व्यवसायीहरु माथि आतंक मच्याउने दरबारमार्गका सई बीरेन्द्रबहादुर ऐडी पक्राउ
काठमाडौं । महानगरीय प्रहरी वृत्त दरवारमार्ग, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक बीरेन्द्रबहादुर ऐडी पक्राउ परेका छन् । ऐडी भ्रष्ट्राचारको आरोपमा पक्राउ परेका हुन् । उनले व्यवसायीहरुसँग मासिक रुपमा रकम नदिए व्यवसाय सञ्चालन गर्न अप्ठ्यारो बनाइदिने डर र धम्की देखाई सेवाग्राहीसँग घुस माग्ने गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । व्यवसायीहरुसँग पटक पटक रकम असुली गर्दै आएका ऐडी पछिल्लो पटक रिचमण्ड फूड क्याफे महाराजगञ्ज २४ हजार घुस लिदैं गर्दा पक्राउ परेका हुन् । अब उनी बिरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्ट्राचार सम्बन्धी मुद्धा दायर हुने अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।
रौतहट, महोत्तरी, धनुसा र सिराहाका बालबालिकालाई ओली सरकारले मासिक ४ सय भत्ता प्रदान गर्ने
काठमाडौं । सरकारले तराईमा पछि परेका बालबालिकाहरुलाई मासिक ४ सय प्रदान गर्ने भएको छ । यसअघि कर्णाली र दलितका बालबालिकालाई प्रदान गर्दै आएको ४ सय रुपैंया अब तराइका बालबालिकाले पनि पाउने भएका हुन् । अर्थमन्त्री युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटमा मानव विकासमा पछि परेका बालबालिकाहरुलाई उत्थान गर्नका लागि कार्यक्रमको क्षेत्र विस्तार गरिने उल्लेख गरिएको छ । अब रौतहट, महोत्तरी, धनुसा र सिराहका बालबालिकाले मासिक ४ सय भत्ता प्राप्त गर्नेछन् । बत्तव्यमा तराई मधेशका गरिब बालबालिकाको उत्थान गर्न थप अनुदानको व्यवस्था गरिएको छ । यसैगरी सरकारले खर र परालको घर हुने व्यक्तिलाई घर निर्माणका लागि ५० हजार रुपैंया प्रदान गर्ने भएको छ ।
बजेटबारे वीरगञ्जको मिश्रित प्रतिक्रिया
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७५/७६ को बजेटलाई औद्योगिक नगरी वीरगञ्जका उद्योगी व्यवसायीले सकारात्मकरुपमा लिएका छन् । उद्योग वाणिज्य संघ, पर्साका अध्यक्ष तथा सांसद ओमप्रकाश शर्माले यो बजेट समग्रमा राम्रो भन्दै बजेटमा उद्योगधन्दाका लागि चाहिने ऊर्जालाई प्राथमिकतामा राखेको पक्ष पनि सकारात्मक रहेको बताए । तर वीरगञ्ज औद्योगिक करिडोरको विकासको बारेमा प्रस्तुत बजेट भने मौन रहेको उनको भनाइ छ । उद्योग वाणिज्य संघ, पर्साका भूतपूर्व अध्यक्ष तथा उद्योगपति अशोक वैद्यले समग्रमा बजेट राम्रो भएपनि यसले व्यापार घाटा घटाउन तथा विदेशी लगानीलाई आकर्षित गर्न नसक्ने बताए । उनले बजेटमा भारतबाट आयात गरिने गाडीमा छुटको व्यवस्था हुन नसकेकोमा गुनासो व्यक्त गरे । यसैगरी, उद्योग वाणिज्य संघ, पर्साका पूर्वअध्यक्ष तथा व्यवसायी प्रदीप केडियाले समग्ररुपमा बजेट महत्वाकांक्षी भएपनि यसले नयाँ कुरा समेट्न नसकेको बताए । उनले देशमा प्रदेशको अवधारणा आइसकेकाले बजेट प्रदेशमार्फत विनियोजित हुनुपर्नेमा जोड दिएकाछन् । रासस