लगानी सम्मेलनबारे दातासँग परामर्श बैठक, लगानी भित्र्याउन सहयोग गर्ने प्रतिबद्धता
काठमाडौँ । नेपाललाई लगानीको आकर्षक गन्तव्यको रूपमा प्रवद्र्धन गर्ने उद्देश्यले आगामी चैत १५ र १६ गते राजधानीमा आयोजना हुने ‘नेपाल लगानी सम्मेलन’बारे आज दातृ समूहसँग परामर्श बैठक भयो । सम्मेलन आयोजक समितिका संयोजक एवं अर्थमन्त्री डा युवराज खतिवडाको अध्यक्षतामा अर्थ मन्त्रालयमा भएको बैठकमा नेपालको विकासका द्विपक्षीय र बहुपक्षीय साझेदारले कानूनी, शासकीय र प्रक्रियागत सुझाव दिएका थिए । काठमाडौँस्थित अधिकांश कूटनीतिक नियोगका प्रमुख तथा उपप्रमुख, बहुपक्षीय एवं द्विपक्षीय विकासका साझेदार, अन्तर्राष्ट्रिय वित्तीय संस्थाका प्रतिनिधि सहभागी उक्त बैठकमा उनीहरूले नेपालमा लगानी भित्र्याउन र सम्मेलनलाई सफल तुल्याउन हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका मन्त्री खतिवडाले बताए । सम्मेलनमा नेपालको कृषि, ऊर्जा, भौतिक पूर्वाधारअन्तर्गत रेल, सडक र हवाई सेवा सञ्चालन तथा विस्तार, उद्योग र सूचना प्रविधि क्षेत्रमा लगानी बढाउने विषयमा विस्तृत छलफल हुनेछ । लगानी बोर्ड, अर्थ मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र परराष्ट्र मन्त्रालयको संयुक्त आयोजना र निजी क्षेत्रको सह आयोजनामा हुने उक्त सम्मेलन मुलुकलाई समृद्ध बनाउन आवश्यक बाह्य लगानी भित्र्याउन सफल हुने विश्वास गरिएको छ । यसअघि २०७३ सालमा गरिएको लगानी सम्मेलन फलदायी भएको निष्कर्ष निकाल्दै सरकारले थप लगानी प्रवद्र्धन गर्न पुनःअन्तराष्ट्रियस्तरको लगानी सम्मेलन गर्न लागेको हो ।
भरतपुर महानगरमा जग्गा खण्डीकरण गर्न नदिइने, कार्ययोजना बनाएर मात्रै कित्ताकाट !
चितवन । स्मार्ट सिटी बनाउन लागिएको भरतपुर महानगरपालिकाभित्र जग्गा खण्डीकरण गर्न नदिइने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले जग्गा कित्ताकाटको जिम्मेवारी स्थानीय तहलाई दिएपछि भरतपुर महानगरपालिकाले व्यवस्थित शहर निर्माणका लागि जथाभावी रूपमा कित्ताकाट गर्न रोक लगाएको हो । महानगर प्रमुख रेनु दाहालले विज्ञसँग परामर्श गरी कार्ययोजना बनाएर मात्र कित्ताकाट फुकुवा गरिने बताइन् । विज्ञ र सरोकारवालासँग छलफल गरी यही माघ ७ गते बस्ने कार्यापालिका बैठकले थप निर्णय लिने उनले बताइन् । उनले भनिन्, “हिजोको जस्तो घोल खेतलाई पनि माटो उकासेर घडेरीका रूपमा बिक्री गर्न दिँदैनौँ ।” स्मार्ट सिटी बनाउनका लागि भरतपुर महानगरमा तथ्याङ्क सङ्कलन भइरहेको छ । कृषियोग्य जग्गा प्लटिङ हुँदा समस्या देखिएको छ । देशकै मध्यभागमा रहेकाले चितवनमा बसोबास गर्न धेरैलदे रुचि देखाउने गरेका छन् । यहाँको धानखेती गर्ने घोलखेतसमेत पुरेर प्लटिङ् गरिएको थियो । धेरैको आकर्षण भएकाले एक दशकयता जिल्लामा घडेरीको मूल्य अस्वाभाविक रुपमा वृद्धि भएको छ । कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठ जग्गाको वर्गीकरण गरेर मात्र कित्ताकाट गरिनुपर्ने बताउँछन् । भूउपयोग नीतिमा ढिलाइ भएका कारण खेतीयोग्य जमीन खण्डीकरण भएको उनले बताए । जग्गाको कारोवार बढ्दा बाहिरी जिल्ला घर भएका व्यक्तिले खरिद गरेका जग्गा बाँझै बसेको छ । उत्पादनमा कमी आएको छ । तत्कालीन जिल्ला कृषि विकास कार्यालय हुँदादेखि नै जिल्लामा खेतीयोग्य जमीन ४६ हजार हेक्टर भनिए पनि खण्डीकरणका कारण के कति कमी भयो भन्ने एकिन छैन । जग्गा व्यवसायी दिनेशकुमार चुके स्थानीय तहले जग्गाको वर्गीकरण गरी कित्ताकाट फुकुवा गर्नुपर्ने बताउँछन् । खेतीयोग्य जमीन र आवासीय जमीन छुट्याएर कित्ताकाट गर्नुपर्ने उनको भनाइ छ । विसं २०७३ फागुन २ गते सर्वोच्च अदालतले भूमिको वर्गीकरण र उपयोगसम्बन्धी कानूनको तर्जुमा भइरहेकाले कृषियोग्य जग्गा विनास हुनबाट रोक्न निर्देशन आदेश जारी गरेको थियो । सोही आदेशअनुसार २०७४ साल साउन २६ गतेदेखि कित्ताकाट रोकिएको हो ।
धादिङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा खत्री निर्वाचित
धादिङ । धादिङ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा आगामी तीन वर्षे कार्यकालका लागि रुद्रबहादुर खत्री निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा खत्री ६५४ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी विष्णुप्रसाद थपलियाले ६१२ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत ढोलकराज ढकालले जानकारी दिए । यसैगरि विष्णु श्रेष्ठ, मनमायाँ गोतामे, गीता पाठक, गणेश अधिकारी, रामकुमार शाह, राजाराम सिलवाल, अजय त्रिपाठी, विष्णुमणि श्रेष्ठ, ईश्वरप्रसाद कोइराला, सुदीप रसाइली, पुष्पराज थपलिया, सुरेन्द्र श्रेष्ठ, रमेशभाइ अधिकारी, गोविन्द भण्डारी, निर्पेश न्यौपाने, शङ्कर पण्डित, लोकनाथ डल्लाकोटी, विश्वराम दुवाडी, रामकुमार डल्लाकोटी र किरणचन्द्र रावल जिल्ला कार्यसमितिमा विजयी भएका छन् । कूल एक हजार ५८९ सदस्य रहेकोमा एक हजार ३०४ जनाले मतदान गरेका थिए ।