बच्चा जन्मेको ३५ दिनभित्रै जन्मदर्ता गरे ५ हजार

काठमाडौं । नुवाकोटको विदुर नगरपालिका–५ ले बच्चा जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गर्नेलाई ५ हजार रुपैयाँ उपलब्ध गराउने भएको छ । बच्चा जन्मेपछि ३५ दिनभित्र जन्मदर्ता गराउनेलाई प्रोत्साहन गर्न र वयस्क हुने समयमा बैंक खातामा केही रकम सुनिश्चत होस् भन्ने उद्देश्यले बच्चाको जन्मदर्तासँगै ५ हजार रुपैयाँ बैंक दाखिला गराउन थालिएको हो । वडा कार्यसमितिको बैठकको निर्णयअनुसार बच्चाको जन्मदर्ता गराएसँगै उक्त बच्चाका नाममा बैंकमा खाता खोल्न लगाई सम्बन्धित अभिभावकलाई रु पाँच हजार जम्मा गर्न लगाएर वडा कार्यालयले थप ५ हजार रुपैयाँ जम्मा गरिदिने वडाध्यक्ष लीलानाथ न्यौपानेले जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षबाट कार्यान्वयनमा ल्याइएको उक्त कार्यक्रमबाट हालसम्म २६ बच्चाको खातामा रकम दाखिला भइसकेको छ । “बच्चाको जन्मदर्ता गराउन र जन्मेलगत्तै बैंक खाता सुनिश्चित बनाउन नगद जम्मा गर्ने व्यवस्था मिलाउन सुरु गरेका हौँ”, वडाध्यक्ष न्यौपानेले भने, “जम्मा भएको रकम बच्चा वयस्क भएपछि झिक्न पाउने नियम बनाएका छौँ ।” वडा नं ५ मा दलित, कुमाल, आदिवासी जनजातिसहितका निम्न तथा श्रमिक वर्गको बाहुल्यता धेरै छ । अहिले जन्मिएका बच्चा वयस्क हुदाँका बखत खातामा केही रकम सुनिश्चित गराउन कार्यक्रमलाई केन्द्रित गराउने वडाध्यक्ष न्यौपानेको भनाइ छ । वडा कार्यालय र सम्बन्धित अभिभावकबाट अहिले रु पाँच हजारका दरमा बैंक खातामा रकम जम्मा हुने भए पनि निकाल्ने समयमा त्यसको सात÷आठगुणा बढी पुग्ने जानकारी पाएको उनले बताए । “वडा कार्यालयले बच्चाको सम्मानमा नगद जम्मा गर्ने कार्यक्रम ल्याएपछि अभिभावकले बच्चा जन्मेको ३५ दिन पूरा नहँदै जन्मदर्ता गराउन थालेका छन्, बच्चाको जन्मदर्ता र बैंक खाता खोलेर आआफ्नो दायित्वको रकम दाखिला गर्ने अभियानमा सक्रियता देखाएकाले कार्यक्रम प्रभावकारी हुने विश्वास छ”, उनले भने । उक्तबापतको लाग्ने बजेट वडा कार्यायलले आफ्नो आन्तरिक स्रोत तथा विविध शीर्षकबाट मिलाएको छ ।

भूकम्प प्रभावित क्षेत्रमा पूर्वाधार निर्माण गर्न जनशक्ति तयार गरिँदै

  जाजरकोट । भूकम्प प्रभावित पालिकामा पूर्वाधार निर्माण गर्नका लागि उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटले जनशक्ति तयार गरिरहेको छ । जिल्लाका सबै ठाउँमा निर्माण हुने सुरक्षित तथा अस्थायी आवास निर्माण गर्नका लागि १२ कलस्टरमा तालिम दिएर जनशक्ति तयार पार्ने काम जारी रहेको कार्यालयका प्रमुख महेन्द्रकुमार भडेलले जानकारी दिए । भेरी र नलगाड नगरपालिकामा तालिमको काम भइसकेको छ भने बाँकी पालिकामा छिट्टै काम सुरु हुने उनले बताए । पन्ध्र दिने भूकम्प प्रतिरोधात्मक घर निर्माण गर्नका लागि डर्कमी तालिम दिएर स्थानीय युवालाई सक्षम बनाउने काम भएको प्रमुख भडेलले बताए । उनका अनुसार भेरी नगरपालिका–१ पिपेमा १०, नलगाड–३, ७ र १२ मा ३० जना डर्कमी उत्पादन गरिएको छ । अन्य ठाउँमासमेत तालिमको व्यवस्था गरी जनशक्ति उत्पादनको काम सुरु भएको कार्यालयले जनाएको छ । भूकम्प प्रतिरोधी घर निर्माण गर्दा डकर्मीको अभाव हुन नदिन, पुनर्निर्माण गर्दा आउने समस्या समाधानका लागि उपभोक्ता हित संरक्षण कार्यालयले गाउँगाउँमा तालिम दिन सुरु गरेको भडेलले जानकारी दिए । दश कलस्टरमा दिइने उक्त तालिमले जिल्लामा हुने निर्माणमा सहयोग पुग्ने कार्यालयले अपेक्षा गरिएको छ । नलगाडमा तीन, भेरीमा दुई कलस्टरमा तालिममा दिइएको छ । अन्य पालिकामा पनि यही तालिका अनुसार सीप सिकाउने तथा तालिम दिने भडेलले बताए । दक्षजनशक्ति प्रयोग गर्नका लागि बाहिर जिल्लाको सहयोग लिनु भन्दा स्थानीय युवालाई तालिम दिएर सीप सिकाएर रोजगारीको सिर्जना गर्न यो पहल थालिएको हो । अहिले जिल्लामा सबै ठाउँमा अस्थायी आवासको निर्माणको काम चलिरहेको छ । बयालीस हजार पाँच सय २४ भूकम्प प्रतिरोधात्मक घर जाजरकोटका सात पालिकामा निर्माण हुनेछन् । छ हजार छ सय ३४ भेरीमा, नलगाडमा आठ हजार ९७, छेडागाडमा चार हजार दुई सय ५६, बारेकोटमा पाँच हजार पाँच सय ८६, कुशेमा पाँच हजार आठ सय ८७, जुनिचाँदेमा तीन हजार दुई सय ११ र शिवालय गाउँपालिकामा तीन हजार तीन सय नौ वटा घर निर्माण हुनेछन् । सोही सङ्ख्यामा अस्थायी आवास निर्माणको काम चलिरहेको छ । जिल्लामा १९ हजार सात सय एक मात्र अस्थायी टहरा निर्माण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस

दमकले प्राधिकरणसँग विद्युत् पोल उपयोग गरेबापत भाडा असुल्ने

दमक । दमक नगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग विद्युत् पोल र ‘ट्रान्सफर्मर’ राखेबापतको भाडा लिने भएको छ । प्राधिकरणले विद्युत् महसुलको बक्यौता असुल्न गर्न ताकेता गरेपछि नगरपालिकाल सो निर्णय गरेको हो । नगरपालिकाले नगरभित्र गाडिएका विद्युत् पोल र विद्युत् ट्रान्सफर्मर वापत प्राधिकरणसँग जग्गाको भाडाबापत हालसम्मकै भाडा असुल्ने निर्णय लिएको हो । नगरपालिकाको १३ औँ नगरसभाले स्वीकृत गरेको दर रेटमा भाडाबापतको रकम असुल गर्ने निर्णय गरेको नगरपालिकाको बैठक व्यवस्थापन शाखाले जनाएको छ । नगरपालिकाको गत माघ ९ मा बसेको कार्यपालिका बैठकमा नगरपालिकाको नाममा यसअघि जडान भएका कूल एक सय ७० विद्युत् मिटरमा उठेको महसुल वापतको बक्यौता रु छ करोड ९३ लाख ६१ हजार तिर्न विद्युत् प्राधिकरण दमक वितरण केन्द्रले गरेको पत्राचारबारे छलफलसमेत भएको जनाइएको छ । नगर प्रमुख रामकुमार थापाले छलफलपछि कार्यपालिका बैठकले यसअघि नगरपालिकाले विभिन्न टोलमा जडान गर्न लगाएका सडक बत्तीबापतको विद्युत् महसुलका कारण नगरपालिकाका नाममा विद्युत् महसुलको बक्यौता देखिएको ठहर गरेको बताए । अब उप्रान्त कुनै पनि टोलमा नगरपालिकाका नाममा विद्युत् मिटर राख्न अनुमति वा सिफारिस नदिने र त्यसरी सडक बत्ती जडान तथा मर्मत एकपटकका लागि मात्रै नगरपालिकाले गर्ने र सोपछि भने सम्बन्धित टोल विकास संस्थाले आफैंले ब्यहोरर्ने गर्नुपर्ने गरी मात्रै सिफारिस दिने पनि बैठकले निर्णय लिएको उनले जानकारी दिए । त्यसैगरी नगरपालिकाले वडा नं ६ स्थित नगरपालिकाको स्वामित्वमा रहेका पसल क्लबको सम्झौतामा उल्लेख भएअनुसार व्यवसायीले नियमितरुपमा तिर्नुपर्ने भाडाको बक्यौता हालसम्म रु ४४ लाख रहेकाले सोको असुलीका लागि टोली खटाउने पनि निर्णय गरेको छ । रासस