सिंहदरबार घरघरमा भन्ने आवास जनतालाई दिएका छौं – गाउँपालिका अध्यक्ष थापा
नेपालको गण्डकी प्रदेश अन्तर्गत तनहुँ जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो देवघाट गाउँपालिका । यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकीय गन्तव्यको रुपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । १ सय ५९ वर्ग किलोमिटरमा फैलिएको यस गाउँपालिकामा ५ ओटा वडाहरु रहेका छन् । गाउँपालिकाको सिमानामा पूर्वतर्फ आँबुखैरेनी गाउँपालिका र चितवन जिल्ला, पश्चिममा ऋषिङ्ग गाउँपालिका र नवलपरासी जिल्ला, उत्तरमा ऋषिङ्ग, बन्दिपुर, आँबुखैरेनी गाउँपालिका र व्यास नगरपालिका र त्यसैगरी दक्षिणमा नवलपरासी र चितवन जिल्ला रहेको छ । केन्द्रीय तथ्याङ्क विभाग राष्ट्रिय जनगणना २०६८ अनुसार जम्मा घरधुरी संख्या ३ हजार ४ सय ३५ रहेको यस गाउँपालिकामा १६ हजार १ सय ३१ जनाको बसोबास रहेको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । कृषि क्षेत्रबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? गाउँपालिकामा कृषि विकासको लागि धेरै काम गर्दै आएका छौं । गाउँपालिकाको भूगोल अनुसार कृषि पकेट क्षेत्र पनि छुुट्याएका छौं । कृषिलाई निर्वाहमुखी मात्र होइन व्यवसायिक गर्नुपर्छ भनेर जोड दिएका छौं । पहाडी भूगोल भएको ठाउँमा बाख्रा तथा सुन्तला पकेट क्षेत्र घोषणा गरेका छौं भने समथर भूभाग भएको ठाउँलाई लिच्ची, गाईपालन तथा तरकारी पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । कृषि समूहको गठन गरी कृषकहरूलाई कृषि सम्बन्धी तालिम पनि दिएका छौं । कृषकलाई सुन्तलाका बिरुवाहरू ५० प्रतिशत अनुदानमा वितरण गर्दै आएका छौं । यो वर्ष कृषि विकासको लागि वडा नं. २ मा गाउँपालिकास्तरीय सुन्तला र कागतीको बिरुवा उत्पादन गरिरहेका छौं जसलाई हामीले कृषि अनुसन्धान केन्द्र भनेर नामकरण गरिएका छौं । तर यो वर्षबाट सुन्तला र कागतीको बिरुवा कृषकलाई निःशुल्क वितरण गर्ने तयारीमा छौं । बिरुवा वितरण गर्नु अघि कृषकलाई तालिम दिने योजना छ । ‘एक घर एक करेसा बारी’ भन्ने हाम्रो नीति रहेको छ । जस अन्तर्गत हामीले मौसम अनुसारका तराकारीको बिउहरू ५० प्रतिशत अनुदानमा दिने गरेका छौं । वडा नं १ मा पशु विकास फार्मको अवधारणा सुरु गरेर उन्नत जातका घाँसका बिरुवाहरू उत्पादन गरी कृषकलाई निःशुल्क वितरण पनि गरेका छौं । वडा नं १ लाई ‘मुख्यमन्त्री कृषि अर्गानिक नमुना गाउँ’ को रुपमा राखेका छौं । यस ठाउँमा टनेल खेतीहरूको सुरुवात भएको छ । विभिन्न कृषि संघ संस्थासँग समन्वय गरेर गाउँपालिकाको आन्तरिक स्रोतको परिचालन गरी कृषिका ब्लक छुट्याएका छौं । गाउँपालिकाअन्तर्गत लघु उद्यम कार्यक्रम पनि सञ्चालन भएको छ । वडा नं. २ लाई मौरीपालन पकेट क्षेत्र बनाउनको लागि पनि जोड दिइरहेका छौं । गाउँपालिकाका कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् ? यहाँका धेरैजसो नागरिकहरु कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिब ९५ प्रतिशत मानिसहरु कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गत वर्ष हामीले गाउँपालिकामा ३ दिने कृषि उत्सव गर्यौं भने यो वर्ष हामीले कृषि मेला पनि गरेका थियौं । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । पर्यटकीयस्थलको रूपमा देवघाट मन्दिर, शिद्धेश्वर मन्दिर आदि रहेका छन् । गत वर्ष हामीले धार्मिक प्रवद्र्धनको लागि धार्मिक गोष्ठी पनि सञ्चालन गरेका थियौं । यो गोष्ठीमा देशभरका सम्पूर्ण पालिकालाई आमन्त्रण गरेका थियौं । यो आर्थिक वर्षमा देशभरका पालिकाहरूसँग भगिनी सम्बन्ध गर्ने भन्ने लक्ष लिएका छौं । गाउँपालिकामा सरसफाई अभियान पनि सञ्चालन गरेका छौं । गाउँपालिकामा ९० प्रतिशत जनजातिहरुको बसोबास रहेको छ । जनजातिका संस्कृतिलाई प्रवद्र्धन गर्नको लागि ८ ओटा सामुदायिक होमस्टे पनि सञ्चालन गरेका छौं । रमणीयस्थलको रूपमा घन्टाचुलि भन्ने स्थान रहेको छ । पर्यटन विकासको लागि संघीय सरकारबाट भ्यूटावर तथा मठमन्दिर निर्माणको लागि ५ करोड रुपैयाँ बजेट छुट्टिएको छ । गण्डकी प्रदेशकै उत्कृष्ट झरनाको रूपमा छरछरे झरना रहेको छ । अहिले हामीले पर्यटन प्रवद्र्धन र पर्यटन पूर्वाधार विकासमा पनि विशेष जोड दिएका छौं । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ? वडा नं १ मा गाउँपालिकास्तरीय रङ्गशाला बनिरहेको छ । गत आर्थिक वर्षमा खेलकुद मन्त्रालय बाट ५० लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । सो बजेटले हामीले गाउँपालिकामा फुटबल ग्राउण्ड बनाएका थियौं । यो चालु आर्थिक वर्षमा पनि २५ लाख रुपैयाँ संघ सरकारबाट र ५ लाख रुपैयाँ गाउँपालिका बाट गरी जम्मा ३० लाख रुपैयाँ बजेट विनियोजन गरी खेल मैदानको निर्माण भइरहेको छ । ‘एक वडा एक खेल मैदान’ को पनि अवधारण गाउँपालिमा रहेको छ । वडा नं. १ मा गाउँपालिकास्तरको रङ्गशला रहेको छ । वडा नं २ मा फुटबल रङ्गशालाको निर्माण भइरहेको छ । वडा नं ३ र ४ मा भलिबल ग्राउण्ड बनेको छ भने वडा नं ५ मा फुटबल र ब्याडमिन्टनको कोर्टहरू बनेका छन् । युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरु आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल, टेबलटेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरेका छौं । गाउँपालिकाका युवाहरू खेलकुदतर्फ उत्सुक छन् । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आईरहेको छ त ? गाउँपालिकाले शैक्षिक क्षेत्रको विकासको लागि पनि धेरै काम गर्दै आइरहेको छ । ‘एक वडा एक मदर स्कुल’ को अवधारणा लिएका छौं । गाउँपालिकामा बाल विकास केन्द्रलाई पनि विशेष जोड दिएका छौं । त्यहाँ हाल ४ सय ८० जना विद्यार्थीहरु अध्ययनरत छन् । बाल विकास केन्द्र सहित गाउँपालिकामा ४० ओटा विद्यालयहरु छन् । आउँदो चैत्र २५ गते विश्व स्वास्थ्य दिवसको दिन देखि गाउँपालिकामा प्रत्येक बाल विकास केन्द्रमा रहेका ५ कक्षाभन्दा तलका विद्यार्थीहरुलाई दिगो खाजा बापत प्रत्येक दिन प्रति विद्यार्थी १५ रुपैयाँको दरले खाजाको रकम वितरण गर्ने कार्यक्रम पनि रहेको छ । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी विद्यालयको प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् नि ? ठुलो योजनाको रुपमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ । ६ करोड रुपैयाँ बराबरको लागतमा गाउँपालिकाको भवन निर्माण भइरहेको छ । १ करोड रुपैयाँको लागतमा सिटि हलको निर्माण भइसकेको छ । वडा नं. २ को वडा भवन पनि निर्माण भइरहेको छ । गण्डकी प्रदेशको तर्फबाट ६ किलोमिटर सडक १४ करोड रुपैयाँको बजेटमा पिच भइरहेको छ । गाउँपालिकाको सबै वडामा बिजुली पु¥याउने काम पनि भइरहेको छ । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? काम गर्न चाहने युवाहरुका लागि धेरै ठाउँमा अवसर छ । काम गर्न नचाहने युवाहरुका लागि हामीले केही गर्नसक्ने कुरै भएन । युवाका लागि भन्दै विभिन्न कार्यक्रमहरु ल्याएका छौं । उनीहरुलाई सुलभ ऋणको व्यवस्था पनि मिलाएका छौं । युवालाई व्यावसायीक तालिमको पनि व्यवस्था मिलाएका छौं । केही युवालाई विकास निर्माणको काममा लगाउँदै आएका छौं । गाउँपालिकामा धेरैजसो युवाहरु कृषि पेशामा आवद्ध छन् । युवाहरुलाई कृषि सम्बन्धि तालिम पनि दिँदै आएका छौं । युवाहरुले पशुपालन, खेती, कुखुरापालन लगायतका कार्य गरिरहेका छन् । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ? हाम्रो गाउँपालिकामा खासै ठुला उद्योग छैनन् । व्यपारीकस्थलहरु भर्खरै सुरुवात हुन थालेका छन् । यद्यपी हाम्रो गाउँपालिका उद्योगको बढी सम्भावना बोकेको ठाउँ चाहिँ हो । हाल गाउँपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरू छन् । प्रदेश तथा केन्द्र सरकारसँग कस्तो समन्वय भइरहेको छ ? हाम्रो समन्वय राम्रै गरी भइरहेको छ । समपुरक बजेट पनि प्रदेश र केन्द्रबाट आउने गरेको छ । गाउँपालिकाको विकास निर्माणको कामहरु पनि प्रदेश र केन्द्र सरकार बाटै आएको बजेटमा गर्ने हो । अब तपाईंको बाँकी रहको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? हामीले ‘हाम्रो देवघाट समृद्ध देवघाट’ भन्ने नारा लिएका छौं । यो नारा सफल बनाउनको लागि हामीले विशेष जोड पनि दिएका छौं । कृषि, पशु, स्वास्थ्य, शिक्षा आदिको विकास गर्ने पनि योजना बनाएको छु । गाउँपालिकामा अझै ६ ओटा पुलको आवश्यकता रहेको छ । ६ ओटा पक्कि पुलमध्ये एउटा पुलको डीपीआर गरेर काम सुरु गर्ने योजना पनि बनाएका छौं । हाम्रो कार्यकाल भित्र गाउँपालिकाका सबै ठाउँमा बिजुली पुग्ने छ । सिँचाईको काम पनि अघि बढाएका छौं । खानेपानीको लागि प्रदेश सरकारसँग समन्वय गरेर सोलर लिफ्टीङ खानेपानीको कार्यक्रमहरु पनि अगाडि बढाएका छौं । वडा नं. १ र ५ को पनि आगामी आर्थिक वर्षको बजेटमा बजेट विनियोजन गरी भवनको निर्माण गर्नेनै छौं । ‘एक वडा एक नमुना गाउँ’ को पनि अवधारण लिएका छौं । गाउँपालिकाको भूगोल विकट भएको कारण ७ ओटा ठाउँमा एकिकृत नागरिक सेवाको सञ्चालन गरेका छौं । सिंहदरबार घरघरमा भन्ने आवास जनतालाई दिएका छौं ।
गाउँपालिकामा ‘एक वडा एक खेल मैदान’ भन्ने अभियान चलाएका छौं – अध्यक्ष लिम्बुसँगको कुराकानी
पूर्वी नेपालको मेची अञ्चल अन्तर्गत ताप्लेजुङ जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो मेरिङदेन गाउँपालिका । यो गाउँपालिका ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले फरक विशेषता बोक्न सफल छ भने कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ । गाउँपालिकाको सिमाना पूर्वतर्फ फुङलिङ नगरपालिका र मिक्वाखोला गाउँपालिका, पश्चिममा संखुवासभा जिल्ला, उत्तरी सिमानामा मिक्वाखोला गाउँपालिका एवं दक्षिणमा मौवाखोला गाउँपालिका रहेको छ । २ सय १० दशमलव ३३ वर्ग किलोमिटरमा फैलिएको यो गाउँपालिकामा १२ हजार ५ सय ४८ जनाको बसोबास रहेको छ । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरू के–के छन्, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेल्दै आइरहेको छ भन्ने लगायतका विषयमा सो गाउँपालिकाका अध्यक्ष गणेश बहादुर लिम्बुसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । कृषि क्षेत्रबाटै सुरु गरौं, गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? गाउँपालिकामा कृषि विकासको लागि हामीले धेरै काम गर्दै आएका छौं । गाउँपालिकाको सबै वडालाई कृषि पकेट क्षेत्रका रुपमा छुट्याएका छौं । अलैंची, किवि, तरकारी पकेट क्षेत्र पनि गाउँपालिकामा छुट्याएका छौं । सहकारी र यसका शाखा बाट हामीले किसानको माग अनुसारको बिउ उपलब्ध गराउने व्यवस्था पनि मिलाएका छौं । गाउँपालिकामा सानातिना तरकारीको बिउ निःशुल्क र त्यसैगरी ५० प्रतिशत अनुदानको बिउ पनि वितरण गर्ने कार्यक्रम रहेको छ । कृषिलाई आधुनिकीकरण गर्ने तर्फ पनि विशेष ध्यान दिइरहेका छौं । कृषिलाई निर्वाहमुखि मात्र नभएर व्यवसायिक बनाउन पनि किसानहरुलाई आग्रह गरेका छौं । गाउँपालिकाका कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् ? यहाँका धेरैजसो नागरिकहरु कृषि पेशामा नै आवद्ध छन् । प्रतिशतमै भन्नुपर्दा करिब ७५ प्रतिशत मानिसहरु कृषि पेशामा आबद्ध छन् भन्न सकिन्छ । गाउँपालिकामा राम्रो कृषि उत्पादन गर्ने किसानलाई सामान्य पुरस्कारको पनि व्यवस्था मिलाएका छौं । खेलकुद विकासका लागि गाउँपालिकाले कस्ता योजनाहरू बनाएको छ ? खेलकुद विकासको लागि गाउँपालिकामा ‘एक वडा एक खेल मैदान’ भन्ने अभियान चलाएका छौं । खेलकुद समितिको पनि गठन गर्ने भनेका थियौं तर समितिको गठन हुन सकेको छैन । युवा क्लबहरूमार्फत विभिन्न किसिमका खेलकुदहरु आयोजना हुने गरेका छन् । प्रायः गरेर भलिबल, टेबल टेनिस, कराँते, फुटवल लगायतका खेलहरू गाउँपालिकामा आयोजना गर्ने गरेका छौं । गाउँपालिकाका धेरै युवाहरू खेलकुदतर्फ उत्सुक छन् । यो एक वर्ष कोरोनाको कारणले खेलकुदका सबै कार्यक्रमहरू स्थगित भएका थिए । खेलकुद विकासको लागि गाउँपालिकामा ५ लाख रुपैयाँ बजेट रहेको छ । गाउँपालिकामा ‘अध्यक्ष कप’ खेलकुद प्रतियोगिता पनि हुने गरेको छ । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आईरहेको छ त ? शैक्षिक विकासको लागि पनि गाउँपालिकामा धेरै काम गर्दै आईरहेका छौं । यहाँ ३६ ओटा विद्यालयहरु रहेका छन् । जाति अनुसारको मातृभाषा संरक्षण गर्नका लागि विद्यालयहरुमा मातृभाषा पढाउने शिक्षकहरु पनि राखेका छौं । परीक्षा प्रणालीलाई व्यवस्थित गर्ने काम पनि भइरहेको छ । गुणस्तरीय शिक्षा विद्यार्थीलाई कसरी दिन सकिन्छ भन्ने विषयमा हामी बेलाबेलामा प्रधानाध्यापक र समितिसँग पनि छलफल गरिरहेका हुन्छौं । कतिपय ठाउँमा विद्यालय भवनको पनि अभाव रहेको छ । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरू के–के हुन् नि ? गाउँपालिकामा ठुला योजना त धेरै रहेको छैन । गाउँपालिकाको ठुलो योजनाको रुपमा सडक निर्माणको काम नै रहेको छ । गाउँपालिकाको सबै वडामा कच्चि सडक पुगेको छ । सहकारी मार्फत गाउँपालिकाका सबै वडामा बिजुलीको काम पनि भइरहेको छ । गाउँपालिकामा खानेपानीको काम पनि भइरहेको छ । अहिलेसम्मको आफ्नो काम गराईबाट तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ? हामीले सोचे र कल्पना गरेअनुसारका सम्पूर्ण काम गर्न नसके पनि अहिलेसम्मको काम गराईबाट म सन्तुष्ट नै छु । यस अवधिमा बजेट के कति खर्च भयो ? खर्चअनुसार उपलब्धि प्राप्त भएको छ कि छैन होला ? गाउँपालिकाको बजेट त सकिएको छैन । विकास निर्माणको काम पनि भइरहेको छ । विकास भए अनुसार खर्च पनि भइरहेको छ । हामीले गाउँपालिकामा बजेट विनियोजन गरेजति यो आर्थिक वर्ष भित्र खर्च हुन्छ होला । आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर संभावना बोकेको ठाउँ हो । पर्यटन क्षेत्रको पनि हामीले प्रचारप्रसार गरिरहेका छौं । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । गुराँसे पोखरी संरक्षणको लागि गाउँपालिका र संघबाट बजेट छुट्टिएको छ । घुमाउने पोखरीको संरक्षण र प्रवद्र्धनको लागि संघ बाट १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । पर्यटकीयस्थल सम्म पुग्नको लागि सडक निर्माणको काम पनि भइरहेको छ । कोरोनाको कारणले गाउँपालिकाको पर्यटन क्षेत्रमा ठुलो असर पु¥यायो । गाउँपालिकाको आर्थिक विकासको लागि पर्यटकीय क्षेत्र पनि एक हो । पर्यटन पूर्वधारको विकास गरी मठ मन्दिरको निर्माण गर्ने काम पनि गाउँपालिकामा भइरहेको छ । प्रदेश तथा केन्द्र सरकारसँग कस्तो समन्वय भइरहेको छ ? हाम्रो समन्वय राम्रै गरी भइरहेको छ । समपुरक बजेट पनि प्रदेश र केन्द्रबाट आउने गरेको छ । गाउँपालिकाको विकास निर्माणका कामहरु पनि प्रदेश र केन्द्र सरकार बाटै आएको बजेटमा गर्ने हो । प्रदेश र केन्द्रको सहयोगमा हामीले सडक निर्माणको काम पनि गरेका छौं । गाउँपालिकामा नागरीकहरु प्रायः कस्ता समस्या लिएर आउँछन् नि ? धेरैजसो त पूर्वाधार विकास, खानेपानी, सडक आदिको समस्या लिएर आउने गरेका छन् । शिक्षामा पनि समस्या आउने गरेको छ । बेलाबेलामा विकास निर्माणको काममा पनि समस्या आउने गरेको छ । तर पनि यी सबै समस्याको समाधान गरेर मात्र हामी अगाडि बढी रहेका छौं । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? गाउँपालिकाका नागरीकहरुलाई समृद्ध बनाउने योजना छ । जे होस्, आफुले जिताएको जनप्रतिनिधि गाउँपालिकाको अध्यक्ष भएको छ भन्ने अनुभुति जनतालाई भएको छ भन्ने कुरामा विश्वस्त छु । आफुले गरेका विकास निर्माणको काम प्रभावकारी होस् र जनता पनि सन्तुष्ट रहुन् भन्ने इच्छा मुताविक विभिन्न किसिमका योजनाहरु बनाएको छु । मुख्य रुपमा पूर्वाधारको विकास गर्ने योजना पनि बनाएको छु ।
देशभरका १४ पालिकाः युवा रोजगारीका लागि कस्तो कार्यक्रम गरिरहेका छन् ?
काठमाडौं । नेपाल सरकाले चालु आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत युवा रोजगारीका अवसर सिर्जना गरी आगमी पाँच वर्ष भित्र कुनै पनि नेपाली नागरिकले बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्ने घोषणा गरेको थियो । तर यो लागु हुन सकेको छैन । युवा रोजारको लागि स्थानीय तहमा धेरै कार्यक्रमहरु सञ्चालन भएका छन् । कार्यक्रम सञ्चालन भए पनि अझै धेरै युवाहरु बेरोजगार रहेका छन् । युवालाई लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम २०७५ मा जारी भएको थियो । यो कार्यक्रमबाट धेरै युवाहरुले रोजगारी पाए तापनि सबै गाउँपालिका, नगरपालिकामा लागु हुन सकेकोे छैन । रोजगारीको खोजीमा युवा पलायन भएका छन् । कोरोनाको समयपछि धैरै युवा बेरोजगार भएका छन् । बेरोजगार भएकै कारण युवा पछिल्लो समयमा कृषि र पशु क्षेत्रमा जोडिएका छन् । देशको ठुलो समस्याको रुपमा बेरोजगारी नै रहेको छ । तर पनि केही स्थानीय तहले युवाहरुलाई स्वारोजगार बनाउनका लागि गरेको प्रयास यस्तो छ । सुनकोशी गाउँपालिका बागमती प्रदशको सिन्धुली जिल्लामा यो गाउँपालिका पर्छ । युवा रोजगार गाउँपालिकामा कुनै पनि व्यक्तिले आफ्नै गाउँठाउँमा केही गरेर बस्छु, उद्यमी बन्छु भन्छ भने गाँउपालिकाले उसको योजना अनुसारको सुलव व्याजमा ऋण दिने व्यवस्था मिलाएको छ । कुखुरा, बाख्रा पालन गर्नेहरुलाई २ देखि ४ लाख रुपैयाँसम्म रकम ऋण दिने गरेको छ । यसका लागि राष्ट्रिय वाणिज्य बैंकसँग बिनाधितो सहुलियत व्याजदरमा ऋण उपलव्ध गराउने सम्झौता भएको छ । महिलाको लागि यो ऋण १.७८ प्रतिशत र पुरुषलाई २.७८ प्रतिशत व्याजदर रहेको छ । के गर्दैछ पालिका ? युवालाई रोजगारी दिनको लागि विभिन्न कार्यक्रमहरुको योजना तर्जुमा गरी कार्यान्वयन गरेको गाउँपालिकाकी अध्यक्ष दिपा बोहोरा बताउछिन् । मिक्वाखोला गाउँपालिका प्रदेश १, ताप्लेजुङ्ग जिल्लामा यो गाउँपालिका पर्छ । युवा रोजगार गाँउपालिकाभित्र रहेका बेरोजगार युवालाई रोजगारी दिनका लागि गाउँपालिकाले प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सञ्चालन गरेको छ । उक्त कार्यक्रमका लागि गाउँपालिकाले वार्षिक रुपमा ४ लाख रुपैयाँ छुट्टाएर गाउँपालिकाको विकाससँगै बेरोजगार युवालाई रोजगारी प्रदान गरेको छ । के गर्दैछ पालिका ? गाउँपालिका भित्रका बेरोजगार युवाहरुलाई विकास निर्माणको काममा सहभागी गरेर रोजगारी दिने गरिएको गाउँपालिकाका अध्यक्ष रामकुमार सावा बताउँछन् । तादी गाउँपालिका यो गाउँपालिका बागमती प्रदेशको नुवाकोट जिल्लामा पर्छ । युवा रोजगार युवा रोजगारको लागि विभिन्न कार्यक्रमहरु गाउँपालिकामा रहेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि रहेको छ । गाँउपालिकामा युवाको लागि विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ । गाँउपालिकाको सिफारिसमा तालिम प्राप्त गरेपछि सहुलियत ऋण पनि उपलव्ध गराउने योजना पनि रहेको छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा १ करोड रुपैंया बजेट रहेको छ । के गर्दैछ पालिका ? युवाले के सीप लिन चाहन्छन्, त्यो सिप अनुसारको गाँउपालिकाले युवाको समस्या के हो, कस्तो किसिमको तालिम लिन चाहन्छन्, आर्थिक उन्नती कसरी हुन्छ भन्ने बारेमा विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष नारायण प्रसाद पाण्डे बताउँछन् । दोरम्बा गाउँपालिका यो गाउँपालिका बाग्मती प्रदेशको रामेछाप जिल्लामा पर्छ । युवा रोजगार यो पालिकाका युवामा बढी मात्रामा कृषि र पशुपालन क्षेत्रमा आकर्षण भएको पाइन्छ । युवा रोजगारीको लागि कृषिमा ४३ वटा बाख्रा, भौसीहरु दर्ता भएका छन् । यसमा अनुदान पनि व्यावस्था रहेको छ । धेरै युवा व्यवसाय गर्नतर्फ पनि अगाडि बढेका पनि छन् । जसको आफ्नो जग्गा जमिन छ । व्यवसाय गर्छु भन्नेहरु आफैले कृषि विकास बैंकसँग ५ देखि १० लाख रुपैयाँसम्म ऋण लिन सक्छन् । कुनै व्यक्तिको प्रतिफल अनुुसारको गाँउपालिकाले १ लाखदेखि ३ लाख रुपैयाँसम्म अनुदान दिने गरेको छ । गाँउपालिकामा रहेको दलित, महिला, बेरोजगारीहरुलाई प्रधानमन्त्री स्वरोजगार कार्यक्रम रहेको छ । के गर्दैछ पालिका ? गाँउपालिकाका युवालाई स्वरोजगार बनाउनका लागि विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आएको तथा युवालाई स्वरोजगार बनाउनको लागि होटल, रिसोर्टहरु खोल्न समेत आग्रह गरिएको अध्यक्ष कमानसिंह तामाङ बताउँछन् । युवाको लागि सहुलियत ऋण पनि दिने योजना गाउँपालिकाको छ । उनका अनुसार आफ्नो नाममा जग्गा जमिन नभएका तर उद्यम गर्न चाहने युवाका लागि ५ लाखसम्मको सहुलियत पूर्ण ऋणका लागि गाउँपालिकाले सिफारिस गरेर पठाउँने समेत गरेको छ । कालिका गाउँपालिका बागमती प्रदेश अन्तरगत रसुवा जिल्लामा पर्ने गाउँपालिका हो यो । युवा रोजगार युवाको लागि प्रधानमन्त्री स्वरोजगार कार्यक्रम पनि संचालनमा छ । यस गाँउपालिकामा हिमाली र पहाडी क्षेत्र छ । गाउँपालिकामा उद्यम विकास कार्यक्रम पनि लागू भएका छन् । एक सय जना उद्यमी नयाँ निकाल्ने योजना पनि गाउँपालिकाको रहेको छ । ती उद्यमी मार्फत पनि रोजगारी सिर्जना हुनेछ । गाउँपालिकामा ४२ लाख रुपैयाँको कार्यक्रम रहेको छ, त्यसमा सबै कर्मचारीको व्यवस्थादेखि विभिन्न आधारमा कार्यक्रम पनि रहेको छ । के गर्दैछ पालिका ? रोजगार बन्नको लागि युवा आफैमा सशक्त हुनुपर्छ । गत वर्ष विदेशबाट फर्केका युवाहरुलाई प्रपोजल ल्याएर मिलेर काम गर्नु होस् भन्ने लगायतका सुचना पनि प्रकाशन गरेको अध्यक्ष सिताकुमारी अधिकारीले जानकारी दिइन् । उनका अनुसार स्वरोजगार बन्छौं भनेर युवा आएमा गाँउपालिकाले बजेट छुट्याउन सक्छ । खानीखोला गाउँपालिका बागमती प्रदेश अन्तर्गत काभ्रे जिल्लामा यो गाउँपालिका पर्छ । युवा रोजगार गाउँपालिकाका बढिजसो युवा कृषिक्षेत्रमा आबद्ध रहेका छन् । युवाहरुलाई विकास निर्माणको काममा लगाएर पनि रोजगारी दिने वातावरण सिर्जना गर्ने पहल गाउँपालिकाले गरेको छ । साना तथा मझौला उद्योग खोल्न चाहने युवाहरुलाई ऋण समेत उपलब्ध गराउने व्यवस्था गाउँपालिकाले मिलाएको छ । के गर्दैछ पालिका ? गाउँपालिकामा रहेका बेरोजगार युवालाई रोजगारीका लागि बिदेशी मुलुक जानबाट रोक्न गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको अध्यक्ष कृष्णबहादुर खुलाल बताउछन् । भिमसेनथापा गाउँपालिका गण्डकी प्रदेश अन्तर्गतको गोरखा जिल्लामा यो गाउँपालिका पर्छ । युवा रोजगार गाँउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालनमा रहेको छ । गाउँपालिकाका धेरै युवाहरु रोजगारीको लागि विकास निर्माणको काममा लागि परेका छन् । गाउँपालिकामा धेरै युवाहरु कृषिमा पनि लागेका छन् । यहाँ उद्योग धन्दाको विकास गर्न सकिएको छैन । यदि उद्योेगको विकास गर्न सकिन्थ्यो भने यहाँका युवाहरुलाई पर्याप्त मात्रामा रोजगारी पनि दिन सकिने थियो । के गर्दैछ पालिका ? ठाउँ तथा अवस्था अनुसार युवाहरुलाई बाख्रा पालन अथवा खेतीतर्फ अग्रसर गराएको अध्यक्ष ईश्वर पाण्डे बताउँछन् । बाग्मती गाउँपालिका बागमती प्रदेश अन्तर्गतको ललितपुर जिल्लामा पर्छ यो गाउँपालिका । युवा रोजगार गाउँपालिकाले बेरोजगार युवालाई लक्षित गरेर विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ । विदेशबाट फर्केका युवाहरुलाई सामुहिक खेती गर्न प्रेरित गरी अनुदान स्वरुप २ प्रतिशत ब्याजमा ऋण दिने कार्यक्रम सञ्चालन गरेको छ । यसैगरी, गाउँपालिकाले एकल पुरुष भत्ता वितरण गर्दै आएको छ । यो कार्य ३ वर्षदेखि निरन्तर रुपमा चल्दै आइरहेको छ । ५० वर्ष पुगेर ७० वर्ष ननाघेका एकल पुरुषहरुले महिनाको १ हजार रुपैयाँका दरले भत्ता दिने गरिएको गाउँपालिकाले जनाएको छ । के गर्दैछ पालिका ? गाउँपालिकामा धेरे युवालाई रोजगार दिनको लागि ठुलो उद्योग नभए पनि बेरोजगार युवालाई रोजगारी दिन गाउँपालिकाले प्रयास गरिरहेको अध्यक्ष बिरवहादुर चोप्चन बताउँछन् । षडानन्द नगरपालिका प्रदेश १ को भोजपुर जिल्लामा यो नगरपालिका पर्छ । युवा रोजगार नगरपालिकाले रोजगारी दिनका लागि भेटेरिनरी र कृषिमा तालिम खुलाएको छ । तालिमको लागि नगरपालिकाले कृषि भेटेरिनरीमा एक/एक करोड रुपैयाँ बजेटे विनियोजन गरेकोे छ । नगरपालिकाले १ हजार ४ सय जना युवालाई रोजगारी दिने योजना बनाएको छ । के गर्दैछ पालिका ? नगरपालिकाका युवाहरुलाई कसरी धेरै रोजगारी दिन सकिन्छ भनेर योजना बनाईएकको मेयर वीरवल राई बताउछन् । खाँडादेवी गाउँपालिका बागमती प्रदेश अन्तर्गत रामेछाप जिल्लामा यो गाउँपालिका पर्छ । युवा रोजगार युवाका लागि गाउँपालिकामा धेरै तालिम तथा कार्यक्रमहरुको व्यवस्था रहेको छैन । युवाले कामको प्रोजेक्ट बनाएर ल्याउँछन् भने प्रोजेक्ट अनुसारको ऋण पनि उपलब्ध गराउने व्यवस्था रहेको छ । दुई लाख रुपैयाँसम्मको प्रोजेक्ट बनाएर आए भने बिना धितो ऋण दिने व्यवस्था रहेको छ । यहाँका धेरैसजो युवाहरु बाख्रा पालन, तरकारी खेती लगायतमा आबद्ध भएका छन् । गरिब परिवारमा भएका किसानलाई १ लाख रुपैयाँसम्म अनुदान दिने व्यवस्था छ । प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा पनि १ करोड रुपैयाँ बजेट रहेको छ । युवाहरुलाई विकास निर्माणको काममा सहभागी गराइएको छ । के गर्दैछ पालिका ? युवा स्वरोजगार कोषसँगको साझेदारीमा २ करोड रुपैयाँ बजेट बिनियोजन गरेको अध्यक्ष प्रेम वहादुर तामाङ्गले जानकारी दिए । अजिरकोट गाउँपालिका गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यो गाउँपालिका पर्छ । युवा रोजगार गाउँपालिकाका धेरैजसो युवाहरु कृषि पेशामा आवद्ध रहेका छन् भने केही युवाले पशुपालन, कुुखुरा पालन व्यवसाय गर्दै आएका छन् । गाउँपालिकाले व्यवसाय गर्ने युवालाई अनुदानको समेत व्यवस्था मिलाएको छ । के गर्दैछ पालिका ? युवालाई लक्षित गर्दै १० लाख रुपैयाँ बजेट छुट्याएको र युवाले राम्रो प्रोजेक्ट ल्याएका वेला सुलभ दरमा ऋण पनि उपलब्ध गराउने व्यवस्था रहेको अध्यक्ष फणिन्द्र प्रसाद धिताल बताउँछन् । मनहरी गाउँपालिका बागमती प्रदेश अन्तर्गत मकवानपुर जिल्लामा यो गाउँपालिका पर्छ । युवा रोजगार युवा रोजगारको लागि गाउँपालिकामा लघु उद्यम कार्यक्रम सञ्चालन भएको छ । धेरै युवा कृषि पेशामा आबद्ध रहेका छन् । कृषि गरेका युवालाई गाउँपालिकाले अनुदानमा प्लास्टिक टनेल वितरण गर्ने गरेको छ । बेरोजगार युवालाई लक्षित गर्दै कृषि र पशुपालनका विभिन्न कार्यक्रम गाउँपालिकामा हुने गरेको छ । तालिम अनुसारको युवालाई उत्पादनमा जोड दिएर बजारीकरण गर्ने गरी यो बर्ष ५० जना दक्ष कृषक उत्पादन गर्ने पनि गाउँपालिकाले जनाएको छ । प्रदेश सरकारको तर्फबाट साना किसान विकास बैंक मार्फत ३ प्रतिशत व्याजदरमा गाउँकै कृषि सहकारी मार्फत १० लाख रुपैयाँसम्म ऋण पनि पाउँछन् । कृषि विकास बैंक मार्फत् २० लाख रुपैयाँसम्म उद्योग गर्नको लागि युवाले ऋण लिन सक्नेछन् । के गर्दैछ पालिका ? गाउँपालिकाले युवालाई कृषिसँग जोडेको र युवा स्वारोजगारको लागि गाउँपालिकाको तर्फबाट ठुलो भूमिका खेलेको अध्यक्ष एकराज उप्रेती बताउँछन् । सभापोखरी गाउँपालिका प्रदेश १ अन्तर्गत संखुवासभा जिल्लामा यो गाउँपालिका पर्छ । युवा रोजगार गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम संचालनमा रहेको छ । गाउँपालिकाले युवालाई विकास निर्माणको काममा लगाएर रोजगारी दिने गरेको छ । के गर्दैछ पालिका ? गाउँपालिकाले बेरोजगार युवालाई लक्षित गरि विभिन्न कार्यक्रमहरु ल्याएको छ । कृषि विकास र क्षमता विकास अन्तर्गत युवालाई बजेट छुट्याएको र युवाको क्षमता विकास गर्ने काम भइरहेको भन्दै उद्योगधन्दाको विकास गर्न नसकिएको अध्यक्ष रतन वहादुर सुब्बा बताउँछन् । नेत्रावती डबजोङ गाउँपालिका बागमती प्रदेश अन्तर्गत धादिङ जिल्लामा यो गाउँपालिका पर्छ । युवा रोजगार हातमा सीप भएका युवालाई सहकारीसँग समन्वय गरेर ऋणको व्यवस्था मिलाएको छ । कुनै युवाले केही गर्न चाहन्छु भनेर आएमा गाउँपालिकाले १ लाख रुपैयाँ र सहकारीबाट १ लाख गरी २ लाख रुपैयाँ ऋण पाउँनेछन् । गाउँपालिकाले अदक्ष कामदारको लागि श्रम बैंकको समेत व्यवस्था मिलाएका छ । गाउँपालिकाले श्रमदान मार्फत युवालाई रोजगारी दिदैँ आएको छ । यसअघि गाउँपालिकाले ग्रामीण कृषि कार्यकर्ता कार्यक्रम संचालन गरेको थियो । गाउँपालिकाले विभिन्न कार्यक्रमसँगै विकास निर्माणको काममा लगाएर रोजगारी प्रदान गर्दै आएको छ । बागमती प्रदेश सरकारले सहुलियत व्याजदरको कर्जाको व्यवस्था गरेको छ । उत्पादनमा काम गर्ने समुहलाई ३ प्रतिशत व्याजदरमा विना धितो ५ लाख रुपैयाँ र व्यक्तिका लागि धितो राखेर १० लाख रुपैयाँसम्मको ऋणको व्यवस्था गाउँपालिकाले मिलाएको छ । के गर्दैछ पालिका ? बेरोजगार युवालाई लक्षित गर्दै गाउँपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको भन्दै स्वरोजगार बन्न चाहने युवाका लागि धेरै अवसर दिईएको अध्यक्ष दुर्गकुमार शाक्य बताउँछन् ।