महानगरले ज्येष्ठ नागरिकालाई निःशुल्क निमोनियाको खोप लगाउने
काठमाडौं । काठमाडौं महानगरपालिकाले २७ औं महानगर दिवसको अवसरमा ज्येष्ठ नागरिकालाई निःशुल्क निमोनियाको खोप लगाउने भएको छ । महानगरले २७ औं महानगर दिवस मंसिर २७ गतेदेखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरेको छ । महानगरले सेवाग्राही सर्वेक्षण, जेष्ठ नागरिकलाई निमोनियाको निःशुल्क खोप तथा स्वास्थ्य शिविर, विशेष सरसफाई, खेलकुद र सांस्कृतिक कार्यक्रमसहित २७ र्औैं महानगर दिवस मनाउने तयारी गरेको छ । २७ औं महानगर दिवस मूल समारोह समितिका अध्यक्ष विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठले यस्तो निर्णय गरेको हो । महानगरको अनुसार उक्त अवसरमा ४० वटा वुथबाट सर्वेक्षण गरिनुको साथै १० वटा वुथबाट कोभिड विरुद्धको खोप सञ्चालन गरिनेछ । यसका साथै विद्यालय स्तरमा ‘सांस्कृतिक सहर, काठमाडौं महानगर’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता हुने महानगरले जनाएको छ । कोभिड संक्रमणको दर हेरेर कार्यक्रम हेरफेर हुन सक्ने नगर प्रमुख शाक्यले बताएका छन् ।
दाङका ६ पालिकामा भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु
दाङ । दाङका छओटा पालिकामा आजदेखि भेरोसिल खोपको पहिलो मात्रा लगाउन सुरु गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार १८ वर्ष माथिका यसअघि खोप लगाउन छुटेका नागरिकलाई कोरोना भाइरस विरुद्धको भेरोसिल खोप लगाउन सुरु गरिएको हो । जिल्लाको घोराही, लमही, बङ्गलाचुली, राजपुर, गढवा र राप्ती गाउँपालिका क्षेत्रमा आजदेखि बिहीबारसम्म भेरोसिल खोपको पहिलो मात्रा लगाइने उक्त कार्यालयले जनाएको हो । ती पालिकाका करिब ६० हजार नागरिकलाई खोप लगाउने लक्ष्य छ । यस पटक लगाएका उनीहरुलाई दोस्रो मात्रा आउँदो पुस १५ देखि १९ गतेसम्म लगाइने भएको छ । यसअघि गत मङ्सिर १२ गतेदेखि १७ गतेसम्म तुलसीपुरसहित पश्चिम दाङको शान्तिनगर, दङगीशरण र बबई गाउँपालिकामा भेरोसिलको पहिलो मात्रा खोप लगाइएको थियो । उनीहरुलाई आउँदो पुस ४ गतेदेखि ८ गतेसम्म दोस्रो मात्रा खोप लगाइने जनाइएको छ ।
काष्ठमण्डप पुननिर्माण अन्तिम चरणमा, हालसम्म ११ करोड खर्च
काठमाडौं । काष्ठमण्डप पुननिर्माणका लागि कार्तिक मसान्नसम्ममा ११ करोड ४२ लाख ६८ हजार ९३६ रुपैयाँ ५३ पैसा खर्च भएको छ । यसका लागि काठमाडौं महानगरपालिकाले ११ करोड ५० लाख रुपैयाँ आर्थिक अनुदान उपलब्ध गराएको छ । बैंक व्याजसहित उपभोक्ता समितिलाई प्राप्त ११ करोड ७५ लाख ७३ हजार ५४७ रुपैयाँ ५१ पैसा आयबाट यो रकम खर्च भएको हो । पुननिर्माण कार्य अन्तिम चरणमा पुगेपछि हिजो (मंसिर १७ गते) पुननिर्माण समितिले कार्य प्रगति र आर्थिक विवरण जानकारी दिन आयोजना गरेको आयोजना गरेको सार्वजनिक सुनुवाई तथा पत्रकार सम्मेलनमा यस सम्बन्धी जानकारी दिइएको हो । पुननिर्माण कार्य अन्तिम चरणमा पुगेपछि हिजो ९मंसिर १७ गते० पुननिर्माण समितिले कार्य प्रगति र आर्थिक विवरण जानकारी दिन आयोजना गरेको सार्वजनिक सुनुवाई तथा पत्रकार सम्मेलनमा यस सम्बन्धी जानकारी दिइएको थियो । २०७५ साल वैशाख १८ गते जनप्रतिनिधि तथा स्थानीयको भेलाको निर्णयबाट प्रदेश सभा सदस्य राजेश शाक्यको अध्यक्षतामा काष्ठमण्डप पुनर्निर्माण समितिको गठन भएपछि प्रक्रिया अगाडि बढेको थियो । काष्ठमण्डप पुननिर्माणका लागि आवश्यक पर्ने सबै रकम काठमाडौं महानगरपालिकाले व्यहोर्ने महानगरका प्रमुख विद्यासुन्दर शाक्यले प्रतिबद्धता गरेपछि पुननिर्माणको काम उपभोक्ता समितिबाट थालिएको थियो । ०७२ सालको भूकम्पबाट क्षतिग्रस्त काष्ठमण्डप पुनर्निर्माणका लागि नगर कार्यपालिकाको २०७५ जेष्ठ २४ गते बसेको बैठकले उपभोक्ता समितिमार्फत काम अघि बढाउने निर्णय गरेको थियो । अहिलेसम्मको प्रगतिका विषयमा जानकारी गराउँदै समितिका अध्यक्ष एवं प्रदेश सभा सदस्य राजेश शाक्यले ‘हामी पुननिर्माणको अन्तिम चरणमा छौं, छिट्टै नै यसको औपचारिक शुरुवात गर्ने बताए । पुननिर्माण समितिका सचिव गौतम डंगोलका अनुसार ०७८ कार्तिक मसान्तसम्ममा पुननिर्माणका लागि ल्याइएका ७६ हजार ११ वटा माः अप्पा (ठूलो) मध्ये ७५ हजार ७६१ वटा प्रयोग भइसकेको छन् । यसैगरी ८६ हजार ८ सय वटा माः अप्पा (सानो,) मध्ये ८३ हजार ८ सय र २२४ वटा फः अप्पामध्ये १७९ अप्पाको प्रयोग भइसकेको छ । काष्ठमण्डपको जगमा भूकम्पबाट कुनै क्षति नपुगेको कुरा युनेस्कोको सहयोगमा बेलायतको दरह्याम विश्वविद्यालय र पुरातत्व विभागको टोलीले गरेको पुरातात्विक अनुसन्धानले पनि औल्याएको थियो । त्यसअनुसार सुरक्षित रहेको जगको गारोलाई नबिगारी त्यसलाई नै मर्मत गरी त्यसमाथि नयाँ गारो थप्ने कार्य भएको हो ।