महानगरको सम्मान : दश जना स्रष्टालाई जनही एक लाख ५० हजार पुरस्कार
काठमाडौं । काठमाडौं महानगरपालिकाले ३० औँ वार्षिकोत्सवको अवसरमा १० जना स्रष्टालाई जनही एक लाख ५० हजार रुपैयाँसहित सम्मान गरेको छ । कामपाद्वारा शनिबार आयोजित कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, महानगर प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनीता डङ्गोललगायतको सहभागितामा चित्रकार किरण मानन्धरसहित १० जनालाई नगदसहित सम्मान गरिएको हो । लोकगायन क्षेत्रबाट कुमार बस्नेत, चित्रकला क्षेत्रबाट किरण मानन्धर, स्वास्थ्य क्षेत्रबाट डा अरुण सायमी, राजनीति र समाज सेवातर्फबाट कामपाका पूर्वप्रमुख पिएल सिंह, कलाकारिताअन्तर्गत चलचित्र क्षेत्रबाट नरेन्द्र कंसाकार, साहित्य क्षेत्रबाट मल्ल के सुन्दरलाई सम्मान गरिएको हो । खेलतर्फ तेक्वान्दोका सङ्गिना वैद्य, भलिबलका प्रतिभा माली र क्रिकेटका ज्ञानेन्द्र मल्ल सम्मानित भएका छन् । सम्मानित व्यक्तित्वलाई नगद एक लाख ५० हजार रुपैयाँसहित पुरस्कार प्रदान गरिएको हो । समारोहमा कामपाका ३२ वटै वडाले आ–आफ्नो सांस्कृतिक झाँकी, महानगर प्रहरी बलको कवाज, खेलका साथै कामपाले सहरी सेवा तथा सुविधा वितरण र सहरी व्यवस्थापनका लागि प्रयोग गरिने साधन र उपकरणको प्रदर्शन गरेको थियो । दमकल, एम्बुलेन्स, सडक सफा गर्ने ब्रुमर, फोहर सङ्कलन गर्ने सवारीलगायत उपकरण प्रदर्शन गरिएको थियो । शनिबार बिहान १० बजेदेखि टुँडिखेल मैदानमा मौलिक खाना, पेयपदार्थ र ‘एक वडा एक नमूना उत्पादन’ अन्तर्गत उत्पादित वस्तु तथा सामग्रीको प्रदर्शनी सुरु गरिएको कामपाले जनाएको छ । आजै साङ्गीतिक कार्यक्रम आयोजना हुनेछ । उक्त कार्यक्रममा बाबुकृष्ण परियार, इन्द्रकला राई, उर्गेन दोङ्, सुगम पोखरेल एण्ड द बाजागाजा, केहर लिम्बू एण्ड जोय ब्याण्ड, महेस काफ्ले, अस्मिता अधिकारी, कुमा सागर, दीप श्रेष्ठ, ओमविक्रम विष्ट, जेम्स प्रधान, सुजिल कर्माचार्य, सञ्जय श्रेष्ठ, योगेश्वर अमात्य, रचना रिमाल, सुशान्त घिमिरे, सन्दिप विष्ट, चक्र बमलगायत कलाकारले प्रस्तुति दिने कार्यक्रम छ ।
चार महिनामा काठमाडौं महानगरको १२ प्रतिशत बजेट खर्च, कुन महानगरको कति ?
काठमाडौं । देशभर रहेका ६ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा लक्ष्यअनुसारको बजेट खर्च गर्न सकेको छैनन् । पहिलो चौमासिक अर्थात् कार्तिक मसान्तसम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब ८ करोड ८४ लाख बजेट खर्च गरेको छ । जुन महानगरपालिकाले विनियोजन गरेको कुल बजेटको १२.४ प्रतिशतमात्रै प्रगति हो । चालु आवको लागि महानगरले २४ अर्ब ९० करोड ६३ लाख बजेट विनियोजन गरेको थियो । महानगरले सोही अवधिमा एक अर्ब २८ करोड २९ लाख पुँजीगत बजेट खर्च गरेको छ । चालु आवको लागि महानगरले पुँजीगततर्फ १५ अर्ब २ करोड २८ लाख बजेट छुट्याएकोमा सो रकम बराबरमात्रै खर्च भएको हो । तथ्यांकअनुुसार महानगरले पहिलो चौमासिकमा चालुतर्फ १ अर्ब ८० करोड ५४ लाख बजेट खर्च गरेको छ । महानगरले चालु आवको लागि कुल ९ अर्ब ७५ करोड ४९ लाख बजेट विनियोजन गरेको थियो । कुन महानगरको कति बजेट खर्च ? ललितपुर महानगरपालिका ललितपुर महानगरपालिकाले चालु आवको चार महिनामा ३३ करोड २९ लाख पुँजीगत खर्च गरेको छ, जुन विनियोजित कुल पुँजीगत खर्चको ७.११ प्रतिशत हो । महानगरले चालु आवको लागि ४ अर्ब ६७ करोड ९४ पुँजीगततर्फ बजेट छुट्याएको थियो । त्यस्तै, चालुतर्फ कुल २ अर्ब ७८ करोड ८९ लाख बजेट विनियोजन गरेकोमा महानगरले पहिलो चौमासिकमा ५३ करोड ३६ लाख मात्रै चालु बजेट खर्च गरेको छ । यो विनियोजित कुल बजेटको २६.०४ प्रतिशत खर्च भएको महानगरले जनाएको छ । महानगरले चालु आवको लागि ७ अर्ब ४६ करोड ८३ लाख बजेट विनियोजन गरेको थियो । भरतपुर महानगरपालिका भरतपुर महानगरपालिकाले चालु आव २०८१/८२ को लागि कुल ६ अर्ब ५६ करोड १ लाख बजेट विनियोजन गरेको थियो । महानगरले कुल विनियोजित बजेटमध्ये पहिलो चौमासिकसम्ममा ७३ करोड ३५ लाख खर्च गरेको छ जुन कुल बजेटको ११.१८ प्रतिशत प्रगति हो । कार्तिक मसान्तसम्ममा महानगरले २२ करोड ७७ लाख पुँजीगत बजेट खर्च गरेको महानगरपालिको सूचना अधिकारी मेनुका पण्डितले बताइन् । जुन विनियोजित बजेटको ५.९६ प्रतिशत हो । सूचना अधिकारी पण्डितका अनुसार चालु आवको लागि महानगरले पुँजीगततर्फ ३ अर्ब ८२ करोड ४८ लाख बजेट छुट्याएको थियो । त्यस्तै भरतपुर महानगरले चालुतर्फ २ अर्ब ७३ करोड ५२ लाख बजेट विनियोजन गरेकोमा चार महिनामा ५० करोड ५७ लाख खर्च भएको छ । जुन समग्र बजेटको १८.४८ प्रतिशत प्रगति हो । पोखरा महानगरपालिका पोखरा महानगरपालिकाले चालु आवको पहिलो चौमाासिकमा कुल विनियोजित बजेको १५ प्रतिशत बजेट खर्च गरेको छ । महानगरले चालु आवको लागि कुल ७ अर्ब ५१ करोड ३२ लाख बजेट छुट्याएकोमा एक अर्ब १२ करोड ७४ लाख बजेट खर्च गरेको हो । महानगरले सोही अवधिसम्म पुँजीगततर्फ ४६ करोड तीन लाख बजेट खर्च गरेको छ । चालु आवको लागि महानगरले पुँजीगततर्फको लागि भने कुल ४ अर्ब २९ करोड ७ लाख बजेट विनियोजन गरेकाो थियो । त्यसैगरी, महानगरले चालुतर्फ ६६ करोड ७१ लाख ८ लाख बजेट खर्च गरेको छ । कुल ३ अर्ब २२ करोड २५ लाख चालुतर्फ बजेट छुट्याएकोमा चार महिनामा सो रकम बराबरको मात्रै बजेट खर्च भएको महानगरले जनाएको छ । विराटनगर महानगरपालिका विराटनगर महानगरपालिकाले चालु आवको लागि कुल ३ अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । जसमध्ये पहिलो चौमासिकमा लक्ष्यको १३.६५ प्रतिशत अर्थात ४७ करोड ७७ लाख बजेट खर्च भएको महानगरको तथ्यांक छ । महानगरका अनुसार पुँजीगततर्फ बजेट विनियोजन एक अर्ब ६६ करोड ७९ लाख विनियोजन गरेकोमा जसमध्ये चार महिनामा १० करोड ५२ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । जुन लक्ष्यको ६.३३ प्रतिशत हो । त्यस्तै, महानगरले चालुतर्फ एक अर्ब ७८ करोड १८ लाख रुपैयाँ बजेट छुट्याएको छ । पहिलो चौमासिकमा महानगरले छुट्याएको बजेटको ३०.८९ अर्थात ३७ करोड २२ लाख रुपैयाँ चालुतर्फ बजेट खर्च गरेको छ । वीरगञ्ज महानगरको बारेमा विकासन्यूजबाट बुझ्न खोज्दा सम्पर्क भए पनि सम्बन्धित व्यक्तिले जानकारी दिन मानेनन् ।
अब काठमाडौंका ३६ ठाउँमा ‘पेलिकन क्रसिङ’, बटन थिच्नेबित्तिकै सडक पार
काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंको बबरमहलबाट सञ्चालनमा ल्याएको ‘पेलिकन क्रसिङ’ अर्थात् पुस बटन प्रविधि प्रभावकारी बन्दै गएको छ । २०८० मंसिर ११ गतेबाट सञ्चालनमा आएको सो प्रवधि थप प्रभावकारी बन्दै गएको काठमाडौं महानगरका ट्राफिक प्रहरी सल्लाहकार जगतमान श्रेष्ठले बताए । उनका अनुसार महानगरले अब छिट्टै नै ३६ ठाउँबाट पुस बटन प्रविधि सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । पहिलोपटक २०७९ फागुन १३ गते बागदरबारमा परीक्षणको रूपमा सञ्चालनमा आएको यो प्रविधि बबरमहलबाट सुरु भएको थियो । पैदलयात्री आफैले बटन थिचेर सडक पार गर्न सकिने प्रविधि भएकाले यसलाई पुस बटन अर्थात् अन डिमाण्ड क्रसिङ भनिएको हो । यो प्रविधि नेपालको लागि नौलो भएपनि पैदलयात्रु विस्तारै अभ्यस्त हुँदै गएको महानगरका ट्राफिक प्रहरी सल्लाहकार श्रेष्ठ बताउँछन् । यो प्रविधि सञ्चालनमा आएपछि बबरमहल क्षेत्रमा दुर्घटना न्युनीकरण हुँदै गएको श्रेष्ठले बताए । उनले भने, ‘विगतमा काठमाडौं जिल्ला अदालतअघि धेरै नै सडक दुर्घटना हुने गर्थ्यो, हामीले त्यस ठाउँलाई केन्द्रित गरेर पुस बटन लाइट जडान गर्यौं, अहिले त्यसको प्रभावकारिता देखिएको छ, दुर्घटना न्यूनीकरण भएको छ ।’ श्रेष्ठका अनुसार त्यहाँ लाइट राखेपछि सवारी चालक पनि सचेत बन्दै गएकाले दुुर्घटना न्युनीकरणमा सहयोग पुगेको हो । सडकमा निकै कम ट्राफिक लाइट भएको अवस्थामा यसले सर्वसाधारण पैदल यात्रुलाई ठूलो राहत मिल्ने उनको भनाइ छ । बेलाबेला यो लाइट बिग्रेको गुनासो आइरहन्छ । यससम्बन्धमा श्रेष्ठ भन्छन्, ‘प्रविधि हो, कतिबेला के हुन्छ भन्न सकिन्न । बेलाबेला बिग्रेको गुनासो आउँछ, बिग्रेका अवस्थामा तुरुन्तै बनाएर पुनः सञ्चालमा ल्याउने गरेका छौं ।’ पछिल्लो प्रगति काठमाडौं महानगरले पेलिकन क्रसिङको लागि २ करोड रुपैयाँ रकम विनियोजन गरेको छ । लाइट निर्माण ठेक्का भने १ करोड ७० लाखमा यार्सा टेक्नोलोजीले पाएको थियो । अहिले ३६ ठाउँमा काम धमाधाम भइरहेको महानगरका ट्राफिक सल्लाहकार श्रेष्ठले जानकारी दिए । निर्माण कम्पनीले पुसको पहिलो हप्तामा सबै काम सकाउनुपर्ने सम्झौता छ । सम्झौताअनुसार नै काम सक्ने तयारी रहेको निर्माण पक्षले जनाएको छ । निर्माण पक्षका अनुसार हालसम्म ३५ ठाउँमा पोल गाडिसकेको छ भने २६ ठाउँमा लाइट जडान भइसकेको छ । ३६ वटै ठाउँको लाइट एकैपटक सञ्चालनमा ल्याउने तयारी महानगरले गरेको छ । सुरुमा जडान गरिएको बबरमहलको लागि साढे सात लाख रुपैयाँ लागत लागेको थियो । अब जडान हुने पेलिकन क्रसिङको लागि भने त्यो भन्दा पनि कम लागत लाग्न सक्ने श्रेष्ठको भनाइ छ । सबै काम सकिसकेपछि एक/दुई दिन ट्रायलको लागि राखिने र त्यसपछि मात्रै प्रयोगमा ल्याउने श्रेष्ठले बताए । ‘सुरुमा जडान गरेको ठाउँमा ट्रायलको रूपमा राख्छौं, त्यसपछि महानगरका प्रहरी आफै बसेर यात्रुहरूलाई प्रयोग कसरी गर्ने भनेर सिकाउँछौं, साथै यो लाइट राखेका नजिकका स्कुलमा गएर केही दिन विद्यार्थीलाई ओरिन्टेसन पनि गराउँछौं,’ श्रेष्ठले भने । महानगरले पेलिकन क्रसिङ लाइट विद्यालय र क्याम्पस एरियालाई केन्द्रित गरेर राखिएको छ । रत्नराज्य क्याम्पस, शिवपुरी विद्यालय, बागमती विद्यालय, स्वरस्वती क्याम्पस, हेराल्ड कलेजलगायत ३६ विद्यालय तथा स्कुलनजिक यो लाइट राखिने महानगरले जनाएको छ । ट्राफिक लाइट र पुस अन बटनमा भिन्नता धेरैले ट्राफिक लाइट र पुस अन बटन अर्थात् पेलिकन क्रसिङलाई एउटै भनेर बुझ्ने गरेको पाइएको छ । वास्तवमा यी दुई भिन्न हुन् । ट्राफिक लाइट सिस्टमअनुसार आफै अटोमेटिकल्ली बल्ने हुन्छ । यो प्रविधि ट्राफिक चापअनुसार नै सेट गरेको हुन्छ । पेलिकन क्रसिङ पैदलयात्रुले आवश्यकताअनुसार आफै नै प्रयोग गर्न मिल्छ । यो प्रविधि चोकभन्दा बाहिर राखिएको हुन्छ । यात्रुले बटन थिचेपछि २ देखि तीन मिनेटमा बत्तीमा रातो बल्छ र सवारीसाधन रोकिन्छन् । त्यसपछि यात्रुले सहजै सडक पार गर्न सक्छन् । पेलिकन क्रसिङ कति आवश्यक ? सडकविज्ञ सरोज प्रधान काठमाडौं उपत्यकाभित्र पेलिकन क्रसिङ सञ्चालनमा आउनु राम्रै भएपनि यसका थुप्रै चुनौतीहरू पनि रहेको बताउँछन् । काठमाडौं उपत्यकामा मान्छेको चाप बढी हुँदा धेरैले यो प्रविधि प्रयोग गर्न खोज्छन्, यसले सवारी आगमनलाई प्रभावित पार्न सक्ने उनको भनाइ छ । ‘पेलिकन क्रसिङ सडक यात्रु आफैले प्रयोग गर्न मिल्ने हुँदा यसको सिस्टम पनि त्यहीअनुसार सेट गरेको हुन्छ । सडक यात्रुको मागअनुसार यो प्रविधि छिनछिनमै प्रयोग गर्ने हो भने यसले सवारी आगमन प्रभावित पर्न जान्छ । त्यसैले यसको सही सिस्टम हुनु आवश्यक देखिन्छ,’ प्रधानले भने । धेरै सर्वसाधारण यसको प्रयोगबारे अनविज्ञ भएको हुँदा सडक यात्रुहरुलाई पनि सिकाउनु जरुरी रहेको उनी बताउँछन् । त्यस्तै, आवश्यकता र प्राथामिकताको आधारमा यो प्रविधि जडान हुनुपर्ने उनको भनाइ छ । ‘काठमाडौंको सडकमा यो प्रविधि कति आवश्यक हो या होइन, यसको अध्ययन सम्बन्धित निकायले गर्नुपर्छ । मनलाग्दो जहींतहीं यो प्रविधि जडान गर्नुभन्दा आवश्यकता कहाँ हो त्यही राख्दा यसको प्रभावकारिता हुन सक्छ,’ प्रधानले भने । त्यस्तै, यस्ता खालको प्रविधिहरू राखेर मात्रै नहुने उनको भनाइ छ । प्रविधिहरू राखेपछि त्यसको व्यवस्थापन, मेन्टेनेन्स पनि समयमै हुनुपर्ने सडकविज्ञ प्रधानको भनाइ छ ।