ट्रम्पको १५ बुँदे शान्ति योजना नेतन्याहुद्वारा अस्वीकार, गाजा शान्ति प्रयास थप जटिल
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अघि सारिएको गाजासम्बन्धी १५ बुँदे शान्ति प्रस्ताव अस्वीकार गरेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा बोल्दै प्रधानमन्त्री नेतन्याहुले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजाबाट इजरायली सेना फिर्ता नहुने अडान दोहोर्‍याएका हुन् । ट्रम्पको ‘बोर्ड अफ पिस’ मार्फत ल्याइएको प्रस्तावमा हमासले हतियार त्याग्नेसँगै गाजाबाट इजरायली सेना चरणबद्ध रूपमा फिर्ता हुने र त्यसपछि अन्तर्राष्ट्रिय स्थिरीकरण बल तथा नयाँ प्यालेस्टिनी प्रहरीमार्फत सुरक्षा व्यवस्थापन गर्ने उल्लेख छ । तर इजरायलले सेना फिर्ती र हमासको निःशस्त्रीकरणलाई समानान्तर रूपमा लैजान नसकिने स्पष्ट पारेको छ । नेतन्याहुका अनुसार हमासले हतियार बुझाएको पूर्ण सुनिश्चितता भएपछि मात्र सेना फिर्ता हुनेछ । अर्कोतर्फ, हमासले भने अमेरिकी मध्यस्थतामा आएको योजनाप्रति केही लचकता देखाएको थियोे । गाजाको प्रशासन नयाँ ढाँचामा चलाउन र अमेरिकी निगरानीमा हतियारसम्बन्धी छलफल गर्न तयार रहे पनि ‘निःशस्त्रीकरण’ को परिभाषा र कार्यान्वयनलाई लिएर अझै गम्भीर मतभेद कायम छ । यसैबीच, गाजामा युद्धविरामपछिको अवस्थामा पनि मानवीय क्षति रोकिन सकेको छैन । रोयटर्सका अनुसार युद्धविराम घोषणा भएयता मात्रै इजरायली कारबाहीमा १ हजार २५० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ । विश्लेषकहरूका अनुसार नेतन्याहुको यो पछिल्लो निर्णयले ट्रम्प प्रशासन र इजरायलबीचको सम्बन्ध तथा गाजाको भावी रणनीतिका विषयमा मतभेद बढाउने सङ्केत गरेको छ । दुवै पक्षबीच मुख्य बुँदामै सहमति जुट्न नसकेपछि गाजामा दीर्घकालीन शान्ति, पुनर्निर्माण र सुरक्षा व्यवस्थापनको प्रयास पुनः अनिश्चित बनेको छ ।
एक्सट्रिम इनर्जी ड्रिंकको ‘स्क्यानमा सुन’ अभियान सम्पन्न, तीन जना विजेतालाई सुनको बल हस्तान्तरण
काठमाडौं । एक्सट्रिम इनर्जी ड्रिंकले विश्वकप फुटबल २०२६ को अवसरमा सञ्चालन गरेको ‘स्क्यानमा सुन’ अभियान सफलतापूर्वक सम्पन्न भएको घोषणा गरेको छ । अभियानअन्तर्गत लक्की ड्रमार्फत छनोट भएका तीन जना भाग्यशाली विजेता प्रमेश केसी, तिप्सिका राणा र सबिना थापालाई शुक्रबार काठमाडौंको कलंकीस्थित भाटभटेनी सुपरमार्केट परिसरमा आयोजित समारोहबीच जनही ३.५ तोलाको सुनको गोल्डेन बल हस्तान्तरण गरिएको छ । विश्वकप फुटबलको रोमाञ्चलाई नेपाली उपभोक्तासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको यस अभियानमा देशभरबाट १ लाख २० हजारभन्दा बढी उपभोक्ताले क्यानमा रहेको क्यूआर कोड स्क्यान गरी सहभागिता जनाएका थिए । पुरस्कार ग्रहणपछि विजेताहरूले एक्सट्रिम इनर्जी ड्रिंकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता उपभोक्तामुखी अभियानहरू सञ्चालन गर्न अपेक्षा व्यक्त गरेका छन् । सोही समारोहमा एक्सट्रिम इनर्जी ड्रिंक र भाटभटेनी सुपरमार्केटको सहकार्यमा सञ्चालन गरिएको विशेष बाइक उपहार योजनाको लक्की ड्रसमेत सार्वजनिक गरिएको थियो, जसमा समिर चन्द्र शर्मा पौडेल भाग्यशाली विजेता घोषित भएका छन् । युवापुस्तामाझ लोकप्रिय बन्दै गएको यस इनर्जी ड्रिंक ब्रान्डले उपभोक्ताबाट प्राप्त उत्साहजनक सहभागिताप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि प्रविधिमैत्री तथा सिर्जनात्मक अभियानमार्फत नयाँ अनुभव प्रदान गर्ने प्रतिबद्धता जनाएको छ ।
पाँच वर्ष बित्दा पनि अस्पताल नबनेपछि ठेक्का रद्द गर्न मन्त्री लम्सालले दिए निर्देशन
काठमाडौं । दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण सुरु गरिएको गुल्मी अस्पतालको भवन पाँच वर्ष पुग्न लाग्दासमेत निर्माण पूरा हुन नसकेपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आइतबार अस्पतालको निरीक्षण गर्दै ठेक्का रद्द गरी नयाँ टेन्डर आह्वान गर्न निर्देशन दिएका छन् । अनुगमनका क्रममा निर्माण कम्पनी, इन्जिनियर र अस्पताल प्रशासनसँग प्रगति तथा ढिलाइको कारणबारे जानकारी लिँदै मन्त्री लम्सालले थप ढिलाइ अब कुनै पनि हालतमा स्वीकार्य नहुने स्पष्ट पारे । करिब २५ करोड ९५ लाख ६४ हजार रुपैयाँ लागतमा पाँच तले भवन निर्माणका लागि २०७८ असार १८ गते सम्झौता भई २०८० असार १७ गतेभित्र सक्ने लक्ष्य राखिए पनि स्वच्छन्द–बानियाँ जेभीको लापरबाहीका कारण पटक-पटक म्याद थपिँदै आएको छ । भारत सरकारको आर्थिक सहयोग तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत बन्दै गरेको यस भवनको भौतिक प्रगति ९१ प्रतिशतभन्दा बढी भएर करिब ६ करोड रुपैयाँ बराबरको काम बाँकी रहेको बताइए पनि नयाँ भवन समयमै नबन्दा गुल्मी अस्पताल अझै पुरानै भवनबाट सेवा दिन बाध्य छ । पर्याप्त वार्डको अभावमा बिरामी र स्वास्थ्यकर्मीले सास्ती भोगिरहेका छन् भने नयाँ भवन सञ्चालनमा आएपछि व्यवस्थित ओपीडी, आपत्कालीन, प्रसूति, शल्यक्रिया, आईसीयू तथा विशेषज्ञ सेवा विस्तार गर्ने योजना रहेको छ । वि.सं. २०११ मै ५० शय्यामा स्तरोन्नति भए पनि भौतिक पूर्वाधारको अभावमा सेवा पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको भन्दै अस्पताल विकास समितिका अध्यक्ष राजेन्द्र पाण्डेले जिल्लावासीको लामो प्रतीक्षालाई ध्यानमा राखेर अब निर्माणमा जरा पनि ढिलाइ गर्न नहुने बताए ।