ट्राफिककाे सिसिटिभी क्यामराले समात्याे २० हजार जना सवारी चालक, चालकलाई घरमा चिठी पठाएर कारवाही
काठमाडौं । ट्राफिक प्रहरीको आँखा छलेर निषेधित क्षेत्रमा सवारीसाधन चलाएको छु भनेर मख्ख नपर्नुहोला । सिसिटिभीमार्फत तपाईँको अनुगमन भइरहेको हुन्छ, फन्दामा पर्नुहोला । महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत अनुगमन गरी कारवाही बढाएको छ । महाशाखाले हालसम्म सिसिटिभीमार्फत २० हजार २४ जनालाई कारवाही गरेको छ । विसं २०७३ देखि सिसिटिभीमार्फत सवारी चालकलाई कारवाही थालेको महाशाखाले हालसम्म २० हजार बढी व्यक्तिलाई कारवाही गरेको हो । आव २०७३/७४ मा १३ हजार २२७, आव २०७४/७५ मा दुई हजार ७१६ र आव २०७५/७६ मा दुई हजार ७५२ जनालाई कारवाही गरेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले पछिल्लो समय सिसिटिभीमार्फत सवारी साधन कारवाहीलाई तीव्रता दिएको बताए । “उपत्यकाका सबै चोक र सडकमा ट्राफिक जनशक्तिको अभाव छ, त्यसैले महाशाखाले सिसिटिभीमार्फत सवारी उल्लङ्घन गर्ने सवारी चालकलाई कारवाही सङ्ख्या बढाएका हौँ”, उनले भने । साँघुरा सडक र अत्याधिक सवारीसाधन भएकाले लेन मिच्ने, तीब्र गतिमा सवारी चलाउने, एकतर्फी बाटोमा सवारी चलाउने, नो टर्न लेखेको ठाँउबाट टर्न लिनेलगायतलाई कारवाही गरिएको महाशाखाले जनाएको छ । हाल महाशाखाले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेका ४६० क्यामराबाट उपत्यकाको ट्राफिक गतिविधिको बारेमा हेर्दे आएको छ । चालकलाई घरमा चिठी पठाएर कारवाही महाशाखाले सवारी नियम उल्लङ्घन गर्ने एक हजार ३२९ सवारी चालकलाई घरमा चिठी पठाएर कारवाही गरेको छ । विसं २०७४ मा तत्कालीन प्रहरी नायब महानिरीक्षक सर्वेन्द्र खनाल महाशाखा प्रमुख भएको समयमा महाशाखाले सवारीसाधन उल्लङ्घन गर्ने चालकलाई घरमा चिठी पठाएर कारवाही गर्ने अभियान शुरु गरेको थियो । आव २०७४/७५ मा ५५१ र आव २०७५/७६ को हालसम्म ७७८ जनालाई कारवाही गरेको हो । महाशाखाले सवारीसाधनमार्फत एक हजार ९५८ सवारी चालकलाई कारवाही गरेको छ । आव २०७४/७५ मा एक हजार २५३ र आव २०७५/७६ मा ७०५ सवारी चालकलाई कारवाही गरेको छ । महाशाखाका प्रमुख पन्त सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकलाई रु ५०० देखि एक हजारसम्म जरिवना र जनचेतना दिँदै आएको बताउछन् । महाशाखाले सिसिटीभिका अलावा बडीवान क्यामरा, ग्रोप्रो क्यामरामार्फत कारवाही गर्दै आइरहेको छ । ट्राफिक उभिएर गर्ने कारवाही, सामाजिक सञ्जालमार्फत हेरेर गरिने कारवाही, यात्रुले खबर गरेर गरिने कारवाहीसमेत रहेका छन् । महाशाखाले सिसीटिभीमार्फत उपत्यकामा हुने कतिपय सवारी दुर्घटनाको अनुसन्धान गर्दै आइरहेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल नेपालभर ३२ लाख सवारीसाधन सञ्चालनमा रहेका छन्, जसमध्ये आठ लाख सवारीसाधन काठमाडौँ उपत्यकामा मात्र सञ्चालनमा रहेका छन् । उपत्यकामा साँघुरा सडक र सवारीसाधन धेरै भएका कारण ट्राफिक व्यवस्थापन दिनानुदिन जटिल बन्दै गएको छ ।
बिजनेस प्रपोजल ल्याउनुस्, नबिल बैंकबाट लोन लैजानुस्- अनिल केशरी शाह
काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्तकला व्यवसायीहरुको विकास र प्रवद्र्धनका लागि बैंक सहयोगी बन्ने बताएका छन् । राजधानीमा आयोजित हस्तकला मेला तथा प्रतियोगीतात्मक प्रदर्शनीको उद्घाटन कार्यक्रममा उनले विश्वसनिय व्यवसायीक योजना ल्याउने हस्तकला व्यवसायीलाई ऋण दिन नबिल बैंक तयार रहेको बताएका हुन् । प्रमुख कार्यकारी अधिकृत शाहले हस्तकला नेपालको पहिचान भएकाले त्यसको विकास र विस्तार अपरिहार्य रहेको धारणा समेत राखेका थिए । हेर्नुहोस् भिडियो:
अब अन्य चाडपर्वमा पनि नयाँ नोट सटही सुविधा, राष्ट्र बैंकको विभिन्न ८ कार्यालयबाट साट्न सकिने
काठमाडौं । नयाँ नोट सटहीमा नेपाल राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने भएको छ । यसअघि बडादशैँका बेला मात्र ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गदैँ आएको राष्ट्र बैंकले अब अन्य जातजाति तथा भाषाभाषीले मनाउने पर्वमा समेत नयाँ नोट सटही गर्ने भएको छ । मुलुकका विभिन्न क्षेत्रमा बसोबास गर्ने विविध जातजाति तथा भाषाभाषीले मनाउने विभिन्न चाडपर्व तथा राष्ट्रिय दिवसमा पनि नयाँ नोट सटही सुविधा प्रदान गरिने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । विभागका अनुसार नववर्ष, उभौली पर्व, बुद्धजयन्ती, गाईजात्रा, गौरापर्व, हरितालिका, संविधान दिवस, गणतन्त्र दिवस, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठ, फाल्गुनन्द जयन्ती, गुरु नानकजयन्ती, उधौली पर्व, योमरी पुन्हि(ज्यापु दिवस), क्रिसमस, ल्होसार, माघी पर्व, महाशिवरात्रि, फाल्गुपूर्णिमा, घोडेजात्रा, इद आदि राष्ट्रिय चाडपर्व तथा राष्ट्रिय दिवसमा नयाँ नोट सटही गर्न सकिने छ । नयाँ नोट काठमाडौँको थापाथलीस्थित राष्ट्र बैंक कार्यालयका साथै उपत्यका बाहिरका राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीलगायत कार्यालयबाट समेत नयाँ नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । रासस