कामपाकाे ४२ कराेड बजेटको कार्यक्रम संशोधन
काठमाडाैं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षका लागि विनियोजित बजेटबाट ४२ करोड ८४ लाख ७९ हजार बजेटको कार्यक्रम संशोधन गरेको छ । कामपाको १०औं अधिवेशनले उक्त बजेट बराबरको कार्यक्रम संशोधन गरेको हो । कामपाको सञ्चित कोषबाट कार्यान्वयन हुने १६ अर्ब आठ करोड ७० लाख १२ हजार र बाह्य कोषबाट कार्यान्वयन हुने दुई अर्ब ८७ करोड सात लाख गरी कामपाले चालु आर्थिक वर्षमा कूल बजेट १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार विनियोजन गरिएको थियो । संशोधनबाट ज्येष्ठ नागरिक निःशुल्क खोप कार्यक्रमका लागि एक करोड ५० लाख थप गरिएको छ । यसैगरी, फोहोरमैला प्रभावित क्षेत्रका स्थानीयवासीसँग समय समयमा भएका सहमति कार्यान्वयन गर्ने क्रममा यसअघि छुट भएको शिक्षक दरबन्दी अनुदानसहित प्रभावित क्षेत्रबाट माग भएर आएका योजनालाई संशोधनमा समेटिएको छ । ‘जुन शीर्षकमा काम गर्ने लक्ष्य राखिएको थियो, विभिन्न कारणले त्यो कार्यक्रम कार्यान्वयनमा आउन नसक्ने भएपछि सम्बन्धित विभाग र वडाको मागबमोजिम शीर्षक परिवर्तन गरिएको हो’, कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए । अधिवेशनले पुस मसान्तसम्मका लागि सम्पत्ति करमा दिइएको १० प्रतिशत छुटको सुविधालाई चैत मसान्तसम्म दिने निर्णय गरेको पनि जनाइएको छ । आर्थिक ऐन २०७८ को दफा २ अनुसार लाग्ने करमा दिइएको छुटको अवधि बढाइएको हो ।
वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सत्ता गठबन्धन सहमत
काठमाडौं । स्थानीय तहको निर्वाचन वैशाखमा गर्न सत्ता गठबन्धनका नेताहरु सहमत भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा सत्ता गठबन्धनका नेताहरु स्थानीय तहको निर्वाचन वैशाखमा गर्ने सहमत भएका हुन् । यसबारे थप गृहकार्य गरेर बिहीबार फेरि बैठक बस्ने नेताहरुले बताएका छन् । स्थानीय तहको निर्वाचन ऐन, २०७३ बमोजिम तीन चरणमा भएको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुको अवधि क्रमश २०७९ जेठ ७, असार २१ र असोज ७ गते सकिँदैछ ।
चितवनमा बन्दैछ सवा १ अर्ब लागतको भव्य सिटी हल, अन्तर्राष्ट्रिय स्तरको सुविधा
काठमाडौं । चितवनको भरतपुरमा सुविधा सम्पन्न भव्य सिटी हल निर्माण भइरहेको छ । महानगरपालिकाले गौरवको आयोजनाका रुपमा सिटी हललाई निर्माण गरिरहेको हो । निर्माणाधीन अवस्थामा रहेको सिटी हलको २२ प्रतिशत काम सम्पन्न भइसकेको महानगरको भनाई छ । महानगरका अनुसार महानगरपालिकाले महत्वकांक्षी योजनाका रूपमा सिटी हल निर्माणको काम अगाडि बढाइरहेको छ । महानगरको गौरवको आयोजना भित्र पर्ने सिटी हल अन्तर्राष्ट्रियस्तरको नमुना मोडेल तथा सेवा सुसिवधाहरु हुने आयोजना प्रमुख प्रकाश अर्यालले बताए । उनका अनुसार हालसम्म २२ प्रतिशत काम सकिएको छ भने बाँकी ७८ प्रतिशत काम भवन निर्माणको समय अवधि भित्र नै सकिने छ । महानगरपालिकाले भरतपुर–१० मा रहेको जिल्ला समन्वय समितिको ४ विघा जमीनमा आधुनिक सिटी हलको निर्माण भइरहेको छ । जमिन मुनीको काम सकिएर अहिले पिलर तथा ढलानको काम भइरहेको आयोजना प्रमुख अर्यालले बताए । उक्त भवनको लागत अनुमान भ्याट हित एक अर्ब २० करोड ३ लाख ७३ हजार ७ सय ६९ रहेको छ भने सम्झौता रकम भ्याट सहित ८७ करोड ८८ लाख ८८ हजार ८ सय ८८ रहेको छ । हालसम्म १४ करोड रुपैयाँ भुत्तानी भइसकेको अर्यालको भनाई छ । महानगरको सहरी विकास मन्त्रालयसँग भवन निर्माण गर्न महानगरले २०७७ मंसिर २८ गते सम्झौता गरेको थियो । उक्त हल २६ महिना अर्थात् २०७९ फागुन १७ गते भित्र निर्माण सम्पन्न भइसक्नु पर्नेछ । महानगरले संघीय सरकारको सहयोगमा उक्त हल निर्माणको काम सुरुवात गरेको हो । निर्माणाधीन सिटी हल निर्धारित समय अघि नै सम्पन्न गर्ने लक्ष्यसहित द्रुत गतिमा काम भइरहेको अर्यालको भनाई छ । उक्त हलको उचाइ २५ मिटरको हुनेछ । ‘पार्किङको व्यवस्था र सौन्दर्यताको लागि फाउन्टेन पनि निर्माण गरिनेछ, अन्तर्राष्ट्रिय स्तरको बन्ने भनिएको आधुनिक सिटी हल दुई हजार जना मानिस अट्न सक्ने क्षमताको हुनछ,’ उनले भने । हल निर्माणको कार्य तीव्र गतिमा भइरहेकोले तोकिएको समय अगावै गुणस्तरीय सिटी हल निर्माण हुने अर्यालको भनाइ छ । सिटी हलका लागि आवश्यक निर्माण सामाग्रीदेखि स्थानीय स्तरमा उत्पन्न हुने कुनै पनि समस्या समाधानका लागि महानगर प्रतिवद्ध रहेको पनि अर्यालले जनाए । अहिले दैनिक ९० जना कामदार सिटी हल निर्माणको काममा खटिएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनहरू गर्न र यसमार्फत पर्यटकीय आर्थिक गतिविधिमा बढोत्तरी ल्याउन सिटी हल निर्माण गरेको महानगरपालिकाले जनाएको छ ।