भोजपुरको षडानन्द नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द, बैंक ३ घण्टा मात्रै खुल्ने
काठमाडौं । भोजपुरको षडानन्द नगरपालिकामा कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि अत्यावश्यक वाहेकका सबै सेवाहरु बन्द गरिने भएको छ । तीब्र गतिमा फैलिरहेको नयाँ भेरियन्टकोे कोरोना भाइरस पालिकामा पनि बढ्दो रुपमा फैलिएको कारण पालिकाको अत्यावश्यक वाहेकका सबै सेवाहरु बन्द हुने भएका हुन् । कोरोना भाइरस नियन्त्रण तथा समन्वय समितिको जेठ १२ गते बसेको बैठकले जेठ १९ गतेसम्मका लागि अत्यावश्यक वाहेकका सबै सेवाहरु बन्द गर्ने निणय गरेको हो । नगरपालिकाको मातहतमा स्वास्थ्य सेवा बाहेक, नगरपालिका कार्यालय, वडा कार्यलय सबै, शैक्षिक संस्थाहरु, हाटबजार, एवं अन्य सरकारी तथा गैरसरकारी संघ/सस्थाहरुबाट पनि अत्यावश्यक वाहेकका सबै सेवा बन्द हुने भएको छ । नगरपालिकाका बैंक तथा वित्तीय सस्थाहरुले विहान ११ बजे देखि २ बजेसम्मको लागि मात्र स्वास्थ्यका मापदण्डहरु पुर्ण पालना गरी खेल्न पाउने भएका छन् ।
ओखलढुंगा सामुदायिक अस्पतालबाट छिमेकी जिल्लाका बिरामीहरूले पनि सेवा पाइरहेका छन् – नगरप्रमुख श्रेष्ठ
विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसबाट ओखलढुंगा जिल्लाको सिद्धिचरण नगरपालिका पनि प्रभावित बनेको छ । पालिकामा कोरोना संक्रमितहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ भने मृत्यु हुनेहरू पनि धेरै भइसके । कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै नागरिकहरूको जनजीवन अस्तव्यस्त बनेको छ । देशका अधिकांश भागहरूमा जस्तै यस पालिकामा पनि निषेधाज्ञा लगाइएको छ । नगरपालिकाले कोभिड–१९ सङ्कट रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि कसरी प्रयास गरी रहेको छ, अस्पतालमा अक्सिजन र स्वास्थ्य सामग्रीको अभाव हुन नदिन नगरपालिकाले कसरी काम गरिरहेको छ भन्ने लगायतका विषयमा सो नगरपालिकाका नगरप्रमुख मोहन कुमार श्रेष्ठसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । नगरपालिकामा कोरोनाको संक्रमण दिन प्रति बढ्दो छ, जोखिम न्यूनिकरण गर्नको लागि के कसरी काम गर्दै हुनुहुन्छ ? कोभिड–१९ को पहिलो चरणले भन्दा दोस्रो चरणले नेपाल अधिराज्य भर आतंक मच्चाएको छ । हाम्रो पालिका पनि दिन प्रतिदिन कोरोनाबाट प्रभावित बन्दै गएको छ । कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेका छौं । यो समयमा कोभिड विरुद्ध लड्न सबै पक्षबिच सहकार्य हुन जरुरी छ जस्तो लाग्छ । दोस्रो लहरको रूपमा फैलिएको कोभिडको संक्रमणबाट बच्नु र बचाउनु हामी सबैको अहिलेको प्रमुख जिम्मेवारी पनि हो । नागरिकलाई कोरोना संक्रमण हुन नदिनको लागि सचेतनाका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने गरेका छौं । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेको छ भने १२ ओटै वडामा माइकिङ्ग पनि गर्दै आएका छौं । यो महामारीलाई न्यूनिकरण गर्नु सरकारको पहिलो जिम्मेवारी भित्र पर्दछ । तत्कालको लागि हामीले स्वास्थ्य सामग्रीमा मास्क १० हजार, स्यानिटाइजर ५० लिटर, तथा अक्सिमिटर १५ ओटा खरिद गरेका छौं । पालिकाको १२ ओटै वडाका स्वास्थ्यचौकीमा अक्सिमिटर वितरण गरेका छौं । हाम्रो पालिकामा एउटा सामुदायिक अस्पताल रहेको छ । ११ नं. वडामा रहेको तथा ओखलढुंगाको रुम्जाटारमा रहेको अस्पताललाई २/२ हजार मास्क र १०/१० लिटर स्यानिटाइजर दिएका छौं । नेपाली सेना, जनपथ प्रहरी र प्रहरीलाई पनि ५/५ सय मास्क र ५/५ लिटर स्यानिटाइजर वितरण गरेका छौं । बाँकी रहेको मास्क, स्यानिटाइजर तथा अक्सिमिटर स्थानीय स्वास्थ्यचौकीमा वितरण गरेका छौं । सी.सी.एम.सी. ले निर्णय गर्नुभन्दा पहिला नै नगरपालिकाको बैठक बसि बैशाख २२ गते देखी २९ गतेसम्मको लागि हामीले निषेधाज्ञा जारी गरेका थियौं । फेरी पनि १० दिनको लागि निषेधाज्ञा थप गरिएको छ । निजी र भाडाका सवारीहरुलाई निषेधाज्ञा अवधिभर सञ्चालन हुन दिएका छैनौं । स्वास्थ्यको मापदण्ड अपनाएर तरकारी र खाद्यका सामानहरु मात्र बिक्रीवितरण गर्न दिएका छौं । खाद्य पसल बिहान ७ बजे देखि १० बजेसम्म खोल्न दिएका छौं भने अन्य पसलहरू बन्द गराएका छौं । छिमेकी जिल्लाहरुमा भेन्टिलेटरको अभाव भएको हुँदा त्यहाँका केहि बिरामीहरुको हाम्रो जिल्लाको सामुदायीक अस्पतालमा उपचार भइरहेको छ । विगत केहि वर्ष यता पालिकामा सञ्चालन हुँदै आएको मेयर कप भलिबल प्रतियोगिताका लागि भनेर २० लाख रुपैयाँ बजेट छुट्टिएको थियो । कोरोनाले गर्दा यो कार्यक्रम स्थगित भएको थियो । जेठ ७ गते नगर कार्यपालिकाको बैठक बसेर यो वर्ष यस कार्यक्रमलाई स्थगित गरी सोही रकमले बरु भेन्टिलेटर किन्ने निर्णण भएको छ । जिल्ला सामुदायिक अस्पताल ओखलढुंगाले ३ जिल्लाका बिरामीलाई सेवा दिइरहेको छ । पालिकामा करिब २६ ओटा अक्सिजन सहितको आइसोलेसन कक्ष रहेको छ । अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव छ कि छैन, अक्सिजनको अभाव हुन नदिन के गर्दै हुनुहुन्छ ? २ ओटा अस्पतालमध्ये ओखलढुंगा सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट पनि रहेको छ । यो प्लान्टले दिनमा १५ ओटा सिलिन्डर भर्न सक्छ । जिल्ला अस्पताल ओखलढुंगा वडा नं. ४ मा रहेको अस्पतालमा अक्सिजनसहितको ६ बेड आइसोलेसन कक्ष रहेको छ । यो अस्पतालबाट पनि कोभिडको बिरामीको उपचार भइरहेको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा अक्सिजनको सुविधा सहितको २० बेडको आइसोलेसन कक्ष रहेको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा सोलुखुम्बु जिल्लाका बिरामीहरूले पनि सेवा पाइरहेका छन् । कोरोनाका संक्रमितहरु दिन प्रतिदिन यसरी नै बढ्दै गए भने अक्सिजन र सिलिण्डर दुवैको अभाव हुन सक्छ । उद्योग वाणिज्य महासंघले पालिका भित्रनै १० ओटा अक्सिजन सहितको बेड तयारी अवस्थामा राखेको छ । नेपाल पत्रकार महासंघ पनि अक्सिजन सहितको ५ बेडको आइसोलेसन कक्ष बनाउने तयारीमा रहेको छ । अहिलेसम्म त २ ओटा सामुदायिक अस्पतालबाट कोभिड–१९ का बिरामीहरूको उपचार भइरहेको छ तर दिन प्रतिदिन संख्या बढ्दै गएको हुनाले आइसोलेसन कक्ष अभाव हुनसक्ने अवस्था छ । संघसंस्थाहरुले छुट्टाछुट्टै भन्दा पनि एकै ठाउँबाट सेवा दिने तरीकाको सामुदायिक भावनाबाट आइसोलेसन कक्ष बनाउनु पर्छ भनेर पनि छलफल गरिरहेका छौं । आम नागरिकले हाल निषेधाज्ञालाई कसरी लिएका छन् अनि नागरिकहरूबाट चाहिँ के कस्तो सहयोग मिलेको छ नि ? पहिलो चरणमा कोरोनाको बारेमा धेरैले त विश्वास नै गरेनन् तर हाल भने जनताको पूर्ण सहयोग छ । मानिसहरुलाई हामीले सकेसम्म भिडभाड नगरौं भनेका छौं । संक्रमित र मृतकको संख्या बढ्दै गएपछि नागरिकहरू पनि त्रसित भएका छन् । पालिकाको अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका छौं भने सबै नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउनको लागि अपिल गरेका छौं । बाहिरी जिल्लाबाट आएकाहरुमा संक्रमण दर धेरै देखिएको कारण बाहिरबाट आउनेहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्न अपिल गरेका छौं । अहिलेसम्म कोभिड रोकथाम र नियन्त्रणका लागि आम जनसमुदायबाट साथ, सहयोग मिलेको नै छ । प्रदेश र केन्द्र सरकारबाट जोखिम न्युनिकरण गर्नको लागि के कस्ता सहयोग मिलेको छ ? संघीय सरकारबाट भएको निर्णय र निर्देशन अनुसार प्रदेश सरकाले काम गरेको छ । प्रदेश सरकार र स्थानीय तहको प्रत्यक्ष समन्वय चाहिँ छैन । सी.सी.एम.सी बाट निर्णय भइसकेपछि स्थानीय जिल्ला प्रशासनबाट समन्वय भइरहेको छ । नगरपालिका सदरमुकामबाट नजिकै भएको कारण समन्वय गरिरहेका छौं । नगरपालिकाका र मानेभञ्याङ गाउँपालिकाको सहकार्यमा हामीले होल्ड सेन्टरको स्थापना गरेका छौं । बिदेशबाट आएका र अन्य जिल्लाबाट आएका नागरिकलाई होल्ड सेन्टरमा होल्ड गराई उनिहरुको स्वास्थ्य अवस्थाको राम्रो जनकारी लिएर मात्र उनीहरुलाई गन्तव्यसम्म पुर्याउने व्यवस्था मिलाएका छौं । कोरोना रोकथाम र नियन्त्रणको लागि बजेटको अभाव छ कि छैन ? पालिकामा कोरोनाको संक्रमण यसरी नै बढ्दै गयो भने चाहिँ पक्कै बजेटको अभाव हुन्छ । संघीय सरकारले अब जुनसुकै शिर्षकबाट आएको बजेट पनि कोभिड रोकथाम नियन्त्रणको लागि खर्च गर्न सकिन्छ भन्ने निर्देशीका जारी गर्नुपर्ने आवश्यकता मैले देखेको छु । कहिलेकाहीँ हामीसँग बजेट भएर पनि बिनियोजन गर्दा शिर्षक भएन भने रकमान्तरण गर्न सक्दैनौं । केन्द्र सरकारले निर्देशिका जारी गरी यदि कुनै पनि समय कोभिड–१९ संक्रमण बढ्यो र यसको रोकथाम र नियन्त्रणको लागि बजेट अभाव भयो भने स्थानीय तहसँग भएको जुनसुकै शिर्षकको रकम खर्च गर्न सकिने छ भन्ने कुरा राखिदियो भने सहजता हुनेथियो होला । कोरोना महामारीले नगरपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ? कोरोना महामारीले नगरपालिकाको सम्पूर्ण कामकाजमै ठुलो असर पुर्याएको छ । हामीले हरेक शाखामा १ जनाभन्दा बढि कर्मचारी उपस्थित गराएका छैनौं । विकास निर्माणको कामहरू पनि प्रभावित भएका छन् तरपनि केही योजनाहरूको काम भने स्वास्थ्य मापदण्ड अपनाउँदै गरिएको छ । समयमा नै विकास निर्माणको काम सम्पन्न गर्नको लागि समस्या हुन सक्छ । आर्थिक वर्ष ७८/७९ को नीति कार्यक्रम तथा बजेट तयार गरी आउने असार १० गते स्थानीय तहले पेश गर्नुपर्ने हुन्छ । योजनाका ७ चरण छन् । यी ७ चरण पुरा गरी बजेट बिनियोजन गर्नुपर्ने आवश्यकता रहन्छ । यसरी नै कोभिडको प्रभाव पालिकामा बढ्दै गयो भने बजेट निर्माण गर्न चाहिँ समस्या हुन्छ । बजेट निर्माण गर्न समस्या भयो भने ७८/७९ को कार्यक्रम बजेट निर्माणको चरण नपुर्याइकन एकै चोटि नगर सभाबाट कार्यान्वयन गरेर जानुपर्ने अवस्था हुन्छ । तर त्यसको लागि पनि निर्देशिकाका जारी गर्नु पर्छ संघीय सरकारले । टेन्डरका काम अनि सानासाना तालिमका कामहरू पनि रोकिएका छन् । नगरवासीको लागि नगरपालिकाले कुनै राहतका कार्यक्रमहरू ल्याएको छ कि छैन नि ? हालसम्म कुनै पनि राहतका कार्यक्रमहरू ल्याउन सकेका छैनौं । पालिकामा कुनै पनि विकास निर्माणको काम नरोकिएको कारण केही व्यक्तिहरूले रोजगार पाइरहेका छन् । हामीले सुरक्षाका मापदण्ड अपनाएर नै विकास निर्माणका कामहरू गरेका छौं । हालै राहत वितरण गरिहाल्नुपर्ने अवस्था पनि छैन । यसरी नै कोभिड बढ्दै गयो भने राहतको कार्यक्रमहरू ल्याउनु पर्ने आवश्यकता र अनिवार्यता छ । स्थानीय सरकारले सुरुबाट नै कोरोना नियन्त्रण गर्नमा पहल नगरेको भन्दै आरोप लाग्दै आएको छ नि, यसमा तपाईंको धारणा चाहिँ के छ ? केही हदसम्म यो सही पनि हो । जब जनताको इच्छा चाहना पुरा हुन सक्दैन तब जनता आक्रोशमा आउनु स्वाभाविक नै हो । कोभिड–१९ को सम्बन्धमा कुनै एउटा निकायको प्रयासले मात्र यो रोग नियन्त्रणमा आउनसक्ने अवस्था छैन । नागरिकहरू जबसम्म सचेत, सजग, अनुशासित अनि स्वास्थ्य मापदण्ड अपनाएर आफ्नो गतिविधि गर्नुहुन्न तबसम्म यो रोग नियन्त्रण गर्न सक्दै सकिँदैन । जसरी एउटा स्थानीय तहले कोरोना नियन्त्रण गर्न सकेन भन्ने जनताको गुनासो छ, त्यो गुनासो आउनु स्वभाविकै हो । स्थानीय तहले पनि अहिलेको राज्यको पुनर्संरचनासँगै नयाँ काम गरिरहेको अवस्था छ । आफूसँग भएको पैसा खर्च गर्न पनि नीति नियम पुर्याएर मात्र गर्नसक्ने अवस्था छ । यिनै कारणहरुले गर्दा चाहे अनुरूपको काम गर्न नसकिएको हो । भनिँदैछ आउने कार्तिक र मङसिरमा चुनाव हुन्छ, यो समयमा तपाईंले चुनावमा जनताको स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम गर्नुहुन्छ होला र ? यो एक राजनैतिक मुद्दा हो । राजनैतिक मुद्दा र जनताको आवश्यकतालाई २ ओटा पाटोबाट हामीले निर्णय गर्नुपर्ने हुन्छ । राजनैतिक मुद्दा भएको कारण प्रक्रियामा छिरिसके पछि यो पनि एउटा आवश्यकता हो । कोभिड–१९ ले नेपालमा पनि महामारीको रुप लिएको हुँदा चुनाव अहिलेको आवश्यकता होइन भन्ने आवाज उठेको हो । यो पनि आफैमा नराम्रो होइन राम्रो हो । तर म के भन्छु भने राजनीति र विकासको पाटो छुट्टाछुटै छ स्थानीय तहमा । राजनीति प्रक्रियागत रूपमा आउँदा त्यो किसिमको घटनाक्रमले चुनाव गर्नुपर्ने स्थिति भयो कि भन्ने सबैको बुझाई छ । चुनाब हुने कि नहुने भनेर सर्वाेच्च अदालतको निर्णय आउन बाँकी छ । अहिले नै चुनाव हुन्छ भन्ने पनि टुङ्गो भइसकेको छैन । त्यसैले अदालतले निर्णय गरेपछि मात्र यसको यकिन हुने हो । यदि चुनाव गर्नुपर्ने नै स्थिति आयो भने यो राजनैतिक मुद्दा भएको हुनाले स्थानीय तहको क्षेत्र अधिकार त्यो भित्र पर्दैन । तथापि जनताले कोभिड–१९ को भ्याक्सिन नपाइरहेको अवस्थामा ठुलो धनराशी खर्च गरेर चुनाव गर्नुपर्ने आवश्यकता छ जस्तो मलाई लाग्दैन । यहाँका जनताको मनसाय बुझ्दा खेरी पनि उनीहरुले अहिलेको आवश्यकता चुनाव नभई बरु खोप तर्फ सरकारले ध्यान दिए हुन्थ्यो भन्ने पाएको छु ।
काठमाडौं महानगरको सहयोगमा बुधबारदेखि क्षेत्रपाटीमा ३५ वेडको कोभिड अस्पताल सञ्चालनमा
काठमाडौं । काठमाडौँ महानगरको सहयोगमा आजदेखि क्षेत्रपाटी निःशुल्क चिकित्सालयमा विशेष कोभिड अस्पताल सञ्चालनमा ल्याईएको छ । क्षेत्रपाटी चिकित्सालय अस्पतालमा महानगरले पूर्वाधार सुधारका लागि एकमुष्ट ३० लाख ३४ हजार ७ सय ५ र ३५ र मासिक सञ्चालन खर्चवापत् करीब ४८ लाख १६ हजार ६ सय ५७ रुपैयाँ व्यहार्नेछ । यसका लागि गएको बैशाख ३१ गते नै सम्झौता भइसकेको छ । महानगरलाई भगिनी सहर ल्हासाले उपलब्ध गराएका भेन्टिलेटरमध्ये २ वटा छत्रपाटी चिकित्सालयलाई दिएको छ । यसैगरी अस्पतालले खरिद गर्ने थप ३ वटा भेन्टिलेटरको रकम महानगरले भुक्तानी गर्ने जनाईएको छ । अस्पतालको क्षमता बढाएर कोभिड संक्रमणमा परेका विरामीलाई सहज उपचारको वातावरण मिलाउन महानगरले सरकारी र सामुदायिक अस्पतालसँग सहकार्य गरेको महानगरका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । उनका अनुसार अहिले जनताको जीवन रक्षा गर्न आवश्यक पर्ने सबै खालका कामलाई प्राथमिकता राखिएको छ । अस्पतालको क्षमता बढाउन र संक्रमणको दर घटाउन दुवै कामलाई सँगै लिएर गए मात्र कोभिडलाई नियन्त्रणमा लिन सकिने भएकोले सबै मिलेर अगाडि बढ्नुको विकल्प छैन, प्रमुख शाक्यको भनाइ थियो । उक्त अस्पतालको पूर्वाधार सुधारका लागि महानगरले करीब ३० लाख रुपैयाँ बराबरको खर्चमा लिफ्ट जडान गरिदिएको छ भने नयाँ भवन निर्माण गर्न करीब ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । अस्पतालका निर्देशक डा. प्रेमलकुमार जोशीकाअनुसार अस्पतालमा ७ वटा आइसीयू, ४ वटा भेन्टिलेटर ६ वटा एचडीयूसहित ३५ वेडको कोभिड अस्पताल सञ्चालन भएको हो । बैशाख २८ गते महानगरले सरकारी र सामुदायिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई बोलाएर बढ्दो कोभिडको संक्रमणविरुद्ध लड्न कस्तो सहयोग आवश्यक पर्छ भनेर सोधेको थियो । यसपछि अस्पतालहरुले आफ्नो क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनका लागि सहयोग सम्बन्धि माग गरेका थिए । अस्पतालहरुको मागअनुसार विभिन्न मितिमा १२ वटा अस्पतालहरुसँग सम्झौता भएका छन् । यसरी गरिएका सम्झौताबमोजिम बुधबारबाट कोभिड अस्पताल सञ्चालनमा आएको हो । यससँगै ८८ अक्सिजनसहित २०० वेडको राधास्वामी कोभिड आइसोलेसन तथा अक्सिजन थेरापी सेन्टर, नरदेवी आयुर्वेद अस्पतालमा २५ वेडको एचडीयू र २५ वेडको गरी ५० वेडको आइसोलेसन सञ्चालनमा आइसकेका छन् । यस्तै विभिन्न अस्पतालहरुमा ४२ वटा भेन्टिलेटर, ५० थान मोनिटर, १० थान कन्टिन्युअस पोजेटिभ एअर प्रेसर थेरापी मेसिन (सी प्याप), १० थान वाइलेवल पोजेटिभ एअरवे प्रेसर मेसिन (वी—प्याप) सहित उपकरण जडान हुँदैछन् । महानगरलाई भगिनी सहर ल्हासाबाट प्राप्त भएका ४ थान भेन्टिलेटरमध्ये २ वटा छत्रपाटी चिकित्सालयलाई र २ थान शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई वितरण गरिसकेको छ ।