मकवानपुरमा प्रहरीले आत्मरक्षाका गोली चलायो, लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौं । मकवानपुरको मनहरी गाउँपालिका-१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक जना प्रहरी सहायक निरीक्षक र आक्रमणकारी मध्येका एक जना घाइते भएका छन् । प्रहरीचौकी पदम पोखरीबाट खटिएको प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि लागूऔषध सेवनकर्ताले  गएराति बञ्चरो प्रहार गर्दा प्रहरी सहायक निरीक्षक तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए ।  प्रहरीले आत्मरक्षाका लागि एक राउन्ड गोली चलाउँदा हेटौंडा उप-महागरपालिका-१२ हात्तीगौँडा निवासी १९ वर्षीय सनिस घाइते भएका छन् । दुवै घाइतेको हेटौंडास्थित सिएमसी चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।  हेटौंडा उप-महानगरपालिका-१२ हात्तीगौडाका २४ वर्षीय सञ्जय जिम्बा र ३५ वर्षीय अजय थिङलाई पक्राउ गरिएको छ ।   साथै, देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागूऔषधसहित १३ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी कक्षका अनुसार काठमाडौं, झापा, रुपन्देही, सुनसरी र कञ्चनपुरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।  अभियुक्तहरूबाट गाँजा, खैरो हिरोइन र चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि प्रहरीले बरामद गरेको छ । 

पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अभाव, ५ करोड रुपैयाँ बजेट फिर्ता

काठमाडौं । पोखरा रङ्गशालामा गत माघ २७ देखि फागुन ९ गतेसम्म सञ्चालित २५औँ संस्करणको आहा! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिता रात्रिकालीन समयमा खेलाउने प्रयास सफल हुन सकेन । अस्थायी ‘फ्लड लाइट’ राखेर उद्घाटन खेल सञ्चालन गरिए पनि मैदानमा पर्याप्त प्रकाश नपुगेका कारण अन्य प्रतियोगिता दिउँसोकै समयमा सार्नुपर्यो । आयोजक सहारा क्लब पोखराले पहिलोपटक पोखरामा रात्रिकालीन फुटबलको अनुभव दिलाउन गरेको उक्त प्रयासले अन्तर्राष्ट्रिय स्तरको पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ जडानका लागि सम्बन्धित निकायलाई सकारात्मक दबाब भने पुगेको क्लबको ठहर छ । ‘रात्रिकालीन फुटबल प्रतियोगिता खेलाउन हामीले प्रयास गर्यौं, तर पहिलोपटक भएका कारण केही प्राविधिक समस्या पनि रहे, खेलाडी र दर्शकबाट प्रकाश नपुगेको गुनासो आयो,’ क्लबका अध्यक्ष केशवबहादुर थापाले भने, ‘निजी क्षेत्रको क्लबले अस्थायी रूपमा भए पनि फ्लड लाइट राखेर प्रतियोगिता सञ्चालनको प्रयास गर्नु आफैँमा महत्वपूर्ण छ, यसले राज्यका सम्बन्धित निकायमा पनि सकारात्मक दबाब पुगेको हामीले महसुस गरेका छौँ ।’ अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालनका लागि पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ अनिवार्य रूपमा राख्नुपर्ने उनले बताए । ठूलो धनराशि खर्चेर बनाइएको उक्त रङ्गशालामा ‘फ्लड लाइट’ जडानको योजना अझै कार्यान्वयनमा आउन सकेको छैन । तत्कालीन भौतिक पूर्वाधार विकास तथा ऊर्जामन्त्री कुलमान घिसिङले गत मङ्सिरमा रङ्गशाला निरीक्षणका क्रममा पनि ‘फ्लड लाइट’ जडानको योजना अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए ।  ‘पोखरा रङ्गशालामा फ्लड लाइट जडानको माग पटकपटक उठ्दै आएको छ, विभिन्न कारण देखाउँदै अहिलेसम्म जडान गरिएको छैन,’ सहारा क्लबका अध्यक्ष थापाले भने, ‘अब बन्ने नयाँ सरकारले फ्लड लाइटका लागि योजना र बजेट ल्याउँछ कि आशा गरौँ ।’ खेल क्षेत्रमा रहेको केन्द्रीकृत मानसिकताका कारण पनि राजधानीबाहिर खेल पूर्वाधारको अवस्थामा अपेक्षित सुधार आउन नसकेको अध्यक्ष थापाको भनाइ छ । ‘फ्लड लाइट’ नहुँदा पोखरामा रात्रिकालीन खेल गतिविधि सञ्चालन गर्न नसकिएको उनले बताए ।  अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) को मान्यता पाउन पनि रङ्गशालामा ‘फ्लड लाइट’ अनिवार्य हुनुपर्ने व्यवस्था छ । १६ हजार ५०० दर्शक क्षमताको स्तरीय रङ्गशाला भईकन पनि ‘फ्लड लाइट’ नहुनुलाई खेल क्षेत्रका पदाधिकारी दुःखद मान्छन् । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले बजेट अभावमा पोखरा रङ्गशालामा ‘फ्लड लाइट’ जडान हुन नसकेको जनाएको छ । ‘फ्लड लाइट’का लागि करिब १२ करोडको लागत अनुमान गरिएको छ । राष्ट्रिय खेलकुद परिषदले केही वर्षअघि ‘फ्लड लाइट’का लागि छुट्याएको ५ करोड रुपैयाँ बजेट कोभिड-१९ महामारीका कारण काम हुन नसकी फिर्ता भएको थियो । देशकै ठूलो र सुविधायुक्त यस रङ्गशालाको सञ्चालन तथा व्यवस्थापनमा सङ्घ र प्रदेश सरकारबीच सहकार्य हुनुपर्ने आवाज खेल क्षेत्रमा उठ्दै आएको छ । अन्तर्राष्ट्रिय स्तरको भएर पनि ‘फ्लड लाइट’ नहुँदा पोखरा रङ्गशालाको उपयोगिता खुम्चिएको भन्दै चिन्ता व्यक्त हुने गरेको छ । अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता सञ्चालनका लागि रङ्गशालामा फ्लड लाइटलगायत अन्तर्राष्ट्रिय मापदण्डका पूर्वाधार आवश्यक पर्छ । पोखरामा रात्रिकालीन प्रतियोगिता सञ्चालन गर्न सकेमा रङ्गशालाबाट राज्यले पनि लाभ लिने र खेल गतिविधि बढ्दा यहाँको आर्थिक क्षेत्र पनि चलायमान हुने जनाइएको छ । साँझ र रात्रिपख खेलकुद प्रतियोगिता सञ्चालन गर्दा जागिरे र कामकाजी व्यक्तिले समेत खेलबाट फाइदा लिन सक्नेछन् । प्रतियोगिता मात्रै नभएर रात्रिकालीन खेल अभ्यासका लागि पनि रङ्गशालामा ‘फ्लड लाइट’ अत्यावश्यक रहेको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्ष दीनानाथ बरालले बताउनुभयो । यो विषय उठ्ने गरे पनि राज्यका खेल सम्बद्ध निकायले बेवास्ता गर्ने गरेको उहाँको भनाइ छ । तीन वर्षअघि पोखरामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअघि नै बत्ती जडान गर्ने राखेपको प्रतिबद्धता पनि त्यो बेला पूरा हुन सकेन । १ अर्ब २८ करोड रुपैयाँको लगानीमा ६ वर्षअघि पोखरा रङ्गशाला निर्माण गरिएको थियो । हाल १६ हजार ५०० दर्शक क्षमता रहेकामा त्यसलाई बढाएर २० हजार पुर्याउने सरकारको योजना छ ।

म्याग्दी र बागलुङ जोड्ने झोलुङ्गे पुल, पर्यटकका लागि आकर्षणको केन्द्र

काठमाडौं । वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धार्मिक तथा कृषि उत्पादनको क्षेत्र भनेर चिनिने बागलुङको कुडुले गाउँ । म्याग्दी र बागलुङको साँध बनेर बगेको ढोडेनी खोलाका वारि र पारि पर्ने यी दुवै गाउँ पर्यटकीय गाउँ हुन् । यी दुवै गाउँलाई जोड्ने ढोडेनी खोला माथि बनेको ३८८ मिटर लामो झोलुङ्गे पुल स्थानीयको सुविधाको माध्यम त बनेको छ नै पर्यटकीय आकर्षणको केन्द्र समेत बन्दै गएको छ ।   म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौर र छिमेकी जिल्ला बागलुङको बागलुङ नगरपालिका-४ कुडुले जोड्ने ३८८ मिटर लम्बाइ तथा १७० मिटर उचाइ भएको यो झोलुङ्गे पुलमा रमाई प्राकृतिक दृश्यावलोकन गर्न म्याग्दीको रत्नेचौर र बागलुङको पञ्चकोट तथा कुडुलेस्थित शालग्राम सङ्ग्रहालय अवलोकनका लागि आएका पर्यटकहरू आउने गरेका रत्नेचौरका सुशीला भण्डारीले बताइन् । तीन वर्षअघि २०७९ सालमा सङ्घीय सरकारको ‘सस्पेन्सन ब्रिज’ डिभिजनले ढोडेनी खोलामाथि ३ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरेको यो पुलले दुई जिल्ला जोड्नाका साथै कृषि उपजको बिक्री र पर्यटन विकासमा पनि महत्वपूर्ण सहयोग पुगेको बेनी नगरपालिका-१ का वडाअध्यक्ष टेकबहादुर थापाले बताए । ‘पहिला पहिला कुडुले पुग्न एक डेढ घण्टा हिँड्नु पर्थ्यो । पुल बनेपछि डेढ घण्टाको बाटो पाँच मिनेटमा छोटिएको छ,’ वडाअध्यक्ष थापाले भने, ‘पुलले सुविधा मात्रै दिएको छैन, रत्नेचौरमा उत्पादन हुने तरकारी र दूध बजारीकरण गर्न र बागलुङको पञ्चकोट, कुडुलेको शालग्राम सङ्ग्रहालयको अवलोकनका लागि आएका धार्मिक पर्यटक र रत्नेचौरको भाइरल रोड, तोरीबारी र ज्यामरुककोटमा आएका पर्यटकहरू समेत पुलमा पुगेर रमाउँदै म्याग्दी, बागलुङ र पर्वतका प्राकृतिक सौन्दर्यको अवलोकन गर्न पाएका छन् ।’ बेनी-बागलुङ सडक खण्डको पूर्वतर्फ रत्नेचौरस्थित श्रीलक्ष्मीहरि मन्दिर नजिकै निर्माण भएको यो पुलले अर्जम, रत्नेचौर, ज्यामरुककोट, फापरखेत, खबरा, फेदी, कुडुले, बान्द्रे, भान्सालगायतका गाउँका बासिन्दाले उत्पादन गरेका कृषि उपजको बजारीकरण र आर्थिक कारोबारमा पनि सुविधा पुगेको रत्नेचौरका मेखबहादुर बोगटीले बताए । ‘पुलकै कारण बागलुङ आएका पर्यटकहरू रत्नेचौरको खेलमैदान, श्रीलक्ष्मीहरि मन्दिर र धवलागिरि क्षेत्रकै सबैभन्दा ठूलो मानवनिर्मित बुढोपोखरीको पर्यटन विकासमा सहयोग पुगेको छ,’ उनले भने ।  म्याग्दीमा ३ सय मिटरभन्दा लामा ३ वटा पुल निर्माण भएका छन् । यसअघि उत्तरी म्याग्दीको रघुगङ्गा गाउँपालिका-१ बेग र बादुक जोड्ने ३६५.८० मिटर लामो र १४८ मिटर अग्लो झोलुङ्गे पुल निर्माण भएको थियो । त्यसैगरी, पश्चिम म्याग्दीको मालिका गाउँपालिका-७ बिमवाङ र धवलागिरि गाउँपालिका-६ रिख जोड्ने ३५० मिटर लामो झोलुङ्गे पुल निर्माण भएको छ ।