दोस्रो हिमालयन हाइड्रो एक्स्पो २०१९ माघमा हुने
काठमाडौं । निजी क्षेत्रका जलविद्युत् उद्यमीहरुको सक्रियतामा नेपालमा दोस्रोपटक जलविद्युत् एक्सपो हुने भएको छ । स्वतन्त्र उर्जा उत्पादक संघ (इपान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसको आयोजना र इभेन्ट सोलुसनको व्यवस्थापनमा आगामी माघ ४ गते देखि ८ गतेसम्म राजधानीको भृकुटीमण्डपमा आयोजना हुने भएको हो । उर्जा क्षेत्रको विकासमा नयाँ आयाम प्रदान गर्न उक्त एक्सपोको आयोजना गर्न लागिएको राजधानीको एक होटलमा आयोजित पत्रकार सम्मेलनमा सम्बद्ध पक्षले जानकारी दिएको छ । एक्सपोले हाइड्रो क्षेत्रसँग सरोकार राख्ने विद्यार्थी, इञ्जिनियर, मेकानिक एवं पत्रकारहरुलाई हाइड्रोका विविध आयामहरुको बारेमा जानकारी दिने उद्देश्य राखिएको संस्थाका अध्यक्ष शैलेन्द्र गुरागाईंले जानकारी दिए । उक्त एक्स्पोमा जानकारी दिएका विषयबारे दर्शकले थप जानकारी लिन चाहेमा उनीहरुलाई न्यून शुल्कमा हाइड्रोपावर प्रोजेक्टको भ्रमण समेत गराउने लक्ष्य लिइएको छ । एक्स्पोमा स्वदेशी र विदेशी गरी करिब १०० स्टलहरु रहनेछन् । एक्सपोले ठूलो संख्यामा दर्शक भित्र्याउने भन्दा पनि हाइड्रोसँग सरोकार राख्ने क्षेत्रका धेरैभन्दा धेरैलाई समेट्ने लक्ष्य लिइएको अध्यक्ष गुरागार्इँले बताए । एक्स्पोमा व्यवथापन एवं इञ्जिनियरिङ संकायका बिद्यार्थीहरुका बीचमा प्रतिस्पर्धा गराउने बताइएको छ । एक्स्पोमा ग्रिड कनेक्ट र सोलार सिस्टम आकर्षणको केन्द्र बन्ने विश्वास आयोजकको छ । गत बर्ष पनि यस्तै प्रकारको एक्स्पो गरिएको थियो । उक्त एक्सपोमा ५० हजार भन्दा बढीको सहभागिता थियो ।
वीरेन्द्रको अर्बौको जग्गा कौडीको भाउमा उपयोग गर्ने को ?
भीम प्रसाद उपाध्याय, पूर्व सचिव काठमाडौं । पुर्वराजा बिरेन्द्र विरविक्रम शाहको अपुताली नेपाल ट्रष्टको जग्गाहरू कतै पनि राम्ररी सदुपयोग भई आम्दानीका लागि उपयोग हुन सकेको छैन । ताहाचलमा भएका जग्गाहरू जसले पायो उसले उपभोग गरिरहेका छन् । त्यस्तै ठमेलको जग्गाको पनि यस्तै हाल भैरहेको छ । पोखराको फेवाताल किनारमा करिब २०० रोपनी जग्गा पनि त्यतिकै छ । लिजमा दिईएको जग्गा गोकर्ण रिसोर्ट र लैनचौरको स्टाण्डर्ड चार्टर बैंकले प्रयोग गरिरहेको छ । लिजमा दिएको घर जग्गा बाहेक अरू कमलादीको काठमॉडौं प्लाजा, टेकुको प्लाजा, खासै आम्दानी हुन सकेको छैन । ती जग्गा र सम्पत्तिको लिज अवधि पनि सकिने वेला भएको छ तर नयॉ लिज दिन कुनै कार्यवाही सुरू गरिएको छैन । हेटौडा, दियालो वंगला, धनकुटाका जग्गा पनि उपयोग बिहीन छन् । ठमेल र ताहाचलमा रेडक्रस र सोल्टीले फोकटमा उपभोग गरिरहका जग्गालाई म त्यहॉको सचिव हुदा करार गरेर भाडा लिने गराएं । पोखराको रत्न मन्दिर , दियालो बंगला र हेटौडा दरवार पर्यटकलाई खुला गरेर वर्षेनि करोडौं आम्दानी गर्न पूरा तयारी सम्पन्न गरेको थिएं । तर त्यसपछि चुपचाप कसैको ध्यान जान सकेको छैन । पूर्वराजा ज्ञानेन्द्रको सुरक्षाकर्मी बस्ने ट्रष्टको निर्मल निवास स्थित डेढ रोपनी जग्गार घर फोकटमा कब्जा गरिदै आएको छ जसलाई मैले खाली गर्न आईजीलाई कडा पत्र लेखेको थिएं । अख्तियारलाई पनि लेखेको थिएं, तर काम अघि बढाएन ।
५ दिनका लागि बुद्ध र यतिको भाडा छुट
काठमाडौं । निजी क्षेत्रका ठूला वायु सेवा प्रदायक कम्पनी बुद्ध एयर र यति एयरलाइन्सले यात्री आकर्षित गर्न केही समयका लागि भाडा छुट गरेका छन् । पर्यटकीय क्षेत्र पोखराबाट धेरै सङ्ख्यामा यात्रु तान्न ती कम्पनीले भाडादर १ हजार ५०० तोकेका हुन् । मुख्य पर्यटकीय याम शुरु भएको र पोखरामा आन्तरिक तथा विदेशी पर्यटकको चाप बढेकाले बढीभन्दा बढी यात्री आकर्षण गर्न यो ‘अफर’ ल्याइएको कम्पनीको भनाइ छ । बुद्ध र यतिले पोखरामा बिहानको पहिलो उडानको भाडादर रु एक हजार ५०० तोकेका छन् । तर यो सहुलियत केही दिनका लागिमा मात्रै हो । अवस्था हेरेर पुनः बढाउन सकिनेछ । सामान्य अवस्थामा काठमाडौँदेखि पोखराको एकतर्फी भाडा चार हजार २०० देखि रु पाँच हजार २०० पर्छ । पोखराबाट फर्कने यात्रु राम्रै रहे पनि काठमाडौँबाट पोखरा जाँदा केही कम भएकाले यस्तो ‘अफर’ ल्याइएको यति एयरलाइन्सका व्यवस्थापक भीमराज राईले बताए । पाँच दिनका लागि ल्याइएको यो योजना आवश्यकताका आधारमा केही समय थप गर्न सकिने उनको भनाइ छ । यतिले हालै भित्र्याएको नयाँ एटिआर विमानबाट दशैँ अघिदेखि पोखरा उडन शुरु गरेको थियो । यतिले हाल तीन एटिआर र छ जेटस्ट्रिम विमानबाट उडान भर्दै आएको छ । बिहीबारबाट पोखरामा सहुलियत उडान शुरु गरेको बुद्ध एयरले पनि यात्रुको अवस्थालाई मध्यनजर गरी अवधि बढाउनसक्ने जनाएको छ । बुद्धका बजार प्रमुख रुपेश जोशीले यात्रुको आकर्षणका लागि प्रवद्र्धनात्मक भाडा पाँच दिनका लागि कायम गरिएको जानकारी दिए । बुद्धले छ एटिआरसहित ११ विमानले उडान भर्दै आएको छ । पहिला विमान ७ः०० बजेबाट पहिलो उडान हुने गरेकामा अहिले बुद्धको काठमाडौँबाट पोखराको पहिलो उडान बिहान ६ः१५ बजेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दुई महीना अघिदेखि बिहान ५ बजे खुलेर ६ बजेबाट आन्तरिक उडान हुँदै आएको छ । रासस