माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता

काठमाडौँ । नेपाल विद्युत प्राधिकरण र अपिपावर कम्पनी लि. बीच ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको छ । सो सम्झौतामा नेविप्राका तर्फबाट कार्यकारी निर्देशक कुलमान घिसिङ र कम्पनीका तर्फबाट कार्यकारी सञ्चालक संजिव न्यौपानेले हस्ताक्षर गरेका छन् । प्रदेश न. ७ को दुर्गम जिल्ला दार्चुलामा कम्पनीले निर्माण गर्न लागेका योे अपर चमेलिया जलविद्युत आयोजना तेस्रो हो । यस अघि कम्पनीले ८.५ मेवा क्षमताको नौगाड गाढ जलविद्युत आयोजना निर्माण सम्पन्न गरी विगत ३ बर्ष देखि निरन्तर रुपमा राष्ट्रिय ग्रीड प्रणाली विद्युत प्रवाह गर्दै आएको छ । कम्पनीले निर्माण गरिरहेको दोस्रो आयोजनाअपर नौगाढ गाड जलविद्युत आयोजना(८.०)को निर्माण पूरा गरी आगामी चैत मसान्तभित्र विद्युत उत्पादन शुरु हुनेछ । कम्पनीले सम्पन्न गरेका आयोजनाहरु नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न गरेको अत्तरिया–बलाँच १३२ के.भि.डवल सर्किट ट्रान्समिसन लाइनमा जडान गरिनेछ । यो अपर चमेलिया जलविद्युत आयोजनाबाट (४० मेगावाट) बार्षिक २६.४१करोड युनिट विद्युत उत्पादन कम्पनीले जनाएको छ । उत्पादित विद्युत मध्ये ३३ प्रतिशत हिउँदाका ६ महिनाहरुमा र बाँकी ६७ प्रतिशत बर्षात महिनाहरुमा उत्पादन हुनेछ । यो आयोजना टेक अर पेमा आधारित छ । कम्पनीले उत्पादनअनुमतिप्राप्तगरि २०७६ सालबाट निर्माण सुरु गरी ३ बर्ष भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको छ । सुदुरपश्चिममा नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको १३२ के.भि.डबल सर्किट ट्रान्समिसन लाइनमा जडान हुने भएकोले विद्युत प्रवाहको कुनै समस्या नरहेको कम्पनी काकार्यकारी संचालकश्री सञ्जीवन्यौपानेले बताए । यो आयोजनामा नेपाल विद्युत प्राधिकरणद्वारा निर्माण गरिएको बहुचर्चित चमेलिया जलविद्युत आयोजनाको विद्युत गृह भन्दा १५ किलोमिटर माथि अवस्थित छ । दुर्गम जिल्लामा निर्माण हुने यस आयोजनाको लागत प्रति मेगावाट १८ करोडको हिसाबले आयोजनाको कुल लागत ७२० करोड लाग्ने अनुमान छ ।

पशुपतिनाथमा भारतीय साधुको आगमन बढ्ने, ५० लाख बजेट विनियोजन

काठमाडौँ । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी शुरु भएको छ । शिवरात्रिमा पशुपतिनाथ दर्शन गर्न आउने दर्शनार्थीका लागि सहज व्यवस्था मिलाउन पशुपति क्षेत्र विकास कोषले यस वर्ष आठ उपसमिति गठन गरी तयारी शुरु गरेको मुख्य लेखा अधिकृत प्रेमहरि ढुङ्गानाले बताए । यस वर्ष फागुन २० गते सोमबार महाशिवरात्रि पर्व परेको छ । पशुपतिनाथ नेपालका राष्ट्रिय देवता हुन् । पाश अर्थात् बन्धनमा परेकालाई मुक्ति दिने पशुपतिनाथ देवताका पनि देवता मानिन्छन् जो कैलाश पर्वतमा बस्छन् । किरात शिवको विवाह आर्य हिमालय र मेनकाकी सुपुत्री पार्वतीसँग भएको थियो । तयारीका क्रममा रङरोगन, बत्ती व्यवस्था, सुरक्षालगायत तयारी तीव्ररुपमा अघि बढेको छ । कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकत्वमा सुरक्षा÷दर्शन व्यवस्था, कोष सञ्चालक परिषद् सदस्य भगवतीप्रसाद देवको संयोजकत्वमा चन्दन, मन्दिर प्राङ्गण तथा रात्रिकालीन व्यवस्था र स्वयंसेवा परिचालन अनुगमन तथा पास व्यवस्था उपसमितिको गठन गरिएको छ । यसैगरी परिषद् सदस्य राजुकुमार खत्रीको संयोजकत्वमा आवास, भोजन तथा भौतिक पूर्वाधार व्यवस्था र लाइट तथा साजसजावट, परिषद् सदस्य ध्रुव उप्रेतीको संयोजकत्वमा स्वास्थ्य, वातावरण,सरसफाइ तथा जुत्ता चप्पल व्यवस्था र परिषद् सदस्य घनश्याम उपाध्यायको संयोजकत्वमा प्रचारप्रसार व्यवस्था उपसमिति गठन भएको छ । यस वर्ष भारतबाट आउने पर्यटक पनि बढी हुने अनुमान गरिएको छ । इलाहावादस्थित प्रयागराजमा भएको कुम्भमेला लगत्तै महाशिवरात्रि परेकाले भारतीय पर्यटक बढ्ने कोषले जनाएको छ । यस वर्ष शिवरात्रिको अवसरमा ११ लाखभन्दा बढीले मूल मन्दिरभित्रै प्रवेश गरेर पूजाआजा एवं दर्शन गर्ने तयारी गरिएको छ । महाशिवरात्रि नजिकिँदै गर्दा साधुसन्त आउने क्रम पनि बढ्दै गइरहेको कोषले जनाएको छ । शिवरात्रिका लागि यस वर्ष अन्तरराष्ट्रियस्तरबाट पनि ठूलो सङ्ख्यामा दर्शनार्थी आउने अनुमान गरिएको छ । साधुसन्तका लागि खाने र बस्ने व्यवस्था कोषले नै गर्दै आइरहेको अधिकृत ढुङ्गानाले बताए । उनीहरुका लागि दाउरा र पानीलगायत वस्तु भने गुठी संस्थान र विभिन्न सङ्घसंस्थाका स्वयंसेवकले उपलब्ध गराउँदै आएका छन् । कोषले मलेसिया र भारतबाट आउने दर्शनार्थीलाई निःशुल्क खानाको व्यवस्था मिलाएको छ । कोषले यस वर्ष शिवरात्रिका लागि ५० लाख बजेट विनियोजन गरेको छ । शिवरात्रिका लागि विगत वर्षजस्तै यस वर्ष पनि विभिन्न सङ्घसस्ंथाले सेवा उपलब्ध गराउने भएका छन् । यसका लागि कोषले यही फागुन १० गतेसम्मका लागि निवेदन दिने समय तोकेको थियो ।

सिसी टीभी जडान काठमाडौँ महानगरले प्रहरी परिसरलाई दियो ३ करोड

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले विभिन्न चोकमा सिसी टीभी जडान गर्न महानगरीय प्रहरी परिसर काठमाडौँलाई तीन करोड रकम सहयोग गरेको छ । महानगरपालिका र परिसरबीच महानगरपालिका क्षेत्रभित्र सुव्यवस्थापन, शान्तिसुरक्षा, अपराध नियन्त्रण, दुर्घटना न्यूनीकरण फोहरमैला व्यवस्थापन, फुटपाथ नियन्त्रण, प्रदूषण न्यूनीकरणमा प्रभावकारी बनाउन आवश्यक पर्ने सिसी टिभी जडानका लागि सो रकम सहयोग गरेको हो । सो रकम काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई हस्तान्तरण गरे ।महानगरपालिका र परिसरबीच यही असोज ९ गते समुदाय–प्रहरी साझेदारी अवधारणा कार्यान्वयन गर्न भएको समझदारीअन्तर्गत सो रकम हस्तान्तरण गरिएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले महानगर प्रविधिमैत्री हुनुपर्ने बताउँदै सुरक्षित शहर बनाउन सिसी टिभीको महत्वपूर्ण भूमिका रहेको बताए । “सिसी टिभीले अपराध नियन्त्रण, वैज्ञानिक प्रमाण सङ्कलन, फोहर व्यवस्थापन, अवैध कार्य नियन्त्रणमा ठूलो सहयोग पुग्नेछ,” उनले भने । महानरपालिकाका प्रमुख शाक्यले शहरलाई सुरक्षित र सुव्यवस्थित बनाउन नेपाल प्रहरी र काठमाडौँ महानगरपालिकाबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए । सिसि टिभीले समयमा नै सतर्कता अपनाई अपराध घट्न नदिने अवस्था बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले जनता र शहरलाई सुरक्षित राख्न आपराधिक घटनालाई बाहिर निकाल्न तथा सूचना लिनेका लागि सिसी टिभीले सहयोग पुग्ने बताए । सोही अवसरमा सिसी टिभी जडान गर्ने सम्बन्धमा महानगरपालिकाका सहसचिव डा टोकराज पाण्डे र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख शैलेश थापा क्षेत्रीबीच सझौतापत्रमा हस्ताक्षरसमेत भएको थियो ।