भरतपुर महानगरपालिको दियो ४ हजार जनालाई निःशुल्क तालिम

चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०/०८१ मा ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिदै आइरहेको महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगार सम्बन्धी तालिम दिएको हो । महानगरको रोजगारी शाखाका अनुसार ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्धि, महिलाहरुको आन्तरिक क्षमता वृद्धि, बुटिक र पोते बनाउने, कौशी खेती, पञ्चेबाज बजाउने, मादल तथा खैजडीमा खरी भर्ने, मन्टेश्वरी, झोला, जुत्ता तथा चप्पल बनाउने, अचार बनाउने तालिम दिएको छ । यस्तै प्लम्बिङ, कृषि, बेकरी, सरफ, साबुन, भाडा धुने झोल र फिनेल बनाउने, घरेलु फोहोर व्यवस्थापन, चित्रकला, कपाल काट्ने, अमिन, झुम्का, माला, नेक्लेश तथा चुरा बनाउने, ड्राईभिङ,एड्भान्स सिलाई कटाई, कुक र होमेस्टे, इलेक्ट्रिसियन, सेनेटरी प्याड बनाउनेलगायतका तालिम हो । तालिमहरु एक दिने देखि ४ महिनासम्म सञ्चालन भएको महानगरले जनाएको छ । श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरमा पूर्वाधारको विकाससँगै विभिन्न परियोजनामा दक्ष जनशक्तिको माग भएकाले निःशुल्क तालिमलाई जोड दिइएको बताइन् । अहिले यहाँका उद्योग, कलकारखाना लगायतका ठाँउमा भारतलगायत अन्य देशबाट दक्ष नागरिक ल्याउनुपर्ने बाध्यता रहेको उनले बताइन् । तालिमको व्यवस्था गरिने युवाहरूलाई स्वरोजगार बनाई स्वदेशमै बस्ने वातावरण तयार गर्ने महानगरको उद्देश्य रहेको प्रमुख दाहालको भनाइ रहेको छ । महानगरले आगामी आर्थिक वर्षमा निःशुल्क तालिम दिने कार्यक्रमलाई वृद्धि गर्दै लैजाने पनि जनाएको छ ।

महालक्ष्मी नगरपालिकाले जडान गर्यो स्वचालित जेब्रा क्रसिगं ट्राफिक लाइट

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपाकिलो जेब्राक्रसिङमा बाटो काट्न आधुनिक शैलीको ट्राफिक लाइट जडान गरेको छ । सो सडकमा ट्राफिक चाप बढ्दै गएको अवस्थामा नगरपालिकाले पैदल यात्रीको सहजका लागि जेब्राक्रसिङमा ट्राफिक लाइट जडान गरेको हो । पैदल यात्रीहरुले आफैँ बटन थिचेर बाटो काट्ने ‘पोलिकन क्रसिङ लाइट’ सिस्टम सञ्चालनमा आएको छ । स्वचालित जेब्रा क्रसिगं भिडियो रोल ट्राफिक जनचेतना जगाउन काठमाडौं महानगरपालिकाका नगरपालिकाले बेला बेलामा ट्राफिक सचेतनामुलक कार्यक्रमहरु गर्दै आएका छन् । पैदल यात्रीहरुका लागि सजिलो होस् भन्ने उदेश्यले पछिल्लो समयको विजान र प्रविधिको युगमा अत्याधुनिक मेसिनबाट नै धेरै कामहरु भइरहेका बेला स्वचालित जेब्रा क्रसिगं ट्राफिक लाइटको प्रयोग बढ्दो छ । भिडियो रोल महानगरपालिकाले बाहुनधारा चोक, सानागाउँ भाटभटेनी नजिक र कृष्ण मन्दिर चोकमा स्थानीयहरुलाई बाटोृ बाट्न असहजता भइरहेको भन्दै पैदल यात्रीहरुका लागि स्वचालित जेब्रा क्रसिगं ट्राफिक लाइटको उद्घाटन गरेको छ । सो अवसरमा स्थानीय जनप्रतिनिधिदेखि, ट्राफिक प्रहरी र स्थानीयबासीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

शिक्षक सरुवा निर्देशिकाप्रति गाउँ र नगरपालिका संघको आपत्ति

काठमाडौं । शिक्षा मन्त्रालयले शिक्षक सरूवा सम्बन्धी जारी गरेको निर्देशिकामा गाउँपालिका राष्ट्रिय महासंघ र नेपाल नगरपालिका संघले ध्यानाकर्षण गराएका छन् । संघीय शिक्षा विधयेक संसदमा विचाराधिन रहेको अवस्थामा शिक्षा मन्त्रीले शिक्षक सरूवा सम्बन्धी जारी गरेको भन्दै आपत्तिक जनाएको हो । गाउँपालिका र नगरपालिका महासंघले विज्ञप्ती निकाल्दै यो निदेर्शिका नै खारेज गर्नुपर्ने बताएको छ । ‘नेपालको संविधानले आधारभुत तथा माध्यमिक शिक्षालाई स्थानीय सरकारको एकल अधिकारको सूचीमा राखेको सर्बबिदितै छ, शिक्षा विधयेक संसदमा विचाराधिन रहेको अवस्थामा सरोकारवालासँग परामर्श गरी स्वीकृतीको लागि संसदमा पेश गर्न सहजिकरण गर्नु पर्नेमा २०२८ सालको शिक्षा ऐनको प्रभावमा विद्यालय शिक्षालाई केन्द्रिकृत रुपमा नै सञ्चालन गर्न खोजिएको कार्य संबिधान विपरित छ,’ विज्ञाप्तीमा लेखिएको छ । आधारभूत र माध्यामिक शिक्षा स्थानीय सरकार मातहत रहेकाले आफ्नो अधिकार माथी हस्तक्षेप नगर्न सचेत गर्दै निर्देशिका खारेज गर्न माग गरेको छ । संघले यो निर्देशिका कार्यान्वयन नगरी गाउँ/नगर सभाबाट जारी भएको स्थानीय शिक्षा ऐनबमोजिम कार्यसम्पादन गर्न पनि सबै स्थानीयसरकारलाई आग्रह गरिएको छ ।