सहकारीमा देखिएको समस्या समधानको गर्न जिल्ला सहकारी संघले अगुवाई गर्नुपर्छ : प्रमुख दाहाल

चितवन । भरतपुर महागनरपालिका प्रमुख रेनु दाहालले सहकारी देखिएको समस्या समधानको लागि चितवन जिल्ला सहकारी संघले अगुवाई गर्नुपर्ने बताएकी छन् । ६७ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा भरतपुरमा आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले सहकारीमा देखिएको वेथिति अन्त्य गर्न भरतपुर महागनर पनि सकारात्मक रहेको उल्लेख गरिन् । सहकारीको जननी जिल्ला चितवन र भरतपुर १९ साविकको बखानपुर भएकाले यहाँबाट देशलाई सुशासनको सन्देश दिनुपर्ने प्रमुख दाहालले बताइन् । हरेक वर्षको चैत्र २० गते राष्ट्रिय सहकारी दिवस मनाउने गरेको छ । चितवनमा २०१३ साल स्थापना भएको बखान ऋण सहकारी समितिको सम्झना गर्दै यो दिवस मनाउने गरिएको हो । महानगरपालिकाले यहाँ रहेका ३ सय ६३ वटा सहकारीलाई व्यवस्थित गर्न मर्जरको प्रकृयालाई अगाडि बढाएको उनले बताइन् । सहकारीलाई नियमन गर्ने विषयमा स्थानीय निकायलाई सिमित अधिकार दिइएकाले पूर्ण रुपमा नियमन गर्न नसकिएको प्रमुख दाहालले बताइन् । महानगरपालिकाले सहकारी क्षेत्रको विकास गर्न वर्षेनी ठुलो बजेट विनियोजन गर्ने गरेको प्रमुख दाहालले बताइन् । महानगरपालिकाले विषेश गरी उत्पादनमूलक क्षेत्रमा कृषिका औजार, मेशिन र दुग्ध सहकारीलाई प्रति लिटर रु ३ अनुदान दिदै आएको उनले बताइन् । महानगरले दुग्ध उत्पादन संलग्न सहकारीलाई चिलिङ भ्याट, मिल्क एनालाईजर सेट, कृषि सहकारी, कृषि सहकारीलाई मिल खरिदको लागि ५० प्रतिशत लागत साझेदारी प्रदान गर्ने गरेको छ । सहकारीले देशको आर्थिक र सामाजिक रुपान्तरण महत्वपूर्ण भूमिका खेल्ने भएकाले सहकारीलाई थप उत्पादनमुखी बनाउनुपर्नेमा प्रमुख दाहालले जोड दिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सहकारी बोर्डका सहअध्यक्ष मित्रराज दवाडीले सहकारी समुदायमा आधारित भएमात्र कुनै पनि समस्या नआउने बताइन् । चितवनमा बाहिरी जिल्लाबाट आई सहकारी विस्तार गरी यहाँको पैसा संकलन गरी अन्य ठाँउमा लैजाने परिपाटीले साहारा, शिवशिखर, लाँलीगुराँस, सनराईज जस्ता सहकारीमा समस्या देखिएको उनको भनाई छ । अहिले चितवनमा मुख्य कार्यालय रहेर खोलिएका सहकारीमा कुनै पनि समस्या नआएको उनले प्रष्ट पारिन् । काठमाडौं, भक्तपुर, ललितपुर, नेपालगञ्जजस्ता ठाँउबाट शाखा विस्तार गरी यहाँ आएका सहकारीले १८ प्रतिशत ब्याज दिने लोभ देखाएर बचत गरी ठुलो रकम दुरुपयोग गरेको पाइएको सहअध्यक्ष दवाडीले बताइन् । कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारी, संघका संस्थापक अध्यक्ष टेकप्रसाद गुरुङलगायतले मन्तव्य व्यक्त गरेका थिए । भरतपुर महानगरपालिकामा बचत तथा ऋण सहकारी १ सय ३१, दुग्ध सहकारी ७४, कृषि सहकारी ४५, बहुउद्देश्यीय सहकारी ३६, साना किसान सहकारी १२, तरकारी तथा फलफुल ६, उपभोक्त ४, संचार २, जडीबुटी २, मत्स्य १, मौरी सहकारी १, पर्यटन सहकारी १ र संघ, प्रदेश र भरतपुरमा दर्ता भएका ८ वटा सहकारी छन् । चितवन जिल्लाभर ८ सय सहकारी रहेका छन् । सहकारी विभागका अनुसार नेपालभर ३१ हजार सहकारी सञ्चालनमा छन् । सहकारीको योगदान नेपालको अर्थतन्त्रमा ८ खर्बको योगदान रहेको छ ।

सडक किनारका भौतिक संरचना भत्काउँदै वीरगञ्ज महागरपालिका

वीरगञ्ज । अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रका भौतिक संरचना हटाउने अभियानलाई वीरगञ्ज महानगरपालिकाले निरन्तरता दिएको छ । अनधिकृत संरचनाले सडक विस्तारमा अवरोध भएपछि महानगरपालिकाले घरटहरा हटाएका हो । महानगर क्षेत्रभित्र सार्वजनिक पोखरी तथा जग्गा अतिक्रमण गर्ने र सार्वजनिक जग्गामा भौतिक संरचना निर्माण गर्ने प्रवृत्ति बढेसँगै वीरगञ्ज महानगरपालिकाले सो अभियानलाई निरन्तरता दिएको हो । अभियानकै क्रममा सोमबार साँझ महानगरपालिकाले वडा नं २९ बसडिल्वाका घरटहरा हटाइएको छ । महानगरपालिकाको बगहीबाट मुसैली बसडिल्वा, बकनेर हुँदै पर्सागढी नगरपालिका–३ को पारस चोकसम्म करिब सात दशमलव पाँच किलोमिटर पक्की सडक निर्माणाधीन छ । सडक क्षेत्रमा परेको भौतिक संरचना हटाउन पटकपटक सूचना दिए पनि लामो समयसम्म नहटाएपछि महानगरपालिकाले टहरा हटाएको हो । यसअघि हुलाकी सडकअन्तर्गत पर्साको वीरगञ्ज महानगरपालिका १५ स्थित प्रतिमा चोकमा अतिक्रमण गरी बनाइएका संरचना हटाइएको थियो । केही स्थानीयले सडक अतिक्रमण गरेर संरचना बनाएका कारण हुलाकी सडक निर्माण अवरुद्ध भएपछि ती संरचना भत्काइएका थिए । प्रतिमा चोकबाट कलैयातर्फ जाने करिब एक सय ५० मिटर लामो सडकखण्ड निर्माणको ठेक्का अभि कन्सट्रक्सनले पाएको छ । उक्त खण्ड ६९ लाख १५ हजार रुपैयाँमा हुलाकी सडककै मापदण्डअनुसार आगामी जेठ ३० गतेभित्र सम्पन्न गर्नेगरी सम्झौता भएको छ । अतिक्रमित सार्वजनिक जग्गा खोज्ने र सडक क्षेत्रमा निर्माणाधीन भौतिक संरचना हटाउने अभियानलाई निरन्तरता दिएको महानगरले अभियानकै क्रममा हालसम्म महानगर क्षेत्रभित्रका २८ वटा सार्वजनिक पोखरी तथा एक सय ४८ बिघाभन्दा बढी जग्गा आफ्नो स्वामित्वमा ल्याएको वीरगञ्ज महानगरपालिका प्रमुख राजेशमान सिंहका सचिवालय सल्लाहकार हरि पोखरेलले बताए । अभियानका क्रममा वडा नं १७ मा आठ, वडा नं २६ मा चार, वडा नं १८ मा २०, २४ मा २८, २९ र ३० नं वडामा दुई–दुईवटा र वडा नं १९ र २३ मा एक–एकवटा सार्वजनिक पोखरी महानगरपालिकाको नाममा लगत कायम गरिएको महानगरपालिकाले जनाएको छ । सार्वजनिक पोखरी रहेको १९ बिघा सात कठ्ठा जग्गा पहिचान गरी महानगरपालिकाको अधिनमा ल्याइएको सल्लाहकार पोखरेलले बताए । महानगर क्षेत्रभित्रका सार्वजनिक पोखरी, उद्यान, मठमन्दिरलगायत क्षेत्र अतिक्रमण गरी स्थानीयले भौतिक संरचना निर्माणका साथै त्यसालई खेतबारीका रुपमा उपभोग गर्दै आएका छन् । महानगरको विभिन्न वडामा सार्वजनिक जग्गा अतिक्रमण गरी भौतिक संरचना निर्माण गर्ने, खेतबारीका रूपमा उपभोग गर्ने, सार्वजनिक पोखरी व्यक्तिगत रूपमा उपभोग गर्नेजस्ता प्रवृत्ति बढ्दै गएपछि महानगरले अतिक्रमित जग्गा खोज्ने अभियान जारी राखेको छ । अतिक्रमित जग्गा खोज्न र नापचाँज गरेर सार्वजनिक र निजी जग्गा छुट्याउन महानगरले विभिन्न वडामा प्राविधिक टोली पनि परिचालन गरेको छ । ‘महानगरको धेरैजसो स्थानमा स्थानीयले सार्वजनिक जग्गा अतिक्रमण गरी निजी सम्पत्तिको रूपमा प्रयोग गर्दै आएका छन्’, वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंहले भने, ‘पहिलो चरणमा प्राविधिक टोलीले सार्वजनिक जग्गा खोज्ने र त्यसपछि पहिचान भएको जग्गा खाली गराएर आफ्नो स्वामित्वमा ल्याउने काम जारी राखेका छौँ, यसैक्रममा स्थानीयले उपभोग गर्दै आएको सार्वजनिक पोखरीलाई फिर्ता ल्याउन सफल भएका छौँ’, उनले भने । महानगरले वडा नं ३० बेलबामा स्थानीय केहीले अतिक्रमण गरेर उपभोग गर्दै आएको ३२ बिघा जग्गा आफ्नो स्वामित्वमा ल्याएर सामूहिक कृषिखेतीका लागि प्रयास गरिरहेको छ । वडा नं १७ र १९ को सीमामा रहेको कोनियाँ गाउँमा स्थानीयले अतिक्रमण गरी उपभोग गर्दै आएको १० बिघा १८ कठ्ठा जग्गा महानगरले आफ्नो स्वामित्वमा ल्याएइको पोखरेलले जानकारी दिए । यस्तै वडा नं १९ मा स्थानीयले अतिक्रमण गरी निजी प्रायोजनमा प्रयोग गर्दै आएको करिब सात बिघा र वडा नं १७ अलौं मन्सी टोलमा सार्वजनिक पोखरी अतिक्रमण गरी बनाइएको संरचना भत्काएर १३ कठ्ठा आठ धुर जग्गा महानगरले आफ्नो अधिनमा ल्याएको उनले बताए। उनका अनुसार वडा नं ३० लालपर्सामा विपश्यनाको पश्चिमतर्फको एक बिघा एक कठ्ठा र वडा नं १६ इनर्वामा अध्यागमन कार्यालयसँगै जोडिएको १९ कठ्ठा जग्गा अतिक्रमण हटाएर महानगरपालिकाको स्वामित्वमा ल्याइएको फुँयालले जानकारी दिए । त्यस्तै महानगरपालिका वडा नं २७ मा रामजानकी मन्दिरका नाममा रहेको दुई बिघा १३ कठ्ठा आठ धुर र वडा नं २२ मनियारीमा आठ कठ्ठा जग्गा महानगरको अधिनमा नक्साङ्कन गरिएको छ । वडा नं ३१ बेलबामा स्वास्थ्यचौकी नजिकै अतिक्रमण गरी बनाइएको संरचना हटाई चार कठ्ठा बढी जग्गा, ड्राइपोर्ट अगाडि मूल सडकसँग जोडिएको अतिक्रमित १० कठ्ठा र सोही सडकअन्तर्गत हुलाकी सडकमा पर्ने सिर्सियाखोला पुल नजिकैबाट दुई कठ्ठा चार धुर जग्गा महानगरले अधिनमा ल्याएको फुँयालले बताए । त्यसैगरी, वडा नं ८ स्थित प्रभु अस्पताल नजिकै पर्ने १० धुर जग्गा खाली गराई महानगरपालिकाले आफ्नो अधिनमा ल्याएको छ भने वडा नं १० स्थित घअिर्वा पोखरीको दक्षिण गेट अगाडिको रामजानकी मन्दिरको अतिक्रमण हटाई भक्तजनका लागि मन्दिर खुला गरिएको छ । सार्वजनिक जग्गा खोज्ने क्रममा गुठी संस्थानको नाममा रहेको ८० बिघा जग्गासमेत छुट्याइएको महानगरपालिकाले जनाएको छ । केही दिनअघि वीरगञ्ज महानगरपालिकाले आर्दशनगरस्थित ‘चिल्ड्रेन पार्क’को जग्गामा स्थानीयले निर्माण गरेका संरचना हटाएको थियो । रासस

व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी

कैलाली । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छन् । व्यावसायिक च्याउखेतीमा लागेकी चौधरीले गाउँमा नमुना किसानको परिचय बनाएका छिन् । विसं २०७६ मा सुरु गरेको च्याउखेतीले उनलाई सफल किसान बनाएको छ । उनले व्यवसायलाई बढाउँदै लगेकी छिन् । ‘मैले सिजनअनुसार ६ किसिमका च्याउको खेती गर्दै आएको छु, बेमौसममा उत्पादन भएको च्याउले बजारको मागलाई पूरा गर्न सकिएको छैन । उत्पादन भएको च्याउ बिक्रीका लागि बजार पुग्नै पर्दैन । घरबाटै सबै बिक्री हुन्छ,’ उनी भन्छिन् । चौधरीले हिउँदमा कन्यालगायत प्रजातिको च्याउ उत्पादन गर्दै आएकी छन् । गर्मीमा ब्लुक्याप, पिङ्की च्याउ उत्पादन गर्दै आएकी उनले बर्खामा दुधेच्याउ लगाउँदै आएकी छन् । लगानीका हिसाबले तेब्बरभन्दा बढी आम्दानी लिन सकिने व्यवसायबाट वार्षिक सात लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछिन् । ‘लगानीको तुलनामा आम्दानी अधिक छ । त्यसैले व्यवसाय विस्तार गरेको छु,’ उनी भन्छिन्, ‘परिवारका अन्य सदस्यलाई पनि व्यवसायमा जोडेर काम गरिरहेको छु ।’ उनले च्याउखेतीमात्रै नभई बेमौसमी तरकारीखेती र तरकारीको बेर्ना पनि उत्पादन गर्दै आएकी छन् । अहिले उनको तरकारी बारीमा बेमौसमी तरकारी उत्पादन भइरहेको छ । ‘च्याउखेतीबाट बचेको समय बेमौसमी तरकारीमा लगाउने गरेको छु । तरकारीका बेर्नाबाट पनि प्रशस्त आम्दानी हुन्छ, तरकारी र तरकारीको बेर्नाबाट वार्षिक रु चारदेखि पाँच लाख आम्दानी हुन्छ,’ उनले भनिन् । राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषि कार्यक्रम कार्यान्वयन एकाइबाट बीउमा अनुदान पाएकी उनलाई गाउँपालिकाले प्राविधिक सहयोग गर्दै आएको छ । जानकी गाउँपालिका–४ कञ्चनपुरका श्रीराम कठरिया २०७२ सालदेखि च्याउखेतीमा छन् । उनले च्याउखेतीमा करिब ५० लाख लगानी गरिसकेका छन् । व्यवसायबाट अहिलेसम्म भएको आम्दानी उनले व्यवसाय वृद्धिमा नै लगाएका छन् । ‘मैले नौ वर्ष गरेको आम्दानी यही व्यवसायमा भएको लगानी हो । करिब रु ५० लाख लगानी भइसकेको छ, आजसम्म भएको आम्दानी लगानीमा सकियो । अबको आम्दानी बचतमा जान्छ,’ उनी भन्छन् । च्याउखेतीका लागि उनले एसी प्लान्ट जोडेका छन् । जहाँ एकैपटक एक हजारभन्दा बढी च्याउ राख्न मिल्छ । च्याउखेतीसँगै केरा, तरकारी र मकैखेती गर्दै आएका कठरिया अहिले सबै छाडेर च्याउ उत्पादनमा व्यस्त भएका छन् । उनले गाउँका अन्य युवालाई पनि व्यावसायिक खेतीका निम्ति प्रेरित गर्दै आएका छन् । जानकी गाउँपालिकाकै ममता चौधरीले स्नातक तहको अध्ययनसँगै च्याउखेती सुरु गरिन् । पढ्दै खेतीमा लागेकी उनलाई एन्जिल चौधरीले सिकाएका थिए । साथीहरूबाट सिकेको ज्ञानसँगसँगै स्नातक तहको अध्ययन सक्नुभयो भने व्यवसायलाई विस्तार गर्दै त्यसको निरन्तरतामा लागिन् । परिवारको दबाबले एक वर्ष कानुन पढ्न धनगढीमा बिताएकी ममतालाई व्यवसायबाट हुने गरेको मनग्य आम्दानीले धनगढीबाट घर फिर्ता गर्यो । उनी भन्छिन्, ‘अब स्नातकोत्तर गर्छु । व्यवसायलाई पनि निरन्तरता दिनेछु ।’ बाह्र महिना च्याउ उत्पादनमा लागेकी उनले ठूलो धनराशि लगानी गरेकी छैनन् । यो वर्ष एक लाख लगानी गरेको उनको च्याउ खेतीबाट ६ लाख आम्दानी भएको छ । ‘च्याउखेतीमा खासै लगानी छैन । त्यही प्लास्टिक र पराल हो चाहिने, पराल आफैँसँग हुन्छ प्लास्टिक किन्नुपर्छ । लगानीभन्दा आम्दानी तेब्बर छ,’ उनी भन्छिन् । उनको पाँचजना परिवारका पाँच जना च्याउखेतीमा नै व्यस्त छन् ।