कर्मचारी समायोजन अध्यादेश बिरुद्ध मन्त्रालय घेराउको कार्यक्रम स्थगित, ३ बजे बिरोध प्रदर्शन गर्दै
काठमाण्डौ । शुक्रबार सिंहदरवार क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । कर्मचारी समायोजन अध्यादेशको विरुद्धमा कर्मचारीहरुले सिंहदरबार क्षेत्र मै सामान्य प्रशासन मन्त्रालय घेराउ र विरोध प्रदर्शन गर्ने आयोजन आयोजना गरेपछि सुरक्षाकर्मीको उपस्थिति बाक्लो गराइएको छ । सुरक्षाकोकर्मीको उपस्थिति बढाएर आफूहरुको शान्तिपूर्ण आन्दोलनमा धरपक्कड गर्ने सरकारी रणनीति रहेको भन्दै मन्त्रालय घेराउ र विरोध प्रदर्शनको कार्यक्रम स्थगित गरिएको एक कर्मचारीले बताए । ती कर्मचारीका अनुसार कर्मचारी समायोजन अध्यादेशका विरुद्धमा शुक्रबार दिउँसो ३ बजे माइतिघर मण्डलाबाट बानेश्वरसम्म जुलुस प्रदर्शन गरिनेछ ।
राष्ट्रिय सभामा सांसदको माग-मेलम्ची खानेपानी आयोजनाको बाँकी काम अगाडि बढाऊ
काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकको प्रारम्भमा विशेष समयमा सांसद बलरामप्रसाद बाँस्कोटाले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयनमा ल्याएकामा सराहना गरे । उनले सहमति र सहकार्यका आधारमा कार्यक्रम कार्यान्वयन भएको चर्चा गर्दै यसले निम्न आय भएका वर्गलाई विशेष फाइदा पुुग्ने विश्वास व्यक्त गरे । सांसद राधेश्याम अधिकारीले राष्ट्रिय शिक्षा आयोगले आफ्नो प्रारम्भिक प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीसमक्ष बुझाएको भन्नेबारेमा शिक्षामन्त्रीले सदनलाई जानकारी गराउन माग गर्दै प्रतिवेदनको मस्यौदा सांसदको पिजनहोलमा कहिले राख्ने ? भन्ने प्रश्न गरे । उनले संविधानमा सार्वजनिक, निजी, सहकारीकामार्फत शिक्षा विकास गर्ने भनिएको छ तर सरकारले यो कुरालाई बिर्सिएको छ भने । सांसद वृषेशचन्द्र लालले विगतमा तराई–मधेश घटनाका बारेमा छानबिन गर्न गठित समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गराउन माग गरे । सांसद दीलकुमारी रावलले राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार इटलियन कम्पनी सिएमसीले एकतर्फीरुपमा किन आफ्नो ठेक्का प्रक्रिया रद्द गरी आयोजनाको काम ठप्प ग¥यो रु यसका बारेमा खानेपानी मन्त्रीले सदनमा जानकारी गराउन माग गरे । सांसद बद्रीप्रसाद पाण्डेले हालै दाङ, नुवाकोटमा भएका सडक दुर्घटना, कालिकोटका आगलागीका घटनामा परी अकालमा मृत्यु भएका परिवारजनलाई उचित राहत प्रदान गर्न र घाइतेको शीध्र उपचारको व्यवस्था मिलाउन माग गर्दै बूढीगण्डकी स्वदेशी कम्पनीले बनाउने प्रबन्ध मिलाउनुपर्छ भने । उनले वैदेशिक रोजगारीका लागि मलेशिया जाने प्रक्रिया खोल्न र मेलम्ची खानेपानी आयोजनाका बाँकी काम सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद जीवन बुढाले कालिकोटको न्यौपाने बस्तीमा हालै आगलागी हुँदा त्यहाँका १७९ घरमध्ये ८७ घर जलेर नष्ट भएको, १३ जना घाइते भएको, रु तीन करोड छ लाख बराबरको क्षति भएकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै आगलागी भएको गाउँको पुनःनिर्माण प्रक्रिया अगाडि बढाउन सङ्घीय सरकारले प्राथमिकता दिन माग गरे । उनले भने, “कणाली प्रदेशका अधिकांश घरका छाना खरले छाएका छन्, आगलागीको उच्च जोखिम हुन्छ । यसैले कर्णालीलाई खरको छानामुक्त बनाउन ध्यान जाओस् ।” सांसद रामनारायण बिडारीले पुनःनिर्माण प्राधिकरणको समयावधि पुनःनिर्माणका लागि दुई वर्षमात्र भएको सन्दर्भमा हालसम्म प्राधिकरणले के काम गर्यो ? यसका बारेमा सदनलाई जानकारी दिन माग गर्दै राष्ट्रिय गौरवको आयोजना काठमाडौँ बारा जोड्ने द्रुतमार्गअन्तर्गतको खोकना क्षेत्रका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद कोमल ओलीले पूर्व–पश्चिमअन्तर्गतको राष्ट्रिय गौरवको आयोजना हुलाकी सडक आयोजनाको काम छिटो अगाडि बढाउन माग गरे । सांसद रामपृत पासवानले दलित जनजाति सूचीमा सूचीकृत गर्दा ध्यान दिन आग्रह गरे ।
सुडानमा मूल्यवृद्धिको विरोध, १९ जनाको मृत्यु
खार्तुम । सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन् । सुडानका सञ्चार मन्त्री एवम् सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले प्रदर्शन नियन्त्रण गर्ने क्रममा एक सय ८७ जना सशस्त्र प्रहरी घाइते भएको जानकारी दिए । उत्तर अफ्रिकी राष्ट्र सुडानमा मूल्यवृद्धिको विरोधमा गत सातादेखि नै प्रदर्शन भइरहेका छन् । गत साता सुडानको राजधानी सहर खार्तुममा प्रदर्शनकारीले नेसनल कङ्ग्रेस पार्टी (एनसीपी)को मुख्यालयमा आगजनी गरेपछि कफ्र्यु समेत लगाइएको थियो । प्रदर्शनकारीले राष्ट्रपति ओमार अल–बासिरको राजीनामा मागेका छन् । सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको छ । साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ । उक्त मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकार विरुद्ध राष्ट्रव्यापी प्रदर्शन भइरहेका छन् । रासस/एएनआई