सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा सिलिण्डर पड्किएर चार जनाको मृत्यु
काठमाडौँ । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थित शिवश्री जलविद्युत् आयोजना नजिकैको खाजाघरमा ग्यास सिलिण्डर पड्किँदा आज चार मजदुरको मृत्यु भएको छ । खाजा बनाउँदै गर्दा एक्कासि सिलिण्डर पड्किँदा उनीहरुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतकको नाम खुल्न सकेको छैन । अहिले इलाका प्रहरी कार्यालय बाह्रबिसेबाट प्रहरी निरीक्षक यादव थापा क्षत्रीको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ गएको छ । आयोजनाका निवर्तमान पदाधिकारी उमेश कसजुले भने सिलिण्डर पडकिँदा मानवीय क्षति भएको खबर प्राप्त भएको जानकारी दिए । “मृतकको सङ्ख्या यकिन हुन सकेको छैन, आयोजनास्थल विकट क्षेत्रमा भएकाले फोन सम्पर्क हुन सकिरहेको छैन”, उनले भने । विसं २०६९ मा निर्माण शुरु भएको २२ दशमलव दुई मेगावाट क्षमताको उक्त आयोजनाको काम ९९ प्रतिशत सम्पन्न भएको कसजुले बताए । रासस
बैंकहरुको कार्यशैलीप्रति व्यवसायीको आपत्ति
काठमाडौं । उद्योग वाणिज्य संघ प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठले एउटै सेवामा बैंकहरुले फरक फरक शुल्क लिने गरेकोमा आपत्ति जनाएका छन् । नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले सोमबार आयोजना गरेको अन्तरक्रिया कार्याक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले यसतो कुरा बताएका हुन् । सोही कार्यक्रममा बोल्दै उनले काठमाडौंका साना व्यापारीहरुलाई अनुगमनको नाममा प्रशासनले दुःख दिइरहेको बर्ता । उनले भने-एउटा रोटी पसलले गुणस्तरका लागि के के गर्ने भनेर ऐन छैन, तर अनुगमन टोलीले त्यही रोटी पसलमा आएर दुःख दिन्छ । सो अन्तरक्रियाका कार्यक्रममा काठमाडौँका व्यवसायीहरुले घर बहाल सम्बन्धी ऐन नभएको कारण दुःख भोग्नु परेको भन्दै सरकारसँग घर बहाल ऐनको पनि माग गरे ।
सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा गणेशराज पोखरेल नियुक्त
काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा गणेशराज पोखरेल नियुक्त भएका छन् । सोमबार बसेको सञ्चालक समितिको बैठकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत पोखरेललाई सिइओ नियुक्त गर्ने निर्णय गरेको हो । २०७५ साल चैत्र १८ गतेबाट लागु हुने गरी आगामी ४ वर्षको कार्यकालका लागि पोखरललाई सिइओमा नियुक्त गर्ने निर्णय भएको हो । तत्कालीन प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीको समयावधि समाप्त भए पश्चात नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले कायममुकायम प्रमुख कार्यकारी अधिकृतको रुपमा बैंकको नेतृत्व सम्हाल्दै आएका थिए । पोखरेलले स्थापनाकाल देखि नै बैंकमा आबद्ध भई विभिन्न पदमा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । पोखरेलले साथै २०६५ साल देखि नै दोस्रो वरियतामा रहेर बैंकमा कार्य सम्पादन गर्दै आएका हुन् । बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकरका रूपमा परिचित पोखरेलले त्रिभुवनविश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर, कानूनमा स्नातक तथा काठमाडौँ विश्व विद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । बैंकमा आबद्ध हुनु अघि उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रही कार्य कुशलता प्रदर्शन गरिसकेका छन् । व्यवस्थापन क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव भएका पोखरेल दुरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छा शक्ति भएको व्यक्तिका रूपमा परिचित छन् । नवनियुक्त प्रमुख कार्यकारी अधिकृत पोखरेलले ‘भित्र सिस्टम र बाहिर इमेज’लाई काम गर्दा प्रमुख विषय बनाउने र समस्त सरोकारवालाहरूको हितमा काम गर्ने बताए । नीतिनियमको पालना आफ्नो अत्यन्त प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पुर्याउने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गरे । बरिष्ठ अर्थविद डा. शंकरप्रसाद शर्मा अध्यक्ष रहेको सिटीजन्स बैंक अनुभवी व्यवस्थापन समूह र जनशक्तिबाट संचालित रहेको छ ।