बैद्य माओवादीका कार्यकर्ताले नेपाल वायुसेवा निगमका महाप्रबन्धक कंसाकारलाई दले कालोमोसो
काठमाडौँ । मोहन बैद्य नेतृतवको नेकपा क्रान्तिकारी माओवादीका कार्यकर्ताले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कार्यकक्षमा कालोमोसो दलेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको युवा संगठन क्रान्तिकारी युवा लिगका कार्यकर्ताले उनको कार्यकक्षमै पुगेर कालोमोसो दलेका हुन् । वाइडबडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै कालोमोसो दलिएको बैद्य माओवादीका कार्यकर्ताले जनाए । प्रतिनिधि सभा अन्तरगत लेखा समितिले गठन गरेको उपसमितिले कंसाकारलाई कारबाहीको सिफारसि गरेको थियो ।
समायोजनले कुनैपनि कर्मचारीको वृत्ति विकास रोकिँदैन: मन्त्री पण्डित
काठमाडौँ । सरकारले कुनैपनि राष्ट्र सेवकको वृत्ति विकासलाई नरोक्ने गरी कर्मचारी समायोजन अध्यादेश विधेयक, २०७५ ल्याएको स्पष्ट पारेको छ । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सबै कर्मचारीलाई सहजरूपमा सेवा सुविधा तथा वृत्ति विकासका लागि मन्त्रालयले विशेष ध्यान दिएको बताए । आधिकारिक टे«ड युनियनसँग पनि समायोजनका बारेमा छलफल भएको र उहाँहरूले पनि सहमति जनाएको जानकारी दिँदै मन्त्री पण्डितले अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत हुँदासम्म सबै समस्या समाधान हुने विश्वास व्यक्त गरे । नागरिकलाई स्थानीय तहमा नै सहजरूपमा सेवा सुविधा उपलब्ध गराउने लक्ष्यका साथ कर्मचारी व्यवस्थापन गर्न लागेको भन्दै अवसर र जिम्मेवारीको समेत बाँडफाँट गरेर काम गर्ने संस्कार बसाल्न लागिएको बताए । सङ्घीय सरकारको मूल्य र मान्यतालाई प्रभावकारी कार्यान्वयन गर्न उक्त अध्यादेश ल्याइएको मन्त्री पण्डितको भनाइ थियो । मन्त्री पण्डितले प्रदेश र स्थानीय तहसँग जोडिएका अन्य कानूनसमेत छिट्टै सदनमा प्रस्तुत गर्ने जानकारी दिए । सङ्घीयता कार्यान्वयनका सम्बन्धमा जोडिएका सबै नियम तथा कानून निर्माणमा सरकारले ध्यान दिएकोसमेत उनको भनाइ थियो । राष्ट्रियसभाको आजको बैठकले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
२० हजार घुससहित नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ
रत्ननगर । उपभोक्ता अधिकार संरक्षण मञ्च चितवन शाखाले भरतपुर नापी कार्यालयका एक कर्मचारीलाई २० हजार घुस लिएको अभियोगमा पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाएको छ । पक्राउ परेका उक्त कार्यालयका नापी अधिकृत राजेश कर्माचार्यले बिहीबार भरतपुर महानगरपालिका–१० हाकिमचोकका विष्णु पौडेलको जमीन कित्ताकाट गर्ने क्रममा घुस मागेका थिए । पौडेलले बुझाएका नोटको फोटो खिचेर आफ्नी बहिनीमार्फत उनलाई दिइएको थियो । सोही नोटको नम्बरका आधारमा उनलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालयमा बुझाइएको उक्त शाखाका अध्यक्ष विष्णु भुसालले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले घुस रकमसहित पक्राउ परे पनि अख्तियारलाई खबर नगरेका कारण निजामती सेवा ऐनअनुरुप मुद्दा अगाडि बढाइने जानकारी दिए ।