स्थानीय तहका रिक्त ४१ पदका लागि आइतबार मतदान हुँदै, सम्पूर्ण तयारी पूरा
काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगले उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । निर्वाचन हुने सम्बन्धित स्थानीय तहमा स्थापना गरिएका मतदान केन्द्रमा भोलि बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचन हुने सम्बन्धित स्थानीय तहमा सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगका सहसचिव नीता पोख्रेल अर्यालले जानकारी दिइन् । गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई प्राथमिकताका आधारमा मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताइन् । आयोगका प्रवक्तासमेत रहेकी अर्यालका अनुसार मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले आयोगबाट जारी भएका मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बर परिचयपत्र वा सवारी चालक अनुुमति पत्रको सक्कल प्रमाणका आधारमा मतदान गर्न पाउनेछन् । कीर्तिपुर नगरपालिकाको प्रमुख र जाजरकोटको नलगाड नगरपालिकाको उपप्रमुख, मोरङको ग्रामथान र दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष, दोलखाको गौरिशङ्कर, रुकुम (पूर्वी भाग) पुथा उत्तरगङ्गा, हुम्लाको सर्केगाड र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३, झापाको कन्काई नगरपालिका वडा नं ६, तेह्रथुमको लालिगुराँस नगरपालिका वडा नं ८, सुनसरीको गढी गाउँपालिका वडा नं ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका वडा नं ५, उदयपुरको त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं १ र ४, धनुषाको धनुषाधाम नगरपालिका वडा नं १, महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं २, रौतहतको ईशनाथ नगरपालिका वडा नं ७, रौतहटका राजपुर नगरपालिका वडा नं ६ र गढीमाई नगरपालिका वडा नं ८ मा निर्वाचन हुनेछ । काठमाडौंको काठमाडौं महानगरपालिका वडा नं १६, कीर्तिपुर नगरपालिका वडा नं १ र ४, नुवाकोटको ककनी गाउँपालिका वडा नं २, मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नं १२, गोरखाको गोरखा नगरपालिका वडा नं ५, गुल्मीको मुसिकोट नगरपालिका वडा नं १, कपिलवस्तुको शुद्धोधन गाउँपालिका वडा नं १, रोल्पाको रुन्टीगढी गाउँपालिका वडा नं ४, बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नं ४ र रुकुम (पश्चिम भाग)को सानीभेरी गाउँपालिका वडा नं ५ वडाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ । दैलेखको दुल्लु नगरपालिका वडा नं १३, जाजरकोटको कुसे गाउँपालिका वडा नं ७, कालीकोटको तिलागुफा नगरपालिका वडा नं ४, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५, बझाङको सूर्मा गाउँपालिका वडा नं ४, डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं ६, दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ५ र कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं ६ मा निर्वाचन हुने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनमा ३७६ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ । उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले प्रतिस्पर्धा गर्दै छन् । यसअघि जिल्ला समन्वय समिति ओलखढुङ्गा र कैलालीका प्रमुखमा क्रमशः नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई र टीकाकुमारी चौधरी (भूल) तथा रुकुम (पूर्वी भाग) पुगा उत्तरगङ्गा गाउँपालिका वडा नं २ मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का जगत घर्ती निर्विरोध निर्वाचित भइसकेका छन् । उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता भएको थियो । मत परिणाम वेबसाइटमै मतदान कार्य सम्पन्न भई सबै मतपेटिका तोकिएको मतगणनास्थलमा सङ्कलन भएपछि मतगणना कार्य प्रारम्भ हुनेछ । मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइट धधध।चभकगति।भभिअतष्यल।नयख।लउ मा हेर्न सकिने आयोगले जनाएको छ । आयोगले मतदाता नामावलीमा नाम भएका सम्बन्धित निर्वाचन क्षेत्रका सम्पूर्ण मतदाताले आफूलाई मन परेको उम्मेदवारलाई मतदान गरी आफ्नो मताधिकारको प्रयोग गर्न आह्वान गरेको छ । मतदाताले मतदान केन्द्रमा आफूलाई प्राप्त मतपत्र लिई गोप्य मतदान कक्षमा गएर मन परेको कुनै उम्मेदवारको चिह्न भएको कोठामा स्वस्तिक छापले मत सङ्केत गर्नुपर्छ । मतपत्र च्यातिएमा, मतदान अधिकृतको हस्ताक्षर नभएमा, दुई वटा निर्वाचन चिह्न रहेको कोठाको बीचमा पर्ने गरी मत सङ्केत गरेमा, स्वस्तिक छाप नबुझिने गरी लत्पतिएमा, निर्वाचन चिह्न रहेको कोठाभन्दा बाहिर मत सङ्केत गरेमा वा मतपत्रमा स्वस्तिक छाप बाहेक औँठा छाप, हस्ताक्षर आदिले मत सङ्केत गरेमा मत बदर हुने आयोगले जनाएको छ ।
स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
काठमाडौं । काठमाडौं महानगरपालिकाले निःशुल्क भिडियो एक्सरे सेवा सुरुआत गर्ने भएको छ । महानगरपालिकाले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका वडाका स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत नागरिकलाई सो सेवा सुरु गर्न लागेको हो । स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार सुरुमा वडा नं १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नंं १२, १९ र १४ का सेवाग्राहीलाई वडा नं १२ मा, मङ्गलबार र बुधबार वडा नं १६, २६ र २७ का सेवाग्राहीलाई वडा नं २७ मा र बिहीबार र शुक्रबार वडा नं १० र ३० का सेवाग्राहीका लागि वडा नं ३० स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत सेवा दिइने छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएका सबै वडामा भिडियो एक्सरे मेसिन राखिसकेको छ । सेवाग्राहीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्दै लैजाने उहाँले जानकारी दिनुभयो । कामपाले वडा नं ८ को रामघाट प्राथमिक स्वास्थ्य केन्द्र, वडा नं १४ बल्खु, वडा नं १९ कङ्केश्वरी, वडा नंं २६ लैनचौर र वडा नं ३० ज्ञानेश्वर, वडा नं १६ बालाजु, वडा नं २७ महाबौद्ध, वडा नं १२ टेकु र वडा नं ७ चाबहिलको स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई पहिलो सम्पर्क विन्दुका रुपमा तोकेको छ । नसर्ने रोग पहिचानका लागि परीक्षण महानगरपालिकाले निदानात्मक स्वास्थ्य सेवाको प्रवद्र्धनका लागि ५० हजार व्यक्तिको स्वास्थ्य परीक्षण गरेर अवस्था आँकलन गर्ने तथ्याङ्क तयार पार्ने र त्यसले देखाएको अवस्थाका आधारमा थप कार्यक्रम तर्जुमा गर्ने जनाएको छ । विभागले हरेक महिनालाई सचेतना अभिवृद्धि गर्ने महिनाका रुपमा कार्यक्रम सञ्चालन गरिरहेको छ । कार्यक्रमअन्तर्गत गत वैशाख महिनामा दृष्टि (आँखा तथा वातावरण), जेठ महिनामा मुख तथा नाक, काम घाँटी, असारमा ज्येष्ठ नागरिक तथा अपाङ्गता सहायता, साउनमा नवजात र बालबालिका स्वास्थ्य, पोषण तथा स्तनपान, भदौमा उच्च रक्तचाप, असोजमा मधुमेह तथा मोटोपना र कात्तिकमा स्वस्थ्यकर खानपान तथा आरोग्य जीवन सचेतना महिनाका रुपमा निदानात्मक कार्यक्रम सञ्चालन भइसकेका छन् । मङ्सिरमा मिर्गौला तथा अन्य जटिल दीर्घरोग, पुसमा श्वासप्रश्वास तथा अन्य जटिल दीर्घरोग, माघमा मादकपदार्थ तथा सडक दुर्घटना, फागुनमा क्यान्सर तथा प्रजनन स्वास्थ्य र चैत महिनामा मानसिक स्वास्थ्यसम्बन्धी सचेतनाका कार्यक्रम सञ्चालन गरिनेछन् ।
धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असारदेखि पाएनन् सामाजिक सुरक्षा भत्ता
काठमाडौं । धनुषाको लक्ष्मीनिया गाउँपालिकाका वृद्धवृद्धाले असार महिना यताको सामाजिक सुरक्षा भत्ता नपाएको गुनासो गरेका छन् । लक्ष्मीनिया गाउँपालिकाको गाउँसभा हुन नसक्दा खातासम्म सञ्चालन नभएकाले वृद्धवृद्धाले सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् । आफूहरुले असार महिनायताको भत्ता पाउन नसकेको लक्ष्मीनिया गाउँपालिकाकी कुमारी मण्डलले गुनासो गरिन् । भत्ता नपाउँदा धेरै समस्यामा परेको उनले बताइन्। उनले भनिन्, ‘मेरै गाउँको अध्यक्ष हुन् तर पटकपटक भेटेरै गुनासो गर्दा समेत सुन्नुहुन्न ।’ यता अर्का वृद्धले छोराछोरीले घरमा खर्च नदिने र पालिकाले पनि भत्ता नदिँदा निकै मर्कामा परेका बताए । उनले भने, ‘भत्ताकै भरमा आफ्नो खर्च चलाइरहेका थियौं तर पटकपटक धाउँदासमेत असारपछि भत्ता पाएका छैनौं ।’ लक्ष्मीनिया गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष दिलिप यादवले प्रमुख प्रशासकीय अधिकृतका कारण यो समस्याको सिर्जना भएको आरोप लगाए । उनले प्रमुख प्रशासकीय अधिकृतको असक्षमताका कारण गाउँसभा नहुँदा पालिकाको खातासम्म सञ्चालन हुन नसकेको बताए । पालिकाको खाता सञ्चालन नभएकै कारण भत्ताहरुका साथै कर्मचारीहरूले तलवसम्म पाउन नसकेको बताए । यही विषयलाई लिएर लक्ष्मीनिया गाउँपालिकाको कार्यालय पुगेर जनप्रतिनिधिहरूका साथै नागरिक समाजले दबाबमूलक कार्यक्रमसमेत गरेका छन् ।