कपिलवस्तुमा पेस्तोलसहित ३ जना पक्राउ

काठमाडौं । कपिलवस्तुमा पेस्तोलसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कृष्णनगर नगरपालिका–५ डबराका २३ वर्षीय आशिष पाण्डे, कृष्णनगर–८ दयानगरका २१ वर्षीय जितेन्द्र मौरिया र १९ वर्षीय विनोद कश्यप रहेका छन् । जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका अनुसार विजयनगर गाउँपालिका–४ जगदीशपुरबाट उनीहरूलाई पक्राउ गरिएको हो । प्रहरीका अनुसार उनीहरूमाथि बहादुरगञ्जवासीलाई डर, धम्की देखाउँदै पेस्तोल बोकेर हिँडिरहेको आरोप छ ।  उनीहरूबाट एक थान पेस्तोल र लु ६१ प ७०७२ नम्बरको मोटरसाइकल पनि बरामद गरेको प्रहरीले जनाएको छ।

उच्च आर्थिक वृद्धिका लागि नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष भट्ट

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले नेपालमा उच्च आर्थिक वृद्धि हासिल गर्न  नीतिगत हस्तक्षेप र लगानी विस्तारलाई संगसंगै लैजानुपर्ने बताएका छन् । आइतबार (आज) ललितपुरमा आयोजित एक कार्यक्रममा उनले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण विगतमा उच्च आर्थिक वृद्धिदर भएको बताएका हुन् । नेपालको दीर्घकालीन आर्थिक वृद्धिदर औसतमा करिव ४ प्रतिशत रहेको उल्लेख गर्दै उनले नीतिगत हस्तक्षेप र लगानी विस्तारका कारण केही वर्षमा ७ प्रतिशतसम्म आर्थिक वृद्धि हासिल भएको बताए ।  उनले अहिले पनि लगानी विस्तार, नीतिगत हस्तक्षेप र पोलिसी रिफर्म गर्न आवश्यक रहेको उल्लेख गरे ।  उनका अनुसार नेपालमा आर्थिक वृद्धिको आधार विस्तार गर्न पुँजी वृद्धि, दक्ष श्रमशक्ति निर्माण र प्रविधिमा लगानी आवश्यक छ ।  डिजिटलाइजेसन र आर्टिफिसियल इन्टेलिजेन्सबाट प्राप्त हुने अवसरको अधिकतम उपयोग गर्नुपर्नेमा पनि उनले जोड दिए ।  उपाध्यक्ष भट्टले नेपालको कुल कारक उत्पादकत्व (टोटल फ्याक्टर प्रोडक्टिभिटी) करिव ०.२ प्रतिशत मात्रै रहेको उल्लेख गर्दै हालको आर्थिक वृद्धिको मुख्य आधार पुँजी र श्रमशक्ति रहेको बताए ।  उनका अनुसार हाल नेपालमा उत्पादन वृद्धि गर्न सकिएको छैन । उनले मानव पुँजी निर्माणमा पनि केही चुनौती देखिएको बताए । बढ्दो वैदेशिक पलायन र न्यून जनसंख्या वृद्धिदरका कारण मानव पुँजीमा समस्या देखिएको उनको भनाइ छ ।  उनले आर्थिक वृद्धिका लागि पुँजी निर्माण पनि बढाउनुपर्नेमा जोड दिए । उनका अनुसार नेपालको फिक्स्ड क्यापिटल फर्मेसन कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिव २६ प्रतिशतमा पुगेको छ ।  यसअघि लगातार तीन वर्ष यो अनुपात करिव २४ प्रतिशतमा सिमित रहेको उनले जानकारी दिए । उनले उत्पादकत्व केवल प्रविधि वा पुँजीसँग मात्र सम्बन्धित नभई काम गर्ने तरिका, कार्यसंस्कृति, शिक्षा र संस्थागत संरचनासँग समेत जोडिएको बताए ।  राम्रो नीति र बलियो संस्थाले देशको उत्पादकत्व तथा प्रतिव्यक्ति आय बढाउन महत्त्वपूर्ण भुमिका खेल्ने उल्लेख गर्दै उनले प्रभावकारी नीति र बलियो संस्थागत संरचना निर्माणमा जोड दिए ।

शुक्रबारदेखि हराइरहेका कपिलवस्तुका पूर्वमेयर मृत अवस्थामा फेला

काठमाडौं । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर तथा नेपाली कांग्रेसका नेता किरण सिंह मृत अवस्थामा भेटिएका छन् । शुक्रबारदेखि हराइरहेका मेयर सिंह आइतबार (आज) गोरुसिंगेको जंगलमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय, कपिलवस्तुका प्रवक्ता रिपेन्द्रकुमार सिंहले जानकारी दिए । शुक्रबार दिउँसो २ बजेतिर कपिलवस्तु–३ स्थित घरबाट निस्किएका सिंहले साढे तीन बजेतिर .‘जंगलमा बाटो बिर्सिएँ’ भनेर मोबाइलमार्फत आफन्तीलाई जानकारी दिएको प्रवक्ता सिंहले बताए । सिंहको खोजीमा प्रहरीले तालिमप्राप्त कुकुर झिकाएर परिचालन गरेको थियो । साथै ड्रोनबाट समेत निगरानी गरेको थियो । पूर्वपश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगल क्षेत्रमा उनले चढ्ने गरेको लु. प्र. ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल रोकिराखेको अवस्थामा भेटिएको प्रवक्ताले जानकारी दिए । सिंह आफ्नो समूहले सञ्चालन गर्ने कृषि फार्मतर्फ जाने क्रममा जंगलमा हराएको स्थानीयले बताएका छन् । छोटो बाटो हुने भन्दै जंगलको बाटो प्रयोग गर्दा उनी हराएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।