बैतडीकाे गोकुलेश्वरमा पहिलोपटक एटिएम सेवा सुरु

बैतडी । बैतडी र दार्चुलाको व्यापारिक क्षेत्रका रुपमा चिनिँदै आएको गोकुलेश्वरमा पहिलोपटक एटिएम सेवा सञ्चालनमा आएको छ । बैतडी र दार्चुला सीमावर्ती बजार गोकुलेश्वरमा पहिलोपटक बैतडीको डिलासैनी गाउँपालिका–६ चमेलिया पुल नजिकबाट एटिएम सेवा सञ्चालनमा आएको हो । सेवाग्राहीको आवश्यकतालाई दृष्टिगत गरेर गोकुलेश्वर क्षेत्रमै पहिलोपटक कुमारी बैंकले एटिएम सेवा सञ्चालनमा ल्याएको बैंकका शाखा प्रबन्धक निरज खरेलले जानकारी दिए । विगतमा डिलासैनी गाउँपालिका–५ हरिनगरमा रहेको कुमारी बैंक पछिल्लो समय वडा नं ६ चमेलिया मोटरेबल पुल नजिक सारिएको छ । सोही स्थानबाट एटिएम सेवा सञ्चालनमा ल्याइएको हो । ग्राहकको सेवालाई ध्यानमा राखेर शाखा सारिएको र एटिएम सञ्चालन गरिएको हो । एटिएम सेवा सञ्चालनमा आएपछि बैंकमा चेक लगेर लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको गोकुलेश्वरका व्यापारी सुरेश श्रेष्ठले बताए । बनाएको एटिम कार्ड पनि प्रयोगविहीन भएको थियो । उनले भने, ‘अब एटिएम कार्ड पनि प्रयोगमा आयो, लाइन लाग्नुपर्ने बाध्यता पनि हट्यो, खुसी छौँ ।’

“जनप्रतिनिधिको रुपमा हामी पालिकामा आएपछि कृषि क्षेत्रमा आमूल परिवर्तन आएको छ”

दुहुँ गाउँपालिका सुदूरपश्चिम प्रदेशअन्तर्गत दार्चुला जिल्लामा अवस्थित गाउँपालिका हो । यस गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, सांस्कृतिक एवं पर्यटन लगायतका पक्षमा निक्कै धनी छ । यस गाउँपालिकामा यति वेला विकासको कामले तीव्र रूप लिएको छ । आफ्ना नागरिकलाई आत्मनिर्भर र समृद्ध बनाउने अभियानमा पालिका लागिपरेको छ । यसैक्रममा, निर्वाचित जनप्रतिनिधिहरूबाट प्रभावकारी सेवा कसरी प्रवाह भइरहेको छ, पालिकाले गरेको विकास निर्माणको काम कस्तो छ तथा कोरोना भाइरस रोकथाम र नियन्त्रणमा पालिकाका योजना, बजेट, पालिकाको पूर्वाधार र सामाजिक विकासको अवस्था लगायतका विषयमा केन्द्रित रहेर सो गाउँपालिकाका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीसँग विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सार : स्थानीय सरकारको नेतृत्व सम्हाल्नुभएको ४ वर्ष पुरा भयो, दुहुँ गाउँपालिकाको मुहार कत्तिको फेरियो होला त ? हो, हामीले स्थानीय सरकारको नेतृत्व सम्हालेको ४ वर्ष पुरा भएको छ । यो अवधिमा पूर्वाधारको क्षेत्रमा धेरै कामहरू भएका छन् । सडक, वडा कार्यालय, विद्यालयका भवन, स्वास्थ्यचौकी तथा विभिन्न संरचनाहरुको निर्माण पनि यो अवधिमा भएको छ । शैक्षिक क्षेत्रको कुरा गर्दा हामी निर्वाचित हुनुभन्दा अघि १९ ओटा सामुदायिक विद्यालयहरू पालिकामा थिए भने यी विद्यालयका अधिकांश भौतिक संरचनाहरू नाजुक थियो । हामी गाउँपालिकाको प्रमुखको रूपमा निर्वाचित भएर आइसकेपछि विद्यालयका न्यूनतम भौतिक संरचनाहरू निर्माण गरिसकेका छौं । यस्तै, हामी निर्वाचित भएर आउनु अघि २ ओटा मात्र स्वास्थ्य संस्था थियो । नागरिकहरू स्वास्थ्य सेवा पहुँचबाट धेरै टाढा थिए । स्वास्थ्य संस्थाहरू निर्माण गर्नको लागि जमिन समेत थिएन । हाल हामीले जग्गाको व्यवस्थापन गर्ने देखि लिएर प्रत्येक वडामा स्वास्थ्यचौकी समेत निर्माण गरी सकेका छौं । हामी आउँदा एउटा मात्र स्वास्थ्यचौकीमा प्रजनन् केन्द्र थियो भने हाल पालिकाको ४ ओटा स्वास्थ्यचौकीमा प्रजनन् केन्द्र समेत स्थापना भएका छन् । १० शैया अस्पताल निर्माणको लागि ९ रोपनी जग्गाको व्यवस्थापन गरी निर्माणको काम सुरु गरेका छौं । सामाजिक क्षेत्रमा विद्यालयकहरुको भवनमात्र निर्माण गरी शिक्षामा गुणस्तर आउने होइन । बरु त्यहाँको शैक्षिक व्यवस्थापनलाई सुधार गर्दै सामुदायिक विद्यालयहरूको स्तर सुधार गर्नको निमित्त ‘कक्षा कोठमा शिक्षक, विद्यालयका अभिभावक’ कार्यक्रम सुरुको वर्ष देखिनै हामीले लागु गरेका थियौं । यो कार्यक्रम ल्याएपछि सामुदायिक विद्यालय प्रति अभिभावकको आकर्षण बढ्दो नै छ । शैक्षिक क्षेत्रमा पनि कोभिडले ठुलो असर पुर्याएको छ । सुशासनको क्षेत्रमा पनि धेरै काम भएको छ । सबै वडा कार्यालयहरू व्यवस्थापन गरेका छौं । पालिकाको प्रशासनिक भवनको निर्माण प्रक्रिया पनि अगाडी बढाएका छौं । उक्त भवन ८ करोड रुपैयाँको लागतमा निर्माण सुरु भएको हो भने यो आर्थिक वर्ष भित्र भवनको निर्माण गरिसक्ने लक्ष्य राखेका छौं । अब कृषि क्षेत्रको प्रसंग जोडौं, गाउँपालिकाले कृषि क्षेत्रमा हालसम्म गरेको उपलब्धिबारे बताईदिनुहोस् न हाम्रो गाउँपालिकाको मुख्य आय आर्जनको सम्भावना भएको क्षेत्र कृषि नै हो । हाम्रो पालिकाको भूगोल सानो छ तर, सुन्दर प्राकृतिक बनोट, भौगोलिक विविधता यहाँ धेरै छ । यहाँ जडीबुटी खेतीको सम्भावना छ । परम्परागत खेती प्रणाली छाडेर व्यवसायमुखी बन्नु जरुरी ठानेर कृषिका विभिन्न कार्यक्रम पनि सञ्चालन गर्दै आएका छौं । व्यावसायिक कृषिमा किसानहरूलाई अगाडि बढाउनको लागि तरकारी, आलु, फलफूल, बाख्रापालन, गाईपालन आदिको पकेट क्षेत्र पनि छुट्याएका छौं । हालसम्म पालिकामा १० ओटा पकेट क्षेत्र छुट्याई कृषिका कामहरू गरी रहेका छौं । उक्त पकेट क्षेत्रमा आवद्ध हुने कृषकहरूलाई बिउविजन आदि अनुदान दिने व्यवस्था समेत मिलाएका छौं । हिजोसम्म हामी तरकारी आफ्नै लागि पनि उत्पादन गर्न नसक्ने अवस्थामा थियौं । अहिले वडा नं. ३ का अधिकांश किसानहरू उनीहरूले उत्पादन गरेको कृषि उपहज खलङ्गा बजारमा लगि बिक्री वितरण गर्दै आएका छन् । आलु पकेट क्षेत्रबाट उत्साहजनक आलु उत्पादन भएको छ । अन्य ठाउँमा पनि कृषि उपज निर्यात गर्नमा सफलता पाएका छौं । अझैपनि कृषिका क्षेत्रमा हामीले किसानहरूलाई उत्पादनको आधारमा बजारीकरण व्यवस्थापन गर्ने, कोल्डस्टोरको निर्माण गर्ने लगायतका योजना चाहिँ बाँकी नै छन् । उत्पादनको उपयुक्त मूल्य प्राप्त नहुँदा पनि किसानहरू निरुत्साहित हुँदा रहेछन् । त्यस कारणले हामीले स्थानीय बजार तथा अन्य ठाउँको बजारसँग पनि समन्वय गरिरहेका छौं । कोल्डस्टोरको स्थापना गर्ने र बजारीकरणका लागि यो आर्थिक वर्षमा बजेट व्यवस्थापन गरी योजना समेत बनाएका छौं । त्यस्तै गरी पालिकाको प्रत्येक वडामा मासिक रूपमा कृषि हाटबजारको आयोजना गर्ने काम पनि भएको छ । कृषि उत्पादन र स्वरोजगारी बढाउनका लागि भनेर विगत वर्षदेखि नै कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै आएका हौं । स्थानीय स्तरमा दर्ता भएका कृषि समूहमार्फत पालिकाको समग्र कृषि विकासको लागि काम गर्दै आएका छौं । कृषक र पालिकाको साझेदारीमा हामीले अनुदानमा बिउ बिजन पनि वितरण गर्दै आएका छौं । स्थानीय तहको निर्वाचन भएर हामी जनप्रतिनिधिको रुपमा पालिकामा आएपछि कृषि क्षेत्रमा पनि आमूल परिवर्तन आएको छ । तपाईंको पालिकामा संक्रमणको अवस्था कस्तो छ, कोभिड रोकथाम तथा न्यूनीकरण लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू गरिरहनुभएको छ ? पछिल्लो समयमा पालिकामा संक्रमणको अवस्था सामान्य नै छ । अझै पनि फाट्टफुट्ट रूपमा संक्रमितहरु देखा पर्ने क्रम जारी नै छ । तर, धेरै संक्रमित भएका नागरिकहरू निको हुनुभएको छ । पालिकामा कोभिडको रोकथाम र नियन्त्रणको लागि हाम्रो सम्पूर्ण प्रयास जारी छ । धेरै स्वास्थ्य विज्ञहरूको अनुसार तेस्रो भेरियन्ट पनि आउन सक्ने बताएका छन् । त्यसैले अहिले पनि पालिका सम्पूर्ण स्वास्थ्य संस्थालाई क्रियाशील रूपमा राखेको छ । बाहिरबाट आउने व्यक्ति तथा कोरोनासँग सम्बन्धित लक्षण देखिएका बिरामीको परीक्षण समेत गर्दै आएका छौं । कोभिड व्यवस्थापन समितिलाई उच्चतम सतर्कतामा राख्ने योजना समेत यो आर्थिक वर्षमा समावेश गरेका छौं । हाम्रो पालिकामा हालसम्म ५ सय ५२ जनामा संक्रमणको पुष्टि भएको छ भएको छ भने तिनीहरू मध्ये २ जना नागरिकलाई कोभिडका कारण गुमाएका छौं । चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नी ? हामी निर्वाचित भएर आएको पनि चार वर्ष भएको छ । हामी लिखित प्रतिविद्धताका साथ जनतामाझ गएका थियौं । हामीले घोषणापत्रमा समयसामहिम विषयलाई नै धेरै जसो समेटेका थियौं । हामीले चुनाव अघि विद्युत, खानेपानी, सडक, सिचाइको सुविधा, कृषिलाई उत्पादन मूलक, स्वास्थ्य सेवा प्रत्येक वडामा पुर्याउने, शैक्षिक क्षेत्रको विकास गर्ने र गाउँपालिकालाई नमुना गाउँपालिका बनाउँछौं भनेका थियौं । हामी निर्वाचनमा जाँदा जनतालाई गर्न नसकिने प्रतिबद्धता र आश्वासन दिएका थिएनौं । गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्ने छौं, भनेका थियौं । आफूले गरेका प्रतिबद्धता समय समयमा स्मरण गर्ने गरेको छु । निर्वाचनको समयमा गाउँपालिकालाई सुन्दर, समृद्ध पालिका बनाउने प्रतिबद्धता व्यक्त गरेको थिएँ । अहिले ती काम धेरै पुरा भइसकेका छन् । केहि समय अगाडीमात्र गाउँसभामा हामीले गरेका प्रतिबद्धता र कामको संमिक्षा तथा छलफल चलाएका थियौं । केही काम वाहेक हामीले चुनावमा गरेको प्रतिबद्धता भन्दा धेरै काम गरेका छौं । यस्तो भन्दै गर्दा हामी र नागरिकले देखेको सपनाहरू सबै पुरा भए भन्ने होइन । हामीले गर्नु पर्ने काम अझै बाँकी नै छ । कार्यकालको अन्तिममा पनि हुनु हुन्छ, आगमी योजनाहरू के–के छन् ? हामीले ५ वर्षको अवधिमा वार्षिक योजनाहरू पारित गर्ने र यसलाई कार्यान्वयन गर्ने काम निरन्तर हुने नै भए । यो बिचमा हामीले गाउँपालिकाको समग्र उन्नतिको लागि १५ वर्षीय गुरु योजना पनि काठमाडौं विश्वविद्यालयसँग मिलेर बनाएका छौं । उक्त विश्वविद्यालयको राम्रो टिमलाई हायर गरी १५ वर्षको रूपान्तरण कारी योजना बनाएका छौं । हाम्रो पालिकाको जति पनि वर्षक कार्यक्रमहरू छन् तिनीहरूको काम उक्त गुरु योजनाले गर्दा छ । त्यही गुरु योजना अन्तर्गत हामीले यस क्षेत्रलाई स्वास्थ्य, सुन्दर र समृद्ध दुहँ बनाउने परिकल्पना हाम्रो छ । हामी यही योजना अनुसार अगाडि बढ्ने छौं । तपाईंहरुको पालिका पर्यटकीय स्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार साथै विकास कसरी गरिरहनुभएको छ ? कुनै पनि क्षेत्रको विकासको लागि योजना चाहिँदो रहेछ, त्यसैले हामीले पर्यटन क्षेत्रको विकास गर्नको लागि गुरु योजना सम्पन्न गरेका छौं । हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । यहाँ पर्यटकिय स्थल पनि धेरै छन् भने पर्यटन विकासको लागि पनि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपूर्ण मानिन्छ । पालिकामा रहेको मठमन्दिरको संरक्षण गरी मन्दिरको निर्माण गरिरहेका छौं । शिद्धटोपी, पासा दह धार्मिक तथा पर्यटकिय स्थलको रूपमा निकै चर्चित छन् । मठमन्दिरको निर्माण गर्दा ठुलो खर्च हुने भएकाले प्रदेश सरकारसँग बजेटको अपिल पनि गर्दै आएका छौं, त्यसैले हामी संघीय सरकार र प्रदेश सरकारसँग समन्वय गरेर अगाडि बढि रहेका छौं । गाउँपालिकामा आन्तरिक तथा वाह्य पर्यटक ल्याउन हामीले जोड दिइरहेका छौं । प्राकृतिक रूपले हाम्रो गाउँपालिका निक्कै सुन्दर रहेको छ । देशका विभिन्न ठाउँबाट यहाँ मानिसहरू आउने गरेका छन् । पर्यटन विकासले रोजगारीको पनि सृजना गर्ने भएकाले पर्यटन विकासमा पनि हामीले जोड दिइरहेका हौं । पर्यटन विकासको निमित्त हामीले नेपालकै दोस्रो लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । पर्यटन विकासले आर्थिक विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ । पर्यटन, बन्जीजम्प लगायतको खेलको लागि पनि उक्त पुल निर्माण हुने भएको छ । गाउँपालिका वडा नं. २ हिकिलाको माथिल्लो क्षेत्रमा पर्ने शिद्धटोपीमा भ्यु टावर निर्माण भैसके पछि आन्तरिक पर्यटकहरूको आगमनमा वृद्धि भएको छ । गाउँपालिकाले दार्चुला जिल्लाका अरू स्थानीय तहभन्दा नयाँ गरेको काम के हो ? कामको प्रक्रिया हेर्दा सबैको उद्देश्य र लक्ष्य एउटै होला । गाउँपालिकाले दार्चुला जिल्लाको अरू स्थानीय तहमध्ये केही न केही त फरक गरेको महसुश गरेका छौं । सुरुवाती चरणदेखि नै पालिकालाई अलिकति फरक तरिकाले अगाडि बढाउनु पर्छ भनेर हामी लाग्र्यौं । हामी पूर्वाधारमा मात्रै जोड नदिएर सामाजिक, आर्थिक शक्तिकरण कसरी हुन सक्छ भन्नेमा अलिक बढि जोड दिएका हौं की भन्ने हाम्रो बुझाई हो । सडक, भवन बनाउने भन्दा पनि महिलाहरूलाई आय आर्जनमा कसरी जोडन सकिन्छ भन्नेतर्फ हामीले विशेष जोड दिएका छौं । युवाहरूको लागि उपाध्यक्ष स्वरोजगार कार्यक्रम पनि पालिकामा लागु भएको छ । विकास भनेको सडक पुग्नु मात्र होइन जनताको जीवन स्तरमा रूपान्तरण नआएसम्म भौतिक विकासले मात्रै हाम्रो आवश्यकता पुरा हुन सक्दैनन् भन्ने मर्मलाई बुझ्दै हामी अगाडि बढेका छौं । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? ‘स्वास्थ्छ दुहुँ, सुन्दर दुहुँ, समृद्ध दुहुँ’ भन्ने हाम्रो पालिकाको नारा छ । यही नारालाई हृदयंगम गर्दै पालिकाको विकास गर्ने हाम्रो योजना छ त्यसैले यो अभियानमा सम्पूर्ण दुहुँबासी नागरिकहरुले हामीलाई साथ, सहयोग, सुझाव, आलोचना, टिप्पणी गरिरहनु भएको छ हाम्रो निमित्त यो अत्यन्त मार्गदर्शक छ । हामीले दुहुँ गाउँपालिकाको उन्नति, प्रगतिका निमित्त नागरिकहरुले दिने सल्लाह सुझाव तथा सहयोगको अपेक्षा गर्दै विभिन्न प्रकारका चुनौतीहरू जस्तै कोभिड, बाडी पहिरोको सामना गर्नको लागि पालिकाले ल्याएको अभियान तथा कार्यक्रम अहिलेसम्म जसरी साथ दिनुभएको छ त्यही ढंगबाट नागरिकहरुले साथ दिनुहुन अनुरोध गर्दछु । दुहुँलाई संवृद्ध बनाउने अभियानमा सबैले मिलेर हातेमालो गरौं पनि भन्न चाहन्छु ।

पालिकाका प्रत्येक वडामा सडक पुर्याएका छौं – गाउँपालिका अध्यक्ष रोकाया

सुदूरपश्चिम प्रदेश अन्तर्गतको डोटी जिल्लामा पर्ने एउटा सुन्दर एवं रमणीय गाउँपालिका हो आदर्श गाउँपालिका । मुलुक संघीयतामा गइसकेपछि बिस्तारै विकासका लहरहरू गाउँ–गाउँमा पुग्दैछन् । स्थानीय तहका जनप्रतिनिधिहरु निर्वाचित भएको पनि चार वर्ष बितिसकेको छ । यो अवधि भर सञ्चालन भएका विकास निर्माणको काम पुरा गर्न जनप्रतिनिधिहरू दिन रात खटि रहेका छन् । यस गाउँपालिकामा पनि विकास निर्माणको कामले तीव्रता पाएको छ । यस गाउँपालिकाका अध्यक्ष हुन् टेक बहादुर रोकाया । उनी निर्वाचित भएर आइसकेपछि शिक्षा, स्वास्थ्य, सडक निर्माण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरी रहेका छन् । उनै अध्यक्षसँग पालिकाले अघि सारेका आर्थिक विकासको रणनीति, उद्यमशीलता र रोजगारी प्रवर्धनमा पालिकाको नीति, पालिकाले गरेको विकास निर्माणको काम कस्तो छ र समग्र पालिकाका विषयमा केन्द्रित रहेर विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सम्पादित अंश : तपाईंको पालिकामा संक्रमणको अवस्था कस्तो छ, कोभिडरोकथाम तथा न्यूनीकरण लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू गरिरहनुभएको छ ? कोभिड–१९ बाट हाम्रो पालिका पनि अछुतो रहन सकेन । संक्रमणलाई रोक्ने प्रयत्न हुँदाहुँदै पनि पालिकामा संक्रमण तीव्र किसिमले फैलिन गयो । तर, पालिकामा पछिल्लो समय संक्रमणको अवस्था सामान्य छ । संक्रमित भएका नागरिकहरू पनि धेरै निको हुनु भएको छ । गाउँपालिका, वडा र टोलस्तरीय कोरोना भाइरस रोकथाम नियन्त्रण तथा उपचार समन्वय समितिलाई क्रियाशील बनाएका छौं भने पालिकाले गाउँवासीको जीवन रक्षाका लागि सीमित स्रोत साधनहरूलाई परिचालन गरिरहेको छ ।संघीय सरकारको समन्वयमा सबै नागरिकहरूलाई खोपको सुनिश्चितता गर्न पहल गरेका छौं भने पालिका भित्र रहेका स्वास्थ्य संस्थाहरूलाई सक्रियतापूर्वक परिचालन गरेका छौं । कोभिडकै कारण हामीले पालिकाका २ जना नागरिकलाई गुमाएका छौं । नागरिकहरूलाई सशक्तीकरण र चेतनामूलक कार्यक्रम सञ्चालन गरेका छौं । लक्षण देखा परेका वडाका टोल बस्तीहरूमा एन्टिजेन परीक्षण मार्फत पहिचान गरेका छाैं । चार वर्षको अवधिमा आदर्श गाउँपालिकामा भएका विकास के–के हुन् ? पालिकामा विकास निर्माणको कामहरू धेरै भएका छन् । जस अन्तर्गत पूर्वाधारतर्फ सडक निर्माण भएको छ । कच्ची भए पनि ७ ओटै वडामा सडक पुर्याउन सफल भएका छौं । पालिकाका धेरै जसो वडाहरू दुर्गम थिए । जहाँ करोडौं रुपैयाँ बजेट खर्च गरी ती वडामा पनि सडक पुर्याउने काम भएको छ । गाउँपालिकाको प्रत्येक वडामा इन्टरनेटको सेवा पुर्याएका छौं । हाम्रो पालिकामा खानेपानीको चरम अभाव छ । हामीले खानेपानीको आयोजना सञ्चालन गरी खानेपानीको काम पनि गरिएको छ । नागरिकलाई सरल र सहज रूपमा स्वच्छ खानेपानीको सुनिश्चित गर्नतर्फ पनि हामी लागेका छौं । कतिपय ठाउँमा सिचाई पोखरी पनि निर्माण भएको छन् । पालिकाका कति पय वडाको वडा कार्यालय भवन पनि निर्माण भएका छन् । गाउँपालिकाको प्रशासनिक भवन नभएको कारण सेवा प्रवाहमा धेरै समय थियो भने घर भाडामा लिएर सेवा प्रवाह गरी रहेको थियौं । हाल हामीले गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उक्त भवन ७ करोड रुपैयाँको लागतमा निर्माण भएको हो । सामाजिक विकासतर्फ विद्यालयका भवनहरू निर्माण भएका छन् । त्यस्तै शिक्षा स्वास्थ्य क्षेत्रमा प्राविधिक व्यावसायिक शिक्षा सबैका लागि, शिक्षा समावेशी र गुणस्तर बनाउने, स्वास्थ्य क्षेत्रमा सुलभ र सहज पहुँचको व्यवस्थापन गर्ने समेत काम भएका छन् । विद्यार्थी अनुपातमा अनुदान तथा दरबन्दीको प्रक्रिया अगाडि बढाएका छौं । पालिकाले स्वास्थ्य क्षेत्रमा राम्रो नै प्रगति भएको छ । जहाँ स्वास्थ्यचौकीहरू थिएनन् त्यहाँ सामुदायिक स्वास्थ्य सेवाको स्थापना भएको छ । कतिपय ठाउँमा स्वास्थ्यका भवनहरू पनि निर्माण हुने प्रक्रियामा छन् । पालिकाको एक मात्र क्षेत्रमा नभई हरेक क्षेत्रमा सुधार र परिवर्तन आएको छ । अब कृषि क्षेत्रको प्रसंग जोडौं, गाउँपालिकाले कृषि क्षेत्रमा हलसम्म गरेको उपलब्धिबारे बताईदिनुहोस् न हामीले सुरुवातदेखि नै कृषिलाई प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएको थियौं । नागरिकको आर्थिक विकासका लागि कृषि र पशुतर्फ पकेट क्षेत्रको रूपमा विकास गरेका छौं । हाम्रो पालिकामा प्रयप्त मात्रामा सिचाइको सुविधा छैन । संवादित ठाउँको पहिचान गरी तरकारी फलफूल आदिको काम गर्दै आएका छौं । गाउँपालिकाले अनुदान, प्रोत्साहन, साझेदारीका कार्यक्रम सञ्चालन गरी कृषकहरूलाई व्यवसायिक कृषि पेसामा लाग्न प्रेरित गरेका छौं । तरकारी फलफूल कुखुरा, दुध उत्पादनमा आत्मनिर्भर हुनेको लागि आवश्यक काम गर्दै कृषि क्षेत्रको काम गरेका छौं । तरकारीमा आत्मनिर्भर बनाउने दिशातर्फ उन्मुख बनाई कृषकलाई सहकारी समन्वय सहकार्यमा उत्पादन तथा आर्थिक क्रियाकलापलाई वृद्धि गरी रोजगारी सिर्जना गर्ने काम भएको छ । चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नी ? निर्वाचित पदाधिकारीहरूको कार्यकाल चार वर्ष सकिएको छ । हामी निर्वाचनमा जाँदा जनतालाई गर्न नसकिने प्रतिबद्धता र आश्वासन दिएका थिएनौं । गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्ने छौं, भनेका थियौं । आफूले गरेका प्रतिबद्धता समय समयमा स्मरण गर्ने गरेको छु । निर्वाचनको समयमा गाउँपालिकालाई सुन्दर, समृद्ध पालिका बनाउने प्रतिबद्धता व्यक्त गरेको थिएँ । अहिले ती काम धेरै पुरा भइसकेका छन् । खर्चिलो र भौगोलिक विकटता विकासका लागि बाधकका रूपमा देखापरेको छ । मैले चुनावको बेला जनतालाई धेरै भाषण गरेको थिएन । कति पूरा भए कति हुन बाँकी छन् । हामीले चुनाव अघि विद्युत, खानेपानी, सडक, सिचाइको सुविधा, कृषिलाई उत्पादन मूलक, स्वास्थ्य सेवा प्रत्येक वडामा पुर्याउने, शैक्षिक क्षेत्रको विकास गर्ने र गाउँपालिकालाई नमुना गाउँपालिका बनाउँछौं भनेका थियौं । यस बिचमा हामीले दिनरात केही नभनी काम गरेका छौं । हामीले तत्कालीन र दीर्घकालीन योजनाहरू बनाएका थियौं । यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटनलाई समेटेर घोषणापत्र जारी गरेका थियौं । जसमध्ये हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका धेरै कामहरू सकिसकेका छौं । तर, हामीले गर्नु पर्ने काम अझै बाँकी नै छ । तपाईंले जनप्रतिनिधिको हैसियतमा ४ वर्षको अनुभव बटुल्नुभएको छ, यो अवधिमा स्थानीय तहमा देखिएका समस्या कस्ता छन्, र संघ तथा प्रदेश सरकारले स्थानीय तहलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ? स्थानीय सरकार नागरिकको घर आँगनको सरकार हो । सहज र असहज परिस्थितिका बाबजुद पनि हामी अघि बढेर चार वर्ष पूरा गरेका छौं । जनतासँग नजिक भएर सिंहदरबारको अधिकार गाउँगाउँम पुर्याउने संवैधानिक व्यवस्था कार्यान्वयन गर्ने गरी हामी अघि बढिरहेका छौं । जनताका सानासाना कुरा पनि स्थानीय सरकारसँग जोडिएको हुन्छ । संघ र प्रदेशले हेर्ने दृष्टिकोणमा भने अलिक फरक छ । सहयोग त पालिकालाई भइरहेको छ । विकास निर्माण गर्नको लागि बजेट पनि संघ प्रदेश सरकारबाटै आउने गरेको छ । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिका भित्र के गर्ने लक्ष्य राख्नुभएको छ ? अब बाँकी रहेका कार्यकाल भनेको हामी नागरिक लागि समय खर्च गर्छौं । हामीले जति पनि काम सञ्चालन गरेका छौं त्यसलाई चाहिँ जनताको बिचमा परिणाम देखाउने ठंगले अगाडि बढ्नु पर्छ भन्ने तयारी गरेका छौं । हामीले गाउँसभा सम्पन्न गर्यौं भने गाउँसभामार्फत नै बजेट२०७८/७९ विनियोजन गर्यौं । पूर्वाधार विकास, सामाजिक विकास, पर्यटनमा बजेट छुट्याएका छौं । खानेपानीको चरम अभाव भएकाले हाम्रो पालिकामा खानेपानीको पनि व्यवस्थापन गर्ने भनेका छौं । यो हाम्रो कार्यकालको अन्तिम बजेट पनि हो । अहिलेको नीति तथा कार्यक्रम विशेष गरी हामीले सञ्चालन गरेका कार्यक्रम जुन अपुरा अधुरा छन् तिनीहरूलाई पूर्ण गर्ने ढंगले बजेट ल्याएका छौं । अहिलेको बजेट उत्पादनमूलक काममा केन्द्रित छ । भौतिक पूर्वाधारतर्फ स्वास्थ्यचौकी भवन, विद्यालय भवन निर्माणका साथै समग्र पालिकाकै विकास निर्माणमा पनि जोड दिएका छौं । हामीले सञ्चालन गरेका तर पुरा नभएका योजनाहरूलाई पुरा गर्ने पनि हाम्रो लक्ष्य छ । स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नको लागि कस्ता प्रयासहरू भएका छन् ? रोजगारी सिर्जना गर्नको लागि हामीले यस्ता ठुलठुला काम गर्न सक्ने परिस्थितिमा छैनौं । पालिकामा विभिन्न युवा स्वरोजगारका कार्यक्रमहरू रहेको छ । केही युवालाई विकास निर्माणका काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेशामा संलग्न छन् भने हामीले पनि युवालाई कृषि क्षेत्रमा जोडिन पनि आग्रह गरेका छौं । पालिकामा युवाको समूह गठन गरी उनीहरूको सिप र क्षमता अनुसारको काम गर्नुहोस् र पालिकाले गर्न सक्ने सहयोग गर्छ भनेकै छौं । युवाले योजना बनाएर आए भने उनीहरूलाई गाउँपालिकाले लगानी गरिदिन्छ । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? स्थानीय सरकार सञ्चालन भइसकेपछि हामीले पारदर्शीको कुरालाई एकदमै ख्याल गरेका छौं । गाउँवासीहरूले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । नागरिकको समस्यालाई समाधान गर्न हामी तत्पर छौं । हामी गर्ने सक्ने कुराको सहमति तथा सहकार्य गरी अगाडि बढौं भन्नेर सन्देश पनि दिन चाहन्छु । हामी नागरिकका जनप्रतिनिधि हौं, त्यसैले हामीलाईसरसल्लाह सुझाव पनि दिन अनुरोध गर्छु । हामीले गरेको काममा कमी कमजोरी छन् भने त्यसलाई औंल्याइदिएर हामीलाई सच्चिने अवसर प्रदान गर्नुहुन पनि अनुरोध गर्छु ।