साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्षमा पुनः लक्ष्मीदास मानन्धर निर्वाचित
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनको अध्यक्ष पदमा लक्ष्मीदास मानन्धर पुनः निर्वाचित भएका छन् । सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा निर्विरोध चयन गरेको हो । कर्पोरेशनको ५२ औं वार्षिक साधारण सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने ७ जना सञ्चालक निर्विरोध निर्वाचित गरेको थियो । सञ्चालक मध्येबाट मानन्धर अध्यक्षमा चयन भएका हुन् । त्यसैगरी सञ्चालकहरुमा कीर्तिकुमार जोशी, कल्याणगोविन्द श्रेष्ठ, अतुल मल्ल, प्रदीपलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र राजेन्द्रमान शेरचन चयन भएको कर्पोरेशनले जनाएको छ । नवनिर्वाचित सञ्चालकहरुको पदावधि ४ वर्षको हुनेछ ।
निगमले तीन महिनाभित्र जापानको ओसाका उडान भर्ने, सबै प्रक्रिया पूरा
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले तीन महिनाभित्र जापानको ओसाकामा उडान भर्ने भएको छ । जापान उडानका लागि सबै प्रक्रिया पूरा गरिसकेको निगमले जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) लाई दुई दिनभित्र आवश्यक कागजात बुझाउने जनाएको छ । कागजी प्रक्रियाका साथै आन्तरिक तयारी सकेपछि आउँदो जुलाई महिनादेखि ओसाका उडान औपचारिक रुपमा शुरु गरिने निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । जापान एभिएसनबाट उडान अनुमति पाएपछि उडान तयारीका लागि ४५ दिन लाग्ने छ भने अनुमति आएपछि पनि थप ३० देखि ४५ दिन निगमलाई आन्तरिक तथा बजार व्यवस्थापनमा समय लाग्नेछ । “ओसाका उडानका लागि निगमले सबै कागजी प्रक्रिया पूरा गरेको छ, आज या भोलि बुधबारसम्म जापान सिभिल एभिएसनलाई कागजात बुझाउँछौँ, उसको प्रक्रियाअनुसार करीब ४५ दिनमा अनुमति जारी भएपछि निगमलाई सबै तयारी गर्न करीब ४५ दिन समय लाग्छ”, उनले भने । सहायक प्रवक्ता कोइरालाका अनुसार उडान अनुमति पाएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट–ओसाका कान्साइ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ । निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो । निगमले यसअघि फागुन १५ भित्र जापान र चैतभित्र चीन उडान गर्ने योजना बनाए पनि ‘ग्राउण्डह्याण्डलिङ’लगायत समस्याका कारण उडान ढिलो भएको जनाएको हो । ओसाकासँगै जापानकै नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा पनि उडान भर्नका लागि प्रक्रिया अघि बढाइसकिएको छ । नारिता उडानका लागि करीब दुई साताअघि पत्राचार गरेको निगमले नारिता विमानस्थलका उच्च अधिकारीसँग द्विपक्षीय वार्तासमेत गरेको छ । निगमको आग्रहबमोजिम नारिता विमानस्थलको उच्चस्तरीय टोलीले हजो सोमबार निगमका पदाधिकारीसँग वार्ता गरेको र निगमलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको सहायक प्रवक्ता कोइरालाले बताए । “नारिता उडानका लागि हामीले कागजी प्रक्रियासँगै उच्चस्तरीय वार्ता पनि गरेका छौँ, यसमा पनि छिट्टै प्रगति हुने देखिएको छ”, उनले भने । निगमले नारिता उडानका लागि सातामा तीन दिनको ‘स्लट’ पाए पनि दुई वटा मात्रै उडान गर्नेछ । यात्रुको चापअनुसार उडान वृद्धि गरिने निगमले जनाएको छ । गत पुस २५ गते जापानका परराष्ट्रमन्त्री तारो कोनो नेपाल आउनु हुँदा हप्तामा १४ उडान भर्ने गरी काठमाडौँ–नारिता हवाई सेवा सम्झौता भएपछि निगमले त्यसका लागि जेक्याबलाई पत्राचार गरेको थियो । एक दशक अघि निगमको काठमाडौँ–जापान सीधा उडान बन्द भएको थियो । निगमले काठमाडौँ–ओशाकाका लागि वाइड बढी ए–३३० जहाजमार्फत् उडान गर्नेछ । काठमाडौँ–जापान उडानको समयावधि छ घण्टाकोे छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । निगमले चीनको गोन्जावो उडानका लागि पनि कागजी प्रक्रिया शुरु गरेको छ । सातामा तीन उडान गर्ने योजना छ । ग्राउण्ड ह्याण्डलिङका लागि केही समय लाग्नेछ । निगमले पठाएको कागजात समीक्षा ‘डकुमेण्ट रिभ्यु’ को चरणमा रहेको बताइएको छ । त्यसैगरी साउदी अबरमा उडान भर्नका लागि निगमले ‘जनरल सेल्स एजेन्ट(जिएसए)’ छनोट प्रक्रिया अघि बढाएको छ । निगमको दक्षिण कोरियामा पनि उडान भर्ने योजना रहेपछि साउदी र कोरिया उडानका लागि केहीसमय लाग्ने बताइएको छ । वाइड बडी जहाजबाट लामो गन्तव्य उडाउने योजनाका साथ निगमले विमानचालक (पाइलट)को थप व्यवस्था गर्दैछ । वाइडबडी जहाज पूर्ण क्षमताका साथ उडाउन १८ चालक र सोही सङ्ख्याका सहचालक चाहिन्छ । दुवै जहाजका लागि ३६ पाइलट आवश्यक पर्ने निगमले जनाएको छ । निगमले १६ चालक(पाइलट)का लागि हालै गरेको विज्ञापनमा २८ जनाले निवेदन दिएका छन् । निवेदन दिएकामध्ये एक मात्र नेपाली चालक छन् । विदेशी चालक खर्चिलो भए पनि नेपाली चालक अभावले विदेशीको विकल्प नभएको निगमले जनाएको छ । निगमले अहिले भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तर्राष्ट्रिय उडानका लागि हाल दुई वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छ । रासस
चाल्नाखेलमा बस दुर्घटना हुँदा २४ घाइते, ६ जनाको वयोधा अस्पतालमा उपचार हुँदै
काठमाडौँ । पुरानो वसपार्कबाट दक्षिणकाली रुटमा चल्ने ना३ख १४४४ नम्बरको यात्रुबाहक बस मंगलबार बिहान दुर्घटना भएको छ । दुर्घटनामा परी २४ यात्रु घाइते भएको प्रहरीले जनाएको छ । फर्पिङबाट पुरानो बसपार्क आउने क्रममा चाल्नाखेल स्थित हात्तीवनमा सो बस दुर्घटना भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायब उपरीक्षक कृष्णदत्त भट्टका अनुसार बस हिलो सडकमा चिप्लिएर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मध्ये हाल ६ जनाको बल्खु स्थित वयोधा अस्पतालमा उपचार भइरहेको छ । उपचारका लागि पुगेका १५ जना मध्ये ६ जनाको अवस्था गम्भीर भएकाले भर्ना गरेर उपचार भइरहेको हो । बाँकी ९ जना सामान्य उपचार पछि घर फर्किएको बयोधा अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. शशी झाले बताए । हातको हड्डी भाँचिएको र टाउकोमा समेत चोट लागेकाले माइती थिङ, मञ्जु भट्टराई र अजय महर्जनलाई आइसीयूमा राखेर उपचार भइरहेको छ । आइसीयूमा राखेपनि उनीहरुको अवस्था गम्भीर नभएको डा. झाले बताए । बाँकी ३ जनाको भने जनरल वार्डमा राखेर उपचार भइरहेको छ ।