अदानचुली गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । हुम्लाको अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डेसहित ११ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाई योजनामा अनियमितता गरेको भन्दै अदानचुली गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत तिलप्रसाद पाण्डे, इन्जिनियर मकर ध्वज शाही, सवइन्जिनियर जयराम छत्याल, योजना शाखामा समेत कार्यरत खानेपानी तथा सरसफाई टेक्निसियन मंगल भण्डारी, तत्कालीन लेखापाल दिपक नेपालीविरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । उनीहरुले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण सम्झौतामा निर्धारित शर्त र मापदण्ड विपरीत निर्माण कार्य गरी गराई, झुट्टा नापी किताब, उपभोक्ता समिति सम्बन्धि बिल, कार्य सम्पन्न प्रतिवेदनसमेत तयार गरी गराई सोही झुट्टा बिल भरपाई र कागजातको आधारमा वास्तविक फिल्डमा भएको कामभन्दा बढी ४२ लाख २९ हजार रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरी सरकारी रकम हानिनोक्सानी पुर्याएको आयोगको दावी छ । यससँगै निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ङ) बमोजिमको कसुर भएको हुँदा निजहरु उपर ४२ लाख २९ हजार रुपैयाँ बिगो कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम जरिवाना र कैद गरी विगो असुल उपर हुन मागदाबी लिइएको आयोगले जानकारी गराएको छ । त्यसैगरी अदानचुली गाउँपालिकाका उप-प्रमुख सौमति रावल ऐडी, अनुगमन समिति सदस्य मान बहादुर टमटा भन्ने मान्या टमटा र धनसरा टमटाले ढकनीकुनादेखि मुढेघट्टसम्म सिँचाइ निर्माण योजनाको अनुगमन गरी फिल्डमा वास्तविकभन्दा बढी काम सम्पन्न भएको भनि गलत प्रतिवेदन पेश गरेको भेटिएको छ । साथै, ढकनीकुनादेखि मिढेघट्टसम्म सिँचाइ योजना निर्माण उपभोक्ता समितिका अध्यक्ष दत्त रोकाय र कोषाध्यक्ष सिर्जना बुमीले अदानचुली गाउँपालिका, हुम्लासँग भएको सम्झौता विपरित काम गरेको पाइएको छ । उनीहरुले फिल्डमा वास्तविक भएकोभन्दा नापी किताब, उपभोक्ता सम्बन्धी बिल र कार्यसम्पन्न प्रतिवेदनमा बढी काम भएको मूल्याङ्कन गराई ४२ लाख २९ हजार रुपैयाँ भुक्तानी माग गरी सरकारी रकम हानीनोक्सानी पुर्याएको अख्तियारको ठहर छ । अख्तियारले उनीहरुविरूद्ध ४२ लाख २९ हजार ३५८ रुपैयाँ जरिवाना र कैद माग दाबी गरेको छ ।
फिदिम नगरका सबै विद्यालयमा सिसी क्यामेरा जडान
पाँचथर । फिदिम नगरपालिकाले नगरभित्रका सबै माध्यमिक विद्यालयमा सिसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाएको छ । नगरपालिकाका १४ वटै वडामा रहेका २० माध्यमिक विद्यालयलाई सिसी क्यामेराबाट निगरानी गर्ने व्यवस्था मिलाइएको हो । प्रत्येक विद्यालयमा चार वटाका दरले क्यामेरा जडान गरिएको नगरपालिकाले जनाएको छ । माध्यमिक विद्यालयमा जडित क्यामेराको निगरानी भने नगरपालिकाबाट गर्न मिल्ने व्यवस्था मिलाइएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिए । उनका अनुसार नगरपालिकाले चालु आर्थिक वर्षको आठ लाख ८५ हजार रुपैयाँ बजेटबाट सिसी क्यामेरा जडान गरिएको हो । ‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयमा पठनपाठनलाई व्यवस्थित र प्रभावकारी बनाउन नियमित निगरानी गर्ने उद्देश्यले सिसी क्यामेराको व्यवस्था गरेका हौँ’, नगर प्रमुख काफ्लेले भने, ‘माविहरुमा क्यामेरा थप्ने तथा आधारभूत विद्यालयमा समेत सिसी क्यामेरा जडान गर्ने योजना बनाएका छौँ ।’ सिसी क्यामेराबाट विद्यालयको निगरानी पालिकाको शिक्षा शाखाबाट हुनेछ । नगर प्रमुख काफ्लेको मोबाइल (ट्याब)मा समेत ८० वटै सिसी क्यामेराले कैद गरेको भिडिओ हेर्न मिल्ने व्यवस्था मिलाइएको छ । मङ्गलबार नगरपालिकाले सामुदायिक माविको सिसी क्यामेरा उद्घाटन कार्यक्रमपछि नगर प्रमुख काफ्लले कार्यकक्षबाट विद्यालयको अवस्था निगरानी गरिरहेका थिए । सो क्रममा फिदिम–१० का वडाध्यक्ष ओमराज थाम्सुहाङले आफ्नो वडामा रहेको खलङ्गाटार माध्यमिक विद्यालयको अवस्था हेर्न नगर प्रमुख काफ्लेलाई आग्रह गरे । फिदिम–१० को खलङ्गाटार माध्यमिक विद्यालयमा नियमित पठनपाठन भइरहेको र विद्यार्थी तथा शिक्षकहरु कक्षाकोठामै रहेको पाएपछि वडाध्यक्ष थाम्सुहाङले भने, ‘नगरपालिकाबाटै निगरानी हुने भएपछि विद्यालयमा देखिने बेथिति कम हुने आशा जागेको छ ।’ पालिकाले निगरानी गर्ने भएपछि जनप्रतिनिधिलाई अटेरी गर्ने शिक्षकसमेत नियमित अध्यापनमा लाग्ने फिदिम–९ लुम्फाबुङका वडाध्यक्ष गङ्गाबहादुर राईको अपेक्षा छ । सिसी क्यामेरा उद्घाटन कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई पाँचथरका प्रमुख युगमणि सवेहाङले शैक्षिक क्रियाकलाप र शिक्षकको नियमित निगरानीले विद्यालयमा हुने क्रियाकलाप र शिक्षकको आचरण सुधारमा मद्दत मिल्ने बताए । प्रमुख जिल्ला अधिकारी मेखबहादुर मङ्ग्रातीले विद्यालयको सुरक्षामासमेत सिसी क्यामेराले मद्दत मिल्ने बताए । उनले सिसी क्यामेरा जडानलाई सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्ने प्रयासको सुरुआतका रुपमा लिनुपर्ने बताए । जिल्लाको एक चौथाइ बढी जनसङ्ख्याको बसोबास रहेको फिदिममा २० माध्यमिकसहित कूल ७९ सामुदायिक विद्यालय छन् । सबै सामुदायिक विद्यालयमा विद्युत्, इन्टरनेट र ई–हाजिरीको व्यवस्था गरिएको नगर प्रमुख काफ्लेले बताए । रासस
म्याग्दीमा ‘आइसिटी फर फ्राइडे’ कार्यक्रम
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ रिमामा रहेको आदर्श माध्यमिक विद्यालयले शुक्रबारको पठनपाठनमा किताबरहित बनाउने तयारी गरेको छ । विद्यालयले विद्युतीय माध्यमबाट पठनपाठनका लागि सूचना र सञ्चार प्रविधिको प्रयोग गर्न ‘आइसिटी फर फ्राइडे’ कार्यक्रम सञ्चालन गर्न १० लाख रुपैयाँ बढी सहयोग जुटाएको छ । ग्रामीण भेगमा रहेको यस विद्यालयका विद्यार्थीलाई आधुनिक शिक्षण सिकाइ क्रियाकलापमार्फत पठनपाठन गराउनेगरी आगामी वैशाखदेखि हरेक साताको शुक्रबार विद्यार्थीलाई विद्यालयमा पाठ्यपुस्तकरहित ‘आइसिटी फर फ्राइडे’ सञ्चालन गरिने विद्यालयका प्रधानाध्यापक कुमार गर्बुजा पुनले जानकारी दिए । विद्यालयले केही महिनायता उक्त कार्यक्रमका लागि सञ्चालन गरेको आर्थिक संकलन अभियानमा अहिलेसम्म १० लाख ५७ हजार रुपैयाँ सहयोग संकलन भएको प्रअ पुनले बताए । उनका अनुसार यस अभियानमा स्थानीयवासी, भूपूविद्यार्थी, सहयोगदाता, चन्दादातामार्फत सहयोग जुट्ने क्रम जारी छ । अहिलेसम्म यस अभियानमा एक सय ३० जनाले सहयोग गरेका छन् । विद्यालयको ६८औं वार्षिकोत्सवका अवसरमा विद्यालयले सहयोगदातालाई सम्मान गरेको छ । कार्यक्रममा विद्यालयका सहयोगदातासँगै पूर्वव्यवस्थापन समितिका अध्यक्ष, पूर्वप्रअ, अक्षयकोषदाता लगायतलाई सम्मान गरिएको छ । विद्यालयले सहयोगदातामार्फत जुटेको रकमबाट ‘आइसिटी कोष’ बनाउने र त्यसैमार्फत सूचना तथा सञ्चार प्रविधिका सामग्रीको बन्दोबस्त गर्ने तयारी गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर गर्बुजाले जानकारी दिए । ‘हामीले शुक्रबार विद्यार्थीले झोलामा किताब बोकेर विद्यालयमा आउन नपरोस् भनेका छौँ, मोबाइललाई शिक्षण सिकाइ उपयोगमा ल्याउन सकियो भने पनि यसले धेरै सहयोग पुग्छ, आधुनिक शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्ने हाम्रो प्रमुख लक्ष्य रहेको छ,’ उनले भने । मोबाइललाई गलत प्रयोग गर्ने प्रचलनलाई हटाएर बालबालिकाको शिक्षण सिकाइ उपयोगमा ल्याउने विद्यालयले जनाएको छ । विद्यालयका सबै कक्षाकोठामा इन्टरनेटको पहुँच पुर्याउँदै मोबाइल, ल्यापटप, कम्प्युटर, प्रोजेक्टरलगायतको प्रविधिबाट साताको शुक्रबार अनिवार्यरूपमा पठनपाठन गराउने विद्यालयको तयारी छ । कुल ५६ जना विद्यार्थी अध्ययनरत विद्यालयले विसं २०७७ बाट कक्षा ६ देखि १० सम्म कम्प्युटर विषयमा पठनपाठन गराउँदै आएको छ । विद्यालयको यस अभियानमा अन्नपूर्ण गाउँपालिकाले आगामी आर्थिक वर्षमा रु पाँच लाख २० हजार बजेट उपलब्ध गराउने अध्यक्ष भारतकुमार पुनले बताए । समुदाय आफैंले विद्युतीय माध्ययमबाट पठनपाठन गराउने अभियानमा सहयोग जुटाइरहेकाले गाउँपालिकाले समेत प्रविधिको व्यवस्थापनमा सहयोग गर्ने अध्यक्ष पुनले बताए । अन्नपूर्ण गाउँपालिकाले आगामी आवदेखि गाउँपालिकाभित्रका १० वटा माध्यमिक विद्यालयमा ‘टेलीटिचिङ’लाई प्रयोगमा ल्याउने भएको छ । माध्यमिक विद्यालयमा रहेको शिक्षक अभावलाई हटाउन सबै माविहरूमा पठनपाठन गराउने विषय र समयतालिकामा एकरूपता ल्याउने र प्रोजेक्टरको माध्ययमबाट पठनपाठन गराउने गाउँपालिकाको तयारी छ । रासस