प्रभावकारी बन्दै ‘दिगो सडक’ कार्यक्रम
बलेवा । स्थानीय तह गठनपछि पहिलो कार्यकालको तेस्रो वर्षमा मात्रै जैमिनी नगरपालिका–८ छिस्ती सडक सञ्जालले जोडिएको थियो । अहिले यहाँका अधिकांश बस्तीमा बाह्रै महिना सवारीसधान सञ्चालन हुन थालेका छन् । नगरले कालीगण्डकी करिडोर र कृषि सडकलाई मूल मार्ग मानेर अन्य सडक सञ्जाल विस्तार गरेको हो । यसअघि पूर्वाधार विकासको पहिलो खुड्किला मानिएको सडक नपुगेकाले अन्य पूर्वाधारको विकासका लागि नगरसँग चुनौतीका चाङ थिए । अहिले जैमिनीका सबै गाउँ सडक सञ्जालले जोडिएका छन् । सबै वडा कार्यालयमा बाह्रै महिना सवारी सञ्चालन हुने गरी सडक सञ्जाल विस्तार भए पनि अझै पर्याप्त नभएको जैमिनी–८ छिस्तीका नारायण पौडेलको भनाइ छ । पालिका सदरमुकाम कुश्मीशेरा बजार जिल्ला सदरमुकाम बागलुङ बजारसँग कालोपत्र सडकले जोडिएको छ । कुश्मीसेराबाट वडाहरू जोड्ने सडकका नाकामा कालोपत्र र ढलानको काम सुरु भएको छ । नगरले सडक विस्तारमा नयाँ रणनीति लागू गरेको छ । जैमिनीले सडक बनाउने मात्रै नभई बनेका सडकलाई टिकाउन प्रयत्न गरिरहेको जनाएको छ । पहिलो कार्यकालमा सुरु भएको दिगो सडक कार्यक्रमलाई जैमिनीले नमूनाका रूपमा कार्यान्वयन गरिरहेको नगर उपप्रमुख हरिहर शर्माले बताए । उनका अनुसार १० वडा रहेको नगरमा १३ दिगो सडकका योजना छन् । यी सडक स्तरोन्नति भइसक्दा जैमिनीका सबै वडामा बाह्रै महिना सवारीसाधन सहजै पुग्ने नगर उपप्रमुख शर्माले बताए। ‘जैमिनी–१, ५, ६, ७ र ८ लाई छोएर राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर उत्तरबाट दक्षिण लाग्छ,’ उनले भने, ‘वडा नं १, २, ४, ९ र १० लाई छोएर बागलुङ शान्तिपुर कृषि सडक बनेको छ ।’ यिनै दुईवटा मुख्य सडकलाई आधार बनाएर जैमिनीले हरेक वडा जोड्न दिगो सडक कार्यक्रम सञ्चालनमा ल्याएको हो । ‘दिगो सडक कार्यक्रम हरेक वडामा क्रमबद्ध रूपमा पक्की सडक पुर्याउने लक्ष्यका साथ सञ्चालनमा ल्याइएको कार्यक्रम हो,’ शर्माले भने, ‘हामीले गौरव गर्न सकिने गरी १३ सडक तयार गर्दैछौँ ।’ हरेक वर्ष दिगो सडकका लागि बजेट विनियोजन हुने गरेको उनले जानकारी दिए । पक्की नाली तयार, ग्राभेल गर्ने, पर्खाल लगाउने र सडक टिकाउने काममा नगर लागेको छ । टुक्रे योजनामा गरेको लगानी खेर जाने भएकाले पनि दिगो सडक कार्यक्रम ल्याइएको शर्माको भनाइ छ । दिगो सडकले सर्वसाधारणलाई आवतजावतमा सहज मात्रै होइन, कृषि उपजको बजारीकरण र पर्यटनमा समेत सहयोग गर्ने बुझाइ नगरको छ । हरेक दिगो सडकसँग नगरभित्रका कुनै न कुनै पर्यटकीय क्षेत्र जोडिएका छन् । ‘घुम्न आउनेहरूका सवारी सडककै कारण भनेको ठाउँमा पुग्दैनन्, हामीले दिगो सडक तयार गरे त्यो समस्या हट्छ,’ नगर उपप्रमुख शर्माले भने, ‘सडकमा लगानी गर्नु भनेको आर्थिक क्षेत्रमा जोडिनु पनि हो ।’ जैमिनीधाम, हाँडिकोट टापु, गाजाको दहजस्ता धार्मिक तथा प्राकृतिक पर्यटकीय क्षेत्र जोड्न दिगो सडक प्रयोगमा आउने उनले बताए । बजारीकरण र पर्यटनमा सडकले राहत भूगोलका हिसाबले दूरदराजमा रहेका गाउँमा उत्पादित कृषि उपज तथा पशुधनलाई बजार पुर्याउन अहिले पनि ढुवानीमा समस्या हुने गरेको छ । ठूला साधन नपुग्ने र साना सवारी तथा मानव श्रमशक्ति महँगो पर्ने भएकाले किसान निराश छन् । उत्पादनभन्दा ढुवानी लागतका कारण मर्कामा परेका किसानलाई दिगो सडकले सहयोग गर्ने नगर उपप्रमुख शर्माले बताए । रासस
जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिना अवधिमा जथाभावी फोहोर फाल्नेबाट ११ लाख ६५ हजार नौ सय रुपैयाँ जरिवानाबापत राजस्व सङ्कलन गरेको छ । जथाभावी फोहर फाल्ने व्यक्ति तथा संस्था गरी तीन सय ८० जनामाथि महानगरले कारबाही गरेको हो । महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सरफुद्दिन मियाँका अनुसार गत २०७९ पुस १७ गतेदेखि जरिवानाको नियम लागु भएकोमा हालसम्म नौ सय जना कारबाहीमा परिसकेका छन् । महानगरले २७ लाख दुई हजार छ सय पाँच रुपैयाँ जरिवानाबापत राजस्व सङ्कलन गरिसकेको छ । ‘घर, पसल र कार्यालयबाट निस्किने फोहर जथाभावी फाल्ने प्रवृत्ति छ’, सरसफाइ शाखा प्रमुख मियाँले भने, ‘त्यो प्रवृत्ति निरुत्साहित गर्न हामीले जरिवाना गर्न थालेका हौँ ।’ अभियानलाई प्रभावकारी बनाउन सार्वजनिक मुद्दा चलाउने महानगरको योजना छ । सफा, स्वच्छ र सुन्दर महानगर बनाउने उद्देश्यका साथ निजी संस्थासँग सहकार्य गरी महानगरको ३२ वटै वडामा तीन चरणमा नियमित सफाइ हुँदै आएको छ । वर्षायाम सुरु हुनुअघि महानगरपालिकाभित्रका सबै साना ठूला नाला सफा गरिसक्ने प्रमूख मियाँले बताए । ‘मेयर साबको मुख्य चाहना सफा, सुन्दर र वैभव वीरगञ्ज बनाउने हो’, प्रमुख मियाँले भने, ‘त्यही योजनाअनुसार बिहान, दिउँसो र राति गरी तीन चरणमा नाला र सडक सफाइ गरिरहेका छौँ, तर सरसफाइ कर्मचारी हटाइएकाले समस्या भएको छ ।’ केही वर्षअघिसम्म वीरगञ्ज महानगर दुर्गन्धित नगरका रुपमा चिनिन्थ्यो । वीरगञ्जलाइ सफा महानगर बनाउने लक्ष्यका साथ योजना अघि बढाइएपछि अहिले सफा र सुन्दर देखिन थालेको छ । तर बजेट अभावको कारण सरसफाइ गर्ने कर्मचारी हटाएपछि चुनौती थपिएको प्रमुख मियाँको भनाइ छ । रासस
स्नातक छोरी बुहारीलाई सूर्योदय नगरपालिकाले रोजगारी दिने
इलाम । सूर्योदय नगरपालिका–१, बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक पढाएको नगरपालिकाले रोजगारी पनि दिन्छ भन्ने लागेको थिएन । ‘कक्षा १२ पास भएपछि कसरी ब्याचलर पढ्ने भन्ने चिन्ता थियोे । नगरपालिकाले पढायो’, शाहले भनिन्, ‘जागिरको खोजीमा थिएँ, पालिकाले नै शिक्षकको जागिर दिएको छ । आजदेखि पढाउन थालेँ ।’ बिहीबारदेखि महेन्द्रोदय विद्यालयमा अध्यापन सुरु गरेको उनले सुनाइन् । शाह मात्र होइन नगरपालिकाको शतप्रतिशत छात्रवृत्तिमा स्नातक उत्तीर्ण गरेकाले बिहीबारदेखि रोजगारी पाएका छन् । ‘नगरको इच्छा,छोरीबुहारीलाई शिक्षा’ नाराका साथ कर्फोक क्याम्पसमा निःशुल्क स्नातक पढाइ सुरु भएको पाँच वर्ष भएको छ । ‘हालसम्म १५३ छोरीबुहारीले स्नातक तहको अध्ययन गरिसकेका छन् भने तीमध्ये २३ जनाले उत्तीर्ण गरेका छन्’, नगरप्रमुख रणबहादुर राईले भने, ‘उत्तीर्ण भएकालाई नगरपालिकामा रोजगारी दिन निवेदन माग गरेकोमध्ये १५ जनाको आवेदन प्राप्त भयो । उहाँहरुलाई बिहीबारदेखि एक सय दिनको रोजगारीका लागि यहाँका विभिन्न विद्यालय र अन्य कार्यालयमा खटाइएको छ ।’ विद्यार्थीले पढेको विषय र उनीहरूको योग्यताअनुसार नगरपालिकाले रोजगारी दिएको हो । दुई जनालाई वडा कार्यालय, एक जनालाई नगरको शिक्षा, युवा तथा खेलकुद शाखा, एक जनालाई प्रसूति तथा बाल क्लिनिक र बाँकी सबैलाई विभिन्न विद्यालयमा खटाइएको छ । उनीहरूले खटाइएका ठाउँमा सय दिन काम गर्नेछन् । नगरप्रमुख राईले छात्रवृत्तिमा स्नातक उत्तीर्ण महिलालाई प्रोत्साहन गर्न छोटो समयका लागि भए पनि रोजगारी दिइएको बताए । ‘बुहारीलाई पनि पढाउनुपर्छ भन्ने सोच विकास गर्न नगरपालिकाले यो कार्यक्रम ल्याएको हो’, प्रमुख राईले भने, ‘छात्रवृत्तिमा अध्ययन गरेका छोरीबुहारीलाई थप प्रोत्साहन गर्न र उनीहरूका माध्यमबाट अरू छोरीबुहारीलाई पनि पढाइमा हौसला थप्न रोजगारीको कार्यक्रम ल्याइएको छ ।’ राईले रोजगारीको अवसर छोटो समयका लागि भए पनि उनीहरूलाई थप सिकाइ र क्षमता प्रस्फुटनमा सहयोग गर्न सहयोगी बन्ने बताए । ‘स्नातक गरेका छोरीबुहारीलाई रोजगारीका कार्यक्रमले थप मद्दत पुग्नेछ,’ उनले भने, ‘उनीहरूको दक्षता र क्षमताबाट नगरपालिकाले पनि सहयोग पाउने छ ।’ नगरपालिकामा बसोवास गर्ने परिवारका छोरी र यहाँ विवाह भएर आएका बुहारीलाई नगरपालिकाले छात्रवृत्तिमा स्नातक अध्ययन गराइरहेको नगर प्रमुख राईले बताए । ‘कानुनी रूपमा उमेर पुगे पनि २०–२२ वर्षका छोरीहरु विवाह होइन पढाइप्रति नै ध्यान दिनुपर्छ । उनीहरुलाई पढाइप्रति नै आकर्षित गर्नुपर्छ भनेर यो कार्यक्रम कार्यक्रम कार्यान्वयन गरिएको हो,’ उनले भने । नगरका शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले शिक्षा, मानविकी, व्यवस्थापन, कम्प्युटरलगायत विद्यार्थीको जुन विधामा योग्यता छ, त्यसैमा रोजगारी दिइएको बताए । ‘कलेजमा पढेको विषयसँग सम्बन्धित मात्र होइन, जोसँग जे क्षमता छ, त्यसैअनुसार काम विभाजन गरेका छौं,’ उनले भने । यस वर्ष यहाँ छात्रवृत्तिमा अध्ययन गर्ने छोरीबुहारीको सङ्ख्या दुई सय पुगेको करफोक क्याम्पस प्रमुख गोपाल कट्टेलले बताए । नगरपालिकाबाट छात्रवृत्ति पाएका छोरीबुहरी करफोक क्याम्पसमा विविध विषयमा अध्ययन गरिरहेका छन् । क्याम्पस प्रमुख कट्टेलले नगरपालिकाको छात्रवृत्ति कार्यक्रमका माध्यमबाट ग्रामीण भेगका छोरीबुहारीले क्याम्पस पढ्न पाएका बताए । ‘आर्थिक अवस्था सबल नभएका गाउँका छोरीबुहारीलाई छात्रवृत्ति कार्यक्रमले क्याम्पससम्म ल्याएको छ’, उनले भने, ‘छात्रवृत्तिमा अध्ययन गर्न पाउने र थप सय दिनको रोजगारी पनि हुने भएपछि छात्राहरूलाई प्रोत्साहन मिलेको छ ।’ करफोक क्याम्पसमा छात्रवृत्ति पाएका विद्यार्थीले बिबिए, बिबिएच र बिएड अध्ययन गरिरहेका छन् । स्नातक तह उत्तीर्ण गरेकामध्ये धेरैजसो स्नात्तकोत्तर अध्ययन गर्न जिल्ला बाहिर रहेकाले १५ जनाले मात्र सय दिनको रोजगारी लिएका नगरपालिकाको शिक्षा शाखा प्रमुख भट्टराईले बताए । शिक्षा क्षेत्रमा नगरपालिकाले गरेको लगानी परिणाममुखी भएको विद्यार्थीले बताएका छन् । गोर्खेकी सुजता बजगाईंलाई २०७४ सालमा कक्षा १२ उत्तीर्ण गरेपछि कसरी स्नातक गर्ने भन्ने चिन्ता थियो तर उनलाई नगरपालिकाले पढायो । गाउँकै हिमालय माध्यमिक विद्यालयबाट १२ कक्षा उत्तीर्ण गरेकी सुजता ‘नगरको इच्छा छोरीबुहारीलाई शिक्षा’ कार्यक्रमअन्तर्गत पालिकाको शतप्रतिशत छात्रवृत्तिमा नै स्नातक उत्तीर्ण भइन् । हाल उनी स्नात्तकोत्तर अध्ययन गरिरहेकी छन् । ‘परिवारको सामान्य आर्थिक अवस्थाका कारण उच्च शिक्षा अध्ययनमा धेरैलाई समस्या छ’, सुजताका बुबा प्रेमले भने, ‘हाम्रो नगरपालिकाले छोरीबुहारीलाई स्नातक तहमा पढाइरहेको छ, पैसाको अभावमा पढाइ छोड्नुपर्ने, पढाइ छोडेकै कारण कम उमेरमा विवाह गर्नुपर्नेलगायत समस्याबाट मुक्त हुन पालिकाको यो काम उदाहरणीय मात्र होइन प्रशंसनीय छ ।’ रासस