धादिङको गजुरीमा ४.८ रिक्टरको भूकम्प
काठमाडौँ । धादिङको गजुरी आसपास केन्द्रबिन्दु भएर आज गोरखा भूकम्पको परकम्प गएको छ । बिहान ८ बजेर ३० मिनेट जाँदा ४.८ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको हो । गजुरी आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाई परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। यसअघि गत असार २१ गते धादिङको झार्लाङ आसपास केन्द्रबिन्दु भएर ४.१ रिक्टर स्केलको परकम्प गएको थियो भने । त्यस्तै गत असार १४ गते पनि धादिङकै सुनौलोबजार केन्द्रबिन्दु भई पाँच रिक्टरको परकम्प गएको थियो । केन्द्रका प्रमुख अधिकारीका अनुसार विसं २०७२ को गोरखा ७.६ रिक्टर स्केल भूकम्पपछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५०५ पटक परकम्प गएका छन् ।रासस
‘ग्लोबल साइबर सेक्युरिटी समिट’ साउन ११ र १२ गते हुँदै, साइबर सूरक्षाबारे सचेत गराइने
काठमाडौं । नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको ‘सिस्काे ग्लोबल साइबर सेक्युरिटी समिट २०१८’ हुँदै छ । साइबर सुरक्षा बारे अन्तर्राष्ट्रिय स्तरमा सहकार्य गर्ने तथा नेपालीहरुलाई यस विषयमा सचेत गराउने उद्देश्यले इनफरमेसन सेक्यिूरिटी रेस्पोन्स टिम नेपाल(एनपीसर्ट)ले उक्त समिटको आयोजना गरेकाे हाे । ‘बिल्डिङ ग्लोबल एलायन्स फर साइबर रेजिलियन्स’ भन्ने मूल नारासहित उक्त समिट यही साउन ११ र १२ गते आयोजना हुँदै छ । समिटको पहिलो दिन अर्थात साउन ११ गते नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानमा प्रि समिट वर्कसप सञ्चालन हुनेछ । जसमा लावा, चेक प्वाइन्ट सफ्टवेर टेक्नोलोजिज् र इसी काउन्सिलले स्किल ट्रान्सफर गर्न सहजीकरण गर्नेछन् । त्यसैगरी, साउन १२ गते होटल र्याडिसनमा विश्वपरिवेशमा साइबर सुरक्षाका विभिन्न आयमहरु बारे छलफल हुने आयोजकले बताएका छन् । समिटमा विशेषगरी साइबर कानून, साइबर नीति र साइबर सुरक्षाका अभ्यासहरुबारे विश्लेषण र निदानका विषयमा छलफल हुने छ । व्यापार तथा वित्त क्षेत्रको आवश्यकताअनुसार साइबर सुरक्षाका नयाँ क्षेत्रहरुको पहिचान पनि समिटमा हुने छ । यही समिटमार्फत् साइबर रिजलेन्सका लागि विश्व गठबन्धनसमेत निर्माण गरिने छ भने साइबर सेक्युयुरिटीसम्बन्धी पूर्वाधार निर्माण गर्न विश्वव्यापी रुपमा भइरहेका अभ्यासहरुको जानकारी समेत दिइनेछ । समिटमा साइबर सुरक्षाका जोखिम न्यूनिकरण गर्ने, साइबर सुरक्षा विश्लेषण गर्ने, रिकभरी र रेस्पोन्सका स्किलहरु बढाउने, नेपालमा नेशनल सर्टको लागि आधार तयार पार्ने लगायतका विषयमा छलफल हुनेछ । समिटमा राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुबाट विभिन्न कार्य प्रस्तुती, प्यानल डिस्कसन, र की–नोट लेक्चर दिईनेछ । सहभागीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरु, व्यवसायीहरु, सरकारी अधिकारीहरु, कर्मचारीहरु, क्लाइन्ट र ग्राहकहरुबीच अन्तरक्रिया गर्न सक्नेछन् । यो समिटलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल एकेडेमी अफ साइन्स एण्ड टेक्नोलोजी, नेपाल बैंकर संघ, क्यान महासंघ, इन्टरनेट सोसाईटी, नेपाल च्याप्टर र अन्य विभिन्न संघसंस्थाहरुले सहयोग गरेका छन् । समिटको की–नोट स्पिकरमा आइक्यानका एसिया प्यासिफिक स्ट्याबिलिटी एन्ड रिजलेन्स म्यानेजर चाम्पिका वाइजायातुङ्गा र सिस्कोको भारत तथा सार्क क्षेत्र हेर्ने पार्टनर बिजनेश ग्रुपका सेक्युरिटी लिड विवेक श्रीवास्तव रहेका छन् । यसका साथमा अन्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वक्ताहरुको समिटमा प्रस्तुति रहनेछ । समिटमा सहभागी हुन चाहने इच्छुक व्यक्तिहरुले एनपीसर्टको वेबसाइट www.npcert.org मा गई रजिस्ट्रेसन गर्न सक्नेछन् । आगामी शुक्रबार र शनिबार हुन लागेकाे उक्त समिटमा भारत, अष्ट्रेलिया, यूएसए, बंगलादेश लगायतका देशहरुको सहभागिता हुने छ । साथै, उक्त कार्यक्रममा १५० देखि २०० जनाको सहभागिता रहने अनुमान गरिएकाे संयाेजक चिरञ्जिवी अधिकारीले बताएका छन् । साथै, समिटमा सहभागिताका लागि रजिष्ट्रेशन शुल्क १००० रुपैयाँ तोकिएको छ भने वोर्कसपमा सहभागी हुनका लागि ५००० रुपैयाँ प्रवेश शुल्क तोकिएको संयाेजक अधिकारीले बताए ।
८० प्रतिशत रोजगार दिने कलेज
काठमाडौं । मेरिल्याण्ड कलेज विराटनगरमा अध्ययनरत ७६ छात्रछात्रा स्नातक तह बजार व्यवस्थापन बिबिएम विषयको उपाधिका साथ दीक्षित भएका छन् । बेलायतको ब्लभरह्याम्टन विश्वविद्यालयवाट सम्बन्धनप्राप्त सो कलेजले चार वर्ष अध्ययन अभ्यापनपछि आइतबार सांँझ यहाँ विद्यार्थीलाई दीक्षित गराएको हो । दीक्षित हुनेमा ४० छात्रा छन् । यसअघि आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका उपकुलपति जिअफ लेयरले कलेजबाट उत्पादित जनशक्ति विश्व बजारमा सहज र सरल किसिमले खपत हुने बताउँदै सन् २००२ देखि नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा प्रदान गर्न पाएकामा खुशी व्यक्त गरे । विश्वविद्यालयका केल्भीन नेजीले दीक्षित विद्यार्थीबाट विश्व बजारमा नेपाल र नेपाली विद्यार्थीको गरिमा बढ्ने बताए । इनोभेट नेपाल ग्रुपका सुलभ बुढाथोकीले व्यवस्थापनमा मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन गर्ने उद्देश्यले कलेज स्थापना गरिएका बताए । कलेजका प्रमुख भेषराज पोखरेलले कलेजले विद्यार्थीलाई आवश्यक पर्ने ज्ञान हासिल गर्नका लागि बेलायत र थाइल्याण्डसमेत पठाउने गरेको जानकारी दिए । विश्वविद्यालयका डा गुरमुक सिंहले सीप तथा दक्षता हासिल गर्ने कार्यमा बेलायत र नेपाली विद्यार्थीमा कुनै भिन्नता नरहेको बताए । कलेजले चार वर्षअगाडि सञ्चालन गरेको बिबिएम विषयमा दीक्षित हुने विद्यार्थीमा ८० प्रतिशतले रोजगार प्राप्त गरेका छन् । कलेजमा अध्ययनरत ३०० विद्यार्थीमा १० प्रतिशत भारतीय छन् ।रासस