२ हजार अटो व्यवसायी धर्नामा, दोहोरो करको बिरोध

सुर्खेत । सरकारले दोहोरो कर लगाएर आफूलाई मर्कामा पारेको भन्दै सुर्खेतका अटो व्यवसायी वीरेन्द्रनगर नगरपालिकामा धर्नामा बसेका छन् । उनीहरुले एउटै जिल्ला र स्थानमा अटो सञ्चालन हुँदा पनि राज्यलाई तिर्नु परेको दोहोरो करले अन्यायमा पारेकाले विरोधमा उत्रेको बताएका छन् । अटो व्यवसायी खडगबहादुर दर्लामीले यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेशमा चार हजार ५०० तिरेर पञ्जीकरण गरिसक्दा नगरपालिकाले थप पाँच हजार कर लादेको आरोप लगाउनुभयो । “नगरपालिकाले यति ठूलो कर लगाएर हामी व्यवसायीको ढाड सेक्ने काम गरेको छ”, दर्लामीले भने, “न्यायिक कर लगाएर अटो व्यवसायीलाई व्यवस्थापन गरियोस् ।” व्यवसायीमैत्री कर निर्धारण गर्न राखिएको माग पूरा नगरिए स्थानीय सरकारका विरुद्ध सडक आन्दोलन चर्काउने उनीहरुले चेतावनी दिएका छन् । वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकालले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार वार्षिक रु पाँच हजार व्यावसायिक कर लगाइएको जनाए । “ऐनले स्पष्ट तोकेका आधारमा स्थानीय सरकारले अटो व्यवसायीको सुरक्षा, पार्किङ र व्यवस्थापनका लागि व्यावसायिक कर निर्धारण गरेको छ”, उपप्रमुख ढकालले भनिन्, “यसका लागि हामीले कार्यविधि पनि पारित गरेका छौँ ।” यसअघि दर्ता प्रक्रियामा आउन अटो व्यवसायीलाई सूचना जारी गरिसकेको जनाउँदै उनले व्यवसायीका लिखित गुनासो प्राप्त भएअनुसार नगरसभाबाट सम्बोधन गरिने बताए । हाल सुर्खेतमा दुई हजार २०० अटो सञ्चालन हुँदै आएको व्यवसायीले बताएका छन् ।

चार महिनामा १७७ जुवाडे पक्राउ, २५ लाख बरामद

साँखु, काठमाडौँ । नेपाल सरकारद्वारा बन्देज लगाइएको जुवा तथा तास खेलेको अभियोगमा महानगरीय प्रहरी वृत्त बौद्धले चार महिनामा १७७ जुवाडेसहित २५ लाख बरामद गरेको छ । विसं २०७५ असोज २४ गतेदेखि माघ २२ गतेभित्र चार महिनाको अवधिमा बौद्ध परिसरका विभिन्न स्थानबाट १७ टोली जुवाडेसहित २४ लाख ५४ हजार ६२५ बरामद गरिएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । भदौ १ गतेदेखि कार्यान्वयनमा आएको नयाँ मुलुकी अपराध संहितामा जुवा खेल्ने र चिठ्ठा सञ्चालन गर्ने पनि जेल जानुपर्ने सजाय थप गरेको भए पनि जुवा खेल्ने खेलाउनेमा भने कमी आएको पाइँदैन । गत असोज २६ गते काठमाडौंँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिका–६ थलीबाट ६६ हजार ९०० नगदसहित मधु पौडेललगायत १५ जना विरुद्ध बौद्ध प्रहरीले मुद्दा चलाएको थियो । सोही महिनामा गोर्कर्णेश्वर नगरपालिकाको बेँसीगाँउबाट ४९ हजार ९५० नगद र दिलबहादुर राईसमेत सात जनालाई पक्राउ गरी उनीहरू विरुद्ध मुद्दा चलाइएको थियो । असोज महिनामा मात्रै चार जुवाखालबाट दुई लाख ८२ हजार ३९५ नगदसहित ३५ जनालाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त बौद्धले मुद्दा चलाएको हो । त्यस्तै कात्तिक महीनामा काठमाडौँको बौद्ध परिसरभित्रका विभिन्न होटेल तथा जुवाखालबाट सादा पोशाकमा खटिएका तथा प्रहरी अधिकृत सहितको टोलीले ६ लाख १६ हजार ८२५ बरामद गर्नुको साथै ५९ जना जुवाडेलाई पक्राउ गरी मुद्दा चलाएको थियो । कपन र टाउन प्लानिङको क्षेत्रमा जुवा खेलाई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले मङ्सिर महिनामा दुई जुवा खालबाट ६ लाख तीन हजार ९८० सहित २१ जनालाई पक्राउ गरी मुद्दा चलाएको प्रहरीले जानकारी दिएको छ । त्यस्तै पुस महिनामा दुई जुवाखालबाट प्रहरीले २८ जुवाडेसहित बौद्ध फूलबारी र थलीबाट सात लाख ५० हजार ७५५ बारमद गरेको थियो । पक्राउ परेकाविरुद्ध मुद्दा दर्ता गरिएको प्रहरी नायव उपरीक्षक चन्दले जानकारी दिए । मुलुकी अपराधसंहिता अनुसार पहिलो पटक जुवा खेल्ने र खेलाउनेलाई तीन महीनासम्म कैद वा ३० हजारसम्म जरिवाना तोकेको छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना लाग्नेछ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा तीन वर्षसम्म कैद र १० हजार जरिवाना लाग्ने २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध संहितामा उल्लेख छ । चालु माघ महिनाको २२ गतेसम्ममा ३४ जुवाडे पक्राउ परेका छन् भने उनीहरुबाट दुई लाख ६७० बरामद भएको थियो । पक्राउ पर्ने वित्तिकै थप अनुसन्धानपश्चात म्याद थप गरी मुद्दा दर्ता गर्ने गरेको प्रहरीले जानकारी दिएको छ । चन्दले भने, “जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई कारवाही गरिनेछ ।” कानूनीरूपमा सो कार्यमा संलग्न रहेकालाई समेत कारवाही गरिने व्यवस्था रहेको उनले जानकारी दिए ।” बौद्ध क्षेत्रबाट महानगरीय प्रहरी वृत्त बौद्धले १६ वटा मुद्दा चलाएको हो भने प्रहरी परिसर टेकुले एक मुद्दा चलाएको छ । होटेल तथा रेस्टुराँलाई प्रहरीले निगरानीमा राखी छापा मार्न थालेपछि अहिले घर/घरमा जम्मा भएर जुवा खेल्ने गरेको पाइएको महानगरीय प्रहरी प्रभाग कपनका प्रहरी निरीक्षक मीनबहादुर कुँवरले बताए । गोप्य सूचनाको आधारमा घरघरमा गएर पनि प्रहरीले जुवाडेको अखडामा छापा मार्ने गरेको छ । पछिल्लो समय घरबाटै अधिकाशं जुवाडे पक्राउ पर्ने गरेको तथ्याङ्क रहेको कुँवरले जानकारी दिए । महानगरीय प्रहरी प्रभाग साँखु र प्रहरीचौकी नाङ्लेभारेले शनिबार काठमाडौँ चापकोबोटबाट १२ जुवाडे पक्राउ गरेको थियो । उनीहरुमा अधिकांश ५० वर्ष नाघेका रहेका छन् । बजार केन्द्रीत जुवा अहिले विस्तारै बजारबाट काठमाडौँको विभिन्न गाउँ क्षेत्रतिर सर्दै गएको प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक लक्ष्मी खनालले जानकारी दिए । प्रहरीको पहुँचबाट बच्न सकिन्छ भन्दै जुवाडेहरूले अहिले काठमाडौंँ जिल्लाको ग्रामीण क्षेत्रलाई अखडा बनाउँदै गएको भए पनि प्रहरीले जुवा नियन्त्रणका लागि सुक्ष्म अनुसन्धानसहित कारवाही थालेको खनालले बताए । मुलुकी अपराधसंहिता अनुसार पहिलो पटक जुवा खेल्ने र खेलाउनेलाई तीन महीनासम्म कैद वा ३० हजारसम्म जरिवाना तोकेको छ । दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना लाग्नेछ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा तीन वर्षसम्म कैद र १० हजार जरिवाना लाग्ने २०७५ भदौ १ गतेबाट लागू भएको मुलुकी अपराध संहितामा उल्लेख छ । संहितामा जुवा खेल्ने मात्र नभई अरुले खेलेको ठाउँमा च्याँखे थाप्नेलाई पनि जुवा खेले बराबरकै कारवाही हुने कानूनी प्रावधान रहेको छ । भदौ १ गते भन्दा पहिले जुवा खेल्नेलाई जुवा ऐन, २०२० अन्तर्गत कारवाही हुँदै आएको थियो । अहिले मुलुकी अपराध संहिता, २०७४ लागू भएपछि सोही कानूनी प्रावधानअनुसार कारवाही हुँदै आएको छ । रासस

पश्चिम सेतीमा लगानी गर्न कतारी कम्पनीको इच्छा

काठमाडौँ । लामो समयदेखि चर्चामा मात्रै सीमित भएको पश्चिम सेती जलविद्युत् आयोजनामा लगानी गर्न कतार सरकारको एक कम्पनीले इच्छा व्यक्त गरेको छ । कतारका लगानीकर्ताले सो आयोजनामा चासो देखाएपछि लगानी बोर्डका अधिकारी र सो कम्पनीका अधिकारीबीच द्विपक्षीय छलफल भएको हो । बोर्डका प्रवक्ता उत्तमभक्त वाग्लेसहितको टोलीले कतारको नेब्रास पावर कम्पनीका अधिकारीसँग विभिन्न आयोजनाका बारेमा छलफल गरेको हो । कतारबाट फर्केपछि आज कुरा गर्दै प्रवक्ता वाग्लेले निर्माणमा जान सक्ने तयारीमा रहेको परियोजनाका रुपमा पश्चिम सेती आयोजनाको विषयमा छलफल भएको जानकारी दिए । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भएको सो आयोजना निर्माण जान सक्ने अवस्थामा रहेको बारेमा बोर्डले सो कम्पनीका प्रतिनिधिलाई जानकारी गराएको प्रवक्ता वाग्लेको भनाइ छ । “पश्चिम सेतीका बारेमा उहाँहरु इच्छुक हुनुहुन्छ, तर थप छलफल र आवश्यक प्रक्रिया भने निरन्तर संवादपछि मात्रै अगाडि बढ्नेछ,” उनले भने । सो आयोजनाको कूल लागत एक खर्ब ५० अर्ब जति हुने अनुमान गरिएको छ । आयोजनाका बारेमा प्रारम्भिक रुपमा भएका द्विपक्षीय वार्ता सकारात्मक रहेको भन्दै थप प्रक्रिया अगाडि बढाइने बोर्डको तयारी छ । कूल ७५० मेगावाट क्षमताको सो आयोजना लामो समय अष्टे«लियाको स्मेक कम्पनीले जिम्मा लिएको थियो । सो कम्पनी हटेपछि सरकारले २०६८ सालमा आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजलाई प्रवद्र्धनका लागि आग्रह गरेको थियो । आयोजनामा नेपाल विद्युत् प्राधिकरणको २५ र चिनियाँ कम्पनीको ७५ प्रतिशत शेयर रहने गरी सम्झौता भएको थियो । बोर्ड, प्राधिकरण र चिनियाँ कम्पनीबीच पटकपटक आयोजनाका बारेमा समेत छलफल भएको थियो । तर व्यावसायिक कार्ययोजना र केही विषयमा असहमति रहेपछि चिनियाँ कम्पनी गत असोजदेखि सो आयोजनाबाट बाहिरिएको छ । पछिल्लो पटक बोर्ड बैठकले लगानीको ढाँचा र प्रक्रिया तय गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, अर्थमन्त्री डा युवराज खतिवडा र बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी सदस्य रहेको एक कार्यदल बनाएको थियो । सो कार्यदलले बोर्डमा प्रतिवेदन बुझाउने क्रममा छ । यस्तै बोर्डले कतारका सरकारी निकाय तथा निजी क्षेत्रलाई समेत आगामी चैत १५ र १६ गते आयोजना गरिएको लगानी सम्मेलनमा सहभागी हुनसमेत आग्रह गरेको थियो । प्रवक्ता वाग्लेका अनुसार सम्मेलनमा सहभागी हुन कतार उत्सुक रहेको र सहभागी हुने वचनसमेत दिएको जानकारी दिनुभयो । यस्तै बोर्डले अगाडि बढाइरहेका अन्य आयोजनाका बारेमा पनि कतार सरकार प्रतिनिधिसँग छलफल गरेको थियो । बोर्डले समन्वय गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । यस्तै बोर्डले नै संयोजन गरेको होङ्सी शिवम् सिमेन्टले पनि उत्पादन शुरु गरेको छ । यस्तै, रासायनिक मल कारखाना, पूर्व पश्चिम विद्युतीय रेलमार्ग, काठमाडौँ उपत्यका मेट्रो रेल, काठमाडौँ–कुलेखानी हेटाँैडा सुरुङ मार्ग, काठमाडौँ–पोखरा रेलमार्ग, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल लगायतका आयोजना पनि अगाडि बढाएको छ । बोर्डले परियोजना बैंक स्थापना गरेर केही ठूला आयोजना अगाडि बढाउन लागेको छ । यस्तै, लगानी भित्र्याउने उद्देश्यले लगानी सम्मेलनको आयोजनासमेत गरेको सन्दर्भमा बोर्डका अधिकारी र कतारी अधिकारीबीच छलफल भएको हो । कतारको सो कम्पनीले विभिन्न चार देशका विभिन्न आयोजनाबाट ४ हजार ८४५ मेगावाट विद्युत् उत्पादन गरेको छ । ऊर्जा क्षेत्रमा दिगो र दीर्घकालीन रुपमा लगानी गर्ने लक्ष्यका साथ सो कम्पनी स्थापना गरिएको हो । रासस