आचार्य बालकृष्णले भने-जग्गा उपलब्ध गराउनुुस्, पहिलो चरणमा एकसय करोड लगानी गर्छु

वालिङ । आचार्य बालकृष्णजी महाराजले नेपालमा लगानीका लागि आफू तयार रहेको बताएका छन् । जन्म जिल्ला स्याङ्जाको वालिङमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा आचार्य बालकृष्णले शैक्षिक संस्था, जडीबुटी, उद्यान र उद्योगको विकासका लागि पहिलो चरणमा एकसय करोड लगानी गर्ने बताए । मैले यहाँबाट कमाएर लाने पनि होइन यहीको विकासका लागि लगानी गर्छु,” आचार्य बालकृष्णले भने, “तपाईंहरुको माया र स्नेह मात्रै पाए पुग्छ अरू लगानीका लागि कुनै चिन्ता छैन योजना सफल बनाउन एक सय करोड होइन त्यो भन्दा पनि बढी म खर्च गर्छु ।” वालिङ उद्योग वाणिज्य सङ्घले वालिङको विकासका लागि उद्योगधन्दाहरु सञ्चालनका लागि ज्ञापनपत्र उनलाई बुझाएको थियो । आचार्य बालकृष्णले उद्यमशीलताको विकासका लागि तयार रहेको बताउँदै सङ्घलाई जग्गा उपलब्ध गराउन आग्रह गरे । वालिङ नगरपालिका–६ भरुवामा जन्मिनुभएका आचार्य बालकृष्णलाई महोत्सवस्थलमा वालिङ नगरप्रमुख दिलीपप्रताप खाँण र वालिङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष शोभाकान्त पौडेलले सम्मान गरेका थिए ।

१९ हजार सवारी चालकलाई कारवाही, एक करोड ४६ लाख राजश्व संकलन

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १९ हजार ७०० सवारी चालकलाई कारवाही गरेको छ । कारवाही पर्नेमा मादक पदार्थ सेवन गर्ने ३८५, क्षमताभन्दा बढी सामान बोक्ने तीन हजार ९८८, सिटबेल्ट नबाँध्ने र हेल्मेट नलगाएका एक हजार १७८, सवारी चलाउँदा आवश्यक पर्ने कागजपत्र नबोकेका तीन हजार ३०८ र सवारी चालक अनुमतिपत्र नभएका दुई हजार ७२६ जना रहेका छन् । यस्तै सवारी साधनमा बत्तीको अवस्था ठिक नभएका १५३, अन्यमा छ हजार ६६९, तीव्रगतिमा सवारी चलाउने ३४२, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने ६२८ सवारी चालकलाई कारवाही गरिएको हो । जिल्लाको विभिन्न स्थानमा गरिएको जाँचका क्रममा कारवाहीमा परेका उनीहरुबाट एक करोड ४६ लाख ३१ हजार राजश्व सङ्कलन भएको कार्यालयले जनाएको छ । जिल्लामा बढ्दै गएको सवारी दुर्घटना न्यूनीकरणका लागि सञ्चालन गरिएका विभिन्न कार्यक्रम प्रभावकारी बन्दै गएको भए पनि सवारीसाधन लापरवाहीले चलाउनेको सङ्ख्यामा कमी आउन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख वेदप्रसाद गौतमले जानकारी दिए ।

साढे १५ अर्ब रुपैंयाको पासवर्ड लिने कोटेनको मृत्यु, लगानीकर्ताको बिचल्ली

काठमाडौं । क्रिप्टोकरेन्सी भनिने भौतिक अस्तित्व नभएको डिजिटल मुद्रा खतरापूर्ण नै मानिन्छ तर क्यानडाको घटनाक्रमले भने नयाँ जोखिम देखाएको छ। क्वाडरिगा नामक क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सीका लगानीकर्ताहरूको लगभग १५ अर्ब ७५ करोड नेपाली रुपैयाँ बराबरको क्रिप्टोकरेन्सी मुद्रा गायब हुने देखियो। कारण थियो झण्डै छ अर्ब १३ करोड नगदसहित सो मुद्रा कहाँ छ भनेर थाहा पाउने पासवर्डका बारेमा कोहीसँग जानकारी थिएन। खासमा त्यो खजानाको साचो गएको डिसेम्बरमा भारत भ्रमणका क्रममा अचानक मृत्य् भएका क्वाडरिगाका स‌‌ंस्थापक गेराल्ड कोटेनसँगै स्वर्ग गएको हुनसक्छ। तीस वर्षीय कोटेन एक्लैले क्वाडरिगाको कोष र मुद्राको व्यवस्थापन जिम्मेवारी लिएको कम्पनीले बताएको छ। क्वाडरिगा कम्पनीले क्यानडाको नोभा स्कटिया सर्वोच्च अदालतलाई बताए अनुसार अरबौं मुद्रा कहाँ छन् भनेर पत्ता लगाउन सकिएको छैन। क्रिप्टोकरेन्सी डिजिटल वा भर्चुअल मुद्रा हो । कोटेनकी विधवा जेनिफर रोबर्टसनले आफ्नो पतिले क्वाडरिगासम्बन्धी कार्य गर्ने कम्प्युटर इन्क्रिप्ट गरिएको र आफुलाई त्यसको पासवर्ड थाहा नभएको बताएकी छिन्। पटक पटकको प्रयासपछि पनि मैले कतै पनि उनले केही लेखेको कुरा पत्ता लगाउन सकेकी छैन, उनले अदालतलाई दिएको बयानमा लेखेकी छिन्।   विलम्ब र समस्या पाँच वर्ष पहिले स्थापना भएको क्वाडरिगा गएको वर्ष आर्थिक समस्याग्रस्त भएको थियो। क्यानेडाली टिभी सीएनबीसीका अनुसार कम्पनीमा तरलता समस्या आएको थियो र यो वर्षको शुरुवातमै सीआईबीसी ब्याङ्कले एक अर्ब ७५ करोड रोक्का गरेको थियो। गएको हप्ता कम्पनीले आफ्नो मुद्रा लेनदेन गर्ने सदस्यहरूको लगानी सुरक्षित गर्न अदालतमा मुद्दा दायर गरेको थियो।क्यानडामा सन् २०१३ मा पहिलो क्रिप्टोकरेन्सी एटीएम स्थापना भएको थियो क्वाडरिगाका एक लाख १५ हजार सदस्य छन् जसमा व्यवसायिक लगानीकर्तादेखि बचत गर्ने सामान्य नागरिकहरू समेत छन्। विज्ञहरूका अनुसार उनीहरूको लगानी सुरक्षित हुने सम्भावना निक्कै कम छ। मानिसहरूले मलाई पत्र र फोनमार्फत आफ्नो अवकासपछिका लागि बचत गरेको पैसा गुमेको भनिरहेका छन्, डिजिटल फाइनान्स इन्स्टिट्युटका संस्थापक अधिवक्ता क्रिस्टिन डुहाइमले सीबीसी टिभीलाई भनिन्। क्वाडरिगा पुरानो कम्पनी थियो र मानिसहरूले यसलाई सुरक्षित मानेका थिए । भारतको जयपुरमा सामाजिक कार्यका लागि भ्रमण गरिरहेका कोटेनको मृत्यु भएको भन्ने खवर कम्पनीको वेबसाइट र फेसबुक पेजमा राखिएको थियो। जयपुरमा कोटेन अनाथालय खोल्न चाहिरहेको बताइएको थियो। उनको पाचन प्रणालीमा आएको गम्भीर समस्याका कारण मृत्यु भएको बताइएको छ। कोटेलको इच्छापत्र द ग्लोब एण्ड मेल पत्रिकाका अनुसार कोटेलले मृत्युको दुई हप्ता पहिले नोभेम्बर २७ मा श्रीमती रोबर्टसनलाई सबै सम्पतिको मालिक बनाउने लेखिएको आफ्नो इच्छापत्रमा हस्ताक्षर गरेका थिए। इच्छापत्रमा कोटेनको दुई कुकुरहरूका रेखदेखका लागि लगभग ६६ लाख छुट्टाइए पनि क्वाडरिगाको कोषको बारेमा लेखिएको छैन। बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सीहरूको हालैका दिनमा अवमूल्यन भएको छ मुद्रा पुनःप्राप्ति कोशिस क्वाडरिगा प्रयोगकर्ताहरूले कम्पनीले कोटेनको मृत्युपछि पनि लगानी स्वीकार गरेकोमा रोष प्रकट गरेका छन्। कम्पनीले मुद्रा पुनस्प्राप्तिका लागि प्रयास गर्न एकजना डिजिटल अनुसन्धानकर्तालाई काममा लगाएको बताएको छ। तर अनुसन्धानकर्ताले कोटेनको फोन र कम्प्युटरको सहारामा थोरै मुद्रामात्रै खोज्न सकेको बताइएको छ। अदालतमा पेश गरिएको कागजातका अनुसार क्वाडरिगाले चोरीबाट बच्न धेरै जसो मुद्रा इन्टरनेटमा राखेको थिएन्। गएको बिहिवार वेबसाइटमा राखिएको सूचनाका अनुसार क्वाडरिगाले तरलता समस्या समाधान गर्न प्रयास गरिरहेको र हराइरहेको मुद्रा खोज्न पनि यथासम्भव प्रयास गरेको बताएको छ। बढ्दो अवमूल्यन क्वाडरिगाको समस्या क्रिप्टोकरेन्सीहरूले अवमूल्यनको समस्या भोगिरहेको बेला आएको छ। सबैभन्दा चर्चित बिटक्वाइनको सन् २०१७ को डिसेम्बरमा २३ लाख रुपैयाँ बराबर पुगेकोमा अहिले चार लाख मात्रै छ।बीबीसी