प्रमुख प्रशासकीय अधिकृत नहुँदा कचनकवल गाउँपालिकाको काम ठप्प
बनियानी । झापाको कचनकवल गाउँपालिका विगत डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको कामकाज प्रभावित भएको कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले बताए । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुभाषचन्द्र सुमन गत भदौ २४ गते सरुवा भएर गएपछि भदौ २७ गते प्रमुख प्रशासकीय अधिकृतका रूपमा पुण्यप्रसाद पौडेल हाजिर भएका थिए । उनको समेत गत कात्तिक ९ गते सरुवा भएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको हो । ‘लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत नहुँदा गाउँपालिकाको काम प्रभावित भएको छ’, अध्यक्ष राजवंशीले भने, ‘गाउँपालिकाको काम ठप्पजस्तै बनेको छ ।’ गाउँपालिकाले आह्वान गर्नुपर्ने बोलपत्रदेखि अन्य दैनिक प्रशासनिक काम गर्न नसकिएको उनले बताए । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा प्रमुख प्रशासकीय अधिकृतको माग गरेपनि हालसम्म नपठाएको उनले गुनासो गरे । आवश्यक निर्णय गर्ने, प्रमाणीकरण गर्ने, योजना आह्वान, सम्झौतालगायतका लागि प्रमुख प्रशासकीय अधिकृत अनिवार्य भएकाले मारमा परेको अध्यक्ष राजवंशी बताउँछन् ।
जीतपुर-सिमरामा ४ दिन सार्वजनिक बिदा
काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले ४ दिन सार्वजनिक बिदा दिने भएको छ । पालिकाले सोमबार एक सूचना जारी गर्दै शुक्रबारदेखि सोमबार (मंसिर २१ गतेदेखि २४ गतेसम्म) सम्म ४ दिन सार्वजनिक बिदा दिईएको जनाएको हो । ‘विश्व प्रसिद्ध गढीमाई मन्दिरमा श्री गढीमाई पञ्चवर्षिय मेला, २०८१ को अवसरमा शुक्रबारदेखि सोमबारसम्म अत्यावश्यक सेवा बाहेक जीतपुरसिमरा उपमहानगरपालिका र मातहतका सम्पूर्ण कार्यालयहरु, शैक्षिक संस्थाहरु, संघसंस्थाहरु, बैंक तथा वित्तीय संस्थाहरुमा स्थानीय बिदा दिने निर्णय (प्रमुख स्तरीय) भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, पालिकाको प्रमुख कार्यकारी अधिकृत उर्मिला काफ्लेले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
३५ दिन भित्र बिजुलीको तारमुनिका संरचना हटाउन आग्रह
काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्युत् प्रसारण लाइनमुनि रहेका घरटहरा तथा संरचना हटाउन आग्रह गरेको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै यस्ता संरचना हटाउन सम्बन्धित सबैलाई आग्रह गरेको हो । महानगरको सहरी व्यवस्थापन विभागद्धारा जारी गरिएको सूचना अनुसार मापदण्ड अनुसार विद्युत् प्रसारण लाइन तथा वितरण लाइनको मुनि तथा दायाँबायाँ रहेका संरचना हटाउनुपर्ने छ । सूचनामा विद्युत् प्रसारण लाइन आसपास भवन निर्माण गर्दा विद्युत् ऐन २०४९ र विद्युत् नियमावली २०५० ले तोकेबमोजिममा प्रावधान पालना हुनुपर्ने उल्लेख गर्दै यस्तो प्रावधानको उल्लघन् भएको पाइएको महानगरले जनाएको छ । खास गरी घर टहरा विद्यालय भवन ग्यारेज पर्खाल जस्ता संरचना प्रसारण लाइनमुनि बनेको पाइएको भन्दै महानगरले त्यस्ता संरचना हटाउन निर्देशन गरेको हो । ३५ दिनको अवधि दिँदै जारी सूचनामा यस्ता संरचना आफैँ नहटाए महानगरले कानुनबमोजिम कारबाही गर्ने जनाएको छ । मापदण्ड अनुसार २३० केभीदेखि ११ हजार केभीसम्मको प्रसारण लाइनभन्दा १२५ मिटर र सोभन्दा माथिको क्षमताकोमा १.५ मिटर टाढा रहनुपर्ने प्रावधान छ ।