अबको ५ वर्षमा हाम्रो गाउँपालिका अन्य गाउँपालिकालाई लोन दिन सक्षम हुनेछ – अध्यक्ष खड्का

बागमती प्रदेश अन्तर्गत दोलखा जिल्लामा पर्ने ‘विगु गाउँपालिका’ ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिकरुपले फरक विशेषता बोक्न सफल गाउँपालिकाका रुपमा चर्चित छ । दोलखा जिल्लाको प्रसिद्ध पर्यटकीय स्थल ‘बिगु गुम्बा’ को नामबाट नामाकरण गरिएको यस गाउँपालिकामा जम्मा ८ ओटा वडाहरु रहेका छन् । यस गाउँपालिकाको सिमाना पूर्वतर्फ गौरीशंंकर गाउँपालिका, पश्चिममा भोटेकोशी गाउँपालिका अनि उत्तरमा विशाल चिन पर्दछ भने दक्षिणमा चाहिँ यसै जिल्लाको कालिञ्चोक गाउँपालिका रहेको छ । ४ हजार ४ सय २८ जम्मा घरधुरी संख्या रहेको यस गाउँपालिका क्षेत्रमा यार्सागुम्बा, पाँचऔंले, सर्पगन्ध, चिराईतो, धुपी लगायतका जडिबुटीहरु पाइन्छन् । यस गाउँपालिकाको व्यापारिक केन्द्र सिंगटी बजार हो भने सो बजार नै गाउँपालिका प्रवेश गर्ने मुख्य द्वार पनि हो । गाउँपालिकाका ठुला योजना तथा परियोजनाहरु के के छन् ? जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भैसकेपछि गाउँपालिकामा कस्ता खाले परिर्वतन देखिएका छन्, रोजगारी सृजना गर्नमा गाउँपालिकाले कस्तो भूमिका खेलेको छ भन्नेलगायतका विषयमा केन्द्रीत हुँदै सो गाउँपालिकाका अध्यक्ष युधिष्ठिर खड्कासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् : सर्वप्रथम कृषिबाटै शुरु गरौं, गाउँपालिकाले कृषिक्षेत्र तर्फ के–कस्ता कामहरु गर्दै आएको छ ? कृषि क्षेत्रको विकासका लागि गाउँपालिकाले विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ । पशुपालन कार्यक्रम ल्याइएको छ भने जमीन बाँझो नरहोस् भन्नका खातिर अनुदानको रुपमा कृषकहरुलाई हाते ट्रयाक्टर वितरण गरिएको छ । प्लास्टिक टनेलहरु वितरण गरेका छौं भने फलफुल र तरकारीका विउ पनि निःशुल्क वितरण गरेका छौं । कृषिको लागि मलको व्यवस्थापन गर्ने काम हामीले गरिरहेका छौं । राम्रो कृषि उत्पादन गर्ने कृषकले यहाँ १० लाख रुपैयाँ सम्मको कवि खेति गरिरहेका छन् । गाउँपालिकाका कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका होलान् ? बिगु गाउँपालिका भनेको ग्रामीण क्षेत्र नै हो । ग्रामीण क्षेत्रका नागरिकहरु जहाँपनि प्रायः कृषि पेशामा नै आवद्ध भएका पाइन्छन् । हाम्रो गाउँपालिकाका करिव ९० प्रतिशत बढि नागरिकहरु कृषि पेशामा आवद्ध भएको पाएको छु । गाउँपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ? गाउँपालिकामा अहिलेसम्म भएका विकास निर्माणको कामहरु प्रभावकारी नै भएका छन् । हामीले आशा गरेअनुरुप विकास निर्माणको काम गर्न सकेका छौं । र नागरिकहरु पनि हाम्रो काम देखेर खुसी नै हुनुहुन्छ जस्तो लाग्छ । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि गाउँपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? अहिले गाउँपालिका भित्रका सडकहरुको स्तरोन्नती भएको छ । धेरैजसो सडकलाई पीच गर्ने काम भएको छ । खानेपानीको व्यवस्था हुन थालेको छ । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । पर्यटन विकासका लागि पनि हामीले जोड दिएका छौं । विद्यालयहरुको भवन निर्माण भएका छन् भने गुणस्तरिय शिक्षाका लागि पनि हामीले विशेष ध्यान दिइरहेका छौं । अबको ५ वर्षमा हाम्रो गाउँपालिकाले अरु गाउँपालिकालाई लोन दिन सक्नेछ । आयआर्जन खासै नभएका अथवा पिछडिएका गाउँपालिकालाई हाम्रो गाउँपालिकाले सहयोग गर्नेछ । गाउँपालिकामा ठुला योजना तथा परियोजनाहरु के–के छन् नि ? ठुलो योजनाको रुपमा विकास निर्माणका केही काम छन् । डीपीआर गरेर करीब ७ करोड रुपैयाँको बजेटमा गाउँपालिकाको भवन निर्माण गर्दैछौं । यहाँका ३ ओटा वडालाई पुग्ने गरी खानेपानी व्यवस्थापनको काम गरिरहेका छौं । खानेपानीको निर्माणाधीन ट्याङ्की व्यवस्थापन गर्ने तथा पाइप लाइनका कामहरु भइरहेको छ । पुल निर्माणको काम पनि गरिरहेका छौं । ५ नं वडामा २ करोड रुपैयाँको बजेटमा सडक निर्माणको काम भइरहेको छ भने ८ नं. वडामा पनि सडक निर्माणको लागि २ करोड रुपैयाँ बराबरको बजेट नै छुट्याएका छौं । ४ नं. वडाबाट गाउँपालिकाको केन्द्रसम्म जाने सडक निर्माणको कामका लागि भनेर ५ करोड रुपैयाँ बजेट छुट्याएका छौं । यस योजनामा प्रदेश सरकारको पनि सहयोग रहेको छ । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन होला ? हाम्रो गाउँपालिकामा खासै ठुला उद्योग त छैनन् पनि । तरपनि, देशको सबैभन्दा ठुलो अर्थात् ४ सय ५६ मेगावाटको हाइड्रोपावर माथिल्लो तामाकोशी हाम्रै गाउँपालिकामा पर्दछ । यसका साथै २५ मेगावट विद्युत उत्पादन गर्नसक्ने सिंगटी हाइड्रोपावर पनि सञ्चालन भएको छ ।यसका अलावा यहाँ ढुङ्गा तथा गिट्टी उद्योगहरु सञ्चालनमा छन् । त्यसैगरी नेपाली कागजको उत्पादन पनि हुने गरेको छ । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन हो नि ? गाउँपालिकामा धेरै कर तिर्ने कम्पनी छैन । निर्माण व्यवसाय लगायतबाट कर संकलन हुने गरेको छ । जडिबुटी उत्पादन हुने बेलामा पनि कर संकलन हुने गरेको छ । सामान्य गिट्टी, बालुवा आदिबाट पनि कर संकलन हुने गरेको छ । गाउँपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? काम गर्न चाहने युवाहरुका लागि धेरै ठाउँमा अवसर छ । काम गर्न नचाहने युवाहरुका लागि हामीले केही गर्न सक्ने कुरै भएन । प्रधानमन्त्री स्वारोजगार कार्यक्रम पनि रहेको छ । केही युवालाई विकास निर्माणको काममा पनि लगाउँदै आएका छौं । गाउँपालिकाका धेरैजसो युवाहरु कृषि पेशामा संलग्न छन् । आफ्नो गाउँपालिका भित्रका पर्यटन क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर संभावना बोकेको ठाउँ हो । बिगु गुम्बा, देउढुंगा, बौलाहा पोखरी, देउलाङ्गेश्वरी महादेव, तातोपानी कुण्ड, गोंल्मा राजा दरबार, ठाडोखोला महादेव आदि हाम्रो गाउँपालिका भित्रका पर्यटकीय स्थलहरु हुन् । हरेक पर्यटनस्थल सम्म पुग्नको लागि भनेर सडक निर्माण गरिरहेका छौं । शैक्षिक विकासको लागि गाउँपालिकाले कसरी काम गर्दै आईरहेको छ ? शैक्षिक विकासका लागि हामीले धेरै काम गर्दै आएका छौं । स्कुलमा अंग्रेजी माध्यमबाट पढाउनु पर्छ भन्ने मनन गरेर विद्यार्थीलाई अंग्रेजी किताब वितरण गरेका छौं । एडीबीको लोनबाट यहाँका विद्यालय भवनहरुलाई पक्की बनाइएको छ । गाउँपालिकामा हाल कस्तो योजनालाई प्राथमिकतामा राखेर काम गरिरहनुभएको छ ? हामीले भौतिक पूर्वाधारको कामलाई नै बढि प्राथमिकता दिएका छौं । जनताको आधारभुत आवश्यकतालाई पनि ध्यान दिएका छौं । सडक विकासतर्फ पनि हामीले जोड दिएका छौं । यसका साथै कृषि, सिँचाई लगायतका क्षेत्रलाई पनि सँगसँगै अघि बढाएका छौं । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के–के आइपर्छन् नि ? स्थानीय तहमा काम गर्दा सामान्य समस्याहरु आइपर्छन् । केही समय अघि कर्मचारीको अभाव थियो । बजेटको आकार पनि सानो थियो । अहिले भने यस्ता कुराहरुमा समस्या समाधान हुँदै आएका छन् । विकास निर्माणको काममा पनि यदाकदा समस्या देखापर्ने गर्छ । तरपनि यस्ता समस्यालाई समाधान गर्दै हामी अघि बढिरहेका छौं । तपाईंले गरेको कार्य प्रति तपाईं कत्तिको सन्तुष्ट हुनुहुन्छ ? विकास निर्माणको काम त प्रभावकारी नै छन् । र, यसमा म सन्तुष्ट पनि छु । यति हुँदाहुँदै पनि सोचेजति सवै काम गर्न सकिएको भने छैन । बजेटको अभावको कारण चाहेजति विकास निर्माणको काम हुन नसकेको हो । राज्यबाट पनि थोरै बजेट आउने । आन्तरिक स्रोत पनि धेरै छैन । प्रदेश र संघबाट पनि नातावाद, कृपावाद विशेषले बजेट आउने हुँदा केही समस्याहरु देखा पर्ने गर्छन् । तपाईंको बाँकि रहेको कार्यकालमा गाउँपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? अबको कार्यकालमा सम्बृद्ध अनि सुखी गाउँपालिका बनाउने मेरो योजना रहेको छ । धेरै विकास निर्माण गर्न चाहन्छु भने स्वास्थ्य शिक्षामा पनि व्यापक सुधार गर्ने, सबै वडामा सडक पुर्याउने लगायतका योजाना बनाएको छु । यसका साथै शिक्षाको क्षेत्रमा पनि उल्लोखनीय काम गर्ने लक्ष्य लिएको छु । स्वास्थ्य क्षेत्रको विकासका लागि कसरी काम गर्दै आइरहनु भएको छ ? हामीले आधारभुत स्वास्थ्य सेवा यहाँका सबै वडामा पुर्याएका छौं । एम्बुलेन्स खरीद गरेर नागरिकलाई सेवा दिइरहेका छौं । गरिव परिवारले निःशुल्क एम्बुलेन्स सेवा पाउँछन् । प्राथमिक स्वास्थ्य सेवासम्म यहाँका सम्पूर्ण नागरीकको पहुँच छ । हाम्रो गाउँपालिकामा आँखा अस्पताल पनि सञ्चालनमा रहेको छ । नगरपालिकाले खेलकुद विकासका लागि कस्ता योजना बनाएको छ ? यहाँ धेरैजसो विद्ययालयस्तरको खेलकुद प्रतियोगिता हुने गरेको छ । खेलकुद विकासका लागि भनेर हामीले बजेट छुट्याएका छौं । धेरै युवाहरु खेलकुलमा उत्सुक छन् । वडा स्तरीय खेलकुद प्रतियोगिता पनि हुने गरेको छ । बक्सीङ्ग, भलिवल, कराते, फुटवल लगायतका खेलहरु वेलावेलामा आयोजना गर्ने गरिएको छ ।

नगर विकास कोषले हाम्रो नगरपालिकालाई नेपालकै उत्कृष्ट घोषित गर्दै सम्मान गरेको छ – नगरप्रमुख खड्कासँगको कुराकानी

‘लालबन्दी नगरपालिका’ नेपालको प्रदेश नं. २ अन्तर्गत सर्लाही जिल्लामा पर्दछ भने लालबन्दी बजार सो नगरपालिकाकै मुख्य व्यापारीक क्षेत्रमा पर्दछ । १७ ओटा वडा रहेको यस नगरपालिकाको सिमाना पूर्वमा ईश्वरपुर नगरपालिका, पश्चिममा हरिवन अनि हरिपुर नगरपालिका, उत्तरमा सिन्धुली जिल्ला र दक्षिणमा भने हरिपुर र ईश्वरपुर नगरपालिकासँग जोडिएको छ । २ सय ३८ दसमलव ५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको लालबन्दी नगरपालिका सर्लाही जिल्लाकै सबैभन्दा बढी क्षेत्रफलमा फैलिएको नगरपालिका पनि हो । बि.सं. २०६८ को जनगणनाअनुसार यस नगरपालिकाको कुल जनसंख्या ५९ हजार ३ सय ९५ रहेको छ । नगरपालिकाका ठुला योजना तथा परियोजनाहरु के के छन्, उत्कृष्ट काम गरेको आधारमा नगर विकास कोषले नगरपालिकालाई सम्मान गर्दा कस्तो महशुस भएको छ, युवालाई रोजगारी अवसर नगरपालिकाले कसरी सृजना गरिरहेको छ भन्नेलगायतका विषयमा सो नगरपालिकाका मेयर मानबहादुर खड्कासँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् : नगरपालिकाले कृषि विकासका लागि के-कसरी काम गर्दै आएको छ ? नगरपालिकाले कृषि विकासकै लागि भनेर धेरै काम गर्दै आएको छ । सिँचाई सम्बन्धी काम भइरहेको छ । सडक निर्माणको काम पनि हामीले गरेका छौं । नगरपालिका भित्र मकै पकेट क्षेत्र छुट्याएका छौं । पशुपालन तर्फ पनि हामीले जोड दिएका छौं । पशु पकेट क्षेत्र पनि छुट्याएका छौं । सहकारी मार्फत पशु सुधार कार्यक्रम पनि सञ्चालन गरेका छौं । विभिन्न संघ सस्थासँग समन्वय गरेर माउपाठी विउवितरणको कार्यक्रम पनि राखेका छौं । नगरपालिका भित्रको एउटा वडालाई गाई पकेट क्षेत्र भनी छुट्याएका छौं । कृषकलाई कम्पोस्ट मल बनाउने तालिम दिइरहेका छौं भने उत्पादन गरेका तरकारीहरुलाई बजारीकरणको व्यवस्था पनि मिलाएका छौं । उत्पादित खाद्यवस्तु प्रशोधनको काम गरेका छौं भने भण्डारणको कामलाई अघि बढाएका छौं । हाम्रो नगरपालिकालाई समृद्ध बनाउने मूल तत्व भनेको नै तरकारी उत्पादन हो । विशेषगरी यहाँ टमाटर धेरै मात्रामा उत्पादन हुने गरेको छ । नगरपालिकाका कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् होला ? त्यसो त यहाँका ५० प्रतिशतभन्दा बढि नागरिकहरु नै कृषि पेशामा आवद्ध छन् । हामीले हरेक वर्ष पशुपालन तर्फ उत्कृष्ट काम गर्ने कृषकलाई १० हजार रुपैयाँ नगद दिएर सम्मान गर्ने गरेका छौं । तर यति हुँदाहुँदै पनि फलफुल राम्रो उत्पादन गर्ने कृषकलाई चाहिँ पुरस्कारको व्यवस्था मिलाउन सकेका छैनौं । उत्कृष्ट काम गरेको आधारमा नगर विकास कोषले हालै तपाईंको नगरपालिकालाई सम्मान पनि गरेको छ । तपाईंले कस्तो महशुस गर्नुभएको छ ? म त खुशी छु । नगर विकास कोषद्धारा हाम्रो नगरपालिकालाई नेपालकै उत्कृष्ट नगरपालिका घोषित गरी सम्मानित गरिएको छ । राम्रो काम गर्यो भने त्यसको परिणाम पनि राम्रो आउने रहेछ भन्ने कुरामा विश्वस्त भएको छु । नगर विकास कोषले हामीलाई उत्कृष्ट नगरपालिका घोषणा गरी कदर पत्र र १ लाख रुपैयाँ नगद पुरस्काले सम्मान गरेको छ । नगरपालिकाले कोषको लगानीमा डुमडुमे मन्दिर तथा ६ तले व्यवसायीक भवन निर्माण गरिरहेको छ । तपाईं निर्वाचित हुनुभन्दा अघि र निर्वाचित भइसकेपछि नगरपालिकामा कस्ता खाले परिवर्तन आएका छन् ? संघीय सरकार बनिसकेपछि तत्कालीन पुनःनिर्माण भएर बनेको नगरपालिका हो यो । ७ ओटा गाउँ विकास समिति निर्माण भएर हाम्रो नगरपलिका बनेको हो । नगरपालिका भित्र पहिलाको तुलानामा त अहिले धेरै परिर्वतन आएको छ । अहिले सडकको विकास भएको छ । खानेपानीको उचित व्यवस्थापन भएको छ । कच्ची सडकमा पीच हुन थालेको छ । सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना भएको छ । सिँचाईको काम भएको छ । पर्यटन विकासको लागि जोड दिएका छौं । नगरपालिका भवनको निर्माण भएको छ । स्वास्थ्य भवनहरु निर्माण भएका छन् । विकास निर्माणका कामहरु अघि बढेका छन् । विद्यालयको भवन निर्माण भएका छन् भने गुणस्तरीय शिक्षाका लागि विशेष ध्यान दिन थालिएको छ । नगरपालिकामा ठुला योजना तथा परियोजनाहरु के-के छन् होला ? ठुलो योजनाको रुपमा पुल निर्माणको काम रहेको छ । नगरपालिकाले १३ करोड रुपैयाँ बराबरको लगानीमा पुल निर्माणको काम गरेको छ भने यसमा ५ करोड रुपैयाँ बजेट संघीय सरकारको सहयोगका रुपमा रहेको छ । नारायण डाँडामा १ करोड रुपैयाँभन्दा माथिको लगानीमा भ्यूटावरको निर्माण गरिरहेका छौं । हामीले केही उद्योग पनि सञ्चालन गरेका छौं । नगरपालिकाको आयश्रोत वृद्धि गर्नको लागि ठुलाठुला भवन निर्माण गरेर भाडा लगाउने काम पनि गरेका छौं । ६० लाखसम्म भाडा आउने गरेर भवनको निर्माण गरेका छौं । प्रत्येक वर्ष आएको रकमबाट २० प्रतिशत रकम आर्थिक वृद्धका लागि लगानी गर्ने गरेका छौं । ५० प्रतिशत रकम वडाहरुका ससाना कामका लागि वितरण गर्दै आइरहेका छौं । बचेको ३० प्रतिशत बजेटबाट नगरपालिकाको ठुलाठुला आयोजना अथवा भनौं गौरवको आयोजनाका काम गर्ने गरेका छौं । यहाँका २ ओटा वडामा बिजुली बत्ति पुगेको छैन । यद्यपी ७० प्रतिशत घरमा बिजुली पुगिसकेको छ र यसै कार्यकालको अवधिमा उक्त २ ओटै वडामा बिजुली पुगिसक्नेछ । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो नि ? ठुलो उद्योगको रुपमा भुजेल खाद्य उद्योग रहेको छ । यस उद्योगले दाल, चामल लगायत उत्पादन गर्ने काम गर्छ । यस बाहेक नगरपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरु प्रशस्त छन् । सबैभन्दा धेरै कर चाहिँ कुन कम्पनीले तिरेको छ ? सबैभन्दा बढी कर त भुजेल खाद्य उद्योगले नै तिर्ने गरेकोे छ । यस बाहेक पसल कर संकलन हुने गरेको छ । आफ्नो नगरपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनु भएको छ ? पर्यटन क्षेत्रको लागि हामीले धेरै काम गर्दै आइरहेका छौं । हामीले पर्यटनको विकासको लागि भनेर नै भ्यूटावरको निर्माण गर्ने काम गरिरहेका छौं । पर्यटन क्षेत्रहरुमा सडक पुर्याउन पनि हामी लागि परेका छौं । हामीले मठ, मन्दिरको निर्माण पनि गरी रहेका छौं । डुमडुमे मन्दिर पनि हाम्रो नगरपालिकामा रहेको छ । हामीले पर्यटन पूर्वाधारको विकासमा पनि जोड दिएका छौं । नगरपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? नगरपालिका भित्र युवा स्वरोजगार कार्यक्रम रहेको छ । हामी युवा स्वारोजगार अन्तर्गत पनि रोजगार दिदै आइरहेका छौं । एनजीओ आईएनजीओ लगायतसँग सहकार्य गर्दै केही युवालाई कृषि पेशामा संलग्न गराएका छौं । केही युवालाई भने विकास निर्माणका काममा पनि लगाइरहेका छौं । नगरपालिकामा विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् ? नगरपालिकामा अहिलेसम्म भएका विकास निर्माणको कामहरु प्रभावकारी छन् भन्नुपर्छ । हामीले आशा गरे अनुसार विकास निर्माणको काम भइरहेको हुनाले हामी पनि खुसी नै छौं । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? समन्वय गरिरहेकै छौं । प्रदेश सरकारसँग हामीले योजना तथा कार्यक्रमहरु मागेका हुन्छौं । योजना अनुसारको बजेट आउने गरेकै छ । गत वर्ष प्रदेश सरकारले हामीलाई १ करोड ५० लाख रुपैयाँ बजेट पठाएको थियो । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के-के आई पर्छन् होला ? स्थानीय तहमा काम गर्दा सामान्य समस्या देखा पर्ने गर्छ । प्रतिशोध भएका मानिसहरु समाजमा धेरै नै हुन्छन् । राजनैतिक प्रतिशोध पनि भइरहेकै हुन्छ । यसले गर्दा कतिपय ठाउँमा समस्या पनि हुने गरेको छ । सामान्य विकास निर्माणको काममा पनि समस्या आउने गरेको छ । तरपनि यस्ता समस्यालाई समाधान गरेर हामी अघि बढिरहेका छौं । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट पनि हामीले राम्रो सहयोग पाएका छौं । केन्द्र सरकारलाई योजनाहरु पेश गर्दा केही बजेट पठाउने गरेको छ । केन्द्र सरकारसँग पनि हाम्रो राम्रो सहकार्य रहेको छ । तपाईंको कार्यकालमा नगरपालिकालाई कस्तो बनाउने योजना रहेको छ ? नगरपालिकालाई आत्मनिर्भर बनाउने योजना छ । कृषिको माध्यमबाट कसरी स्वरोजगार बनाउन सकिन्छ भनेर विशेष ध्यान दिइरहेका छौं । सबै वडासम्म पुग्ने तथा हाइड्रोसँग जोड्ने सडक कालोपत्रे गर्ने योजना रहेको छ । हरेक नागरिकको घरमा बिजुली बत्ती अनि सडक पुर्याउने लक्ष्य लिएको छु । नगरपालिकामा तपाईंले चाहेर पनि गर्न नसकेका विकास निर्माणका कार्यहरु के के छन् ? नदीलाई नियन्त्रण गर्ने काम त्यत्तिकै छ । शैक्षिक क्षेत्रको सुधारतर्फ सोचेजस्तो काम गर्न सकिएको छैन । शहरी क्षेत्रमा शिक्षाको अवस्था राम्रै रहेको भएपनि ग्रामीण भागमा भने टन्नै सुधार गर्नुपर्ने छ । नगरपालिकाले खेलकुद विकासको लागि भनेर कस्ता योजनाहरु ल्याएको छ ? विद्यालयस्तरको खेलकुद प्रतियोगिता नगरपालिकामा धेरै हुने गरेको छ । नगरपालिकामा राधाकृष्ण खेल मैदान पनि रहेको छ जहाँ वडा स्तरीय खेलकुद प्रतियोगिता पनि हुने गरेको छ । बक्सीङ्ग, भलिवल, कराते, फुटवल लगायतका खेलहरु पनि नगरपालिकामा आयोजना गर्ने गरेका र्छौं । अन्त्यमा, स्वास्थ्य क्षेत्रको विकासका लागि कसरी काम गर्दै आइरहनु भएको छ ? हामीले नगरपालिका भित्रका सम्पूर्ण वडामा आधारभुत स्वास्थ्य सेवा पुर्याएका छौं । यो वर्ष हामीले अस्पताल निर्माणको काम पनि अघि बढाएका छौं । सम्पूर्ण नागरिकको प्राथमिक स्वास्थ्य सेवासम्म पहुँच पुगेको छ भने आँखा उपचार केन्द्र एवं विभिन्न संघ सस्थाद्वारा सञ्चालित स्वास्थ्य सेवाहरु नगरपालिकामा उपलब्ध भइरहेका छन् ।

‘एक घर एक पशु बीमा’ अभियान चलाएका छौं- नगरप्रमुख मगर

बागमती प्रदेश अन्तर्गतको रामेछाप जिल्लामा पर्ने ‘रामेछाप नगरपालिका’ कृषि उत्पादन तथा पर्यटकिय गन्तव्यको रुपमा चर्चित त छ नै साथै ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं प्राकृतिक रुपले पनि फरक विशेषता बोक्न सफल मानिन्छ । पूर्वतर्फ ओखलढुंगा जिल्ला, पश्चिममा मन्थली नगरपालिका, उत्तरमा लिखु गाउँपालिका र दक्षिणमा सिन्धुली जिल्लासँग सिमाना जोडिएको यो नगरपालिका २ सय २ दसमलव ४५ वर्ग किलोमिटरसम्मको क्षेत्रफलमा फैलिएर रहेको छ । ९ ओटा वडा रहेको यस नगरपालिकाको कुल जनसंख्या चाहिँ २८ हजार ६ सय १२ रहेको छ । नगरपालिकाका ठुला योजना तथा परियोजनाहरु के के छन्, जनप्रतिनिधि निर्वाचित हुनु अघि र निर्वाचित भईसकेपछि नगरपालिकामा कस्ता खाले परिर्वतन देखापरेका छन्, रोजगारीको अवसर सृजना गर्नमा नगरपालिकाले कस्तो भूमिका खेलिरहेको छ भन्नेलगायतका विषयमा सो नगरपालिकाका मेयर नर बहादुर थापा मगरसँग विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् । प्रस्तुुत छ उक्त कुराकानीको अंश । नगरपालिकामा कोरोनाले पुर्याएको असर बारे छोटकरीमा बताइदिनुस् न ? कोरोनाको सुरुवाती चरणमा धेरै कठिनाई एवं चुनौतीहरु देखापरेका थिए । बाहिरबाट नगरपालिका प्रवेश गर्नेहरुलाई हामीले कडाइका साथ १४ दिनसम्म क्वारेन्टिनमा राखेका थियौं । क्वारेन्टिनमा बस्नेमध्ये वैदेशिक रोजगारबाट फर्किएका एवं भारतबाट आएका नागरिकहरु नै बढि थिए । हामीले नगरपालिकामा १ सय बेडको क्वारेन्टिन स्थापना गरेका थियौं भने व्यवस्थित आइसोलेसन कक्षको पनि व्यवस्था गरिएको थियो । केही नागरीकलाई संक्रमण देखापरे पनि आइसोलेसन कक्षमै राख्नु पर्र्ने अवस्था भने आएन । कोरोनाले यहाँको शिक्षा क्षेत्रका साथै विकास निर्माणका काममा पनि ठुलो असर पुर्यायो । नगरपालिकाले कृषि विकासका लागि के–कसरी काम गर्दै आएको छ ? धेरै काम भइरहेको छ । हाम्रो नगरपालिका कृषिमै आत्मनिर्भर बन्दै गएको छ । व्यावसायीक कृषि प्रणालिमा हामीले विशेष जोड पनि दिएका छौं । कृषिमा अनुदान देखि लिएर तरकारीको विउ वितरण कार्यक्रम पनि राखिएको छ । नमुना पकेट क्षेत्रको रुपमा हामीले सबै वडालाई छुट्याएका छौं । कृषि विकासको लागि भनेर सिँचाईको व्यवस्था मिलाएका छौं । बाख्रा पालन, माछा पालन, फलफुल, तरकारी, धान, कोदो खेती लगायत नगरपालिका भित्र गरिएको छ । ‘एक घर एक पशु बीमा’ भनेर हामीले कार्यक्रम पनि राखेका छौं । हामीले नगरपालिका भित्रका धेरै पशुहरुको बीमा गरिसकेका छौं । नगरपालिकामा रहेका ठुला योजना तथा परियोजनाहरु के-के हुन् ? ठुलो योजनाको रुपमा नगरपालिका र संघीय सरकारको साझेदारीमा सडक कालोपत्रे गर्नका लागि डीपीआर गरेर काम अगाडि बढाइरहेका छौं । ४ करोड रुपैयाँ बराबरको बजेटमा यो सडक कालेपत्रे भइरहेको छ । संघीय सरकार र नगरपालिकाको ५०-५० प्रतिशत समपुरक बजेटमा वर्वर हल निर्माणको काम अगाडि बढिरहेको छ । ५ करोड रुपैयाँको बजेटमा टेन्डर प्रक्रियाबाट काम अगाडि बढिरहेको छ । गौरवको आयोजनाका रुपमा नगरपालिकाको आम्दानीबाट ८ मिटरको सडक निर्माण भइरहेको छ । पुल निर्माणको कामहरु पनि सुरु भइसकेको छ । नगरपालिका भित्र भ्युटावरको पनि निर्माण भई रहेको छ । २ करोड रुपैयाँको बजेटमा भ्युटावरको निर्माण भइरहेको हो । लिफ्ट तथा खानेपानी योजनाहरु पनि संघीय सरकारको सहयोगमा अगाडि बढेको छ । यो वर्ष कोरोनाको कारणले राजश्व बाँडफाँडको बजेट आउन सकेको छैन । ५ वर्षको कार्यकालमा जेजति काम गर्ने लक्ष राखेका थियौं त्यो लक्ष्य अनुसार हामीले काम गर्न सकेका भने छैनौं । नगरपालिकालाई समृद्ध बनाउने हाम्रो लक्ष रहेको छ । नगरपालिकाको भवन र वडा भवनको निर्माण पनि गरिसकेका छौं । गत वर्षदेखि नै नगरपालिकाको भवन निर्माण गरेर हामीले नागरिकलाई सेवा प्रवाह गरिरहेका छौं । नगरपालिकाका सबै वडामा सडक अनि विजुली पुगिसकेको छ । यसका साथै अस्पताल र विद्यालय भवनहरु चाहिँ कतै निर्माण हुने क्रममा छन् भने कतै चाहिँ निर्माण भइसकेका छन् । तपाईंको पालिकामा सबैभन्दा ठुलो उद्योग वा व्यापारीक कम्पनी कुन हो ? हामीले ‘एक वडा एक उद्योग’ को अवधारणा ल्याएका छौं । धेरै ठुलो उद्योग र व्यापारीक कम्पनी भने यहाँ छैनन् । तर हाम्रो नगरपालिका उद्योगको बढि सम्भावना बोकेको ठाउँ चाहिँ हो । नगरपालिकामा स्थानीय नागरिकले सञ्चालन गरेका साना तथा मझौला उद्योगहरु धेरै नै छन् । सबैभन्दा धेरै कर तिर्ने कम्पनी चाहिँ कुन हो नि ? धेरै कर बुझाउने खालका कम्पनी त नगरपालिकामा छैनन् पनि । बरु पसल कर चाहिँ संकलन हुने गरेको छ । त्यहाँका कति नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् ? हाम्रो पालिकामा करिव ८० प्रतिशत नागरिकहरु कृषि पेशामा आवद्ध रहेका छन् । गत वर्ष हामीले राम्रो कृषि उत्पादन गर्नेलाई पुरस्कारको व्यवस्था मिलाएका थियौं । तर यो वर्ष भने कोरोनाको कारणले सो कार्यक्रम गर्न सकिएको छैन । तपाईं निर्वाचित हुनुभन्दा अगाडि र निर्वाचित भएर आइसकेपछि नगरपालिकामा कस्ता खाले परिर्वतन आएका छन् ? म निर्वाचित भएर आइसकेपछि नगरपालिकामा धेरै परिवर्तन आएको छ । हाल नगरपालिकाको सबै ठाउँमा सडक पुगेको छ भने यातायात सञ्चालन समेत हुन थालेको छ । कच्ची सडकहरु धमाधम पीच हुन थालेका छन् । धेरै ठाउँमा खानेपानीको राम्रो व्यवस्था भएको छ । यहाँको स्वास्थ्य क्षेत्रमा पनि राम्रो परिवर्तन आएको छ भने सबै वडामा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना पनि भएको छ । सिँचाईको कामहरु पनि भएका छन् । नगरपालिकाको भवन निर्माण भएको छ । स्वास्थ्य भवनहरु निर्माण भएका छन् । विद्यालयको भवन निर्माण भएका छन् भने शिक्षामा गुणस्तर ल्याउन लागि परेका छौं । पुलको निर्माण गरेका छौं । मठमन्दिरको निर्माण गरेर धार्मिक पर्यटनलाई बढावा दिन खोजेका छौं । पिकनिक स्पटको निर्माण गरेका छौं । तपाईंले आफ्नो पालिकामा ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने कुन उत्पादनलाई जोड दिनुहुन्छ ? ‘एक गाउँ एक उत्पादन’ लाई जोड दिनुपर्याे भने म कृषि र पशुपालनलाई नै जोड दिन्छु । नगरपालिकाले युवाहरुलाई रोजगारीको सिर्जना कसरी गरिरहेको छ ? युवाका लागि भन्दै विभिन्न कार्यक्रमहरु ल्याएका छौं । उनीहरुलाई सुलभ ऋणको व्यवस्था मिलाएका छौं । युवालाई व्यावसायीक तालिमको पनि व्यवस्था मिलाएका छौं । केही युवालाई विकास निर्माणको काममा पनि लगाउदै आएका छौं । नगरपालिकाका धरैजसो युवाहरु कृषि पेशामा आवद्ध रहेका छन् । युवाहरुले पशुपालन, खेती, कुखुरा पालन लगायतका कार्य गरिरहेका छन् । तपाईंलाई विकास निर्माणको कामहरु कत्तिको प्रभावकारी भएका छन् जस्तो लाग्छ ? विकास निर्माणका कामहरु प्रभावकारी नै भएका छन् भन्नुपर्छ । तर यति हुँदाहुँदै पनि हामीले लक्षमा पुुग्न भने अझ धेरै काम गर्नुपर्ने छ । स्थानीय तह र प्रदेश सरकारबीचको समन्वय कसरी गरिरहनु भएको छ ? समन्वय गरेरै काम गर्ने गरेका छौं । सिंहदरबार गाउँगाउँमा हुन्छ भन्ने अपेक्षा गरिए अनुसार भने अलि भइसकेको छैन । विकास बजेट भनेर प्रदेश सरकारबाट २० लाख रुपैयाँ बजेट आउने गरेको छ । स्थानीय तहमा काम गर्दा मुख्य समस्याहरु के-के आई पर्छन् नि ? विकास निर्माणका काममा कहिलेकाहीँ समस्या आउने गरेको छ । जनताको अपेक्षा धेरै छ तर बजेटको आकार भने सानो छ । संस्कार हिजोको रहयो मात्र व्यावस्था चाहीँ नयाँ आयो । यसले गर्दा परिवर्तन छिटो नआएको हो । केन्द्र सरकारबाट कत्तिको सहयोग मिलेको छ ? केन्द्र सरकारबाट पनि सामान्य सहयोग मिल्ने गरेको छ । समपुरक बजेट केन्द्र सरकारबाट आउने गेरको छ । विकास निर्माणको काममा पनि हाम्रो सहकार्य भइरहेको छ । नगरपालिकाले खेलकुद विकासका लागि के कस्ता योजनाहरु बनाएको छ ? नगरपालिकामा सुकाजोर फुटवल स्टेडियमको निर्माण भइरहेको छ । वडास्तरको खेलकुद प्रतियोगिता पनि हामीले राख्ने गरेका छौं । बक्सिङ्ग, भलिवल, कराते, फुटवल लगायतका खेलहरु आयोजना गर्दै आएका छौं । खेलकुल विकासको लागि भनेर हामीले कर्मचारी पनि छुट्याइसकेका छौं ।