खोटाङका सबै पालिकामा मंसिर २२ र २३ गते कोरोनाविरुद्ध खोप लगाइने

फाइल फाेटाे खोटाङ । यही मङ्सिर २२ र २३ गते जिल्लाका दशवटै स्थानीय तहमा कोरोना भाइरसविरुद्धको खोप अभियान सञ्चालन गरिने भएको छ । पहिलो मात्राका खोप लगाइसकेका तथा लगाउन बाँकी नागरिकलाई पायक पर्ने क्षेत्रमा खोप लगाइने छ । अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयले आवश्यक सामग्रसहित स्वास्थ्यकर्मी सम्बन्धित स्थानीय तहमा पठाउने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङका संयोजक एवं प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहालले जानकारी दिए । ‘स्थानीय तहमा आयोजना गरिएको खोप अभियानमा छुटेका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ’, उनले भने, ‘स्थानीय तहमा आयोजना गरिएको खोप अभियान सम्पन्न भएलगत्तै जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा चौबिसै घण्टा खोप उपलब्ध गराउने तयारी गरेका छौँ ।’ दिक्तेलमा उपलब्ध गराइने खोपका लागि जिल्ला स्वास्थ्य कार्यालयले खोप तथा आवश्यक स्वास्थ्य सामग्री, जिल्ला अस्पतालले कोठा र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले स्वास्थ्यकर्मीको व्यवस्था गर्ने भएका छन् । खोप अभियानका लागि जिल्ला स्वास्थ्य कार्यालयमा सङ्घ तथा प्रदेश सरकारले उपलब्ध गराएको कोभिशिल्ड र भेरोसेल गरी दुई प्रकारका भ्याक्सिन (खोप) रहेको जिल्ला स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिक्देलले जानकारी दिए । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा हालसम्म कोरोनाविरुद्धको पहिलो मात्राको खोप ७४ हजार ७७४ र दोस्रो मात्राको खोप ४० हजार ९७९ जनालाई उपलब्ध गराइएको डिसिसिएमसीका संयोजक दाहालले बताए । ‘सरकारले हरेक नागरिकलाई कोरोनाविरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भनेको छ’, उनले भने, ‘बाँकी रहेका नागरिकलाई जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा डेस्क स्थापना गरेर क्रमशः उपलब्ध गराउने तयारी गरेका छौँ ।’ विसं २०६८ को जनगणनाअनुसार दुई लाख छ हजार ३१२ जनसङ्ख्या रहेको जिल्लामा सबै नागरिकलाई पुग्ने खोप भने नरहेको जनाइएको छ । जिल्लाका लागि आवश्यक खोप उपलब्ध गराउन सम्बन्धित निकायमा पत्राचार गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख सिक्देलले जानकारी दिए । गत वैशाखयता तीन हजार ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको यस जिल्लामा हाल तीन जना सक्रिय सङ्क्रमित छन् । विभिन्न समयमा विभिन्न स्थानीय तहका गरी १५ जना स्थानीय बासिन्दाले ज्यान गुमाइसकेका जिल्लामा हालसम्म बन्दाबन्दी भने गरिएको छैन । जिल्लामा लकडाउन नगरिए पनि स्वास्थ्य सुरक्षा सतर्कतालाई भने कडाइका साथ पालना गरिएको जनाइएको छ । पहाडी जिल्लामा २०० तराई तथा ठूला शहर भएका जिल्लामा ५०० सङ्क्रमित पुगेको खण्डमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले लकडाउन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भनेको थियो । जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या कम भएसँगै जिल्लाका स्थानीय तहका विभिन्न ठाउँमा निर्माण गरिएका २३४ श्ययाको संस्थागत आइसोलेशन खाली रहेको जनाइएको छ । कोरोना सङ्क्रमितको उपचारका लागि जिल्लाका स्थानीय तहमा स्थापना गरिएका अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएका स्वास्थ्यकर्मीलाई समेत सामान्य किसिमका बिरामीको उपचारमा खटाइएको जनाइएको छ । रासस

एक करोड ७६ लाखमा बन्याे केपिलासगढी गाउँपालिकाकाे भवन

काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिकाले आफ्नै प्रशानिक भवन निर्माणको काम सम्पन्न गरेको छ । गाउँपालिकाले प्रशानिक भवन निर्माणको काम सम्पन्न गरी नव निर्मित भवन साेमबार(मंसिर १३ गते) उद्घाटन गरेको हो । गाउँपालिका अध्यक्ष कृष्णकुमार राई र उपाध्यक्ष हिराकुमारी वन (गिरी)ले उक्त भवनके उद्घाटन गरेका हुन् । आर्थिक वर्ष २०७५/०७६ देखि निर्माण सुरु गरिएको भवन एक करोड ७६ लाख ५४ हजार ९ सय २० रुपैयाँ ४५ पैसा लागतमा निर्माण सम्पन्न भएको हो । उक्त भवनमा सभाहल सहित १३ वटा प्रशासनिक कोठाहरू रहेका छन् । गाउँपालिकाले भवन निर्माण गरी देखि सार्वजनिक सेवा समेत नयाँ भवनबाट सुरु भएको छ । एकद्वार प्रणाली लागू गर्दै विषयगत सबै शाखा, उपशाखाहरू नयाँ भवनमा समेटिएको छ ।  

मोदी गाउँपालिकाले घरेलु उत्पादनको प्रदर्शनी मेला सुरु

काठमाडौं । पर्वतको मोदी गाउँपालिकाले उद्योग दिवसको अवसर पारेर पालिकास्तरीय स्थानीय घरेलु उत्पादनको प्रदर्शनी कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले जिल्लाको सबैभन्दा होचो मोदीखोलाको सतहदेखि सबैभन्दा अग्लो हम्पालसम्म उत्पादन भएका घरेलु, कृषि, पशु तथा अन्य उद्यमको प्रदर्शनी गरेको हो । मङ्सिर ९ देखि ११ गतेसम्म सञ्चालन हुने गरी आयोजना गरिएको प्रदर्शनीमा विभिन्न २० भन्दा बढी कक्षमा स्थानीय उत्पादन, खानाका परिकार, घरबासको आतिथ्यता, स्थानीय संस्कृति झल्किने गरी प्रदर्शनी राखिएको छ । जिल्लाका सबैभन्दा धेरै घरबास सञ्चालन रहेको उक्त गाउँपालिकाको चित्रे, भुक, क्याङ, लेस्पार, देउरालीलगायतका स्थानबाट स्थानीय संस्कृतिसहितको घरबास झल्किने गरी खाना तथा परिकार प्रदर्शनीस्थलमा राखिएको छ । उच्च भूभागमा उत्पादन हुने अल्लोका कपडा, नेपाली कागजबाट बनेका विभिन्न सामग्री प्रदर्शनीमा आकर्षणका रूपमा राखिएको छ । तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनी विशेषगरी स्थानीय उत्पादनको प्रचारप्रसार र उद्यमीलाई प्रोत्साहन दिलाउने उद्देश्यले आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसनबहादुर क्षेत्रीले बताए । प्रदर्शनीको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले पालिकालाई समृद्ध बनाउनका लागि स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन महत्वपूर्ण रहेको बताए । रासस