकास निर्माणको काम गर्न बाँकी नै छ । कालिमाटि गाउँपालिकामा संवृद्ध हासिल गर्नको लागि पालिकावासी सबै एक जुट भएर लाग्नु पर्छ । हुँदै गरेका विकास निर्माणको काम एक दिन पुरा हुने छन् । विकास निर्माणको काममा पालिकावासीको पनि सकारात्मक तथा रचनात्मक साथ र सहयोग चाहिन्छ । जनताको अपेक्षा अनुसारको काम हामीले गर्यौं । कतिपय ठाउँमा चाहेर वा नचाहेर भूगोल तथा परिस्थिति र महामारीको कारणले केही समस्या पनि आए । नागरिकहरुले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । हामी नागरिकका जनप्रतिनिधि हौं, त्यसैले हामीलाई यति बेला सर–सल्लाह एवं सुझाव पनि दिन अनुरोध गर्छु । आगमि दिनमा पनि यसरी नै जनताको साथ र सहयोग मिल्ने अपेक्षा गर्छु ।

स्थानीय तहको निर्वाचन पर नसार्न एमाले अध्यक्ष ओलीको आग्रह

काठमाडाैं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनलाई संविधानले तोकेको अवधिमै सम्पन्न गर्न माग गरेका छन् । अध्यक्ष ओलीले आज समसामयिक राजनीतिका विषयमा वक्तव्य जारी गर्दै सत्ता गठबन्धनले आउँदो वैशाखमा प्रतिनिधिसभाको निर्वाचन गर्ने प्रस्ताव ल्याएकाले त्यसबाट राजनीतिक अन्योल बढ्ने टिप्पणी गरे । गतवर्ष आफूले ताजा जनादेशका लागि प्रस्ताव गर्दा सडकमा प्रदर्शन र विरोध गरिएको स्मरण गराउँदै उनले अहिले ‘अर्ली इलेक्सन’को कुरा गर्नेहरुले उक्त विरोधप्रति क्षमायाचना गर्न आग्रह गरे । ‘नेपालको संविधानले स्थानीय तहको पद रिक्तताको परिकल्पना गरेको छैन, त्यसैले स्थानीय तहको निर्वाचन सार्ने कुनै पनि बहाना हामीलाई स्वीकार्य छैन,’ विज्ञप्तिमा भनिएको छ । पूर्वप्रधानमन्त्री ओलीले कार्यकाल सकिनु दुई महिना अगावै स्थानीय तहको निर्वाचन गराउनुपर्ने संविधान र कानुनको मर्मलाई पालना नगरेर सत्ता गठबन्धनले निर्वाचन पर धकेल्ले प्रपञ्च गरिरहेको आरोप लगाए । अध्यक्ष ओलीको १५ बुँदे सो वक्तव्यमा मुलुकको बाह्य सम्बन्धमा गम्भीर असन्तुलन र विचलन देखा परेको, सरकारले अर्थतन्त्रका वास्तविक आँकडालाई ढाकछोप गरेको, संसद्मा एमालले उठाएको मुद्दाको सुनुवाइमा ध्यान नदिएको आरोप लगाइएको छ । उनले कोभिड १९ रोकथाममा संलग्न अग्रपङ्गतिका राष्ट्र सेवकलाई जोखिम भत्ता दिन, प्रतिबद्धताबमोजिम सबैलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन, हराएको भनिएको २४ लाख मात्रा खोपको विवरण सार्वजनिक गर्न, ललिता निवास जग्गा अनियमितता प्रकरणका दोषीलाई उन्मुक्ति नदिन आग्रह गरेका छन् । विज्ञप्तिमा बेमौसमी पानीले धानबाली नष्ट भएका किसानलाई अविलम्ब राहत दिन, द्वन्द्वकालीन मुद्दा छिटो किनारा लगाउन, व्यक्ति हत्याको धम्की जस्तो गैह्रकानूनी अभिव्यक्ति दिने भौतिक पूर्वाधार विकासमन्त्री रेणुकुमारी यादवलाई पदबाट हटाउन पनि माग गरिएको छ । आज पार्टी कार्यालयमा पत्रकार सम्मेलनको तयारी गरेका ओलीलाई कोरोना सङ्क्रमण भएका कारण प्रेस वक्तव्य जारी गरिएको बताइएको छ । रासस

कोरोना रोकथामको लागि स्थानीय तहसँग सरकारले समन्वय नगरेको मेयरको आरोप

काठमाडाैं । कोभिड–१९ को तेस्रो लहरको रोकथाम तथा न्यूनिकरणका लागि सरकारले स्थानिय तहसँग समन्वय नगरेको काठमाडौं महानगरपालिकाले आरोप लगाएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा न्यूनिकरणका लागि सरकार तथा जिल्ला प्रशासनले कुनै प्रकारको समन्वय नगरेको बताए । शाक्यले सरकारी निर्णय कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी स्थानिय तहको भएपनि सरकारले पछिल्लो समय कोभिड–१९ को सन्दर्भमा गरेका कुनै पनि निर्णयमा महानगरको सल्लाह तथा सुझाव नलिएको बताए । कोभिडको अघिल्ला लहरहरुमा सरकारी संयन्त्रले स्थानिय तहसँगको समन्वयमा मात्र हरेक निर्णयहरु गरेका कारण क्षति कम बेहोर्नुपरेको भन्दै स्थानिय तहसँग समन्वय गरेर अगाडी बढेका क्षति कम हुने उनी बताउँछन् । यस्तै उनले कोभिड–१९ विरुद्धको खोप दिन ढिलाइ भइरहेको भन्दै महानगरपालिकालाई खोपको जिम्मेवारी दिए सहज रुपमा सबैलाई खोप दिन सक्ने पनि बताए ।