तत्काल स्थानीय निर्वाचनको मिति घोषणा गर्न माग
काठामाडौं । स्थानीय तहको निर्वाचन समयमा गर्न गाउँपालिकाले संघले माग गरेको छ । संघले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभित्र अनिवार्यरुपमा गरिसक्नु पर्ने माग राखेको हो । निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले कम्तिमा १ सय २० दिनको समय चाहिने बताईरहेको सन्दर्भमा तत्काल निर्वाचन मिति घोषणा गर्नुपर्ने महासंघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । नेपालको संबिधान बमोजिम पुर्नसंरचित स्थानीय तहको निर्वाचन भएको पाँच वर्षको कार्यकाल समाप्त हुँदैछ । स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिँदैछ । संघीय प्रणालीमा तहगत सरकारमा जनप्रतिनिधिवेगरको कार्यकारी निकाय कल्पना नै गर्न नसकिने र स्थानीय तहको कार्यकारी निकाय अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकोले संबैधानिक संकट आउने सक्ने संघले जनाएको छ ।
विराटनगरमा प्रधानमन्त्री पार्क बन्ने, ७ करोड रुपैयाँ विनियोजन
फाइल फाेटाे काठमाडौं । विराटनगर महानगरपालिकाले वडा नं. २ र ७ मा प्रधानमन्त्री पार्क निर्माण गर्ने भएको छ । महानगरपालिकाले पर्यटन प्रवर्धनका लागि उक्त पार्कको निर्माण गर्न लागेको हो । महानगरपालिकाले चालु आर्थिक वर्ष २०७८/०७९ को बजेटबाट पार्क निर्माणको काम थाल्ने गरी हाल टेन्डरेको प्रक्रियामा पार्कको काम अगाडि बढेको महानगरपालिकाका सामाजिक विकास अधिकारी पुन बहादुर दाहलले बताए । सो पार्कमा विराटनगरभित्र प्रतिनिधित्व गर्ने प्रधानमन्त्रीको स्तम्भ निर्माण गरी उनीहरूको कार्यकाल र योगदानको विवरण राखिने छ । अधिकारी दाहलका अनुसार आकर्षक बोटबिरुवा र पूर्वाधारसमेत तयार गरी पार्क निर्माणको योजना छ । उक्त पार्क निर्माणको कामकाे आन्तरिक विश्लेषण महानगरपालिकाले आफैले गरिरहेकाे छ । पार्क निर्माणको लागि डीपीआर भएको छैन, यसको डिजाइन बनिसकेको छ, डीपीआर र यसको सपुर्ण प्रक्रिया सकेपछि टेन्डर गर्ने तयारीमा छौं,’ उनले भने । उक्त पार्क निर्माणको लागि महानगरपालिकाले चालु आर्थिक वर्षमा ७ करोड रुपैयाँ बजेट छुट्याएको छ । सो पार्क टेन्डर भई निर्माण सुरु भएको २ वर्षभित्र सम्पन्न गरिसक्नु पर्नेछ । उक्त समय अवधि भित्र नसकिए थप समय गरेर भए पनि पार्क निर्माणको योजना महानगरले बनाएको छ । पार्क आधुनिक तरिकाले निर्माण गरिने छ । एकैपटक धेरै पर्यटकलाई दृश्यावलोकन गराउन सकिने गरी पार्क निर्माण हुने महानगरपालिकाले जनाएको छ । ‘उक्त पार्कको काम चालु आर्थिक वर्षबाट नै सुरु हुन्छ, पार्क निर्माण गर्ने टेन्डर सम्भवत यही १५ गते भित्र निस्कने छ,’ उनले भने । टेन्डर भएको ६१ दिनमा पार्कको शिलान्यास हुने दाहलले बताएका छन् ।
मेयर शाक्य भन्छन्ः जिम्मा नपाउँदा टेका अडिएका भौतिक संरचना व्यवस्थापन गर्न सकिएन
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले भूकम्पबाट भत्किएका संरचनाको पूनर्निर्माणको जिम्मा नपाउँदा अधिकाशं संरचना टेकाकोे भरमा रहेको बताएका छन् । आईतबार १९९० माघ २ गते र त्यसपछिको भूकम्पमा परेर दिवंगतहरुको स्मृतिमा आयोजना गरिएको कार्यक्रममा उनले सो कुरा बताएका हुन । भूकम्पले भौतिक संरचनामा पु¥याएको क्षति व्यवस्थापन गर्न महानगरले पूर्ण क्षमतामा काम गर्न नपाएको सन्दर्भ उठाउँदै मेयर शाक्यले भने, ‘काठमाडौँमा अझै पनि टेकाका भरमा सांस्कृतिक संरचना अडिएका छन् । यी संरचना पुरातत्व विभाग र गुठी संस्थानको स्वामित्वमा छन् । महानगरको स्वामित्वमा भएका सबै भौतिक संरचना पुननिर्माण भएको वा निर्माणाधीन अवस्थामा छन् । टेका लगाएका भौतिक संरचना पुननिर्माण गर्न हामीलाई दिनोस्, हामीले अनुरोध गरेका हौँ । तर, जिम्मेवारी पाएनौँ ।’ यस्तै, उनले सम्भावित विपत पूर्व तयारीका लागि काठमाडौँ महानगरपालिकाले भवन निर्माण मापदण्ड कार्यान्वयनलाई कडाइ गरिएको बताए । गृहमन्त्री बालकृष्ण खाँडले, विपद क्षति व्यवस्थापनका लागि संघ, प्रदेश र स्थानीय सरकार आफैँमा सशक्त र अन्तर सरकार र आन्तरिक समन्वयमा बलियो बनाउँदै लानु पर्ने बताए । ‘नागरिक सचेतना र विपद व्यवस्थापन गर्ने कानुनी प्रबन्धबाट सम्भावित क्षति कम गराउन सकिन्छ । प्रकृति र प्राकृतिक संरचनामा मान्छेले दख्खल दिइरहेका छन् । त्यसैकारण कहिलेकाहीँ अप्रत्यासित जोखिम व्यहोर्नु पर्ने अवस्था छ,’ उनले भने । महानगरको विपद व्यवस्थापन समितिका संयोजक नीलकाजी शाक्यले, वडा स्तरीय विपद व्यवस्थापन समितिमार्फत टोल टोलमा भएका जोखिमको पहिचान गर्ने र सम्भावित विपत्तिका सामना गर्न क्षमता बढाउने काम भइरहेको बताए । २०७२ सालको भूकम्पलको धक्काले सिकाएको पाठ विर्सियो भने भोलि क्षतिको परिमाण झन् बढ्न सक्छ । यसलाई कम गराउन महानगरले सुरक्षित बस्ती विकासको कार्यक्रमलाई जोड दिएको संयोजक शाक्यको भनाइ थियो । स्मृति सभामा फायर हवल्दार बद्रीप्रसाद अधिकारी, नगर प्रहरी हवल्दार विशेश्वर पण्डित, सशस्त्र प्रहरी सहायक हवल्दार उत्तमहरि श्रेष्ठलाई नगद १५ हजार रुपैयाँसहित सम्मान गरिएको थियो । यस बर्ष ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ नारासहित दिवसका कार्यक्रम मनाइँदैछ । गएको बर्ष “बहु प्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा” नारा राखिएको थियो । यस बर्षको मुल समारोह स्वास्थ्य मापदण्ड अपनाएर ललितपुरको पाटन दरबार क्षेत्रमा आयोजना गर्ने तालिका छ ।