माघ ६ बाट प्रधानमन्त्री ओली स्वीट्जरल्याण्ड भ्रमणमा, आर्थिक विकासमा सहयोग पुग्ने
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीबाट हुन लागेको स्वीट्जरल्याण्ड भ्रमणले मुलुकको आर्थिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले प्रधानमन्त्रीको माघ ६ देखि १२ सम्म स्वीट्जरल्याण्डको डाबोसमा हुन लागेको ‘वल्र्ड इकोनोमी फोरम’ नेपालमा लगानीको वातावरण निर्माण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । रिपोर्टर्स क्लब नेपालले आज आयोजना गरेको साक्षात्कारमा डा भट्टराईले मुलुकमा संविधान निर्माण भई स्थिर सरकार बनेको बताउँदै मुलुकले लिएको आर्थिक विकासको लक्ष्यलाई पूरा गर्न सम्मेलनले ठूलो सहयोग पुग्ने बताए । “मुलुकले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा पूरा गर्न सम्मेलनले थोरै भएपनि सहयोग पुर्याउनेछ”, उनले भने । विश्वका धेरै मुलुकका सरकार तथा राष्ट्रप्रमुख सहभागी हुने उक्त सम्मेलनमा आफ्नो देशको विकासका लागि हरेक देशले गरेका काम र आगामी दिनमा गर्ने कामका बारेमा सम्मेलनमा छलफल हुने भएकाले मुलुकको विकासका लागि सम्मेलन फलदायी हुने भट्टराईले बताए । भ्रमणका क्रममा प्रधानमन्त्रीको विभिन्न सभा तथा विभिन्न देशका सरकारप्रमुख, राष्ट्रप्रमुख र व्यवसायीसँग भेटघाट हुने कार्यक्रमसमेत रहेकाले विश्वको आर्थिक विकासका बारेमा धेरै ज्ञानसमेत हुने उनको भनाइ छ । “सम्मेलनमा विदेशी मुलुकको ज्ञान, प्रविधि र पुँजी भित्र्याउन नेपालले प्रयोग गर्नुपर्छ”, उनले भने । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेल मुलुकमा लगानीको वातावरण घट्दै गएको वर्तमान अवस्थामा सम्मेलनले लगानीको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए । “विश्वका दुई÷चार वटा ठूला कम्पनीलाई मात्र नेपालमा भित्र्याउन सके पनि प्रधानमन्त्रीको भ्रमणले सार्थकता दिनेछ”, उनले भने । नेपाल उद्योग परिसङ्घका अध्यक्ष हरिभक्त शर्मा डाबोस सम्मेलनमा धेरै लगानीकर्तालाई आकर्षण गर्न प्रधानमन्त्री लाग्नुपर्ने बताए । उनले सम्मेलन राजनीतिक कुरा गर्ने थलो नभएर आर्थिक छलफल गर्ने थलो भएकाले जतिसक्दो धेरै लगानी मुलुकमा भित्र्याउने बाटोमा लाग्नुपर्ने उल्लेख गरे । स्वीट्जरल्याण्डका लागि पूर्व राजदूत डा शम्भूराम सिम्खडाले सम्मेलनको मुख्य एजेण्डा प्रविधिको विकास र वातावरण प्रभाव भए पनि मुलुकको आर्थिक विकासका लागि नेपालले सम्मेलनमा आवाज उठाउनु पर्ने बताए ।
१० हजार घुस लिने हरिशचन्द्र कुमार अख्तियार फन्दामा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हरिशचन्द्र कुमारलाई पक्राउ गरेको छ । सवडिभिजन बन कार्यालय भजनी कैलालीका फरेष्टर रा.प.अन.द्धितियमा कार्यरत कुमारलाई १० हजार घुससहित पक्राउ गरेको हो । कुमारले सामुदायिक बनबाट उपभोक्ताहरुलाई झिझा दाउरा उपलब्ध गराउन सहज वातावरण मिलाईदिने भन्दै घुस मागेको अख्तियारले जनाएको छ । उनीमाथी थप अनुसन्धान भैरहेको छ ।
हिमालयन हाइड्रो एक्स्पो शुरु, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । निजी क्षेत्रका ऊर्जा उत्पादकहरुको संस्था इप्यानले कार्यकारी निर्देशकको पदमा रही राष्ट्रलाई आर्थिक समृद्धिका साथै उज्यालो नेपालको लागि पुर्याएको योगदानको उच्चकदर गर्दै घिसिङलाई सम्मान गरेको हो । काठमाडौंको भृकुटीमण्डपमा शुक्रबारबाट सुरु भएको हिमालयन हाइड्रो एक्स्पो २०१९मा घिसिङलाई सम्मान–पत्र प्रदान गरिएको छ । उपराष्ट्रपति नन्दबहादुर पुनले कार्यकारी निर्देशक घिसिङलाई सम्मानपत्र प्रदान गरेका हुन् । २०७३ को भदौमा ४ वर्षका लागि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापन मार्फत मुलुकले बेहोरिरहेको कहालिलाग्दो लोडसेडिङको अन्त्य गरेका थिए । कार्यकारी निर्देशकमा नियुक्त हुँदा वार्षिक ८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणलाई वित्तीय र प्रशासनिक सुधार तथा पुनर्सरचनामार्फत खुद नाफामा लैजान घिसिङ सफल भएका छन् । घिसिङले विद्युत् चुहावट नियन्त्रणमा पनि उल्लेख्य सफलता हासिल गरेका छन् । प्राधिकरणले विद्युत् चोरी नियन्त्रण, ग्राहक सेवामा सुधार, महशुल बक्यौता असुलीमा कडाई,प्राविधिक चुहावट घटाउन ट्रान्सफर्मर, वितरण लाइन तथा सबस्टेसनको स्तरोन्नती तथा सुदृढीकरण लगायतका काम अभियानकै रुपमा चलाइरहेको छ । उनकै नेतृत्वमा प्राधिकरणले निर्माण गरिरहेका जलविद्युत उत्पादन, प्रसारण लाइन र वितरण आयोजनाका कामलेपनि तिब्रता पाएको छ । कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले सरकारले १० वर्षमा १५ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको चर्चा गर्दै यसलाई पूरा गर्न नै प्राधिकरणले ‘टेक अर पे’मा विद्युत खरिदको नीति लिएको बताए । यस्तो व्यवस्थाले निजी प्रवद्र्धकलाई यस क्षेत्रमा लगानीका लागि वातावरण बनाएको उनले बताए । भृकुटीमण्डपस्थित प्रदर्शनीस्थलमा शुरु भएको एक्स्पोमा सहभागी हुन ८५ भन्दाबढी प्रदर्शकहरुले सयभन्दा बढी स्टल राखेका छन् । जलविद्युत क्षेत्रको महत्वपूर्ण तथा ठुलो मानिएको एक्स्पोमा १ लाख बढी अवलोकनकर्ताको उपस्थिति रहने अनुमान गरिएको इप्पानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले बताए । एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गरेको हो । एक्स्पोमा जलविद्युत प्रवद्र्धक, उपकरण आपूर्तिकर्ता, लगानीकर्ता, बैंक तथा वीमालगायत जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहेको छ ।