३ लाख नगद सहित १६ जुवाडे रत्ननगरबाट समातिए, कोको परे हेर्नुहोस् (सुची सहित)
चितवन। चितवन प्रहरीले ३ लाख रुपैयाँ सहित १६ जना जुवाडेलाइ आइतबार राती पक्रेको छ । पुर्वी चितवनको रत्ननगर नगरपालिका ९ स्थित सिसै गाउँमा जुवा खेल भइरहेको भन्ने विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडी बाट खटिएको प्रहरीको सँयुक्त टोलीले १६ जना जुवाडे सहित झन्डै ३ लाख रुपैयाँ बरामद गरेको हो । सोही जुवाको खालबाट चेक काटी तयार पारी राखिएको अवस्थामा १ लाख रुपैयाँको चेक समेत वरामद गरेको छ । रत्ननगर नगरपालिका ९ स्थित शुकराम दराईको घर भित्र च्यानलगेट लगाएर जुवा खेल्दै गरेको अवस्थामा नेपाल विद्युत प्राधिकरणबाट लगिएको भर्याङबाट चढी उनीहरुलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिएका छन् । प्रहरीले यो सहित विभिन्न पाँच स्थानबाट जुवा खेल्ने र खेलाउने दुबैलाई पक्राउ गरी जुवा ऐन २०६३ अन्तर्गत मुद्दा दर्ता गरि कार्वाही प्रक्रियालाई अगाडि समेत बढाइएको चितवनका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक शुसिलसिंह राठौरले जानकारी दिए । चाडवार्डमा हुन सक्ने जुवातास नियन्त्रणका लागि चितवन प्रहरीले विशेष टोली नै गठन गरेको छ । भने, जुवा खेल भएको थाहा पाए वा देखे तत्काल चितवन प्रहरीको टेलिफोन नम्बर १०० नम्बर वा कार्यालय प्रमुखको ९८५५०१५५५५ मा सम्पर्क गरी सूचना दिन बारम्बार अनुरोध समेत गर्दै आएका छन् ।
तीन महिनामा ७ अर्ब भन्दा बढी राजस्व संकलन
चितवन। आन्तरिक राजस्व कार्यालय भरतपुरले आर्थिक वर्ष ०७५/७६ को तीन महिनामा ७ अर्ब भन्दा बढी राजस्व संकलन गरेको छ । कार्यालयका अनुसार असोज मसान्तसम्म ६ अर्ब २० करोड ६ लाख २१ हजार रुपैंयाँ लक्ष्य निर्धारण गरेकोमा ७ अर्ब ३३ करोड ९२ लाख ५३ हजार रुपैंयाँ राजस्व संकलन गरेको जनाएको हो । चितवन र नवलपुर जिल्लाका करदाताहरुले राजस्व बुझाउने आन्तरिक राजस्व कार्यालय भरतपुरका व्यवसायिक प्यान लिएका ३२ हजार ६९५ जना र व्यक्तिगत प्यान लिएका ४८ हजार ३७१ जना रहेका छन् । भ्याटमा ७ हजार ७३५ जना करदाता दर्ता भई अन्तःशुल्क तर्फ तीन हजार ४४३ जना करदाताले इजाजत नविकरण गरिसकेको आन्तरिक राजस्व कार्यालय भरतपुरका निमित्त प्रमुख धनेश्वर अर्यालले जानकारी दिए । चालु आर्थिक वर्षको तीन महिनामा आयकर ३१ करोड ४३ लाख ४१ हजार रुपैंयाँ, ब्याजकर तीन करोड ९६ लाख ८ हजार रुपैंयाँ, मूल्य अभिवृद्धि कर ३९ करोड २६ लाख ४६ हजार रुपैंयाँ र अन्तःशुल्क ६ अर्ब ५५ करोड ७९ लाख ६६ हजार रुपैंयाँ राजस्व संकलन गरेको छ ।
प्रदेश मन्त्री केशव स्थापित पदमुक्त
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई पदमुक्त गरेका छन् । नेपालको संविधानको धारा १६७ को उपधारा ६९ को अधिकार प्रयोग गरी मुख्यमन्त्री पौडेलले स्थापितलाई शुक्रबार पदमुक्त गरेका हुन् । प्रदेश मन्त्रिपरिषद् बैठकमा पदीय मर्यादाविपरीत अभद्रता र असक्षमता प्रदर्शनका साथै अनियमितता गरेको आरोपसहित मन्त्री स्थापितलाई पदमुक्त गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । मुख्यमन्त्री पौडेल र मन्त्री स्थापितबीच पछिल्लो समयमा प्रदेशको राजधानी तोक्ने र प्रदेशको पूर्वाधार विकासका विषयमा विवाद उत्पन्न हुँदै आएको थियो । रासस