ऊर्जा मन्त्रीलाई प्रश्न-विद्यालयले कसरी पाउँछ विद्युत् मिटर ?
काठमाडौँ । “माननीय मन्त्री ज्यू, विद्यालयमा कम्प्युटर क्षिक्षाका लागि विद्युत् लाइन जोड्न खोजेको, तर सार्वजनिक जग्गामा भवन भएकाले हामीसँग लालपूर्जा छैन । सोही कारण हामीले विद्युत् मिटर राख्न पाएका छैनौँ । हामीले विद्युत् मिटर नपाएकै कारण विद्यार्थीलाई कम्प्युटर पढाउन नपाउने हो त ?” यो भनाइ हो काभ्रे जनजागृति माविका शिक्षक ठाकुरप्रसाद उप्रेतीको । शिक्षक उप्रेती त्यतिमा मात्रै रोकिएनन् । उनले भने, “मिटर जडान गर्न नेपाल विद्युत् प्राधिकरणको काभ्रेपलाञ्चोक वितरण केन्द्रले १० हजार धरौटी राख्न भनेको छ । हामीले कसरी मिटर लिने होला ?” अभिभावकले विद्यालयमा कम्प्युटर पढाइ गर्न लामो समयदेखि माग गर्दै आएको भएपनि मिटर नपाउँदा विद्युत् लाइन जोड्न पाइएन, शिक्षक उप्रतीले थप गुनासो गरे । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले हरेक साताको शुक्रबार १२ बजेदेखि १३ बजेसम्म एक घण्टा ११५१ नम्बरको पैसा नलाग्ने फोनमा ग्राहकका गुनासो सम्बोधन गर्ने पहल गर्नुहुन्छ भन्ने सुनेकाले आफूले फोन गरेको उप्रेतीको भनाइ थियो । शिक्षक उप्रेतीको भनाइ ध्यानपूर्वक सुनिरहेका मन्त्री पुनले भने, “तपार्इँको समस्या समाधान हुन्छ । लालपूर्जा नभएकालाई समेत विद्युत् मिटर दिने प्रक्रिया शुरु भइसकेको छ । प्राधिकरणको काभ्रेपलाञ्चोक वितरण केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ । शिक्षक उप्रेतीसँगको वार्तासँगै मन्त्री पुनका सहयोगीले प्राधिकरणको काभ्रेपलाञ्चोक वितरण केन्द्रका प्रमुखलाई फोन लगाए । मन्त्री पुनले काभ्रे वितरण केन्द्रका प्रमुखलाई जनजागृति माविको समस्या समाधान गर्न निर्देशन दिए । शुक्रबार मन्त्री पुनले विभिन्न क्षेत्रका नौ नागरिकसँग संवाद गरे । उनले उनीहरुका गुनासा ध्यानपूर्वक सुन्नुभयो र सकेसम्म समाधान गर्ने प्रयास पनि गरे । दोलखा बिगु गाउँपालिका–८ का सञ्जीव ओलीले चार महिना पहिले लाइन विस्तार गरिएको भएपनि करीब ३०० मिटर तार नहुँदा विद्युतीकरण गर्न समस्या भएको गुनासो गरे । ओलीले प्राधिकरणको दोलखा वितरण केन्द्रले आफूहरुको माग सम्बोधन नगरेको गुनासो मन्त्रीलाई सुनाए । मन्त्री पुनले तत्कालै दोलखा वितरण केन्द्रका प्रमुखलाई समस्या समाधान गरिदिन निर्देशन दिए । यस्तै मन्त्री पुनलाई गुनासो सुनाउनेमा बुटवल उपमहानगरपालिकका घनश्याम कँडेल थिए । उनले पानी जडानका लागि विद्युत् उपलब्ध गराइदिन माग गरे । मकवानपुर भीमफेदीका राजकुमार पुडासैनीले काठको पोल विस्थापनका लागि प्राधिकरणले पटकपटक स्थलगत निरीक्षक गरेको भएपनि १४५ पोल फेर्नुपर्ने भएकाले काम रोकिएको गुनासो गरे । थापाथलीको सुकुम्वासी बस्तीबाट बलबहादुर खत्रीले फोन गरेर अस्थायी मिटर जडान गरेका कारण प्रतियुनिट २० का दरले महसुल तिर्नुपरेको भन्दै स्थायी मिटरको प्रबन्ध गरिदिन आग्रह गरे । उनले लालपूर्जा नभएका व्यक्तिलाई समेत मिटर उपलब्ध गराउने सुने पनि प्राधिकरणले अस्थायी मिटर दिएर बढी शुल्क लिएको भन्दै समस्या समाधान गरिदिन मन्त्री पुनलाई अनुरोध गरे । दोलखा भीमेश्वरका नवराज कार्कीले तामाकोशी काठमाडौँ प्रसारण लाइनको टावर सकेसम्म सार्वजनिक जग्गाबाट लैजानुपर्ने बताए । खोटाङका प्रेम गुरुङको माग भने फरक थियो । उनले विद्युत् महसुल मिनाहा गरिदिनु पर्नेमा जोड दिए । साँखुका सत्यनारायण तिवारीले फर्निचर व्यवसायका लागि थ्री फेज विद्युत् लाइन उपलब्ध गराइदिन अनुरोध गरे । फर्निचर व्यवसाय गरेर स्वदेशमा नै रहने थिए तर थ्री फेज लाइन नभएका कारण समस्या भएको छ, उनको भनाइ थियो । बारा विश्रामपुरका अमिरलाल पालले पनि विद्युत् वितरण सहज बनाउनु पर्नेमा जोड दिए । मन्त्री पुनले नागरिकका समस्या सम्बोधन गर्न हरेक शुक्रबार नियमित रुपमा एक घण्टा संवाद गर्दै आएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मातहतका निकायमा भइरहेको काम कारवाहीका बारेमा नागरिकले कस्तो प्रतिक्रिया दिएका छन् भन्ने थाहा पाउन पनि हटलाइन प्रभावकारी भएको मन्त्री पुनको भनाइ छ । सकेसम्म नागरिकको गुनासा सम्बोधन गर्ने प्रयास गरिएको छ । महत्वपूर्ण कार्यक्रममा व्यवस्त हुनुपर्दा वा देशका विभिन्न स्थानमा जाँदाबाहेक हटलाइनमा नागरिकका गुनासा सुन्ने कार्यलाई निरन्तर अगाडि बढाएको बताउँदै मन्त्री पुनले भने, “नागरिकले असाध्यै राम्रो प्रतिक्रिया दिनुभएको छ । यसबाट मन्त्रालय र मातहतका निकायमा भएका काम कारवाहीको बारेमा समेत जान्ने अवसर मिलेको छ ।” रासस
माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटमा ४७ र धादिङमा १८ हल गोरु जुधाइँदै
काठमाडौँ । परापूर्वकालदेखि माघे सङ्क्रान्ति पर्वका अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा मनाइँदै आएको गोरु जुधाउने पर्वमा यसवर्ष ४७ हल गोरु जुधाइने भएको छ । रसुवा–नुवाकोट पर्यटन समाजले पत्रकार सम्मेलन गरी यस वर्षौदेखि नुवाकोटको बेत्रावती, तारुका र यसै वर्षदेखि घले गाउँ र धादिङको नीलकण्ठ नगरपालिकास्थित धुवाकोटमा पनि गोरु जुधाइने जानकारी दिइयो । नुवकोटको तारुकमा २३, बेतावतीमा आठ र घले गाउँमा १६ तथा धादिङको धुवाकोटमा १८ हल गोरु जुधाउन दर्ता भएको सो अवसरमा पर्यटन समजका अध्यक्ष बलराम न्यौपानेले जानकारी दिए । तारुका गोरु जुधाइ मेला आयोजक समिति सदस्य विष्णु तारुकेले गोरु जुधाइँसँगै स्थानीय कला संस्कृति झल्कने झाँकी, राष्ट्रिय कलाकारद्वारा सांस्कृतिक कार्यक्रम, स्थानीय लोक भजनलगायतका कार्यक्रम यसै वर्षदेखि थप गरिएको जानकारी दिए । सो अवसरमा पर्यटन व्यवसायीद्वय रामशरण थपलिया र दीपक महतले गोरु जुधाइ पर्वलाई स्थानीय कला संस्कृतिसँग जोडेर आन्तरिक तथ बाह्य पर्यटन प्रवद्र्धन गर्नुपर्ने बताए । तारुकामा गोरु जुधाउने परम्पराको थालनी कहिले भएको आधिकारिक तिथिमिति कतै नभेटिए पनि स्थानीय बूढापाकाका अनुसार यो करीब दुई सय वर्ष पुरानो मानिन्छ । तारुकामा पछिल्लो १२ वर्षदेखि मेला व्यवस्थापन गरी एकै स्थानमा गोरु जुधाइँदै आएको छ । मेलामा हरेक वर्ष नुवाकोट, रसुवा, काठमाडौँ, धादिङका गरी हजारौंको सङ्ख्यामा दर्शकको सहभागिता हुने गर्दछ । यस्तै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको थलो बेत्रावतीमा पनि गोरु जुधाइ हुने भएको छ । पछिल्लो छ वर्षदेखि बेत्रावतीमा माघे सङ्क्रान्तिमा गोरु जुधाइँदै आएको छ । यसवर्ष आठ हल गोरुको दर्ता भइसकेको आयोजक गोसाइँकुण्ड युवा क्लबका अध्यक्ष ज्ञानकुमार डङ्गोलले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रतियोगितामा सामेल भएका गोरु शारीरिक रुपमा अशक्त भएमा वा सिङमात्रै भाँचिएमा पनि बीमाको व्यवस्था गरिएको छ । विजेता तथा उपविजेतालाई उचित पुरस्कारको समेत व्यवस्था गरिएको सो अवसरमा जानकारी दिइयो । टोलैपिच्छे गोरु जुधाउने परम्पराले चर्चा पाउन नसकेपछि स्थानीय युवा मिलेर विगत १२ वर्षदेखि गोरु जुधाइलाई एकीकृत बनाएर तारुका–५ स्थित चन्दनीको कटहरबोटको पाटोमा शुरु गरेपछि यसको चर्चा यतिखेर विदेशमा समेत हुने गरेको छ । बाह्र वर्षदेखि यो पर्वलाई मनाउन प्रमुख राजनीतिक दलले चक्रीय प्रणाली अपनाएका छन् । मेला सञ्चनाल गर्ने विषयमा स्थानीयवासीबीच मनमुटाब बढ्दै गएपछि चक्रीय प्रणालीमा मेला शुरु गर्न थालिएको छ । रासस
घरमै बसेर अनलाइनमार्फत खानेपानीको महशुल भुक्तानी
चितवन । रत्ननगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले अनलाईनमार्फत खानेपानीको महसुल बुझाउने व्यवस्था मिलाएको छ । यो सेवा सुरुआतसँगै अब घरमै बसेर ग्राहकले खानेपानीको महसुल भुक्तान गर्न सक्नेछन् । ग्राहकको समय, लाईन बस्नुपर्ने अवस्थाको अन्त्यका साथै प्रविधिको विकास गर्ने उद्देश्यले अनलाईन सेवा सुरु गरिएको खानेपानी संस्थाका अध्यक्ष भीष्मराज पौडेलले जानकारी दिए । अनलाईन सेवाका लागि खानेपानी संस्थाले दियालो टेक्नोलोजीसँग सहकार्य गरिएको छ । संस्थाले रत्ननगरको वडा नम्बर ६ र ७ बाहेक अन्य सबै वडामा खानेपानीको सुविधा उपलव्ध गराउँदै आएको छ । संस्थाका अध्यक्ष पौडेलका अनुसार यस संस्थाको ७ हजार ६ सय ग्राहक रहेका छन् । दैनिक ५४ लाख लिटर शुद्ध खानेपानी संस्थाबाट खपत हुँदै आएको छ । नगरभित्र प्रत्येक घरधुरीमा शुद्ध खानेपानीको पहुँच पुर्याउन विपन्न, दलित, सुकुम्बासी , सीमान्तकृत समुदायका लागि खानेपानी धारा जडानमा ५० प्रतिशत छुटको व्यवस्थासमेत रहेको संस्थाका व्यवस्थापक विश्वनाथ पौडेलले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ५५ घरधुरीले सो सुविधा पाइसकेका छन् । एउटा धारा जडान गर्न ९ हजार ५ सय रुपैयाँ लाग्छ ।