पुनर्निर्माणमा खटिएका प्राविधिकहरुको आन्दोलन स्थगित, प्राधिकरणले प्रोत्साहन भत्ता दिने
काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत पुनर्निर्माणमा खटिएका प्राविधिकहरु आन्दोलन स्थगित गरी काममा फर्कन सहमत भएका छन् । नेपाल इन्जिनियर्स एशोसियसन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच भएको सहमति अनुसार पुनर्निर्माणमा खटिएका इन्जिनियरहरुलाई अर्थ मन्त्रालयको परिपत्र अनुसार प्रोत्साहन भत्तासहितका सुविधा उपलब्ध गराउने गरी सात दिनभित्र कार्यान्वयन गराउन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको नेतृत्वले पूर्ण प्रतिबद्धता व्यक्त गरेपछि प्राविधिकहरु काममा फर्कन सहमत भएका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपाल इन्जिनियर्स एशोसियसन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच छलफल भई गरिएको निर्णयमा मंगलबारदेखि आन्दोलनका कार्यक्रम स्थगन गरी काममा फर्कने निर्णय गरियो भन्ने उल्लेख गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले अर्थ मन्त्रालयको सहमति अनुसार प्राविधिकहरुलाई प्रोत्सान भत्ता लगायतका सुविधाबारे उल्लेखित समयमै मन्त्रिपरिषद् बाट निर्णय आउने विश्वास व्यक्त गरे । यही चैत्र १० गते अर्थ मन्त्रालयले प्राविधिकहरुलाई प्रोत्साहन भत्ता लगायतका सुविधा उपलब्ध गराउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रस्तावमा सहमति प्रदान गरेको थियो । मंगलबार नै नेपाल इन्जिनियर्स एशोसियसन र राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हकहित समितिबीच तीन बुँदे सहमति भएको थियो । प्राविधिक राष्ट्रिय हकहित समितिले गत साउनदेखिकै अतिरिक्त समय काम गरे वापतको भत्ता एवं दुर्गम भत्ता उपलब्ध गराउनु पर्ने लगायतमा माग राखी दबाबमूलक कार्यक्रम गर्दै आएको थियो ।
सहकारीले ठगेको भन्दै ६० मुद्दा दर्ता, अनियमितता रोक्न महानगरले शुरु गर्यो विद्युतीय प्रणाली
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा अनियमितता गरेको उजुरी बढेपछि विद्युतीय प्रणाली शुरु गरिएको छ । सेवाग्राहीमा परेको समस्या समाधान र छिटो सेवा प्रदान गर्ने उद्देश्यका साथ विद्युतिय प्रणाली लागू गरिएको विभागले जनाएको छ । पछिल्लो समय आवश्यकताभन्दा बढी सहकारी सञ्चालनमा रहेका छन् । तिनको प्रत्येक स्थानमा गएर अवस्था बुझ्नुभन्दा अनलाइनको माध्यमबाट विभागमा नै सबै सहकारीको काम कारवाही हेर्न सकिने गरी व्यवस्था मिलाइएको महानगरको सहकारी विभागका प्रमुख नमराज ढकालले जानकारी दिए । उनका अनुसार यस व्यवस्थाको मुख्य उद्देश्य सहकारी अनियमितता बारे आएका उजुरी कम गर्नु हो । कामपामा हाल एक हजार ८५६ सहकारी छन् । यी सबै सहकारीले गरेको कामको विवरण विभागमा आउने गरी व्यवस्था मिलाइएको छ । यस व्यवस्थासँगै काम गर्न सहज हुने ढकालले बताए । सहकारीहरूले बचतकर्ताको पैसा नतिरी भाग्ने गरेको भन्दै उजुरी बढ्दै गएको छ । ढकालले भने, “सहकारीका फाइललाई सङ्घीय सहकारी विभागबाट निर्माण गरिएको कम्प्युटर सफ्टवेयर प्रणालीबाट हेर्न सकिने व्यवस्था मिलाइएको छ ।” सहकारीले ठगेको भन्दै विभागमा ६० मुद्दा दर्ता भएका छन् । त्यसमध्ये ३५ वटा मुद्दाको फछ्र्यौट गरिएको महानगरले जनाएको छ । काठमाडौँका सहकारीमध्ये सबैभन्दा बढी बचत तथा ऋण सहकारी एक हजार ६४४, बहुउद्देश्यीय १५६ र विषयगतअन्तर्गत उपभोक्ता, दूग्ध, कृषि, शिक्षा, सञ्चारलगायत सहकारी छन् । संवैधानिक व्यवस्थाअनुसार गत साउनदेखि देशका सबै डिभिजन सहकारी कार्यालय खारेज भई सम्बन्धित स्थानीय तहले सहकारी नियमन गर्नुपर्ने व्यवस्था अनुरूप महानगरले आफ्ना क्षेत्रभित्रका सहकारीमाथि नियमन बढाएको छ । यस प्रणालीमार्फत सहकारी संस्थाले आफ्नो कार्यालयबाट नै अनुगमन गर्न सक्ने व्यवस्था मिलाएको छ । दर्ता भएका एक हजार ८५६ मध्ये गत फागुन ७ गतेसम्म जम्मा ६०८ सहकारीले मात्रै प्रतिवेदन बुझाएका छन् । बाँकीलाई सार्वजनिक सूचनामार्फत तत्काल बुझाउन आदेश दिएको ढकालको भनाइ छ । आर्थिक वर्ष सकिएको छ महिनाभित्र साधारणसभा गरी त्यसको १५ दिनभित्र वार्षिक प्रतिवेदन विभागमा पेस गर्नुपर्ने भए पनि धेरै सहकारीले नियम पालना नगरेपछि कडाइ गर्न लागिएको विभागका प्रमुख ढकालले बताए ।
पच्चीस करोड लगानीमा फनपार्क, वैशाखबाट सञ्चालन हुने
चितवन । पछिल्लो समय अन्तर्राष्ट्रियस्तरमा विकास भएका धेरैजसो खेल समावेश गरेर ‘जेम्स वल्ड फनपार्क’ सञ्चालनको तयारी गरिएको छ । भरतपुर महानगरपालिका वडा नं ४ अद्धैत चोकमा रु २५ करोडको लागतमा १०० भन्दाबढी खेल समावेश गरेर यही वैशाखबाट फनपार्क सञ्चालनमा ल्याउन लागिएको हो । जेएम इन्टरटेन्टमेन्ट प्रालीले चीन, भारत र ताइवानबाट खेलका सामग्री ल्याएर फनपार्क सञ्चालन गर्न लागेको हो । सो प्रालीका अध्यक्ष महेश तिवारीका अनुसार बच्चाको खेल, सुक्खा खेल, पानीको खेल र जुरासिक पार्क गरी चार थरी खेल खेल्न सकिनेछ । बच्चाका लागि संसारमा भएका उत्कृष्ट नयाँखालका खेल समावेश गरिएको उनले दाबी गरे । बच्चाका लागि विभिन्न जनावरसँग रमाउने खेलका साथै उक्लने, ओर्लने, उफ्रनेजस्ता खेल पार्कमा छन् । स्टरराइड, चट्टान र पहरा आरोहण, चिप्लेटी, स्प्रिङराइडजस्ता खेल समावेश गरिएको उनले बताए । सुक्खा खेलमा ‘पम्पर कार’, ‘स्पिड रेसिङ कार’, ‘फ्लाइङ चियर’, ‘मन्स्टार राइड’, ट्रेनराइडजस्ता खेल राखिएका छन् । पानीमा खेल्ने खेलमा विविध खेल समावेश भएको बेग्लै केन्द्र छुट्याइएको छ जसमा तीनदेखि १५ वर्षसम्मका बच्चाले सबै प्रकारको मनोरञ्जन लिनसक्ने तिवारीले बताए । ठूला मानिसका लागि लामा लामा सुरुङभित्र पानीमा खेल्नका लागि विभिन्न खेल समावेश गरिएका छन् । ठूला मानिस र बच्चाका लागि दुई पौडी पोखरी रहेका छन् । तिवारीले ललितपुर सातदोबाटोस्थित एन्फा कम्प्लेक्सपछिको सबैभन्दा ठूलो पौडी पोखरी बनाएको दाबी गर्नुभयो जहाँ विभिन्न प्रतिस्प्रर्धाहरु समेत गराउन सकिने उनको भनाइ थियो । जुरासिक पार्कमा डाइनोसरका विभिन्न प्रजातिसँगै यसको विकासक्रमलाई हेर्न र खेल्न सकिने बनाइएको छ । फनपार्क हेर्दै आउनुभएका प्रबन्ध निर्देशक ईश्वर सापकोटाले शैक्षिक ज्ञानका लागि जुरासिक पार्क निर्माण गरिएको बताए । पाठ्यक्रममा पढेका विषयलाई प्रत्यक्षरुपमा विद्यार्थीले हेर्नसक्ने उनले बताए । एउटा खेल चारदेखि पाँच मिनेट खेल्दा सबै खेल खेल्न सात घण्टा ३० मिनेट लाग्ने उनले जानकारी दिए । रु २०० देखि ७५० सम्मको टिकटमा खेल खेलाइने जनाइएको छ । करीब तीन बिघा जग्गा भाडामा लिएर भेटघाट रेस्टुराँ समूहको ५१ प्रतिशत शेयर लगानीमा फनपार्क निर्माण गरिएको हो । हाल सो फनपार्कमा ६९ जना शेयर धनी रहेका छन् । विसंं २०४४ मा नेपालमा पहिलोपटक चितवनमा मासुको परिकार तास व्यवसाय शुरु गरेको जगोविन्द तिवारीको हाल काठमाडौँको अनामनगरमा पनि तास पसल सञ्चालनमा रहेको छ । उनका छोरा महेशले स्टमित्र समावेश गरी यो व्यवसाय शुरु गरेका हुन् । एकपटकमा पाँच हजार जनाले खेल खेल्न, हेर्न र त्यहाँ बसेर खाना खानसक्ने सापकोटाले बताए । फनपार्क विसं २०७४ मङ्सिर १३ गतेदेखि निर्माण शुरु गरिएको थियो । फनपार्कमा ६५ जनाभन्दा बढीले प्रत्यक्ष रोजगारी पाउनेछन् । कम्पनीका अध्यक्ष महेश तिवारीले फनपार्क निर्माणका लागि छ महिना भारत र छ महिना चीन बसेर अध्ययन गरेको बताए । भेटघाट रेस्टुराँका सञ्चालक गोविन्द तिवारीले फनपार्कभित्र खेल्न आउनेका लागि भेटघाटकोसँगै सबै खालका परिकारको स्वाद लिनसक्ने व्यवस्था गरिएको बताए । तेस्रो पर्यटकीय गन्तव्य चितवनमा आउने स्वदेशी र विदेशी पर्यटकको बसाई लम्ब्याउनका लागि फनपार्क उपयोगी हुने तिवारीले बताए । रासस