‘व्यवसायी बन्न चाहने युवाका लागि ऋणको व्यवस्था गरेका छौं, तर ऋण चाहियो भनेर कोही आएका छैनन्’
शान्तिनगर गाउँपालिका लुम्बिनी प्रदेश अन्तर्गत दाङ जिल्लाको पश्चिमी उत्तरतर्फ पर्दछ । यो गाउँपालिका प्राकृतिक स्रोत साधनका साथै धार्मिक तथा ऐतिहासिक सम्पदा, कला, सांस्कृतिक एवं पर्यटन लगायतका पक्षमा निक्कै धनी छ । यस गाउँपालिकाका अध्यक्ष हुन् कमानसिंह डाँगी । उनी जनप्रतिनिधिको रूपमा निर्वाचित भएर आएपछि गाउँपालिकाको स्वरुप नै परिवर्तन हुँदै गएको छ । गाउँपालिका समृद्धिको अभियानमा लागी परेको छ । भौतिक पूर्वाधारका दृष्टिकोणले पनि नमुना काम गर्दै गाउँपालिका अगाडि बढिरहेको छ । उनै अध्यक्ष डाँगीसँग गाउँपालिकाले हालसम्म गरेका उपलब्धि, विकास निर्माणको काम र भावी योजनाबारे विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानीको सार : तपाईं निर्वाचित भएपछि गाउँपालिकाले हासिल गरेका उपलब्धि के–के हुन् ? हामी निर्वाचित भएपछि पालिकामा धेरै कुराहरूमा उपलब्धि भएको छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य, यातायात लगायतका भौतिक पूर्वाधारको क्षेत्रमा धेरै राम्रो काम गरेको छ । हामी निर्वाचित हुनुभन्दा अघि पालिकामा ३ ओटामात्र स्वास्थ्यचौकी थियो । हाल हामीले पालिकाको प्रत्यके वडामा स्वास्थ्यचौकीको स्थापना गरी नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवाको पहुँचसम्म पुर्याएका छौं । हामी निर्वाचित भएर आउने बेलामा वडा कार्यालयसम्म मात्र सडक पुगेको थियो । हाल हामीले पालिकाको प्रत्येक टोलमा सडक संजाल पुर्याएका छौं । पालिकाले सडक विस्तारलाई मुख्य प्राथमिकतामा राखी पिच गर्ने र स्तरोन्नति गर्ने कार्यलाई निरन्तरता दिइरहेका छौं । प्रत्येक वडाका सडकलाई पिच गर्ने कामको पनि सुरुवात गरेका छौं । हामीले पालिकामा पहिलो वर्ष नै गरिब तथा विपन्न परिवारलाई लक्षित गरी खरको छानोमुक्त अभियान सञ्चालन गरेका थियौं । उक्त अभियान अन्तर्गत पहिलो वर्ष एक सय २२ घरलाई जस्तापाता उपलब्ध गराइएका थियौं । केही समय महामारीका कारण यो कार्यक्रम स्थगित भयो तर, यो अभियानलाई पालिकामा हाल निरन्तरता दिइरहेका छौं । पालिकामा खानेपानी, सिचाई सम्बन्धी काम पनि भएको छ । शिक्षा क्षेत्रतर्फको कुरा गर्दा हामीले पालिकाको प्रत्येक विद्यालयमा मन्टेश्वरी कक्षा सञ्चालन गरी पठन पाठनको सुरु गरेका छौं । पालिकाले गुणस्तरीय शिक्षालाई विशेष जोड दिँदै आएको छ । गाउँपालिकामा कृषि क्षेत्रतर्फ कस्तो कामहरू भएका छन् नी ? गाउँपालिकाले कृषि क्षेत्रमा पनि धेरै काम गरेको छ । नागरिकको आय आर्जनको मुख्य स्रोत कृषि हो । यहाँका ८२ प्रतिशत नागरिकहरुले कृषि पेसा अँगालेका छन् । गाउँपालिकामा जीवन निर्वाहका लागिमात्र नभई आफ्नो घरायसी आवश्यकताको परिपूर्ति गर्न र अतिरिक्त आयआर्जन गर्नका लागि कृषकले पशुपालन गर्ने गरेको पाइन्छ । कृषिलाई व्यवसायीकरण गर्न पनि पालिकाले किसानहरुलाई आग्रह गरेको छ । हामी कृषि क्षेत्रलाई आधुनिकीकरण गर्नतर्फ पनि लागेका छौं । कृषि पेसा गर्ने कृषकहरुलाई पालिकाले प्रोत्साहन पनि गर्दै आएको छ । हामीले पालिकालाई ३ ओटा खण्डमा विभाजन गरी कृषिका कामहरू अगाडि बढाएका छौं । जस्तै, पालिकाको माथिल्लो भेगलाई बाख्रा, बिचलाई भैंसी र दक्षिणी भेगलाई गाई पकेट क्षेत्रको रूपमा छुट्याएका छौं । गाउँपालिकाले २५ ओटा गाई ५० प्रतिशत अनुदानमा किसानहरूलाई वितरण गरेको छ भने कृषिका विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ । कोरोना रोकथाम तथा न्यूनीकरणको लागि गाउँपालिकाको तर्फबाट कस्ता प्रयासहरू भएका छन् ? विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसको असर पालिकामा पर्यो । यस महामारीबाट पालिका पनि अछुतो रहन सकेन । यस महामारीबाट बच्नको लागि जनचेतना जगाउने, मास्क र स्यानिटाइजर वितरण गर्ने गर्नुका साथै साबुनपानीले हातधुने कार्यमा जागरण ल्याउने काम पनि गरेका छौं । परीक्षण देखि क्वारेन्टिन व्यवस्थापन गर्नमा पनि पालिकाले महत्वपुर्ण भूमिका निर्वाह गरेको छ । पालिकामा संक्रमितको संख्या बढ्दै जाँदा कोभिड अस्पताल पनि सञ्चालनमा ल्याएका छौं । कोरोना भाइरसबाट यहाँका नागरिकलाई सुरक्षित राख्न गाउँपालिकाले ठुलो पहल गरेको छ । परीक्षण गर्दा पालिकामा हालसम्म लगभग १ सय १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोभिडका कारण पालिकाका ५ नागरिकहरूलाई गुमाएका छौं । स्थानीय सरकारमा काम गरेको ४ वर्ष परा हुँदा काम गर्दै जाँदा के–कस्ता चुनौती र समस्या आए त ? स्वभाविकरूपले काम गर्दैगर्दा समस्याहरू आउँछन् नै । समस्यालाई सकेजति समाधान गरेर अगाडि बढेका छौं । सुरुमा सघीयताको अभ्यास गर्दैगर्दा ऐन तथा विभिन्न नीति नियम बनाउनको लागि केही समय लाग्यो । सुरुसुरुमा स्थानीय सरकारमा कर्मचारी अभावका कारण थुप्रै चुनौती र कठिनाइहरू सामना गर्नुपर्यो । कर्मचारी अभावका कारण दैनिक प्रशासन सञ्चालन गर्न समेत स्थानीय तहलाई हम्मेहम्मे परेको थियो । केही समयसम्म योजना सञ्चालन गर्न पनि अप्ठ्यारो भयो । हाल हामीलेस्थानीय सरकार सञ्चालन ऐन तथा विभिन्न नीति,नियम र कानुनहरू बनाई स्थानीय सरकारका अधिकारका क्षेत्र प्रष्ट पारिसकेका छौं । गाउँपालिकाले दरबन्दी सिर्जना कर्मचारीहरू पनि राखेको छ । चुनौतीहरूलाई चिर्दै गाउँपालिकाको विकासको गतिलाई अगाडि बढाएका छौं । चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नी ? जनताको आवश्यकता धेरै छन् । हामीले पनि जनताको आवश्यकता अनुसार नै काम गरी रहेका छौं । हामीले यहाँका समसामयिक विषयलाई समेटेर घोषणापत्र जारी गरेका थियौं । हाम्रो घोषणापत्रलाई रुचाएर जनताहरूले हामीलाई गाउँपालिकाको विकास र समृद्धिको जिम्मा दिनुभएको थियो । यस बिचमा हामीले दिनरात केही नभनी काम गरेका छौं । हामीले तत्कालीन र दीर्घकालीन योजनाहरू बनाएका थियौं । हाम्रो पहिलो प्राथमिकता भनेको सुशासन कायम गर्नु थियो । जसलाई हामीले केही महिनामै पूरा गरेका थियौं । हाल हामीले यहाँको भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन लगायत समग्र क्षेत्रको विकास गरेका छौं । चुनावी वाचा त लगभग पूरा गरिसकेका छौं । केही पूरा गर्न पनि बाँकी पनि छन् । पूरा गर्न बाँकी भएका कुराहरूको सम्भाव्यता अध्ययन भइसकेको छ । तर, सबै बोलेका कुरा पुरा गर्न सकिँदैन । चार वर्ष जनप्रतिनिधिका रूपमा काम गर्दाको अनुभव कस्तो रह्यो ? जनताको सेवा गर्न पाउँदा म निकै खुसी छु । जनताको सेवा गर्नको लागि म सदैव तत्पर रहनेछु । त्यस कारणले पनि जनताले मलाई अगाडि बढाउनु भएको हो भन्ने मलाई लाग्छ । हामी जुन उत्साहका साथ निर्वाचित भयौं । त्यसपश्चात जनताका अपेक्षा र चाहनालाई क्रमबद्ध ढंगले पूरा गर्ने कोसिस गरिरहेका छौं । त्यसैले म मात्र नभई नागरिक पनि सन्तुष्ट हुनुहुन्छ भन्ने आशा गरेको छु । संघ तथा प्रदेश सरकारसँग स्थानीय तहको समन्वय कस्तो रह्यो ? फरक पार्टीको नेतृत्व भएर होला संघ र प्रदेश सरकारसँग त्यति राम्रो समन्वय हुन सकेन । कहिलेकाहिँ प्रदेशको गोष्ठी सेमिनारमा गइयो तर, प्रदेशको मन्त्रालय कुन ठाउँमा कुन घरमा छ भन्ने कुरा पनि मलाई थाहा छैन । आफूले जानेअनुसार अनि भ्याएअनुसार समन्वय गरेर नै अगाडी बढिरहेका छौं । प्रदेशका मान्छेसँग चिनेकै भरमा पालिकामा बजेट आउने गरेको छ । संघ र प्रदेशबाट धेरै बजेट आएन, निर्देशन मात्र आयो । स्थानीय नागरिकहरूबाट विकासका कस्ता मागहरू आउने गरेका छन्, नागरिकका मागहरूलाई कसरी सम्बोधन गर्ने गर्नुभएको छ ? गाउँपालिकाबाट जनताले धेरै कुराको अपेक्षा राखेका छन् । टोलटोलमा सडक त पुग्यो तर कालोपत्रे, स्तरोन्नती भए हुन्थ्यो भने कुरा देखिन्छ । भौतिक पूर्वाधारसम्बन्धी धेरै चाहना हुन्छ । जनताका विकासमा माग र आवश्यकता असीमित छन्, हामीले पनि पुरा गर्ने कोसिस गरिरहेका छौ । हामी जनताबाटै निर्वाचित भएर आएका हौं । त्यसैले सीमित स्रोत र साधका बाबजुद पनि जनतको अधिकांश आवश्यकताहरू पुरा गरेका छौं । जनताले महसुस गर्नेगरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । पालिकामा भएको बजेटबाट स्थानीबासिको मागलाई सम्बोधन गर्ने गरेका छौं ।सुरुको वर्षदेखि नै जनताको चाहना र प्रत्यक्ष सहभागितामा काम गरिरहेका छौं । अब तपाईंको बाँकी रहेको कार्यकालमा गाउँपालिका भित्र के गर्ने लक्ष्य राख्नुभएको छ ? अब हाम्रो कार्यकाल धेरै बाँकी छैन । हामीले जति पनि काम सञ्चालन गरेका छौं त्यसलाई जनताको बिचमा परिणाम देखाउने ठंगले अगाडि बढ्नु पर्छ भन्ने तयारी गरेका छौं । हाम्रो कार्यकालको अन्तिमसम्म हामीले सञ्चालन गरेको योजनाहरू पुरा गर्ने लक्ष्य छ । कृषि र पशुपालन क्षेत्रको विकास गर्ने हो । हामीले सञ्चालन गरेका तर पुरा नभएका योजनाहरूलाई पुरा गर्ने योजना समेत बनाएका छौं । विकास निर्माणको कामलाई तीव्रता दिने हो । सिंहदरबारको अधिकार गाउँमा महसुस गर्न पाए त नागरिकले ? हामी शुसासनको लागि प्रतिबद्ध छौं । नागरिकले भन्ने ठाउँ हामीले दिएका छैनौं । काम गर्ने क्रममा कमी कमजोरी सबैबाट हुन्छ । तर, पनि नागरिकलाई हामीले सन्तुष्ट बनाएकै छौं जस्तो लाग्छ । स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नको लागि कस्ता प्रयासहरू भएका छन् ? यहाँका धेरैजसो युवा कृषि पेसामा आवद्ध छन् । कृषि पेसामा आधारित भएर युवाहरू स्वरोजगार बनि रहेका छन् । केही युवालाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । हामीले पालिकाको प्रत्येक वडामा एकसय जनासम्मको श्रमिक बैंक सञ्चालन गरेका छौं । जुनसुकै विकास निर्माणको काम भएपनि श्रमिक बैंक सूचीकृत भएका युवाहरुलाई मात्र काममा लगाउने भनेर हामीले अभियानको रुपमानै सञ्चालन गरेका छौं । तर, यो काम भएको छैन । खालि समयमा यहाँको युवाहरू कामको खेजिमा भारत जान्छन् । हामीले व्यवसायिक बन्न चााहने युवाहरूको लागि सामान्य ऋणको पनि व्यवस्था गरेका छौं । तर, व्यावसायिक बन्छु ऋण चाहियो भनेर हालसम्म युवाहरू आएका छैनन् । पालिकामा विभिन्न युवा स्वरोजगारका कार्यक्रमहरू रहेको छ । गाउँपालिकाका धेरैजसो युवाहरू कृषि पेसामा संलग्न छन् भने हामीले पनि युवालाई कृषि क्षेत्रमा जोडिन आग्रह गरेका छौं । अब, अन्त्यमा पालिकावासीलाई के भन्न चाहनुहुन्छ ? हामीले गरेको कामबाट नागरिकहरू असन्तुष्ट हुनुहुन्छ भने मलाई भन्न सक्नुहुन्छ र मैले गर्नसक्ने काम अझै पनि गर्छु । नागरिकहरूले आफ्नो समस्या हामीसँग खुलस्त राख्नुहुन अनुरोध गर्दछु । सकेसम्म नागरिकका आवश्यकता पुरा गर्नेछौं । हामीले गरेको काममा कमी कमजोरी छन् भने त्यसलाई औंल्याइदिएर हामीलाई सच्चिने अवसर प्रदान गर्नुहुन पनि पालिकावासीसँग अनुरोध गर्छु ।
बूढानीलकण्ठ नगरपालिकामा भौतिकरुपमा पढाइ सुरु
काठमाडाैं । बूढानीलकण्ठ नगरपालिकाका विद्यालय आजदेखि भौतिकरूपमा खुलेका छन् । नगरपालिकाको शिक्षा तथा खेलकुद महाशाखाको निर्णयानुसार नगरपालिकाका विद्यालय भौतिकरूपमा नै सञ्चालन भएका हुन् । काभिड–१९ सङ्क्रमणका कारण लामो समयदेखि बन्द रहेका विद्यालयलाई भौतिक दूरीलगायतका सम्पूर्ण स्वास्थ्य मापदण्ड र सुरक्षा विधि अपनाउँदै कक्षा सञ्चालन गर्न नगरपालिकाले अनुरोध गरेको हो । विद्यालयमा कुनै विद्यार्थी, शिक्षक तथा कर्मचारीमा कोभिडको लक्षण देखिएमा नगरपालिकाले एन्टिजेन परीक्षणका लागि आवश्यक कीटसमेत निःशुल्क उपलब्ध गराउने जानकारी दिएको छ । सरकारले तोकेको मापदण्डभित्र रहेर विद्यालय सञ्चालन भए÷नभएको वडाबाट अनुगमन गरिनेसमेत नगरपालिकाले जनाएको छ । रासस
चुनावी बाचा ८५ प्रतिशत पूरा गरिसक्यौं – नगर प्रमुख फागो
मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिब ५५ किलोमिटर पूर्वोत्तर क्षेत्रमा उर्लाबारी नगरपालिका पर्छ । यस नगरपालिकाले विकास निर्माणका गतिविधिलाई तीव्रता दिएको छ । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन विकासलाई नगरपालिकाले मुख्य प्राथमिकतामा राखेको छ । भौतिक पूर्वाधार विकाससँगै नगरवासीलाई आत्मनिर्भर बनाउने नीति लिएको नगर प्रमुख खड्ग बहादुर फागो बताउँछन् । उनै नगर प्रमुख फागोसँग नगरपालिकाले हालसम्म गरेका उपलब्धि, विकास निर्माणको काम र भावी योजनाबारे विकासन्युजका लागि राजिब न्यौपानेले गरेको कुराकानी : स्थानीय तहमा निर्वाचित भएको चार वर्ष पुरा हुँदा उर्लाबारी नगरपालिका भित्र के कस्ता काम गर्नुभयो ? नगरमा विकास निर्माणका साथै अन्य धेरै कामहरू भएका छन् । हामीले यहाँको पूर्वाधार, शिक्षा, पर्यटन, स्वास्थ्य, कलासंस्कृति, युवा दक्षता अभिवृद्धिलगायत रोजगार सिर्जनाका काममा केन्द्रित भएका छौं । राष्ट्र निर्माणको मेरुदण्ड स्थानीय सरकार बन्न सक्नुपर्छ, भन्ने मान्यता राखि दीर्घकालीन सोचका साथ दिगो विकासका योजना तर्जुमा गरी अगाडी बढेका छौं । प्रतिकूलताकै बिचमा नगरपालिकाका सबै वडामा स्वास्थ्यको पहुँच पुर्याउन सफल भएका छौं । हाम्रो नगरको प्रत्यके वडामा आधारभूत स्वास्थ्य कार्यालयबाट नै नागरिकलाई सेवा प्रधान गरी रहेका छौं । अपाङ्ग, असक्त र ज्येष्ठ नागरिकहरूलाई घर घरमा गएर स्वास्थ्य परीक्षण गर्ने काम गरेका छौं । नगरभित्र सडक निर्माणको काम तीव्र रूपमा भइएका छन् । हामीले पालिकाकामा करिव करिव ३८ किलोमिटर सडकको कालोपत्रे गरेका छौं । पालिकाको प्रत्यके वडामा सडकको पहुँच पुगेको छ । शिक्षा र स्वास्थ्यका लागि भौतिक संरचना निर्माण गर्ने कार्य जारी छ । समग्रमा भन्नुपर्दा नगरपालिकासँग भएको स्रोत र साधनबाट गर्न सकिने कामहरू भएका छन् । यी उपलब्धिसहित नगरपालिकाको हरेक क्षेत्रमा सुधार, परिवर्तन तथा विकास भएका छन् । कृषि क्षेत्रमा कस्तो कामहरू भएका छन् ? नागरिकको आय आर्जनको मुख्य स्रोत कृषि हो । नगरपालिकाले कृषि क्षेत्रको विकासको लागि प्राथमिकताका साथ काम गर्दै आएको छ । नागरिकलाई कृषिमा आकर्षित गर्नेतर्फ लागेका छौं । नगर भित्र कृषिमा उत्पादन मात्र नभई मुख्यतया रासायनिक अन्त्य गर्दै प्राङगारिक मलबाट स्वास्थ्य खाद्य उत्पादन गर्ने तरिकाले काम भएको छ । कृषि विकास रणनीतिले परिलक्षित गरेको कृषि विकासको वृद्धि दर हासिल गर्नको लागि कृषिको व्यवसायीकरण गर्नुका साथै कृषि बजार व्यवस्थामा पनि त्यत्तिकै ध्यान दिनका छौं । कृषकलाई विभिन्न किसिमका जस्तै, धान काट्ने, जोत्नेर औजारहरू पनि वितरण नगरले गरेको छ । कृषिका विभिन्न तालिम पनि नगरमा सञ्चालन हुँदै आएका छन् । नगर र कृषकको साझेदारीमा अनुदान, प्रोत्साहन आदि काम गर्दै आएका छौं । उत्पादनमा कृषकलाई कसरी अभिवृद्धि गर्न सकिन्छ र थोरै लागतले धेरै आम्दानी लिने तरिकाले काम गरी रहेका छौं । त्यसको लागि कृषि प्रविधिको योगदान पनि अत्यन्तै महत्वपूर्ण छ । ग्रामीण क्षेत्रको कृषि आय तथा खाद्य सुरक्षा सुनिश्चित गर्न भूमि तथा श्रम उत्पादकत्व वृद्धि गर्न काममा पनि अगाडि बढिएको छ । कृषिलाई व्यावसायिकीकरण, कृषि बजारमा सहज पहुँच तथा जैविक प्रविधिहरूको संयुक्त प्रयासबाट काम गरी रहेका छौं । उद्यमशीलता वृद्धि गर्न पशु र कृषिमा कृषकको आकर्षण बढाउन लक्ष्यका साथ नगरपालिका अगाडी बढाएको छ । काम गर्ने क्रममा कस्ता चुनौती भोग्नुभयो र यसको सामना कसरी गर्नु भयो ? सङ्घीयता कार्यान्वयनको सुरुवाती चरणमा काम सुरु गर्नुपर्ने भएको कारण धेरै चुनौती सामना गर्नुपर्याे । राज्य पुनर्संरचनाको निर्णयअनुसार साबिकका गाविस समायोजन भई स्थानीय तह बनि सकेपछि सरकारको प्रत्याभूति जनतालाई दिनु पर्यौ । त्यस कारणले कानुन, ऐन, नियम बनाई, पूर्वाधारको विकास गर्दै कार्य सम्पादन गर्नुपर्ने भएकोले केही समस्या पनि भयो । सीमित बजेट, कर्मचारीको अभाव, शून्यमा रहेको पूर्वाधार विकास, नगरपालिकालाई भौतिक संरचना नहुनु लगायतका धेरै समस्या थिए । यी चुनौतीको सामना गर्दै वा चुनौती भित्र अवश्य खोज्दै हामीले कार्य सम्पादन गरी रहेका छौं । चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नी ? हामी निर्वाचित भएर आएको पनि चार वर्ष भइसकेको छ । हाल हामीले घोषणापत्रमा लेखेका कुरा तथा निर्वाचित हुँदा बोलेअनुसारका ८५ प्रतिशत कामहरू सकिसकेका छौं भने पालिकामा थप कामहरू भएका छन् । हामी लिखित प्रतिविद्धताका साथ जनतामाझ गएका थियौं । गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्ने छौं, भनेका थियौं । त्यो अनुसार काम पनि भएको छ । चुनावी प्रतिबद्धता पूरा गर्न हामी सदैव लागिरहेका छौं । निर्वाचनमा जनतामाझ गरिएका अधिकांश प्रतिबद्धता पूरा भएका छन् । हाम्रो पालिका भित्र भएका काम उत्कृष्ट नै छ भन्ने लाग्छ । बाँकी एक वर्षको अवधिमा कस्ता काम गर्ने योजना छ ? हाम्रो कार्यकाल एक वर्ष मात्र बाँकी छ । पूर्वाधार विकासलाई नगरपालिकाले चलायमान गतिमा अगाडि बढाइरहेको छ । जनताका आधारभूत आवश्यकतालाई कसरी पूर्णता दिइन सकिन्छ भनेर छलफल पनि गरी रहेका छौं । आर्थिक विकासलाई कसरी टेवा पुर्याउन सकिन्छ भन्नेतर्फ पनि हाम्रो ध्यान केन्द्रित छ । सामाजिक विकासतर्फ स्वास्थ्य शिक्षामा गुणस्तर बनाउने योजना छ । यो अवधिमा मुख्यगरी नमुनायोग्य काम अगाडि बढाउने छौं । अधुरा कार्य अगाडि बढाइने छ । विशेष गरी पूर्वाधार, सामाजिक, आर्थिक जनताको आवश्यकता पुरा गर्ने काममा हामी केन्द्रित हुने छौं । युवा स्वरोजगार नगरपालिकाले कसरी गरिरहेको छ ? हाम्रो पालिकाको मात्र नभई देशको सबैभन्दा चुनौतीको रूपमा रहेको समस्या मध्ये बेरोजगारी पनि एक हो । बेरोजगारी समस्याका कारण दैनिक हजारौं युवाहरू बिदेसिनुपर्ने बाध्यता र विवशता छ । बिदेसिएका केही युवाहरू पनि गाउँमै फर्किएर पशुपालन तथा कृषि पेसातर्फ लागेका छन् । युवा शक्तिलाई गाउँमै रोजगारीसँगै आय आर्जनका सम्भावनामा उत्प्रेरित गराउनको लागि जोड पनि दिइरहेका छौं । हाम्रो पालिकाकोतर्फबाट युवालाई रोजगार बनाउनको लागि भनेर नै विभिन्न स्वारोजागरका कार्यक्रमहरू सञ्चालन गर्दै आएका छौं । युवालाई टेकनिकल, ड्राइभिङ जस्ता तालिम पनि दिँदै आएका छौं । युवालाई उद्यमशील विकास तालिम दिनु पर्छ भनेर हामी लागिपरेका छौं । पढ्न चाहने युवाहरुलो लागि नगरपालिकाले निःशुल्क लोकसेवाको तयारी कक्षा पनि सञ्चालन गर्दै आएका छौं । हालसम्म पालिकका धेरै युवाहरुले लोकसेवाको तयारी गरी उक्तर्ण पनि भएका छन् । कतिपय युवाहरूलाई भने विकास निर्माणको काममा लगाएका छौं । यो कोभिडपछि आएको बेरोजगारीको सम्बन्धमा हामीले मुख्यतः कृषिमा आधारित व्यवसाय सञ्चालन गरेर रोजगारी दिने सोच बनाएका छौं । अब, अन्त्यमा आफ्ना पालिकाका वासिन्दाहरुलाई के भन्न चाहनुहुन्छ ? हाम्रो गरेको धेरै कामको महशुस नगर वासिले नै गर्नु नै भएको छ । लालपुर्जा दिने काम चाहिँ अलिक सुस्त भई रहेको छ । लामो समयदेखि बसोबास गर्दै आएका भूमिहीन सुकुम्वासीलाई लालपुर्जा वितरण गर्ने बाँकी छ । यस काममा पनि छिटै गर्ने छौं भन्न चाहन्छु । नागरिकहरूले आफ्नो समस्या हामीसँग खुलस्त राख्नुहुन अनुरोध गर्दछु । सकेसम्म नागरिकका आवश्यकता पुरा गर्ने छौं । हामीले गरेको काममा कमी कमजोरी छन् भने त्यसलाई औंल्याइदिएर हामीलाई सच्चिने अवसर प्रदान गर्नुहुन पनि अनुरोध गर्छु ।