प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको भेट, द्विपक्षीय सहकार्यबारे छलफल
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा आज उनीहरूबीच भेटवार्ता भएको हो । भेटवार्ताका क्रममा नेपाल-भारतबीचको द्विपक्षीय मित्रता, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको छ। भेटमा राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना व्यक्त गर्दै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाए । प्रधानमन्त्री शाहले पनि भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा मिलेर काम गर्नुपर्ने विषयमा जोड दिए ।
२० ठूला करदातासँग छलफल गर्दै अर्थमन्त्री वाग्ले
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सोमबार (आज) नेपालमा लगानी गरेका बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्ने भएका छन् । आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन छलफल शृङ्खलाअन्तर्गत नेपालमा लगानी गरेका २० ठूला करदाता बहुराष्ट्रिय कम्पनीहरूसँग उनले छलफल गर्न लागेका हुन् । छलफलमा ती कम्पनीका उच्चपदस्थ विदेशी तथा स्वदेशी साझेदारलाई मन्त्रालयमा आमन्त्रण गरिएको अर्थ मन्त्रालयको सचिवालयले जनाएको छ । मन्त्रालयको सुवर्ण हलमा आज मध्यान्ह १२ बजे उक्त छलफल सुरु हुन लागेको हो । छलफलमा अर्थमन्त्री डा. वाग्लेले बहुराष्ट्रिय कम्पनीहरूलाई बजेटले दिएको सुविधा, उनीहरूले भोगिरहेका समस्या र नेपालमा लगानी विस्तार, रोजगारी सिर्जना र प्रतिफल फिर्ता लैजान सरकारले गर्नुपर्ने सहजीकरणका सम्बन्धमा खुलस्त भएर आफ्नो कुरा राख्न र लिखित रूपमा पनि विवरण पेश गर्न आग्रह गर्ने सचिवालयले जनाएको छ । यसै शृङ्खलाअन्तर्गत यसअघि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गरेर ठूलो मात्रामा रोजगारी सिर्जना गरेका र अर्थतन्त्रमा योगदान गरेका ३३ औद्योगिक घरानासँग छलफल गरिसकेका छन् । यस्तै, उनले नेपालका ‘क’ वर्गका वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृत र नेपाल राष्ट्र बैङ्कका कार्यकारी निर्देशकहरूसँग पनि छलफल गरिसकेका छन् ।
सेवा सुधारमा उत्कृष्ट अस्पताललाई मन्त्रालयले पुरस्कृत गर्ने
काठमाडौं । स्वास्थ्य तथा खाद्य सुरक्षा मन्त्रालयले अस्पताल सेवा सुधार कार्यविधि, २०८२ को प्रभावकारी कार्यान्वयनमा उत्कृष्ट कार्यसम्पादन गर्ने सरकारी अस्पताललाई छनोट गरी पुरस्कृत गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै संघ, प्रदेश र स्थानीय तहअन्तर्गत सञ्चालनमा रहेका सबै सरकारी अस्पतालमध्ये कार्यविधि कार्यान्वयनमा उत्कृष्ट नतिजा हासिल गर्ने अस्पताललाई पुरस्कृत गर्ने जनाएको छ । मन्त्रालयले अस्पताललाई निकट भविष्यमा सम्मान तथा पुरस्कृत गर्ने योजना बनाएको जनाएको हो । नेपाल सरकार, मन्त्रिपरिषद्को २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत स्वास्थ्य क्षेत्र सुधारको पहिलो प्राथमिकतामा अस्पताल सेवाको सुधार राखिएको थियो । सोही निर्णयअनुसार अस्पताल सेवा सुधार कार्यविधि, २०८२ कार्यान्वयनमा रहेको मन्त्रालयले जनाएको छ । कार्यविधि लागू भए पनि अस्पतालबाट प्रवाह हुने स्वास्थ्य सेवाको गुणस्तर, नागरिकमैत्री सेवा र व्यवस्थापनमा अपेक्षित सुधारका लागि थप पहल आवश्यक देखिएको मन्त्रालयले जनाएको छ । यही पहलअन्तर्गत उत्कृष्ट अस्पताल छनोट गरी प्रोत्साहन गर्न लागिएको मन्त्रालयको भनाइ छ । मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहका सबै सरकारी अस्पताललाई कार्यविधिको प्रभावकारी कार्यान्वयन गर्न निर्देशनसमेत दिएको छ । अस्पतालहरूले सेवा प्रवाहलाई जनअपेक्षाअनुरूप सुधार गर्दै उत्कृष्ट कार्यसम्पादन देखाउनुपर्ने सूचनामा उल्लेख छ । उत्कृष्ट अस्पताल छनोटको मुख्य उद्देश्य सरकारी अस्पतालबीच स्वस्थ प्रतिस्पर्धा बढाउनु, स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्नु र नागरिकलाई प्रभावकारी तथा उत्तरदायी सेवा उपलब्ध गराउनु रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अस्पताल तथा त्यहाँ कार्यरत स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारेको छ । ‘सबै अस्पताल एवं कार्यरत स्वास्थ्यकर्मीहरूको मनोबल उच्च बनाउन मन्त्रालय प्रतिबद्ध छ,’ सूचनामा भनिएको छ ।