६ हजारले नायव सुब्बा कुमारबहादुर राजभण्डारीको जागिर चट्
काठमाडौं । ६ हजार घुसलिने नायब सुब्बा कुमार राजभण्डारी अख्तियार फन्दामा परेका छन् । मालपोत कार्यालय, ललितपुरमा उनलाई घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो । आयोगले राजभण्डारी र बिचौलिया बाबुराजा शाक्यलाई पक्राउ गरेको हो । उनीहरुले जग्गा हालसाविक गर्ने प्रयोजनको लागि बिभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस रकम लिएको आयोगले दाबी गरेको छ । उनीहरु विरुद्ध थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।
अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन शुरु, ‘युवाशक्ति देश विकासको इञ्जिन’
काठमाडौँ । नेपाल र भारतका युवा उद्यमीको सहभागितामा ‘दोस्रो अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलन’ आजदेखि काठमाडौँमा शुरु भएको छ । भारतीय दूतावास र क्लक बि विजनेश इन्नोभेसनद्वारा संयुक्त रुपमा आयोजित उक्त सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले युवाशक्ति देश विकासको इञ्जिन भएको बताए । प्रविधिको प्रयोगमा समेत युवा शक्ति अगाडि रहेकाले उनीहरुसँग साझेदारी गर्न सरकार तयार रहेको उल्लेख गर्दै उहाँले समाजको आवश्यकताअनुसार चल्न सकेन भने विकास सम्भव नहुने धारणा व्यक्त गरे । “समाज विकासका लागि नयाँ खोज र योजना जरुरी हुन्छ”, सल्लाहकार रिमालले भने, “त्यो क्षमता युवामा हुन्छ, उसले सरकारलाई समेत गाईड गर्न सक्छ ।”उनले भाडामा यात्रु ओसार्नका लागि प्रयोगमा आएको मोबाइल एप्लिकेशन ‘टुटल’ र ‘पठाओ’को उदाहरण दिँदै मान्छेले के चाहन्छ र सरकारले के गरिरहेको छ भन्ने कुरा यसैबाट प्रष्ट हुन्छ भने । नेपालमा भएका ९१ लाख युवालाई ‘समृद्ध नेपाल र सुखी नेपाली’ बनाउने अभियानमा सहभागी गराउने सरकारको योजना रहेको पनि सल्लाहकार रिमालले बताए । नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले युवासँग सहकार्य गर्न पाउँदा खुशी व्यक्त गर्दै कार्यक्रममा सहभागी जनशक्ति सम्भावनायुक्त रहेको बताए । उनले नेपाली जनता विदेशमा गएर काम गर्ने मात्रै नभई स्वदेशमै श्रम लगानी गरेर शिक्षा, प्रविधिसँगै आर्थिक विकासमा सघाउन सक्ने क्षमताका रहेको बताए । राजदूत पुरीले विश्वव्यापीकरणको वर्तमान युगमा नेपाल र भारत फाइदा लिने चरणमा रहेको उल्लेख गर्दै सम्मेलन युवा उद्यमीका लागि महत्वपूर्ण अवसर भएको विश्वास व्यक्त गरे । पछिल्लो ३०-४० वर्षमा सूचना र प्रविधिको तीव्रतर विकास भएकाले यसबाट फाइदा लिने बेला आएको छ भने । सम्मेलनमा नेपाल र भारतका ५०० भन्दा बढी युवा उद्यमी, लगानीकर्ता, व्यापारी, सरकारी प्रतिनिधि, विश्वविद्यालयका प्रतिनिधि र उद्यमशीलता सम्बन्धि जानकार सहभागी छन् । नेपाल र भारतका युवा उद्यमी, लगानीकर्ताबीच अनुभव आदानप्रदान हुने र उद्यमशीलताका विषयमा गहन छलफल हुने भएकाले आपसी सम्बन्ध विस्तार गर्न सहयोग पुग्ने विश्वास रहेको आयोजक क्लाक बि विजनेश इन्नोभेसनका निर्देशक डिल्लीराज जोशीले जानकारी दिए । सम्मेलनका लागि सामाजिक सञ्जालमार्फत विभिन्न विषयमा नयाँ खोज र योजनासहितको १०० आवेदन सङ्कलन गरिएका र त्यसमध्ये उत्कृष्ट २१ योजना छनोट गरिएको छ । यसरी छनोट गरिएका कम्पनीमा एयर लिफ्ट टेक्नोलोजी, स्वदेशी इनोभेसन, अफरिङ्ग ह्याप्पीनेस, मेकर भ्याली, अन स्कूल र वाकमेन ग्रिन क्वीन रहेको जनाइएको छ । सम्मेलनमा विषयविज्ञ आदित्य घोष, हेमराज ढकाल, रञ्जीत आचार्य, नरोत्तम अर्याल, सुशील पोखरेल, कपिलध्वज प्रताप सिंह, कुवेर चालिसेलगायत १८ जना प्रमुख वक्ताले आफ्ना अनुभवसहित उद्यमशीलताको विकास र सम्भावनाका विषयमा प्रस्तुतीकरण दिने जनाइएको छ । रासस
सवारी दुर्घटनामा चारको मृत्यु, तीन घाइते
सर्लाही । सर्लाही जिल्लामा आज बिहान भएको छुट्टछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर–१२ बाँके जङ्गलमा रोकी राखेको बसमा ट्रकले ठक्कर दिँदा बसमा सवार दुई र ट्रकमा सवार एकजना गरी तीन जनाको मृत्यु भएको छ । तीनजना गम्भीर घाइते भएका छन् । पूर्वको झापाबाट काठमाडौँ जाँदै गरेको ना ४ ख ९७५४ नं को बस बिग्रेर रोकी राखेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको ना ५ ख ७१२९ नं को ट्रक पछाडिबाट ठक्कर दिँदा इलाम सुलुबुलुम नगरपालिकाका–२७ वर्षीय गोविन्द साउदेन, सुनसरी इटहरी उपमहानगरपालिका–१६ की ३० वर्षीय विनेता राई र ट्रकमा सवार पर्सा वीरगञ्ज महानगरपालिका–१९ इनर्वाका अन्दाजी ३५ वर्षीय रहिम मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेमा नुवाकोट विदुरनगरपालिका– १३ का ३५ वर्षीय दावा तामाङ, बस चालक झापाका अर्जुनधारा नगरपालिका–६ का ३५ वर्षीया राजेन्द्र खतिवडा र बसका सहचालक उदयपुर कटारी नगरपालिका–१ का २२ वर्षीय दीपक अधिकारी गम्भीर घाइते भएका छन् । तामाङको खुट्टा भाँचिएकाले उपचारका लागि काठमाडौँ पठाइएको छ । खतिवडाको टाउकोमा गम्भीर चोट लागको छ । उनको उपचारका लागि महोत्तरीको बर्दिवास लगिएको छ । त्यसैगरी अधिकारीलाई समान्य चोट लागेकाले उहाँको उपचार सर्लाहीको लालबन्दीमा भइरहेको प्रहरीले जनाएको छ । त्यस्तै आज बिहान करीब ९ बजेको समयमा ईश्वरपुर नगरपालिकाबाट त्रिभुवन नगर आउँदै गरेको ना ३ ख १५१२ नम्बरको यात्रुबाहक बसले ब्रहम्पुरी गाउँपालिकामा एक बालिकालाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा ब्रहम्पुरी गाउँपालिका–३ भेल्हीका रामबाबु मुखियाको ६ वर्षीय छोरी सोनाली कुमारी मुखियाको मृत्यु भएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । रासस