राजश्व तिरेको १ वर्ष भो, २ लाख ३० हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र किन पाएनन् ?

काठमाडौँ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा ‘स्मार्ट’ चालक अनुमतिका लागि राजश्व तिर्ने सेवाग्राहीको सङ्ख्या पाँच लाख ५७ हजार नाघेको छ । कार्यालयले चार वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेको थियो । कार्यालयबाट अहिलेसम्म तीन लाख ५४ हजारले ‘स्मार्ट’ चालक अनुमतिपत्र लिएका छन् । दुई लाख तीन हजारको छाप्न बाँकी रहेको कार्यालयले जनाएको छ । एकान्तकुनास्थित कार्यालयबाट ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गर्दा एउटा कार्यालय मात्रैमा यो सेवा थियो । गत वर्षदेखि देशभरका कार्यालयले ‘स्मार्ट’ चालक अनुमतिपत्र शुरु गरेका छन् । कार्यालयका शाखा अधिकृत रमेश पौडेलका अनुसार कार्यालयबाट लिइएको लिखित र ‘ट्रायल’ दुवै पास गरेका र नवीकरणका लागि फारम भरेका दुवै खालका सेवाग्राहीले ‘स्मार्ट’ चालक अनुमतिपत्रका लागि राजश्व तिरेका छन् । अहिले काठमाडौँ उपत्यकामा नै अरु तीन ठाउँ र देशभरका सबै कार्यालयले चालक अनुमतिपत्रको परीक्षा उत्तीर्ण हुनेलाई ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन थालेका छन् । उनले भने, “पहिलेभन्दा अहिले यहाँ सेवाग्राहीको चाप कम भएपनि अन्यत्रभन्दा बढी सेवाग्राही आउँछन् ।” सबै कार्यालयबाट परीक्षा पास भइसकेका सेवाग्राहीको चालक अनुमतिपत्र विभागमा नै छापिन्छ । विभागमा भएको उपकरण पर्याप्त नभएकाले अनुमतिपत्र वितरण गर्न समस्या भएको हो । पौडेलले भने, “राजश्व तिरेको लामो समयसम्म चालक अनुमतिपत्र नपाएका सेवाग्राही कार्यालयमा आइरहन्छन् ।” एक वर्षभन्दा पहिले परीक्षा पास गरेका सेवाग्राहीले अझैसम्म अनुमतिपत्र पाएका छैनन् । रासस

नाट्टा र टुर्गानबीच सम्झौता, टुर गाईडको पारिश्रमिक २५ प्रतिशतले वृद्धि

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्रस (नाट्टा) र टुरिष्ट गाईड एसोसिएसन अफ नेपाल (टुर्गान) बीच लामो समयदेखिको टुरगाईड पारिश्रमिक विवाद अन्त्य भएको छ । स्वतन्त्र टुरिष्ट गाईडहरुको छाता संगठन टुर्गान र टुर तथा ट्राभल व्यवसायीहरुको संगठन नाट्टाबीच पारिश्रमिक बृद्धि गर्ने विषयमा सहमति भएपछि विवाद टुंगिएको हो । नाट्टाका अध्यक्ष सिएन पाण्डे र टुर्गानका अध्यक्ष केदार तामाङले सोमबार हस्ताक्षर गरेको समझदारी पत्र अनुसार यसअघिको पारिश्रमिक दर रेटमाथि २५ प्रतिशतले वृद्धि भएको छ । टुर्गानले लामो समयदेखि टुर गाईडको पारिश्रमिक समयसापेक्षित बृद्धिको माग गर्दै आएको थियो । १ जनवरी २०१९ देखि लागु हुने गरी नयाँ पारिश्रमिक निर्धारण गरिएको हो । बृद्धि भएको पारिश्रमिक नाट्टा र टुर्गानमा आवद्ध सदस्यहरुको लागि लागु हुनेछ । पारिश्रमिक २ वर्षपछि परिमार्जन हुनेछ । यसअघि सन् २०१४ मा टुगाईड पारिश्रमिक वृद्धि गरिएको थियो । दुई संस्थाबीचको समझदारीले पर्यटनमा राम्रो सन्देश जाने र पर्यटन वर्ष २०२० लाई पनि सहयोग पुग्ने विश्वास लिईएको छ ।

काम गरेको भुक्तानी दिन बजेटको अभाव छैनः अर्थमन्त्री डा. खतिवडा

काठमाडौँ । अर्थमन्त्री डा युवराज खतिवडाले निर्माण व्यवसायीको रकम चाँडै भुक्तानी दिइने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा आज नेपाल निर्माण व्यवसायी महासङ्घको प्रतिनिधिमण्डलसँग भएको भेटमा उनले व्यवसायीलाई भुक्तान गर्नुपर्ने रकमको यकिन विवरण प्राप्त नभएकाले समस्या आएको बताए । “अब केही दिनमा सबै विवरण प्राप्त भए लगत्तै व्यवसायीको रकम भुक्तानी हुन्छ, काम गरेको भुक्तानी दिन बजेटको अभाव छैन”, मन्त्री डा खतिवडाले भने । महासङ्घ अध्यक्ष रवी सिंह नेतृत्वको प्रतिनिधिमण्डलले भुक्तानी तथा करमा ब्याज र हर्जाना छुटका विषयमा अर्थमन्त्री डा खतिवडाको ध्यानाकर्षण गराउनुहुँदै समस्या समाधानका लागि आग्रह गरेको थियो । सरकारी निकायबीच समन्वय नहुँदा निर्माण व्यवसायीको काममा पाइलै पिच्छे समस्या आएकोतर्फ पनि महासङ्घका प्रतिनिधि मण्डलले अर्थमन्त्री खतिवडाको ध्यानाकर्षण गरायो । प्रतिनिधि मण्डलले सङ्घीय, प्रदेश र स्थानीय सरकारले सञ्चालन गरेका विभिन्न सडक, भवन, पुल लगायतका परियोजनाहरु हस्तान्तरण गरेको जानकारीे गराएको छ । परियोजनाहरुको निर्माणाधीन अवस्थामा हस्तान्तरण गर्दा निर्माण व्यवसायीलाई निर्माण कार्य सञ्चालन गर्ने र निर्माण कार्य सम्पन्न भई बिल समेत पेश गरेका आयोजनाहरुको भुक्तानी नहुने वातावरण सृजना भएकातर्फ महासंघका अध्यक्ष सिंहले मन्त्री डा खतिवडाको ध्यानाकर्षण गराएका थिए । ती निर्माण कार्यको भुक्तानी हुन धेरै रकम बाँकी रहेकाले परियोजनाहरु सम्पन्न नहुन्जेल र भुक्तानी नभएसम्म केन्द्रीय स्तरबाट नै भुक्तानी हुने गरी व्यवस्थापनका लागि अध्यक्ष सिंहले आग्रह गर्नुभयो ।