पञ्चायतकालमा जस्तो योजनाहरु खल्तीबाट झिकेर आफ्ना कार्यकर्तालाई दिने शैली अझै गएको रहेनछ- अध्यक्ष थापा

बागमती प्रदेश अन्तर्गतको नुवाकोट जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिकाका हो ‘शिवपुरी गाउँपालिका’ । यो गाउँपालिकाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपले फरक विशेषता बोकेको छ । यस भूमीमा ऋषि तथा तपस्वीहरुले भगवान शिवको तपस्या तथा आरधाना गर्दथे भन्ने पौराणिक कथनका आधारमा यस गाउँपालिकाको नाम शिवपुरी रहन गएको किंवदन्ती छ । लेक, बेँसी, पहाड लगायतका भुबनोटले बनेको यस गाउँपालिकाको भूमी खेतीयोग्य छ । यस गाउँपालिकामा विभिन्न जातजाति, भाषा, धर्म, रीतिरिवाज, परम्पराका मानिसहरु मिलेर बसेका छन् । मध्यपहाडी लोकमार्गले शिवपुरी गाँउपालिकालाई बिचबाट छिचोलेको छ भने टोखा छहरे सडकले पश्चिमपट्टी बाट काटेको छ । काठमाडौं बाट एकदम नजिक रहेको यो गाउँपालिकाले विकास र सम्बृद्धि तर्फ प्रचुर संभावना बोकेको छ भन्दा अत्युक्ति हुँदैन । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ? जनप्रतिनिधीहरु निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा आएको परिर्वतन के–के छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कसरी भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रीत रहेर सो गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोना महामारीले पुर्याएको असर तथा हालको ताजा अवस्था वारे केही बताइदिनुस् न कोरोनाले समग्र विश्वलाई नै स्तब्ध बनाएका वेला हाम्रो गाउँपालिकामा चाहिँ असर नपुग्ने कुरै भएन । सरकारले गरेको लकडाउनको सुरुवाती दिनहरुमा हामीलाई क्वारेन्टिन व्यावस्थापन गर्न पनि समस्या भएको थियो । कोरोनाले गाउँपालिकामा हुन लागेका विकास निर्माणका काममा पनि नकारात्मक असर पुग्न गयो । सो वेला हामिले ८ बेडको आइसोलेसनको व्यवस्था गरेका थियौं । यहाँका धेरै नागरिकहरुलाई कोरोना पोजिटिभ देखा परेको थियो । तर आजका दिनको कुरा गर्नुपर्दा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । नागरिकहरु पनि सामान्य रुपमा जीवन यापन गरिरहेका छन् । हाल कोरोना विरुद्धको खोप नेपालमा पनि आइसकेको हुनाले सो खोप लगाउनको लागि हामीले स्वास्थ्यकर्मी साथिहरुलाई पालोपालो गर्दै काठमाडौं पठाइरहेका छौं । गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के रहेका छन् ? हामीले ४ करोड रुपैयाँको लागतमा गाउँपालिकाको भवन निर्माण गरेका छौं । कोल्ड स्टोरको निर्माण अन्तिम चरणमा पुगेको छ । चिसो बनाउने मेशिन खरिद गर्नको लागि अहिले हामी टेन्डरकै प्रकियामा छौं । ठुलो योजनाको रुपमा हामीले शिवपुरी कृषि रिङ्गरोड बनाउँदैछौं । गाउँपालिकाका कूल ७० कि.मि को रहने यो सडकको ९० प्रतिसत ट्रयाक हामिले खोलिसकेका छौं । माथिका कृषि उपजलाई तल झार्ने र त्यसैगरी तलका कृषि उपजलाई माथि लग्दै बजारीकरणलाई सहज बनाउने उद्देश्य हामीले लिएका छौं । १ नं वडा पर्यटकिय स्थल हो जसमा भ्यु टावर बनाउने योजना छ । स्वास्थ्य भवनको निर्माण भइरहेको छ । १० बेडको अस्पताकोे डिपिआर टेन्डर गरी सकेका छौं । गाउँपालिका भित्र शिवपुरी रङ्गशालाको निर्माण गरेका छौं । यी विभिन्न योजानहरुमध्ये केही सम्पन्न भइसकेका छन् भने केहि चाहिँ सम्पन्न हुने क्रममा छन् । राम्रो काम गरेकै हुनाले हामी जिल्ला बाट सम्मानित पनि भएका छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ नि ? तिन ठाउँको सरकारको समन्वय हुनु पर्ने रहेछ । आधारशिला र बेस चाहिँ स्थानीय तहनै रहेछ । जसले जे काम गरेपनि विकास गरिने भनेको स्थानीय तहमा नै हो । आफुले जाने अनुसार अनि भ्याए अनुसार समन्वय गरेर नै अगाडी बढिरहेका छौं । फरक पार्टिको नेतृत्व हुँदा हँुदै पनि समन्वय गरेरै अगाडी बढेका छांै । तर पञ्चायतकालमा जस्तो योजनाहरु खल्ती बाट झिकेर आफ्ना कार्यकर्तालाई दिने शैली भने अझै पनि गएको रहेनछ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट पाउनुपर्ने सहयोग पाइरहेकै छौं । गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ? यहाँ भएका विकास निर्माणका कामहरु निक्कै नै प्रभावकारी छन् । यसले मलाई खुसी र सन्तुष्ट पनि बनाएको छ । तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित हुनु भन्दा पछाडि गाँउपालिकामा कस्ता खाले परिर्वतन आएका छन् ? हामी निर्वाचित हुनुभन्दा अघि जनता कतिपय पहुँचबाट टाढै रहेका थिए । उनीहरुले समस्या पोख्ने ठाउँ खासै पाएका थिएनन् पनि । संविधानको परिकल्पना अनुसार स्थानीय सरकार बनिसके पछि जनताहरु समस्या लिएर आउनसक्ने भएका छन् । हामी निर्वाचित भएर आएपछि गाँउपालिकाको स्वास्थ्य क्षेत्रमा पनि ठूलो परिर्वतन आएको छ । अहिले हामीले गाउँपालिकामा एमबीबीएस डाक्टर सहितको स्वास्थ्य सेवा पनि सञ्चालन गरिरहेका छौं । यस बाहेक यहाँको सडक, खानेपानी, शिक्षा लगायतको क्षेत्रहरुमा पनि धेरै परिर्वतन आइसकेको छ । निर्वाचित भएको ३ बर्ष पूरा हुँदा तपाईंले गरेका सम्झिन लायक कामहरु के–के रहेका छन् त ? त्यस्ता काम धेरै नै छन् जस्तो लाग्छ । गाँउपालिकाको भवन बनेको छ । ४ वटा वडाको भवन निर्माण भइसकेको छ भने अन्यत्रका भवनहरु बन्ने क्रममा छन् । तरकारी भण्डारण गर्नका लागि भनेर कोल्ड स्टोरको निर्माण गरिएको छ । अघिनै पनि भनिहालेँ स्वास्थ्य भवनको निर्माण भइरहेको छ । त्यसैगरी, कृषि उद्योग संकलन केन्द्र विभिन्न ठाउँमा बनाएका छौं । सहकारीसँग मिलेर ढुवानी सेवाको व्यवस्था गरेका छौं । १० बेडको अस्पतालको लागि पनि टेन्डर भएको छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार गर्न केकस्ता कदम चाल्नुभएको छ ? हाम्रो गाँउपालिका काठमाडौं बाट नजिकै छ । यहाँ रहेको चिसापानी एरिया निकै मनमोहक छ । यसको विकासको लागि हामीले विभिन्न योजना पनि बनाएका छौं । यो ठाउँमा हामीले पार्क, भ्युटावर बनाउन योजना अगाडी सारेका छौं । पर्यटन प्रवद्र्धनका लागि बेला बेलामा कार्यक्रमहरु पनि गर्ने गरेका छौं । त्यसैगरी, होमस्टेको अवधारणा पनि अघि बढाएका छौं । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? कृषि विकास गर्नकै लागि भनेर हामीले गाउँपालिकामा धेरै किसिमका कामहरु गर्दै आइरहेका छौं । यहाँका धेरै मानिसहरु कृषि पेशामा आवद्ध रहेका छन् । यहाँ कोदो, धान र मकै प्रशस्त मात्रामा उत्पादन हुने गरेको छ । मध्यपहाडी लोकमार्गले १२ महिनानै किसानको पँहुच बजारसम्म पुर्याएको छ । हामीले पछिल्ला दिनमा फलफुल, तरकारी तथा पशुपालनमा जोड दिइरहेका छौं । कृषिलाई व्यवसायिक बनाउनु पर्छ भनेर हामी लागिपरेका छौं । सुरुका दिनमा हामिले किसानलाई एक–एक ओटा टनेल वितरण गरेका थियौं । ‘कृषकको लगानी गाउँपालिकाको ढुवानी’ भन्ने नारालाई मूर्तरुप दिइरहेका छौं । यहाँ उत्पादान हुने गरेका फलफुल बाट जाम अथवा जुस बनाउनका लागि मेशिन पनि खरिद गरेका छौं । गाउँपालिकाको समृद्धिको मुल आधार कृषि नै हो । हामीले गाउँपालिकामा कृषि बीमाको पनि सुरुवात गरेका छौं । च्याउ खेतीका लागि हामीले पकेट क्षेत्र पनि छुट्याएका छौं । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? यहाँका कतिपय युवा विदेश गएका छन् भने कतिपय चाहिँ आर्मी अथवा प्रहरीमा भर्ती भएका छन् । कोभिडको कारण बिदेश वाट धेरै युवाहरु गाउँ आए । हामीले त्यसरी आएका युवाहरुलाई कृषिमा आत्मनिर्भर बन्नुपर्छ भनेका छौं । बरु उनीहरुलाई ऋणको पनि सहजिकरण गर्ने व्यवस्था मिलाएका छौं । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? हाम्रो गाउँपालिकामा ठुलो उद्योग रहेको छैन । छिटपुट रुपमा साना खुद्रा पसल मात्र खुलेका छन् । अहिले हामीले खोल्न लागेको जुस बनाउने उद्योग नै सम्भवतः गाँउपालिकाकै ठुलो उद्योग हुनेछ । यहाँ दुधको उत्पादन प्रशस्त मात्रामा हुने गरेको छ । काठमाडौंमा त झन् शिवपुरीको दुध फेमस नै रहेको पाइन्छ । तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? मैले गरेको कार्यप्रति म एकदमै सन्तुष्ट छु । सबैसँग समन्वय गर्दै काम गरिरहेको छु । त्यसैले पनि होला गाउँपालिकामा पहिलेको तुलनामा अहिले निक्कै परिर्वतन पनि आएको छ । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने सोच्नुभएको छ ? अझ धेरै विकास गर्नपाए हुन्थ्यो भन्ने सोचिरहन्छु । यहाँका जनताले भोलिका दिनमा पनि मैले गरेका कामहरुबाट लाभ लिइरहन सकुन भन्ने चाहना छ । गाउँपालिकमा रहेका सबै वडामा विद्युत पुर्याएका छौं भने अब चाहिँ सबै घरमा सडक पुर्याउने योजना बनाएको छु ।

कृषि क्षेत्रको विकासका लागि उल्लेख्य काम गरेका छौंः गाउँपालिका अध्यक्ष पाण्डेसँगको कुराकानी

‘भिमसेनथापा गाउँपालिका’ गण्डकी प्रदेश अन्तर्गतको गोरखा जिल्लामा पर्ने एउटा रमणीय गाउँपालिका हो । कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा निक्कै चर्चित यो गाउँपालिकाले ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक गरी भिन्नभिन्न विशेषता बोकेको पाइन्छ । सबैभन्दा लामो समयसम्म पदमा रहेका नेपालका मुख्तियारी एवं राष्ट्रिय बिभुति भिमसेन थापाको नामबाट यस गाँउपालिकाको नामाकारण गरिएको हो । भौगोलिक विविधता, पाखा, पखेरा, जंगल, खोल्सा, खोल्सी, खोंच र बेँसी तथा अन्य प्राकृतिक सम्पदाले भरिएको यो गाउँपालिकाको क्षेत्रफल १ सय १ दशमलव ३५ वर्ग किलोमिटर रहेको छ । यो गाउँपालिकाको जनसंख्या २२ हजार ३ सय ३ रहेको छ भने यहाँ ८ ओटा वडा रहेका छन् । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के-के हुन्, पछिल्लो समय गाउँपालिकामा के–कस्ता परिवर्तन आएका छन्, युवालाई रोजगारीको अवसर सृजना गर्न गाँउपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रित हुँदै सो गाउँपालिकाका अध्यक्ष ईश्वर पाण्डेसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः प्रस्तुुत छ उक्त कुराकानीको अंश । गाउँपालिकामा कोरोनाका कारण परेको असर बारे केही बताइदिनुहोस् न आज नागरिकहरु कोरोनाका कारण त्रसित हुने वातावरण त छैन तर लकडाउनको समयमा पालिकाले नसोचेको क्षती भने वेहोर्नु पर्यो । गाउँपालिकामा हुन लागेका विकास निर्माणका काममा नराम्रो असर त पुग्यो नै साथसाथै शिक्षा क्षेत्रमा पनि असर पुग्न गयो । कोरोनाको समयमा एकपल्टमै ५० जनासम्मलाई क्वारेन्टिनमा राख्नुपर्ने अवस्था आएको थियो । विदेश बाट आएकाहरुलाई हामीले १४ दिनसम्म क्वारेन्टिनमा राखेका थियौं । हामीले गाउँपालिका भित्र रहेका विद्यालयलाई क्वारेन्टिनको रुपमा पनि सञ्चालन गरेका थियौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? हाम्रो खासै ठुलो समन्वय भएको त छैन । प्रदेश सरकार बाट केहि बजेट आउने गरेको छ । प्रदेश सरकार बाट आएको बजेटलाई हामीले विभिन्न क्षेत्रमा विनियोजन गरेका छौं । प्रदेश सरकारले विकास निर्माणको काममा योजना हाल्दा हामीसँग त्यति परामर्श नगरेको हो कि भन्ने हामीले महशुस गरेका छौं । हामीले र प्रदेश सरकारले एउटै ठाउँमा बजेट हाल्ने गरेकोले कहिलेकाहिँ समस्या पनि देखा पर्ने गरेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आई पर्छन् नि ? विकास निर्माणको सवालमा हेर्दा जनताको चाहना तथा आवश्यकता अनुसार हामीले योजनाहरु दिन सकेका छैनौं । कारण हो सिमीत बजेट । नेपाल सरकार र प्रदेश सरकारले पठाएको बजेट सिमित हुन्छ । त्यसैले हामीले ठुला योजनातर्फ काम गर्नै सक्दैनौं । हरेक टोलमा रहेका साना-साना योजनालाई पनि बजेट छुट्याउनु पर्ने हुन्छ । जे होस, समस्या आए पनि त्यसको समाधान गर्दै हामी अगाडि बढिरहेका छौं । केन्द्र सरकार बाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारले जनसंख्या तथा भुगोलको आधारमा हाम्रो गाँउपालिकालाई एकमुष्ट बजेट पठाउने गरेको छ । त्यहि पैसाले हामीले विकास निर्माणको काम गर्ने गरेका छौं । संघीय सरकारले देशभरी बाँडफाँड गर्ने पैसा हामीले पनि पाउने गरेका छौं । संघिय सरकार नै स्थानीय सरकारको स्रोत पनि हो । संघिय सरकार बाट आएको बजेटले नै हामीले गाँउपालिकाको विकास निर्माणका कामहरु गर्ने गरेका छौं । तपाईंको गाउँपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के–के हुन् ? हाम्रो गाउँपालिकामा ठुला योजानाहरु खासै धेरै छैनन् । गाउँपालिका कार्यालय भवनको निर्माण भइरहेको छ । नेपाल सरकारको विधानअनुसार भवन निर्माण गर्न १० करोड रुपैयाँ लाग्छ भनेपनि हामी भने त्यसलाई घटाएर ८ करोड रुपैयाँ सम्ममै पनि तयार गर्ने प्रयासमा छौं । हामीले ७ करोड रुपैयाँ बराबरको टेन्डर पनि निकालेका छौं । शाखा कार्यालय निर्माणका लागि हामीले २ करोड रुपैयाँ बराबरको डिपिआर गर्न लागेका छौं । हामीले ८ ओटा वडालाई समेट्ने गरी ८ मिटर चौडाइको चक्रपथको कल्पना गरेका छौं । यसको डिपिआर पनि तयार भईसकेको छ । योभन्दा वाहेक गाउँपालिकामा ४ वटा खानेपानीको ठुला योजनाहरु पनि रहेका छन् । ८ सय घरधुरीसम्मलाई पुग्ने गरी खानेपानी योजना सम्पन्न हुन लागेको छ । हामीले नै सुरु गरेको १ सय धारा, अर्काे १ सय ७० धारा र त्यसैगरी ४ सय धारा खानेपानी तर्फ १ करोड रुपैयाँ भन्दा माथिका योजनाहरु पनि बनाएका छौं । यसतर्फ पनि काम भइरहेको छ । गाउँपालिकामा विकास निर्माणका कामहरु कत्तिको प्रभावकारी भएका छन् ? धेरै नै प्रभावकारी छन् । विकासको काम प्रभावकारी भएकै कारणले गर्दा यहाँका नागरिक पनि हामीसँग खुसी छन् । हामीले पनि उनिहरुको आवश्यकतालाई सम्वोधन गर्ने खालका योजना गाउँसभा बाट पास गरेका छौं । तपाईं निर्वाचित हुनु अघि र निर्वाचित भइसकेपछि गाँउपालिकामा कस्ता खाले परिर्वतन देखा परेका छन् त ? म निर्वाचित भएर आइसकेपछि गाँउपालिकामा धेरै परिवर्तन आएको छ । पहिला सडक तथा खानेपानीको अवस्था राम्रो थिएन । हामी निर्वाचित भएर आएपछि ती सबै क्षेत्रमा परिवर्तन र विकास भएको छ । हामी प्रत्येक घरमा धारा र प्रत्येक धारामा पानी दिनका लागि कम्मर कसिरहेका छौं । विद्युत प्राधिकरणसँगको समन्वयमा गाउँपालिकामा रहेका काठका पोल हटाएर फलामका पोल गाडेका छौं । सडक निर्माणको कामहरु पनि भईनै रहेको छ । ‘एक वडा एक पक्की बाटो’ भन्ने अभियानै चलाएका छौं । रातीको समयमा सहज हिँडडुलका लागि भनेर सडक बत्तिको पनि व्यवस्था गरेका छौं । यिनै तथ्यहरुले पनि म निर्वाचित हुनु अघि र पछिका परिवर्तनलाई दर्शाउँछन् जस्तो लाग्छ । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? भिमसेन थापा नेपालकै पहिलो प्रधानमन्त्री हुन् । उनको जन्म हाम्रै ठाँउमा भएको हो र उनकै नाम बाट हाम्रो गाउँपालिकाको नाम पनि राखिएको हो । यो ऐतिहासिक भूमीमा हामीले पर्यटन क्षेत्रको प्रचारप्रसार गरिरहेका छौं । तर प्रचार गरेजस्तो परिणाम भने आएको छैन । यहाँ हामीले पर्यटकिय मार्ग बनाउने योजना बनाएका छौं । धार्मिकस्थल पनि गाँउपालिकामा धेरै रहेका छन् र यिनीहरुको पनि हामीले प्रचारप्रसार गरिरहेका छौं । बुढिगण्डकी जलविद्युत आयोजना पनि बन्ने क्रममै रहेको छ । गाउँपालिकामा भिमसेनथापाको सालिक राख्नको लागि हामीले सालिक बनाई सकेका छौं । अनुकुल ठाँउमा पार्क, भ्युटावर लगायत बनाउने योजना पनि गाउँपालिकाले बनाएको छ । हामीले पर्यटनको पूर्वधारको पनि विकास गरेका छौं । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? यसतर्फ धेरै काम भएको छ । यहाँका धेरै मानिसहरु खेतीकिसानी गर्छन् । सकभर जमीनलाई बाँझो नराख्न हामीले आग्रह गरेका छौं । त्यसैगरी किसानलाई सहुलियत दिने योजना पनि अगाडि सारेका छौं । हामीले फलफुल, तरकारीको पकेट क्षेत्र छुट्याएका छौं । पकेट क्षेत्रमा पनि किसानलाई व्यावसायिक बनाउने र अनुदान समेत दिने व्यावस्था मिलाएका छौं । हामीले गाउँपालिकामा रहेका किसानहरुलाई ५० प्रतिशत अनुदानमा हाते ट्रयाक्टर वितरण गरेका छौं । कोदो खेती धेरै मात्रामा गर्ने किसानलाई पुरष्कारको पनि व्यवस्था मिलाएका छौं । किटनासक औषधी पनि हामीले वितरण गरेका छौं । किसानलाई मलको पनि व्यवस्था मिलाएका छौं । कोदो कुट्ने मेशिन किसानहरुलाई उपलब्ध गराएका छौं । कृषि विकासको लागि भनेर वार्षिक रुपमा लगभग ५० लाख रुपैयाँ बराबरको बजेट छुट्याउँदै आइरहेका छौं । आलु र मकैको विउमा हामीले ५० प्रतिशत अनुदान पनि दिएका छौं । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाँउपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम रहेको छ । हामीले युवाहरुलाई विकास निर्माणको काममा लगाएर रोजगारी दिने गरेका छौं । गाउँपालिकामा धेरै युवाहरु कृषिमा पनि लागेका छन् । हामीले ठाउँ तथा अवस्था अनुसार उनीहरुलाई बाख्रा पालन अथवा खेतीतर्फ अग्रसर गराएका छौं । यहाँ उद्योगधन्दाको विकास गर्न सकिएको छैन । यदि उद्योेगको विकास गर्न सकिन्थ्यो भने यहाँका युवाहरुलाई पर्याप्त मात्रामा रोजगारी पनि दिन सकिने थियो । तपाईंको गाउँपालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? हाम्रो गाउँपालिकामा ठुलो उद्योग रहेको छैन । किसानहरुले खेती गर्छन् । बुढिगण्डकी जलविद्युत आयोजना बनिरहेको छ । तर कहिले बाट यसको काम सञ्चालन हुन्छ भन्ने चाहिँ अझै टुङ्गो छैन । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्यो भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ? हामी विशेष गरेर खाद्य वस्तुको उत्पादनमा जोड दिने थियौं । हामीले कोल्ड स्टोर बनाउने योजना बनाएका छौं । किसानले उत्पादन गरेको आलु तथा विभिन्न तरकारीहरु भण्डारण गर्नका लागि ठुलो खालको कोल्ड स्टोर बनाउने योजना छ । जे होस्, गाउँपालिकाका जनतालाई आवश्यकीय दैनिक उपभोग्य वस्तुको उत्पादनमा हामी जोड दिन्छौं । तपाईंले आजसम्म गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ नि ? आफूले गर्छु भनी योजना बनाएका कतिपय काम गर्न बाँकी नै छन् । तरपनि आजका दिनसम्म आफूले गरेको कार्य प्रति म एकदम सन्तुष्टनै छु । पहिलेको हेरी अहिलेको अवस्थामा यहाँ निक्कै परिवर्तन आइसकेको छ । अब चाहेर पनि गर्न नसकेका कामहरु भने आगामी वर्षको बजेट बाट भएपनि पुरा चाहिँ गर्ने विचार छ । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना छ ? यहाँका नागरिकले भोलिका दिनमा पनि मलाई खराब काम नगर्ने र एकदमै इमान्दार प्रतिनिधीको रुपमा सम्झिरहुन् भन्ने चाहेको छु । त्यसका लागि जनताको चाहना र आवश्यकता कम्मर कसेरै पूरा गर्ने लक्ष्य बनाएको छु । घरघरमा सडक पुर्याउने योजना छ । गाँउपालिकमा रहेका हरेक स्वास्थ्य चौकीलाई व्यवस्थित रुपमा सञ्चालन गराउने योजना पनि छ ।

साना तथा मझौला उद्योग खोल्न चाहने युवालाई ऋण उपलब्ध गराइरहेका छौं- गाउँपालिका अध्यक्ष खुलाल

‘खानीखोला गाउँपालिका’ बागमती प्रदेश अन्तर्गतको काभ्रे जिल्लामा पर्ने एउटा सुन्दर गाउँपालिका हो । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपले फरक–फरक विशेषता बोकेको यो गाउँपालिका कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा पनि निक्कै चर्चित छ । यसका पूर्वमा महाभारत, पश्चिममा महांकाल, उत्तरमा वेथान र दक्षिणमा वागमती गाउँपालिका रहेका छन् । राजधानी काठमाडौंबाट १३२ कि.मी.को दूरीमा रहेको यो गाउँपालिका शितल छ, शान्त अनि प्रदुषणरहित पनि छ । कोरोनाकाल पछि गाउँपालिकाले विकास निर्माणका कामहरु कसरी अगाडि बढाइरहेको छ, गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के–के छन्, युवालाई रोजगारीको अवसर गाउँपालिकाले कसरी सिर्जना गरिरहेको छ भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै सो गाउँपालिकाका अध्यक्ष कृष्ण वहादुर खुलालसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन्ः गाउँपालिकामा कोरोनाले पुर्याएको असर साथै हालको अवस्थाका वारेमा पनि केहि बताइदिनुस न ? कोरोनाले हाम्रो गाउँपालिकामा ठुलो असर पुर्याएको छ । हामीले गाउँपालिकामा २५ बेडको क्वारेन्टिन स्थापना गरेका थियौं भने आइसोलेसन चाहिँ ५ बेडको बनाएका थियौं । कोरोनाले यहाँको शिक्षा क्षेत्रका साथै विकास निर्माणका काममा पनि गम्भिर असर पुर्यायो । आजका दिनमा भने यता कोरोनाको प्रभाव खासै रहेको छैन । अहिले हामीले माक्स, सेनिटाइजर, सामाजिक दूरी कायम गरेर विद्यालयको पठनपाठन सञ्चालन गर्ने गरेका छौं । सर्वसाधारणहरु पनि त्रास रहित भएर आ–आफ्नो काम गरिरहनुभएको छ । तपाईंले गाउँपालिकामा कस्तो किसिमको योजनालाई प्राथमिकता दिएर काम गरिरहनुभएको छ ? हामीले गाउँपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी लगायतलाई प्राथमिकतामा राखेका छौं । गाउँपालिकामा रहेको सबै वडाहरुमा सडक पुगेका छन् । हामीले अस्पतालमा औषधीको कमी हुन दिएका छैनौं । भुकम्पले क्षति गरेका विद्यालयहरुको भवन पनि निर्माण गरेका छौं । भौतिक पुर्वाधारको काममा पनि हामीले जोड दिएका छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? स्थानीय तह र प्रदेश सरकार बीच हामीले विभिन्न किसिमका योजनाहरुमा छलफल गर्ने गरेका छौं । स्थानीय तह र प्रदेश सरकारबीच हामीले सहभागीतामुलक समन्वय गरिरहेका छौं । उपभोक्ता समितीमा चाहिँ सामान्य समस्या रहेको छ । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारले गाउँपालिकामा ठुला योजना र कार्यक्रमहरु गर्न सकेको छैन । केन्द्र सरकारसँग ५ बर्षे योजनामा हामी छलफल गरेर नै अगाडि बढ्ने गरेका छौं । भनौं न, सामान्य सहयोग भएपनि केन्द्र सरकार बाट मिलिरहेकै छ । तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित हुनुभन्दा पछाडि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन् नि ? हामी निर्वाचित हुनुभन्दा अगाडिको तुलनामा आज गाउँपालिकामा धेरै परिवर्तन आइसकेको छ । विकास निर्माणतर्फ व्यापक परिवर्तन आएको छ भने यहाँका नागरिकको आर्थिक स्थितीमा पनि परिर्वतन आएको देख्न सकिन्छ । म निर्वाचित हुनुभन्दा अगाडि बजेटको आकार पनि सानो रहेको थियो । काम गर्ने तरिका पनि छिटो छरितो थिएन । नगरिकको माग पनि पूरा हुने गरेको थिएन । म निर्वाचित भईसकेपछि विभिन्न क्षेत्रमा परिवर्तन र सुधार आएको छ । सडकको व्यवस्थापन गर्ने काम पनि भइरहेको छ । तपाईं निर्वाचित भएको ३ वर्ष पुरा हुँदा गाउँपालिका भित्र सम्झिन लायक काम के–के छन् जस्तो लाग्छ ? गाउँपालिका भित्र हामिले गरेका सम्झिन लायक कामहरु धेरै नै छन् । विद्यालयका नयाँ भवनको निर्माण गर्नु, शिक्षा क्षेत्रलाई १ करोड रुपैयाँ बरावरको अनुदान दिनु, खोलामा पुल निर्माण गर्नु, खानेपानी घरघरमा पुर्याउने वातावरण बनाउनु, आधुनिक कृषि प्रणालीमा यहाँका नागरिकलाई अवसर प्रदान गर्नु, पर्यटन क्षेत्रमा पनि क्रमिक विकास गर्नु, गाउँपालिका भित्र स्वास्थ्य सेवा उपलब्ध गराउनु लगायतका कामहरु सम्झिन लायकका काम हुन् जस्तो लाग्छ । गाउँपालिकामा भएगरेका विकास निर्माणका कामहरु सबै नै प्रभावकारी नै छन् त ? हेर्नुस्, हामी त यसमा सन्तुष्ट रहेका छौं । कतैकतै काम गर्ने मानिसहरुले विगारे पनि होलान् तरपनि यहाँ गरिएका विकास निर्माणका कामहरु सबै नै प्रभावकारी नै भएका छन् भन्ने ठानेको छु । आफ्नो गाउँपालिका भित्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हाम्रो गाउँपालिकामा प्रशस्त मात्रामा पर्यटकिय क्षेत्रहरु रहेका छन् । हामीले गाउँपालिकमा रहेको सबै मठ मन्दिरको संरक्षण गर्दै यसको प्रचारप्रसार पनि गरिरहेका छौं । आकर्षक पदमार्ग, विभिन्न धार्मिक स्थलहरु लगायतलाई प्रचारप्रसार गर्नतर्फ हामिले ध्यान दिएका छौं । हामीले गाउँपालिकामा पर्यटन पूर्वाधारका लागि भनेर वार्षिक ६० लाख रुपैयाँ छुट्याउने गरेका छौं । तपाईसँग चुनाव लडेका प्रतिस्पर्धीको साथ कस्तो पाइरहनु भएको छ ? हामी उहाँहरुसँग समन्वय गरेर नै अगाडि बढिरहेका छौं । चुनाव भनेको एउटा निर्वाचित भएर आउने विधि हो । सबै बाट साथ र सहयोग मैले पाइनै रहेको छु । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? गाउँपालिकाका बढिजसो युवाहरु कृषिक्षेत्रमा लाग्नुभएको छ । युवाहरु रोजगारीका लागि बिदेश जानु नपरोस् भनेर हामीले विभिन्न कार्यक्रमहरु पनि ल्याएका छौं । युवाहरुलाई विकास निर्माणको काममा लगाएर पनि हामीले रोजगारी दिने वातावरण सृजना गरेका छौं । साना तथा मझौला उद्योग खोल्न चाहने युवाहरुलाई ऋण पनि उपलब्ध गराउँदै आएका छौं । गाउँपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? हाम्रो गाउँपालिकाले कृषि विकासका लागि धेरै नै काम गर्दै आइरहेको छ । हामीले गाउँपालिकामा जमीनलाई बाँझो नराख्न तथा खेतीयोग्य जमीनको पूरापूर उपभोग गर्न आग्रह गर्ने गरेका छौं । यहाँ रासायनिक मलको अभाव रहेको छ । हामीले सबै वडामा कृषि समिति बनाएका छौैं । खेती गर्नेहरुकालागि विउहरु अनुदानमै उपलब्ध गराउने गरेका छौं । बेमौसमी तरकारीको विउ गाउँपालिकाले निःशुल्क रुपमै उपलब्ध गराइरहेको छ । हाम्रो गाउँपालिकामा नगदे वालीको रुपमा कफि खेती हुने गरेको छ । मकै, धान, कोदो लगायत पनि उत्पादन हुने गरेका छन् । यहाँ उत्पादन गरिएका खुवा काठमाडौंका विभिन्न ठाँउमा विक्री गर्नका लागि लैजाने गरिन्छ । तपाईंको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? मेरो कार्यकालमा गाउँपालिकालाई फरक र अरु गाउँपालिकाभन्दा विकसित बनाउने योजना रहेको छ । बजेटको अभावले गर्दा चाहिँ सोचेजस्तो काम गर्न पाइएको छैन । मूल रुपमा सडक, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रलाई उदाहरणीय बनाउने योजना छ ।