शुरु भयो बिल्डिङ कन्सट्रक्सन एक्स्पाे, घर बनाउन चाहिने सबै सामाग्री एकै ठाउँमा पाइने
काठमाडौं । भृकुटीमण्डपमा बिल्डिङ कन्सट्रक्सन एक्स्पाे शुरु भएको छ । युथ कम्यिुनिटी फर नेप्लिज कम्युनिटीले ४ दिने एक्स्पाेको आयोजना गरेको हो । मेलाको उद्घाटन शहरी विकास मन्त्री मोहमोद इस्तियक राईले गरेका हुन् । उद्घाटन समाहरोमा बोल्दै राईले मन्त्रालयले शहरी विकासका लागि ऐन निर्माण गरिरहेको र यसमा सबै पक्षको सुझाव आवश्यक रहेको बताए । एक्स्पाेमा घर बनाउन चाहाने एक जना व्यक्ति एक्पोमा आए सबै प्रकारका परामर्श तथा निर्माण सामाग्री पाइने नेपाल इन्जिनियरिङ एशोसियसनका कार्यकारीणी सदस्य इन्जिनिएर होमनाथ पोखरेलले बताए । मेलामा ५० हजार भन्दा बढी मानिसले अवलोकन गर्ने उनले दाबी गरे । मेलामा अर्घाखाँची सिमेन्ट, शंकर ग्रुप, जगदम्बा ग्रुप, बरगर पेन्ट्स लगायत ६१ वटा स्टलहरु राखिएका छन् । एक्स्पाे घर बनाउँदा कस्तो निर्माण सामाग्री प्रयोग गर्ने, डिजाइन कसरी तयार गर्ने विषयमा रहेको छ ।
अदालतले तोकेको दण्ड जरिवाना नबुझाउनेलाई सार्वजनिक सेवामा रोक
काठमाडौं । अदालतले तोकेको दण्ड जरिवाना समयमा नबुझाउने व्यक्तिलाई सार्वजनिक सेवामा रोक लगाइने भएको छ । जिल्ला अदालत नियमावली २०७५ को नियम ८७ बमोजिम अदालतको दण्ड जरिवाना असुल हुन बाँकी व्यक्तिको लगत विवरणसहित सार्वजनिक सेवामा रोक लगाउने व्यवस्था गर्न लागिएको हो । कैद वा जरिवाना तथा सरकारी बिगो नतिरेका व्यक्तिको पहिचान हुने भएकाले परिचयपत्रमा रोक लगाउन विवरण हेर्न मिल्ने गरी व्यवस्थापन गर्न सरोकारभएका निकायसँग आग्रह गरिएको काठमाडौँ जिल्ला अदालतले जनाएको छ । फैसला कार्यान्वयन निर्देशनालयका निर्देशक वेदप्रसाद उप्रेतीका अनुसार सरकारले राष्ट्रिय परिचयपत्र वितरण गर्न लागेकाले सो परिचयपत्र वितरण केन्द्रलाई अदालतको केन्द्रीय लगत हेर्न मिल्ने मात्र सम्मको पासवर्ड उपलब्ध गराइन्छ । लगत कायम रहेका व्यक्तिको कैद वा जरिवाना फछ्र्योट नभएसम्म सो परिचयपत्र उपलब्ध नगराउने तयारी भइरहेको छ । पाँच अर्ब जरिवाना उठ्न बाँकी काठमाडौं जिल्ला अदालतमा जरिवाना भुक्तान गर्न बाँकी पाँच अर्ब ९५ करोड रुपैयाँ छ । उक्त अदालतको फैसला कार्यान्वयन वर्ष घोषणा गर्न आइतबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । जरिवानाबापत असुल गर्न बाँकी छ अर्ब ६१ करोड रुपैयाँ रहेकामा ५४ करोड नौ लाख रुपैयाँ फछ्र्योट भएको छ भने कैद बस्नुपर्ने नौ हजार ८९९ वर्ष तीन महीना १ दिन रहेकामा ५७३ वर्ष पाँच महीना १२ दिनमात्र फछ्र्योट भएको छ । उक्त अदालतमा सबैभन्दा पुरानो विसं २००४ साउन २६ गते फैसला भएको ‘हासी’ भनिने यसबहादुर कार्कीको पाँच वर्ष चार महीना कैद र रु एक हजार २३५ जरिवाना बाँकी छ भने कैद मात्र तोकिएका अन्य कसुरदारमध्ये पाँच हजार ७२२, जरिवाना मात्र लागेका १४ हजार ८७९, कैद तथा जरिवाना दुवै लागेका सात हजार १६५ जनाका साथै विदेशी नागरिक २२३ छन् । विदेशी नागरिक २२३ कैद मात्र तोकिएका १४, जरिवाना मात्र तोकिएका ९८ र कैद र जरिवाना दुवै तोकिएका १११ जना छन् । उक्त अदालतले न्यायपालिकाको तेस्रो पञ्चवर्षीय रणनीतिक योजनानुसार चालु आर्थिक वर्षमा ठेकिएको सबै कैद र जरिवानाका अतिरिक्त जिम्मेवारीमा दश प्रतिशतले न्यून गर्ने लक्ष्य लिएको छ । रासस
खनिजको विकास र बजारीकरणमा जोड, पूर्वाधारका संरचना बनाउँदा भूबनोटमा ध्यान दिनुपर्ने
काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक समृद्धिको प्रमुख आधार खनिजको विकास र बजारीकरणमा लाग्नुपर्ने बताएका छन्। नेपाल भौगर्भिक समाजले साेमबार यहाँ आयोजना गरेको ‘नवौँ नेपाल अन्तर्राष्ट्रिय भौगर्भिक सम्मेलन’को उद्घाट्न समारोहमा उनले मुलकका बहुमूल्य खनिजको चाँडो उत्खनन गरी यसमा योजनाबद्ध विकास प्रयासको खाँचो औँल्याए। विकास पूर्वाधारका संरचना बनाउँदा भूबनोटमा पनि ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले भने, “प्राकृतिक विपद्बाट बच्न आवश्यक तयारीका साथै भूगर्भविद्को ज्ञान र अनुभव आवश्यक छ ।” कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा कृष्णप्रसाद ओलीले प्राकृतिक स्रोतसाधनको व्यवस्थापन र सदुपयोगमा लाग्नुपर्ने बताए । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले जटिल भौगोलिक विविधताका कारण व्यवस्थित बसोबासमा देखिएका चुनौतीका बारेमा बताउँदै भूकम्पपछिको पुनःनिर्माणमा भएका प्रगतिका बारेमा जानकारी दिए । कार्यक्रममा समाजका अध्यक्ष डा कविराज पौड्याल, उपाध्यक्ष गणेश त्रिपाठी, सम्मेलनका संयोजक राजेन्द्रप्रसाद खनाललगायतले समाजका गतिविधिका बारेमा जानकारी दिएका थिए । कार्यक्रममा भूगर्भ विकास क्षेत्रमा योगदान पुर्याएवापत भूवैज्ञानिक डा मेघराज धिमाल र नरेन्द्रबहादुर कायस्थलाई सम्मान गरिएको थियो । यही मङ्सिर ५ गतेसम्म चल्ने सम्मेलनमा १५ देशका करीब १५० भूगर्भविद्, भूवैज्ञानिक, खानी विशेषज्ञ, इञ्जिनीयरलगायत विज्ञको सहभागिता छ । विसं २०३७ मा स्थापित समाजले भूविज्ञानसम्बन्धी राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरको सम्मेलन, कार्यशाला, गोष्ठी, तालीमलगायत कार्यक्रम गर्दै आएको छ । रासस