विद्यार्थीले गरे पेट्रोलियम पदार्थमा मूल्य वृद्धिको विरोध, तत्काल फिर्ता लिन आग्रह
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्य वृद्धिको विद्यार्थी संगठनहरुले विरोध गरेका छन् । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिमा विरोध जनाउँदै अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले शनिबार प्रेस विज्ञप्ती जारी गर्दै मूल्य वृद्धि फिर्ता लिन आग्रह गरेको छ । उक्त संगठनले ‘कामचलाउ’ सरकारले पेट्रोलियम पदार्थको भाउ बढाएर जनताको अपेक्षा विपरित वामपन्थी गठबन्धनप्रतिको लहर भड्काउन खोजेको आरोप लगाएको छ । उक्त विज्ञप्तीमा उल्लेख भएअनुसार, ‘संविधान कार्यान्वयनको ऐतिहासीक कार्य अन्तर्गत प्रदेश तथा प्रतिनिधि सभाको चुनाव सम्पन्न भई देशव्यापी रुपमा नतिजा आउने क्रम जारी छ । स्थिर सरकार, दिगो विकास र सम्वृद्धिको महान संकल्प सहित निर्वाचनमा होमिएको वामगठवन्धनको पक्षमा ऐतिहासिक लहर देखा परेको छ । नेपाली जनताले मतदान मार्फत व्यक्त गरेको त्यो जनमतलाई सलाम गर्दै हामी जनताको खुसीसँग साथै रहेको कुरा व्यक्त गर्न चाहान्छौ । नतिजाले देखाएको छ कि स्थानीय तहसँगै अव केन्द्र र प्रदेश सवै तिर वामगठवन्धनको नेतृत्व हुनेछ । निर्वाचनको नतिजाले लोकतान्त्रिक गठवन्धन मुख्यतः नेपाली काग्रेंसको पक्तिमा निराशा र छटपटाहट पैदा गरेको छ । कांग्रेस निर्वाचनको परिणामलाई सहज रुपमा स्वीकार गर्न र संयमित हुन विशेष आग्रह गर्न चाहन्छौं । वर्तमान देउवा सरकारको मुख्य काम संघ तथा प्रदेशको निर्वाचन सम्पन्न गर्नु रहेको थियो । वर्तमान देउवा सरकारको मुख्य काम संघ तथा प्रदेशको निर्वाचन सम्पन्न गर्नु रहेको थियो । त्यो काम पुरा भएको छ र सरकार काम चलाउ वनेको छ । नतिजाले सकेंत गरे अनुरुप अव वर्तमान कामचलाउ सरकारले वामपन्थी गठवन्धनलाई सरकार गठन गर्न सहयोग पुर्याउनु पर्ने यो वेलामा जनताको अपेक्षा विपरीत अत्यावश्यक वस्तु पेट्रोलियम पदार्थ, ग्यास लगायतमा मुल्य वृद्धी गरेर वामगठवन्धन प्रतिको लहर भड्काउने निकृष्ट हर्कत गरेको छ । हामी देउवा सरकारको यो हर्कतको घोर भत्र्सना गर्दै मुल्य वृद्धि तत्काल फिर्ता लिन आग्रह गर्दछौं ।’ शनिबार राती १२ बजेदेखि लागू हुनेगरी निगमले इन्धनको मूल्य बढाएको थियो । निगमको शुक्रवार बसेको बोर्ड बैठकले प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्टीतेलमा ३/३ रुपैयाँ, हवाई इन्धनमा ५ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर २५ रुपैयाँले वृद्धि गरेको छ । निगमकोअनुसार नयाँ मूल्यसूची अनुसार आज राती १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक सय रुपैयाँ, डिजेल र मट्टीतेलको मूल्य ७७/७७ रुपैयाँ र हवाई इन्धन -आन्तरीकको मूल्य ८७ रुपैयाँमा समायोजन गरिएको छ । त्यस्तै, हवाई इन्धन भने प्रति हजार लिटर ८ सय ५० डलर कायम गरिएको छ ।
चुनाव अपडेट: प्रतिनिधिसभामा ३४ र प्रदेशसभामा ५६ निर्वाचित, स्याङ्जा निषेधित क्षेत्र घोषित
काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको हालसम्म प्रतिनिधिसभातर्फ ३४ र प्रदेशसभातर्फ ५६ वटा निर्वाचन क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । आयोगको सूचना व्यवस्थापन शाखाका अनुसार हालसम्म प्रतिनिधिसभातर्फ १ जना महिलासहित ३४ जना निर्वाचित भएका छन् । यसैगरी, प्रदेशसभातर्फ दुई जना महिला उम्मेदवारसहित ५६ जना निर्वाचित भइसक्नु भएको जानकारी प्राप्त भएको छ । मंसिर २१ गते निर्वाचन भएका ४५ वटै जिल्लाका मतपेटिकाहरु जिल्ला सदरमुकाममा प्राप्त भई मतदान गणना सुरु भएको छ । सोही दिन भएको मतदानमा समस्या आई स्थगित भएकोमा अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नं. ५ को मथुरा मतदान स्थलका (क) र (ख) मतदान केन्द्रमा आज मतदान सञ्चालन भइरहेको छ । निर्वाचन आयोगमा रहेको संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट आज दिनको ३ बजे प्राप्त जानकारी अनुसार त्यहाँ अहिलेसम्म ५८ प्रतिशत मतदान भएको छ । साँझ ५ बजेसम्म निर्धारित मतदान केन्द्रमा प्रवेश गरेका मतदाताले मतदान गर्न पाउने छन् । स्याङजाबाहेक सबै जिल्लाहरूमा मतगणना कार्य सुरु भई केही जिल्लाहरुको नतिजासमेत सार्वजनिक भइसकेको छ, स्याङ्जामा कतिपय स्थानमा निर्वाचन सन्तोषजनक नभएको भनी जिल्ला सदरमुकाममा बाम गठबन्धनका उम्मेद्वार तथा कार्यकर्ताहरूको भीडभाडले २ नम्बर निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतलाई दुर्व्यवहारसमेत गरेपछि हिजोबाटै स्याङ्जा बजारका क्षेत्रहरूलाई निषेधित क्षेत्र घोषणा गरिएको जानकारी आयोगले दिएको छ ।
५० वटा दल पत्तासाफ !
काठमाडौं । नयाँ संबिधान अनुसार मंसिर १० र २१ गते सम्पन्न भएको प्रतिनीधि सभा र प्रदेशसभा निर्वाचनले ५० वटा राजनीतिक दलहरुको अस्थित्व समाप्त पारेको छ । एक सिट प्रत्यक्ष र ३ प्रतिशत समानुपातिक मत कटाउनै पर्ने थ्रेस होल्डको व्यवस्थाका कारण ५० वटा राजनीतिक दलहरु पत्ता साफ हुने निश्चित भएको हो । नेकपा(एमाले), नेकपा(माओवादी केन्द्र, नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल, संघीय समाजवादी फोरम नेपाल नयाँ शक्त्ति पार्टी नेपाल, राष्ट्रिय जनमोर्चा र राष्ट्रिय प्रजातन्त्र पार्टीले मात्रै प्रत्यक्ष तर्फ प्रतिनिधी सभा निर्वाचन जित्ने देखिएको छ । यीमध्ये पनि नयाँ शक्ति पार्टी नेपाल, राष्टिय जनमोर्चा र राप्रपालाई समानुपातिको ३ प्रतिशत मत ल्याएर थ्रेस होल्ड पार गर्न मुस्किल पर्ने देखिन्छ । निर्वाचन आयोगमा ५९ वटा दल दर्ता भएका थिए । यी मध्ये ५० वटा दलले प्रत्येक्षतर्फ एक सिट पनि जित्ने अवस्था छैन । तर, यी मध्ये नेपाल मजदुर किसान पार्टीले भने प्रत्येक्षमा केही सिट जित्ने सम्भाबना छ । पत्तासाफ हुने ५० वटा दल १. राष्ट्रिय प्रजातन्त पार्टी(प्रजातान्त्रिक) २. विवेकशील साझा पार्टी ३. आमूल परिवर्तत मसिहा पार्टी नेपाल ४. ऐतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपाल ५. एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी) ६. ग्रीन पार्टी नेपाल ७. चुरेभावर लोकतान्त्रिक पार्टी ८. जनप्रजातान्त्रिक पार्टी, नेपाल ९. जनसमाजवादी पार्टी, नेपाल १०. तामाङसालिङ लोकतान्त्रिक पार्टी ११. दलित, मुस्लिम जनशक्त्ति पार्टी १२. देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल १३. देशभक्त लोकतान्त्रिक पार्टी १४. नेपाः राष्ट्रिय पार्टी १५. नेकपा(माक्र्सवादी) १६. नेकपा(माले) १७. नेपाल जनता पार्टी १८. नेपाल दलित पार्टी १९. नेपाल युवा किसान पार्टी २०. नेपाल लोकतान्त्रिक जनता काँग्रेस २१. नेपाल संघीय समाजवादी पार्टी २२. नेपाल समाजवादी पार्टी(लोहियावादी) २३. नेपाली काँग्रेस(बी.पी.) २४. नेपाली जनता दल २५. बहुजन शक्ति पार्टी २६. बहुजन समाज पार्टी नेपाल २७. मंगोल नेशनल अर्गनाइजेसन २८. मधेश तराई फोरम २९. युवा नेपाल पार्टी ३०. राष्ट्रिय जनमुक्ति पार्टी ३१. राष्ट्रिय मुक्ति आन्दोलन नेपाल ३२. राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल ३३. राष्ट्रिय शिवसेना पार्टी ३४. राष्ट्रिय समाजवादी पार्टी, नेपाल ३५. लिवरल डेमोक्रेटीक पार्टी ३६. लोककल्याणकारी जनता पार्टी, नेपाल ३७. शिवसेना नेपाल ३८. संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल ३९. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ४०. संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च(थरुहट) ४१. हाम्रो पार्टी ४२. नेपाल जनलोकतन्त्र पार्टी ४३. देशभक्त समाज ४४. नेपाली ग्रिन्स ४५. मुस्कान सेना नेपाल ४६. नेपालवाद ४७. राष्ट्रिय नागरिक पार्टी ४८. नेपाल नौलो जनवादी पार्टी ४९. गान्धीवादी पार्टी नेपाल ५०. नेपाल मजदुर किसान पार्टी नेपाल मजदुर किसान पार्टीले अहिले सम्म कुनै पनि निर्वाचन क्षेत्रमा अग्रता हासिल गर्न सकेकाे छैन । तर भक्तपुर १ मा प्रेम सुवालले जित्ने अनुमान गरिएकाे छ ।