बिरामी ठगी गर्ने नर्भिक अस्पतालका सञ्चालक सम्पर्कविहिन, ३ दिनमा नआए प्रहरीलाई जिम्मा दिने
काठमाडौं । सेवा शुल्कका नाममा बिरामी ठगी गर्ने नर्भिक अस्पतालका सञ्चालक सम्पर्कविहिन भएका छन् । आपूर्ति विभागले कार्यालयमा उपस्थित हुन तीन दिनको समय दिए पनि सञ्चालक अनुपस्थित भएका हुन् । स्पष्टिकरणका लागि विभागमा उपस्थित हुन गत शुक्रबारसम्मको म्याद िदएकाे विभागका महानिर्देशक कुमार दाहालले जानकारी दिए । ‘स्पष्टिकरण सहित विभागमा उपस्थित हुन पत्र काटेका थियौं,’ उनले भने, ‘तर कोही पनि उपस्थित भएका छैनन् ।’ उनका अनुसार विभागले अस्पताललाई थप ३ दिनको म्याद थपेको छ । सञ्चालक वा प्रतिनिधी नै उपस्थित नहुँदा कारबाही प्रकृया प्रभावित भएको छ । आगामी तीन दिनभित्र उपस्थित नभए सो मुद्दा प्रहरीलाई जिम्मा लगाउने तयारीमा रहेको दाहालले जानकारी दिए । गत साता मंगलबार आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले गत मंगलबार गरेको अनुगमनमा सेवा शुल्क शिर्षकमा बिरामीबाट बढी रकम असुलेको पाएपछि स्पष्टिकरण मागेको थियो । विभागका महानिर्देशक दाहालले १३ प्रतिशत अतिरक्त रकम ‘अस्पताल सेवा शुल्क’का नाममा उपभोक्ता ठगी गरेको पाइएको जानकारी दिए । त्यस्तै स्वास्थ्य सेवा विभागले स्वीकृत गरेको भन्दा बढी बेड सञ्चालनमा ल्याएको थियो ।अनुमति बिना नै अस्पतालले थप ३० वटा बेड सञ्चालन गरेको पाइएको थियो । यो पनि पढ्नुहोस् – नर्भिक अस्पतालमा ‘सेवा शुल्क’का नाममा बिरामीमाथि ठगी, सरकारले माग्यो स्पष्टिकरण
यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताः नेपालद्धारा भारत १९ रनले पराजित
काठमाडौं । मलेसियामा जारी एसीसी उन्नाई वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको दोस्रो खेलमा नेपालले भारतलाई १९ रनले पराजित गरेको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै १८५ रन बनायो । एक सय ८६ रनको लक्ष्य पछ्याउने क्रममा भारतले ४८।१ ओभरमा १६६ रन मात्र बनाउन सक्यो । क्रिकेटमा नेपालले भारतलाई कुनै पनि प्रतियोगितामा पराजित गरेको यो पहिलो पटक हो । नेपालका लागि कप्तान दिपेन्द्रसिंह ऐरीले उत्कृष्ट खेल प्रदर्शन गरे । उनले सर्वाधिक ८८ रन बनाउनुका साथै महत्वपूर्ण चार विकेट समेत लिए । उनले १०१ बल खेल्दै दुई छक्का र ६ चौका प्रहार गरे । यस्तै, सुरुवाती व्याट्सम्यान जितेन्द्र सिंहले ३६ तथा भीम सार्कीले १५ रन बनाए । बलिङतर्फ भारतका आदित्य ठाकरे र अभिषेक शर्माले दुई/दुई विकेट लिए । भारतका लागि कप्तान हिमांशु रानाले ४६ रन बनाए । उनले ३८ बलमा एक छक्का तथा सात चौका हाने । मनोज कर्लाले ३५, अभिषेक शर्माले २७, अनुज रावलले १८ र आदित्य ठेकरेले १३ रन बनाए । बलिङतर्फ नेपालका कप्तान दीपेन्द्रसिंह ऐरीले चार तथा पवन सर्राफ र सहाब अलामले दुई/दुई विकेट लिए । यस्तै सन्दिप लामिछाने र कमलसिंह ऐरीले एक/एक विकेट बाँडे । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल बंगालदेशसँग दुई विकेटले पराजित भएको थियो । एसिया कपअन्तर्गत नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार मलेसियासँग खेल्नेछ । रासस
अनुगमनमा निस्किएका मेयर विद्यासुन्दर शाक्यले रत्नपार्कमा अडिएर निर्देशन दिए-‘तुरुन्त ढल निकासको काम सक्नु’
काठमाडौं । काठमाडौं महानगरपालिकामा फोहोर र धुवाधुलोको सामना गर्न महानगरवासी बाध्य छन् । महानगरको अस्तव्यस्ताले गर्दा मानिसहरुको समेत दिनचर्या नै प्रभावित भइरहेको छ । ‘काम नगरेको’ भन्दै आलोचित भइरहेका काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्य आइतबार महानगरबाट ‘अव्यवस्थित सहर’मा परिणत भइरहेको काठमाडौंको अनुगमनका लागि कार्यालय बाहिर निस्किए । महानगरपालिकाका उपप्रमुख लगायत सचिवालयका सदस्य सहित कर्मचारी टोलीमा थिए । अनुगमनको सुरुवात महानगरपालिकाको कार्यालय बागदरबार बाट नै सुरु भयो । बागदरबारबाट हिड्दै टोली सुन्धारा, वीर अस्पताल, रत्नपार्क, जमल, त्री चन्द्र क्याम्पस हुँदै राष्ट्रिय सभा गृहमा गएर टुंगियो । प्रमुख शाक्यले ती स्थानहरुमा बगैंचा, सडकपेटी, सडकमार्ग, ढल, पार्किङ स्थल र होर्डिङ बोर्डको अवलोकन गरेका थिए । र, उनले वीर अस्पतालबाट रत्नपार्कको बाटो गुज्रिँदै गर्दा ढल बगीरहेको पाइयो । सोही स्थानमा अडिएर अनुगमन कार्यक्रमलाई मन्तव्य दिँदै उनले निर्देशन दिए – ‘तुरुन्त ढल निकासको काम सक्नु ।’ उनले देखाउनका लागि नभई परिणाम निकाल्ने हिसाबले काम अगाडी बढाउन आग्रह गरेका छन् । उनले राजधानीका विभिन्न स्थानमा रहेका बगैंचामा रेलिङ हटाउन निर्देशन दिए । महानगरवासीलाई विश्वासमा राखेर काम गर्नुपर्ने भन्दै उनले सो रेलिङ हटाउन निर्देशन दिएका हुन् । उनले भने, ‘हामीले कसैले फुल टिपेर बगैंचा बिगार्छ भनेर अल्छि गर्नुभएन । रेलिङ राख्नु भनेको जनतालाई अविश्वास गर्नु हो । फुल उमार्नु हाम्रो उद्येश्य हो बरु त्यसको व्यवस्थापन गर्न तर्फ ध्यान दिनुपर्छ ।’ शाक्यले सडकमा भएको फोहोर र धुलो सफा गर्न कर्मचारी तथा महानगर प्रहरीलाई निर्देशन दिए । उनले भने, ‘फोहोर सफा गर्न पनि अरुको मुख ताक्नुपर्दैन । हामीसँग प्रशस्त जनशक्ती छ, त्यसैलाई सदुपयोग गरेर सफा गर्नुपर्यो ।’ ब्रुमरका लागि टेन्डरको प्रक्रिया अगाडी बढिसकेको उनले जानकारी दिए । विभिन्न स्थानमा होर्डिङ बोर्ड हटाउनका लागि ट्राफिक प्रहरीसँग सहमती भइसकेको उनले बताए । उनले भने, ‘अब कुनैपनि होर्डिङ बोर्ड राख्न महानगरपालिकासँग सोध्नुपर्छ ।’